काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो ।
बुधबार बिहान नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
त्यससँगै बाढीपीडितको उद्धार तथा राहतका लागि व्यक्ति तथा विभिन्न संघसंस्थाले कोषमा सहयोग रकम जम्मा गर्न थालेका हुन् ।
सरकारले कोषमा रकम संकलन तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ ।
संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वयंमार्फत स्वीकार गरिरहेको मन्त्रालयले जनाएको छ ।
व्यक्तिगततर्फको नगद सहयोग भने दाताले अर्थ मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
नयाँ सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो ।
यसैबीच, बिहीबार मात्रै ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
मन्त्रालयका अनुसार कोषमा संकलित उक्त सहयोगमा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग रकम भने समावेश गरिएको छैन ।