बाढी प्रभावित क्षेत्रमा थप ७ स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा मोबाइल सेवा सुचारु गरेको छ । यससँगै प्रभावित क्षेत्रमा अवरुद्ध भएका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका अनुसार आज सञ्चालनमा आएका साइटमा रसुवाको नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी बीटीएस साइट रहेका छन् । रसुवा बोर्डर बीटीएस सञ्चालनमा आएसँगै नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । त्यस्तै, अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ र आमाछोङदिमो गाउँपालिका–५ लगायतका क्षेत्रमा सेवा उपलब्ध हुनेछ । छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको टेलिकमले जनाएको छ । जिपजिपे साइटबाट कालिका गाउँपालिका–२ र ५, धारापानी तथा देउरालीडाँडामा सेवा पुगेको छ । गत्लाङ बीटीएस सञ्चालनमा आएसँगै गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलाभार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम क्षेत्रमा मोबाइल सेवा उपलब्ध भएको छ । यसैगरी, चारघरे तथा चारघरे मुलाबारी बीटीएस सञ्चालनमा आएपछि नुवाकोटको विदुर नगरपालिका–१२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ । विपद्का कारण प्रभावित नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा २० स्याटेलाइट फोन
काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना तथा सञ्चार सम्पर्कलाई थप सहज बनाउन २० थान स्याटेलाइट फोन उपलब्ध गराइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । उपलब्ध गराइएका फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ । यी स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । सामान्य दूरसञ्चार नेटवर्कको पहुँच नपुग्ने दुर्गम तथा प्रभावित क्षेत्रमा समेत स्याटेलाइटमार्फत फोन र एसएमएस सेवा सञ्चालन गर्न सकिने भएकाले विपद्का बेला यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ । सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार, राहत तथा समन्वयमा समस्या हुने भएकाले स्याटेलाइट फोनको प्रयोगले उद्धार टोली, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच तत्काल सूचना आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । विपद्का समयमा अत्यन्त उपयोगी मानिने स्याटेलाइट फोन प्रविधि महँगोसमेत हुने भएकाले आईटीयूबाट प्राप्त सहयोगले बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सञ्चार प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।
बाढीको छायामा नाडा अटो शो
काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल झिलिमिली छ । बाहिर खासै भीड देखिँदैन, भित्र केही मानिसहरूको चहलपहल छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को १८औं संस्करण र स्थापनाको ५०औं वर्षगाँठ (स्वर्ण जयन्ती) का अवसरमा आयोजित यो मेला बाढीको छायामा परेकाे छ । अटो व्यवसायीहरूले यसपटकको नाडा अटो शोलाई निकै ठूलो तडकभडक र लगानीका साथ सुरु गरेका थिए । पाँच दशकको इतिहासलाई उत्सवका रूपमा मनाउने योजना थियो । मंगलबार मेलाको विधिवत उद्घाटन हुँदा व्यवसायीहरूमा बेग्लै उत्साह थियो । तर, त्यो उत्साह २४ घण्टा पनि टिक्न पाएन । बुधबार बिहानै विपत्तिले नेपालको अटोमोबाइल क्षेत्रलाई मात्र होइन, सिंगो देशलाई नै शोकमा डुबायो । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नाडा अटो शोको रौनकलाई खल्लो बनाइदियो । बाढीले नाडाको रौनकमा मात्र धक्का दिएन, नेपालमा ईभी भित्रिने मुख्य मार्ग रसुवागढी नाका नै तहसनहस बनाइदियो । अटो व्यवसायीहरूका अनुसार रसुवागढी नाकामा रहेका करिब ८ सय वटा नयाँ गाडीहरू बाढीले बगाएको छ । स्टलमा बसेका एक व्यवसायी भावुक हुँदै भन्छन्, ‘भृकुटीमण्डपमा त गाडीको शो मात्र भइरहेको छ । हाम्रो ध्यान त उतै रसुवा र नुवाकोटतिर छ । देश रोइरहेको बेला हामी यहाँ मुस्कुराएर व्यापार गर्न सकिरहेका छैनौं ।’ व्यवसायीहरूका अनुसार कतिपय गाडीहरू बाढीले बगाएर कता पुर्यायो पत्तो छैन । कतिपय हिलोले पुरिएका छन् । यो क्षति अटोमोबाइल क्षेत्रका लागि अपूरणीय छ । नाडाका कोषाध्यक्ष पंकज अग्रवालका अनुसार मेलाको सुरुवाती दिनहरूमा उत्साहजनक सहभागिता थियो । पहिलो दिन ३० हजार र शनिबार ३५ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रह्यो । व्यापारिक दृष्टिले बुकिङ पनि राम्रो भयो । तर, देशमा परेको ठूलो विपत्तिका कारण आयोजकले मेलालाई उत्सवका रूपमा मनाउन सकेनन् । विपत्तिका कारण नाडाले मेलाका सबै प्रचारप्रसारका कार्यक्रमहरू बीचमै रोकेको थियो । ठूलो भौतिक संरचना तयार भइसकेकाले र करोडौंको लगानी भइसकेकाले मेला स्थगित गर्न सम्भव थिएन, तर समापन समारोहसमेत नगरेर नाडाले राष्ट्रिय शोकप्रति ऐक्यबद्धता जनायो । ‘२०७२ को भूकम्पपछिकै यो सबैभन्दा ठूलो विपत्ति हो, यस्तो बेला हाम्रो मन यहाँ मेलामा हुनै सकेन,’ अग्रवालले थपे । विपत्तिका बाबजुद पनि उपभोक्ताहरूको ध्यान भने विद्युतीय गाडीले खिचेको देखियो । नाडा अटो शोमा सधैं झैं यसपटक पनि बीवाइडी सबैभन्दा बढी आकर्षणको केन्द्र बन्यो । बीवाइडीले एटो १, एटो २, एटो ३, सार्क सिक्स र सिलायन सेभेन जस्ता मोडलहरू प्रदर्शनमा राखेको थियो । कम्पनीका अनुसार यीमध्ये हालै सार्वजनिक भएको एटो २ लाई ग्राहकले सबैभन्दा बढी मन पराएका छन् । मेला अवधिभर बीवाइडीले ८ सय भन्दा बढी गाडीको बुकिङ लिन सफल भएको छ, जुन यो मन्दीको बजारमा उत्साहजनक उपलब्धि हो । त्यस्तै, टाटाको स्टलमा पनि ग्राहकको बाक्लो उपस्थिति रह्यो । टाटाले पन्च ईभी, नेक्सन ईभी, टियागो ईभी र नेपालमै पहिलोपटक सिएरा ईभी प्रदर्शनमा राखेको थियो । सिप्रदी ट्रेडिङका अनुसार पन्च ईभीको बुकिङ सोचेभन्दा बढी भएको छ । टाटाको नयाँ प्लेटफर्ममा बनेको पन्च ईभीले मध्यम वर्गीय परिवार र युवा पुस्तालाई निकै आकर्षित गरेको पाइएको छ । यस वर्षको अटो शोमा चिनियाँ ब्राण्डहरूको बाहुल्यता देखियो । नयाँ ब्राण्ड चेरी ले ग्राहकको निकै ध्यान तान्यो । ओमोडा र जेकोमार्फत नेपाल भित्रिएको यो ब्राण्डका नाडा अटो शोमा ५ सय ५० भन्दा बढी गाडीहरू बुकिङ भइसकेका छन् । आधुनिक फिचर र आकर्षक डिजाइनका कारण चेरीले नेपाली सडकमा आफ्नो बलियो उपस्थिति देखाउने संकेत गरेको छ । त्यस्तै, एमएडब्लु वृद्धि मोटर्सले ल्याएको दिपल ब्राण्डमा पनि ग्राहकको घुइँचो थियो । दिपलको नेभो क्यु जिरो फाइभ र दिपल एस०५ मोडललाई अवलोकनकर्ताले निकै चासोका साथ हेरेका थिए । नामी ब्राण्डको नामी बक्स इ२ मा पनि ग्राहकको उत्तिकै रुचि देखियो । स्कोडा, सुजुकी, लिपमोटर, जीडब्लुएम, प्रोटोन इमास र स्काईवेल लगायतका ब्राण्डका स्टलहरूमा पनि ग्राहकको सक्रिय सहभागिताले नेपाली बजार बिस्तारै ईभीमय बन्दै गएको पुष्टि गर्छ । मेलामा गाडीको बुकिङ राम्रो भए पनि व्यवसायीहरूका अगाडि अब अर्को ठूलो चुनौती खडा भएको छ । गाडीको डेलिभरी । देशभरका प्रमुख राजमार्गहरू बाढी र पहिरोले क्षतिग्रस्त भएका छन् । रसुवागढी नाका ठप्प छ । चीनबाट आउन ठिक्क परेका र नाकामा आइपुगेका सयौं गाडीहरू उतै रोकिएका छन् । व्यवसायीहरूका अनुसार ग्राहकलाई गाडी हस्तान्तरण गर्न अहिलेको सडक पूर्वाधार बाधक बनेको छ । एकातिर गाडीको अभाव र अर्कोतिर सडकको दुरावस्थाले गर्दा बुकिङ भएका गाडीहरू समयमै पुर्याउन कठिन हुने देखिएको छ । यदि बाढी नआएको भए नाडा अटो शो २०२६ एउटा ऐतिहासिक संस्करण बन्न सक्ने आयाेजकले जनाएकाे छ । ५०औं वर्षगाँठको उत्साह, नयाँ प्रविधिको आगमन र ईभीप्रतिको बढ्दो आकर्षणले अटो बजारमा नयाँ आशा जगाएको तर बाढीले यसपटककाे नाडा अटाे शाेलाई खल्लो बनाइदिएकाे आयाेजककाे भनाइ छ ।
कृष्णभीरको सडक पूर्ण रूपमा क्षतिग्रस्त
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएको छ । लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा सडकको ठूलो हिस्सा भासिएर ध्वस्त भएको हो । सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ । विभागको प्राविधिक टोलीले सो स्थानको भौगोलिक अवस्था र सडक भासिनुको कारणबारे विस्तृत अध्ययन सुरु गरेको जनाएको छ । अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा सडकको पुनःनिर्माण तथा मर्मत कार्यलाई अगाडि बढाइने विभागले उल्लेख गरेको छ । सडक भासिएका कारण सो क्षेत्रमा यातायात आवागमन समेत प्रभावित भएको छ । भदौ १० गते रसुवा हुँदै आएको भोटेकोशी बाढी र धादिङ त्रिशूली नदीको कटानका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।
२ हजार ४९८ जना अझै सम्पर्कविहीन
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले आइतबार (आज) दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताए । उनका अनुसार हालसम्म ८ सय ८१ जनाको बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २ सय ६१ जना विदेशी नागरिक रहेको उनले जानकारी दिए । उनले ४ सयभन्दा बढी विदेशी पर्यकटहरु अझै पनि सम्पर्कविही अवस्थामा रहेको समेत जानकारी दिए । सचिव राईले सम्पर्कविहीन भएका नागरिकको खोज र उद्धारमा राज्य संयन्त्र पूर्ण क्षमातासहित परिचालित रहेको बताए । उनले बाढी प्रभावित नागरिकको विवरण परराष्ट्र मन्त्रालय, विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग तथा आधिकारिक च्यानलबाट हेर्न सकिने समेत बताए । उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सुरक्षा निकायसहितको सहकार्यमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाहरूमा खोज, उद्धार तथा राहतको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिए । सचिव राईले यस कठिन समयमा सरकार र सरकारसँग संयन्त्रहरुले मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग समेत निरन्तर सम्पर्क र सहकार्य गरिरहेको पनि बताए । उनले परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रल रुममार्फत सम्पर्कविहीन भएका नागरिकका परिवार सम्बन्धीत देशका नियोगहरूसँग निरन्तर रूपमा सम्पर्क गरिरहेको समेत जानकारी दिए । उनले हालसम्म भारत, चीन, युएई लगायतका देशहरूबाट राहत सामग्री प्राप्त गरिसकेको बताए । सचिव राईले यसबीच प्रधानमन्त्री बालेन्द्र साह र परराष्टमन्त्री शिशिर खनालले विभिन्न छिमेकी देशका समकक्षीहरूसँग फोनवार्ता गरेको समेत जानकारी दिए ।
सुरुङभित्र फसेकाको उद्धारमा जुट्यो ९० जनाको टोली
नुवाकोट । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले तीव्र प्रयास अघि बढाएको छ । सुरुङभित्र पुग्न सहज बनाउन नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्ने तयारीसहित प्वाल फराकिलो पार्ने काम अघि बढाएका छन् । उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली परिचालित छ । टोलीले यसअघि दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २ बाई ३ फिटको प्वाल बनाएको थियो । त्यसपछि डोरीको सहायताले उद्धार टोलीका सदस्य सुरुङभित्र तल झरेर फसेका मानिसलाई बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ । उद्धारलाई थप सहज र तीव्र बनाउन अहिले ठूला उपकरण परिचालन, प्वाल फराकिलो पार्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारी एकसाथ अघि बढाइएको छ । कठिन तथा जोखिमपूर्ण भौगोलिक अवस्थाबीच पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली उद्धार प्रयासमा जुटिरहेको छ ।
बाढीपीडितलाई ग्यास उद्योग संघले १ हजार २५० सिलिन्डर दिने
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट उक्त सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो धनजनको क्षति भएको भन्दै संघले दुःख व्यक्त गरेको छ । संघले विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यस्तै, संघले घाइतेहरूको शीघ्र उपचार तथा बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । विपद्का कारण प्रभावित नागरिकको दैनिक जीवन कठिन बनेको अवस्थामा तत्काल आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न निकाय मानवीय सेवामा जुटिरहेका छन् । यही परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रबाट राहत सहयोग गर्ने उद्देश्यले ग्यास सिलिन्डर उपलब्ध गराउन लागेको संघले जनाएको छ ।
अर्घाखाँची सिमेन्टले बाढीपीडितका लागि दियो १ करोड ११ लाख
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट अर्घाखाँची सिमेन्ट लिमिटेडका सञ्चालक पशुपति मुरारकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा व्यवसायीहरू राजेश अग्रवाल, मनोज केडिया लगायतको उपस्थिति रहेको थियो । कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत घोषणा गरिएको १ करोड ११ लाख रुपैयाँ सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास लिइएको छ ।