विकासन्युज

तीन मिनेटको समय कर्मकाण्डी भन्दै थापाले राखे २४ पृष्ठको फरक मत

काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य कर्ण थापाले सदस्यहरूलाई बोल्न दिइएको तीन मिनेटको समयप्रति असन्तुष्टि जनाउँदै त्यसलाई कर्मकाण्ड मात्रै भएको बताएका छन् । बैठकमा बोल्न दिइएको समयप्रति विरोध जनाउँदै थापा केही समय उभिएका थिए । उनी उभिएपछि महासचिव शंकर पोखरेलले उनलाई बस्न आग्रह गरेका थिए । महासचिवको आग्रहपछि थापा आफ्नो स्थानमा बसेका थिए । आफ्नो बोल्ने पालो आएपछि भने थापाले २४ पृष्ठ लामो फरक मत केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका छन् । उनले पार्टीको महत्वपूर्ण बैठकमा केन्द्रीय सदस्यलाई तीन मिनेट मात्रै बोल्न दिँदा गम्भीर राजनीतिक तथा सांगठनिक विषयमा पर्याप्त छलफल हुन नसक्ने बताएका थिए ।  थापाले पार्टीको पछिल्लो राजनीतिक अवस्था, नेतृत्वको कार्यशैली, संगठन सञ्चालन र आगामी कार्यदिशालगायत विषय समेटेर आफ्नो फरक मत लिखित रूपमा बैठकमा राखेका हुन् ।  एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजय, नेतृत्वको भूमिका, संगठनको अवस्था तथा आगामी राजनीतिक र सांगठनिक कार्यदिशाबारे छलफल भइरहेको छ । बैठकमा नेताहरूले पार्टी सञ्चालनको शैली र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै लिखित तथा मौखिक धारणा राखिरहेका छन् । 

भैरहवा, बुटवल र दाङमा पुग्यो हुन्डाईको ‘अल–न्यु भेन्यू’

काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि उपलब्ध भएको छ ।  यससँगै यी क्षेत्र तथा आसपासका ग्राहकले हुन्डाईको नयाँ पुस्ताको भेन्यु प्रत्यक्ष रूपमा हेर्न तथा अनुभव गर्न पाउने भएका छन् । अल–न्यु भेन्युमा आकर्षक र बोल्ड डिजाइनसँगै आरामदायी सुविधा, अत्याधुनिक प्रविधि र प्रभावकारी कार्यक्षमताको संयोजन गरिएको कम्पनीले जनाएको छ ।  यसको फराकिलो र बलियो डिजाइनलाई ‘ट्विन हर्न एलईडी डीआरएल’, ‘होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प’, ‘डार्क क्रोम ग्रिल’ र ‘सिग्नेचर सी–पिलर गार्निस’ले थप आकर्षक बनाएको छ । गाडीको भित्री भागमा १०।२५ इन्चको ‘सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम’ उपलब्ध छ । यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायतका सुविधा छन् । कार्यसम्पादनतर्फ अल–न्यु भेन्युमा क्याप्पा १.२ लिटर एमपीआई पेट्रोल र क्याप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । यसले दैनिक यात्राका लागि सहज कार्यक्षमतादेखि थप प्रतिक्रियाशील टर्बो प्रदर्शनसम्मको विकल्प उपलब्ध गराउने कम्पनीको भनाइ छ । सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम) र हिल–स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) जस्ता सुविधा राखिएका छन् । नेपाली बजारमा अल-न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो एसयूभी एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ । अल–न्यु भेन्यु अब भैरहवा, बुटवल र दाङस्थित हुन्डाईका सोरुममा उपलब्ध भइसकेको छ । ग्राहकले सोरुममै पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर र कार्यक्षमताबारे जानकारी लिन तथा प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार लुम्बिनी प्रदेशसभा सचिवालयले भदौ २४ गते जारी गरेको काफ्लेको पदमुक्तिसम्बन्धी सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो । काफ्लेलाई पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षबीच छलफल आवश्यक रहेको ठहर गरेको छ । त्यसका लागि अदालतले असोज १६ गते पेशी तोकेको छ । अदालतले उक्त छलफलबाट अन्तिम निर्णय नहुँदासम्म लुम्बिनी प्रदेशसभा, राप्ती उपत्यका (देउखुरी) ले जारी गरेको ‘दल त्यागसम्बन्धी सूचना’ कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको छ । सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९९२०(ख) बमोजिम जारी आदेशमा नेपालको संविधानको धारा १८० समेतलाई ध्यानमा राखिएको उल्लेख छ । साथै, काफ्लेको रिटमा माग गरिएअनुसार आदेश जारी हुनु नपर्ने कारण, आधार र प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा अदालतले आदेश दिएको छ । काफ्लेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिँदा जसपा नेपालले जारी गरेको ह्विप उल्लंघन गरेको आरोपमा पार्टीले कारबाही गरेको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले भदौ २४ गते सूचना जारी गर्दै काफ्ले प्रदेशसभा सदस्यबाट पदमुक्त भएको जनाएको थियो । पदमुक्त भएको सूचना पाएपछि काफ्लेले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सर्वोच्चको मंगलबारको आदेशसँगै तत्कालका लागि उनको पदमुक्तिको निर्णय कार्यान्वयनमा रोक लागेको छ । असोज १६ गते हुने दुवै पक्षबीचको छलफलपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्नेछ ।

चावहिल–बौद्धमा ट्रायम्फको नयाँ ३एस शोरुम, देशभर चार नयाँ शोरुम विस्तार

काठमाडौं । मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौंको चावहिल–बौद्ध क्षेत्रमा नयाँ ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम सञ्चालनमा ल्याएको छ । ट्रायम्फ नेपालको आधिकारिक डिलर जेन पाल गियर्सले सञ्चालनमा ल्याएको यो शोरुमसँगै काठमाडौं उपत्यकामा ट्रायम्फका ग्राहकले बिक्रीदेखि आधिकारिक सर्भिस र ओरिजिनल स्पेयर पार्ट्ससम्मका सबै सेवा एउटै स्थानबाट पाउने भएका छन् । चावहिल–बौद्ध सडकमा रहेको नयाँ शोरुम उपत्यकाको व्यस्त र सहज पहुँच भएको क्षेत्रमा स्थापना गरिएको कम्पनीले जनाएको छ। अब यस क्षेत्रका मोटरसाइकलप्रेमीले ट्रायम्फका विभिन्न मोडल अवलोकन, खरिद तथा दक्ष प्राविधिकबाट आधिकारिक सर्भिसिङ सेवा लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ शोरुम सञ्चालनसँगै काठमाडौं उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) र मर्मतका लागि टाढा जानुपर्ने बाध्यता पनि हट्नेछ ।   ट्रायम्फ नेपालले एक साताभित्र देशका चार स्थानमा नयाँ ३एस शोरुम सञ्चालनमा ल्याएर आफ्नो नेटवर्क विस्तारलाई तीव्र बनाएको छ । कम्पनीले धनगढी, दाङ, हेटौँडा र काठमाडौंको चावहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । ट्रायम्फका अनुसार नेपालमा मिड–प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै सातामा चार वटा पूर्ण ३एस शोरुम विस्तार गरिएको यो पहिलो अवसर हो । यस विस्तारसँगै सुदूरपश्चिमदेखि लुम्बिनी, मधेश हुँदै काठमाडौं उपत्यकासम्म ट्रायम्फको आधिकारिक सेवा सञ्जाल थप बलियो बनेको कम्पनीले जनाएको छ ।   ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले काठमाडौंमा नयाँ शोरुम सञ्चालन हुनु उपत्यकाका राइडरका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार कम्पनीको लक्ष्य देशभर जहाँ ट्रायम्फ विस्तार भए पनि ग्राहकले एउटै छानामुनि मोटरसाइकल, आधिकारिक सर्भिस र ओरिजिनल स्पेयर पार्ट्स सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हो । त्यस्तै, ट्रायम्फ चावहिल–बौद्धका डिलर पार्टनर जेन पाल गियर्सका रोहन शाहीले नयाँ शोरुमले चावहिल, बौद्ध र आसपासका क्षेत्रका राइडरलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै मोटरसाइकलप्रेमीहरूबीच भेटघाट र समुदाय निर्माणको केन्द्र बन्ने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार चार नयाँ ३एस शोरुम सञ्चालनसँगै ट्रायम्फ नेपालले आफ्नो ग्राहक सेवा सञ्जाल र राइडर समुदायलाई अझ सुदृढ बनाउने अभियानलाई नयाँ चरणमा पुर्‍याएको छ ।

साउनमा पौने ७ अर्ब दाबी भुक्तानी, करिब ५२ अर्ब तिर्न बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा बीमा कम्पनीहरूले पौने ७ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरूले एक महिनामा  ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले मात्रै साउन महिनामा २८ हजार १२१ वटा दाबीबापत ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।  जुन गत आवको सोही अवधिको तुलनामा दाबी संख्या ०.२२ प्रतिशत र दाबी रकम ७.३६ प्रतिशते बढेको हो ।  साउनमा निर्जीवन बीमकहरूले १० हजार ९६९ वटा दाबीबापत्  १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् यो भुक्तानी गत आवको यही अवधिको तुलनामा भुक्तानी रकम घटेको छ ।  गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा भुक्तानी रकम भने २०.६६ प्रतिशतले घटेको छ । ५१ अर्ब भुक्तानी बाँकी बीमा कम्पनीहरूको दाबीबापत ठूलो रकम भुक्तानी गर्न बाँकी देखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरूले ५१ अर्ब ९३ करोड ४४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । जीवन बीमा कम्पनीहरूले मात्रै १ लाख २५ हजार ६३० वटा दाबीको १० अर्ब १४ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।  जुन गत आवको यही अवधिको तुलनामा संख्या र रकम क्रमशः ११८.१० प्रतिशत र १२०.५६ प्रतिशतले बढेको छ ।  अघिल्लो वर्ष साउनसम्म जीवन बीमकहरूले ५७ हजार ६०३ वटा दाबीको ४ अर्ब ६० करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । चालु आवको साउनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ लाख १० हजार ६५० वटा दाबीको ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।  अघिल्लो आवको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ९.६५ प्रतिशत र ६० प्रतिशतले बढी हो ।  अघिल्लो आवको यही अवधिमा निर्जीवन बीमकहरूले १ लाख ९०८ वटा दाबीको २६ अर्ब ११ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

योगेश भट्टराईले ओलीलाई बुझाए अन्तरिम नेतृत्वको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको नेतृत्व हस्तान्तरणलाई अब अनिवार्य प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन् ।  उनले स्थानीय तहको निर्वाचनसम्म पार्टी सञ्चालनका लागि अन्तरिम नेतृत्व निर्माण गर्नुपर्ने धारणा अघि सार्दै अध्यक्ष केपी शर्मा ओलीलाई आठबुँदे लिखित प्रस्ताव बुझाएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकका क्रममा मंगलबार भट्टराईले ओलीलाई आफ्नो लिखित धारणा बुझाएका हुन् ।  बैठकमा सदस्यहरूले निर्धारित समयभित्र सबै विषयमा धारणा राख्न नसक्ने अवस्था रहेकाले उनले मौखिक प्रस्तुतिभन्दा अघि नै लिखित दस्तावेज अध्यक्षलाई बुझाएका हुन् । भट्टराईको बोल्ने पालो भने बुधबारका लागि तय भएको छ ।  उनले लिखित धारणामा पार्टीको वर्तमान राजनीतिक अवस्था, नेतृत्व हस्तान्तरण र आगामी निर्वाचनसम्म संगठन सञ्चालनको ढाँचाबारे आफ्नो प्रस्ताव अघि सारेका छन् । भट्टराईले स्थानीय तहको निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्व खडा गर्नुपर्ने विषयलाई प्रस्तावको महत्त्वपूर्ण हिस्साका रूपमा अघि सारेका छन् ।  पार्टीलाई नयाँ राजनीतिक परिस्थितिअनुसार पुनर्गठन गर्दै नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्नुपर्ने उनको धारणा छ । एमालेभित्र निर्वाचनमा पार्टीले बेहोरेको पराजय र त्यसपछि उत्पन्न नेतृत्व तथा संगठनसम्बन्धी बहस चलिरहेका बेला भट्टराईको लिखित प्रस्ताव आएको हो ।  यसअघि पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी विषयमा पनि नेतृत्व तहमा मतभिन्नता देखिँदै आएको छ । भट्टराईले आफ्नो धारणा केन्द्रीय कमिटी बैठकमै राख्ने तयारी गरेका छन् । बुधबारको बैठकमा उनले लिखित दस्तावेजमा उल्लेख गरिएका विषय सार्वजनिक रूपमा प्रस्तुत गर्नेछन् ।  उनको प्रस्तावले नेतृत्व हस्तान्तरण र आगामी निर्वाचनसम्म पार्टी सञ्चालनको संरचनाबारे एमालेभित्रको बहसलाई थप औपचारिक बनाउने देखिएको छ ।

आईसीएफसी फाइनान्सको त्रिशूली शाखा बट्टारबाट पुनः सञ्चालन

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी बाढीबाट क्षतिग्रस्त त्रिशूली शाखा कार्यालयलाई नुवाकोटको बट्टारमा स्थानान्तरण गरी पुनः सञ्चालनमा ल्याएको छ । फाइनान्सका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिका–१, त्रिशूलीस्थित शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । त्यसपछि शाखाबाट सेवा प्रवाह बन्द भएको थियो । क्षतिग्रस्त स्थानमा शाखा पुनःस्थापना गर्न सम्भव नभएपछि फाइनान्सले शाखालाई विदुर नगरपालिका–४, बट्टार मा स्थानान्तरण गरेको जनाएको छ । नयाँ शाखाबाट असोज ५ गतेदेखि नियमित बैंकिङ सेवा सुरु गरिएको हो । अब त्रिशूली शाखाका ग्राहकले बट्टारस्थित नयाँ शाखाबाट निक्षेप, कर्जा, रेमिट्यान्स तथा अन्य सम्पूर्ण बैंकिङ सेवा नियमित रूपमा लिन सक्ने फाइनान्सले जनाएको छ । आईसीएफसी फाइनान्सले ग्राहकलाई नयाँ शाखाबाट सेवा लिन तथा आवश्यक जानकारीका लागि शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

लाइसेन्स छपाइ र वितरण अब एउटै प्रणालीबाट, घरमै पुर्‍योउने तयारी

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ । यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार पूर्वाधार विकास मन्त्रालयमा सम्झौता भएको हो ।  सम्झौतासँगै लाइसेन्सको डाटा पठाउनेदेखि छपाइ र सेवाग्राहीसम्म पुर्‍योउने प्रक्रियालाई एकीकृत बनाउने तयारी गरिएको छ । सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीमार्फत जारी हुने लाइसेन्सको डाटा अब सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जानेछ। सोही प्रणालीका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गर्नेछ । छपाइपछि लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पठाउने तथा सेवाग्राहीले चाहेको ठेगानामै पु¥याउने व्यवस्था मिलाइनेछ। यसका लागि हुलाक सेवा विभागको संयन्त्र प्रयोग गरिनेछ । यसले लाइसेन्स छपाइ र वितरणमा देखिँदै आएको झन्झट घटाउने, विभिन्न निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने तथा सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न कार्यालय धाउनुपर्ने अवस्थालाई क्रमशः कम गर्ने अपेक्षा गरिएको छ । सरकारले लामो समयदेखि लाइसेन्स छपाइ तथा वितरणमा रहेको समस्या समाधान गर्न डिजिटल प्रणाली, सुरक्षित मुद्रण र हुलाक सेवाको संयोजन गर्न खोजेको हो । सम्झौता कार्यान्वयनमा आएपछि डाटा यातायात विभागबाट, छपाइ सुरक्षण मुद्रण केन्द्रबाट र वितरण हुलाकमार्फत हुने गरी लाइसेन्स वितरण प्रणाली अघि बढ्नेछ ।