काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध भएको रसुवा जोड्ने प्रमुख सडकखण्ड सञ्चालनमा आएको छ ।
टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु गरिएको हो ।
सडकखण्ड सुचारु भएसँगै लामो समयदेखि सडक सञ्जालबाट अलग भएको रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।
सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने भएको छ ।
साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिकूल मौसम र बाढीपहिरोका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको थियो ।