विकासन्युज

जलविद्युत आयोजनामा करिब ९ सय जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत  करिब ९ सय जना सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा ८९८ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेको संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा धेरै छ ।  २१६ मेगावाट क्षमताको उक्त आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ । यहाँबाट २५४ जनाको उद्धार भइसकेको छ भने करिब ३०० जना अझै सुरुङभित्र फसेको बताइएको छ । त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनामा ४२ जना, २२ मेगावाटको चिलिमेमा ८ जना, ५ मेगावाटको मैलुङ खोलामा ७ जना र १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा ४ जना सम्पर्कविहीन छन् ।  लाङटाङ खोलामा सम्पर्कविहीनमध्ये १८ जनाको उद्धार भए पनि २५ जना अझै सुरुङभित्र रहेको जनाइएको छ। मैलुङ खोलाका ७ जना पनि सुरुङमै फसेका छन् । यस्तै, नुवाकोटका चार जलविद्युत् आयोजनामा पनि १६८ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।  जसअनुसार ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना, १९.६ मेगावाटको मिडल त्रिशूली गंगामा २ जना, २४ मेगावाटको त्रिशूली आयोजनामा १ जना र १४.९ मेगावाटको देवीघाट आयोजनामा १ जना सम्पर्कविहीन छन् ।  माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ११ जनाको उद्धार भइसकेको छ । बाढीपछि आयोजनाका कर्मचारी तथा कामदारको उद्धारलाई प्राथमिकतामा राखिएको छ ।  विशेषगरी सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा प्राविधिक टोलीले निरन्तर प्रयास गरिरहेका छन् ।

विपद् प्रभावित चार जिल्लालाई बागमती सरकारले ३ करोड रुपैयाँ दिने

काठमाडौं । बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् । मुख्यमन्त्री थापाका अनुसार रसुवाका चार पालिकालाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ छुट्याइएको छ ।  यस्तै, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए ।  विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको मुख्यमन्त्री थापाले बताए । उक्त रकम सम्बन्धित पालिकामार्फत मृतकका परिवारलाई उपलब्ध गराइने उनको भनाइ छ ।  मुख्यमन्त्री थापाले विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम सुरु गरिसकेको पनि जानकारी दिए ।  प्रदेश सरकारले राहत तथा पुनःस्थापनाका काम स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढाइरहेको मुख्यमन्त्री थापाको भनाइ छ ।  प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिने गरी तत्कालीन राहतका कामलाई प्राथमिकता दिइएको उनले बताए ।

बाढीपहिरो पीडितका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । विपदबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।  उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइनेछ । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले हिमालयन लाइफका कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन् ।  विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन् ।

४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तीब्रता दिएको छ । सेनाको हवाई टोलीले आइतबार अपराह्न ३ बजेसम्म १६ जना विदेशी नागरिकसहित कुल ४०९ जनाको सफल उद्धार गरेको छ । उद्धार गरिएका विदेशी नागरिकहरूमा १५ जना चिनियाँ र १ जना भारतीय रहेका छन् ।  यसैबीच, त्रिशूली–३ जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेका व्यक्तिहरूको उद्धारका लागि विशेष टोली निरन्तर परिचालित छ ।  गत भदौ १२ गतेदेखि अस्थायी रूपमा बेस क्याम्प खडा गरी खटिएको विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटर जस्ता उपकरणहरूको प्रयोग गरी ‘क्राउनहेड’ फेला पार्न सफल भएको छ । सुरुङमा गरिएको प्वालबाट अवलोकन गर्दा ७ मिटरको डायमिटरमा पानीको सतह निकै माथिसम्म देखिएको प्राविधिक टोलीले जनाएको छ ।  बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित विभिन्न जिल्लाहरूमा नेपाली सेनाले ठूलो संख्यामा फौज परिचालन गरेको छ।  हालसम्म करिब ८ हजार ५ सयभन्दा बढी सैन्य जनशक्ति अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा राहत तथा उद्धार कार्यमा सक्रिय रहेका छन् ।  सेनाले प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा उद्धार र सहयोग कार्यलाई निरन्तरता दिइरहेको छ । – न्यूज एजेन्सी नेपाल

बाढीपीडितका लागि एनसीसीएस ग्रुपको १० लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु‍र्याउन एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा उक्त रकम प्रदान गरेका हुन् ।  नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन् । भोटेकोशी बाढीबाट रसुवालगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।  एनसीसीएस ग्रुपले पनि विपद्को समयमा प्रभावित परिवारलाई राहत र पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ । विगत साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको एससीसीएस ग्रुपले जनाएको छ । ‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्था एनसीसीएस कलेज पकनाजोलमा सञ्चालनमा रहेको छ र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । विद्यार्थीलाई डिग्री हासिल गराउने मात्र नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकासमा समेत केन्द्रित हुँदै आएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट उपत्यकामा ग्यास र इन्धन ल्याइँदै

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा वैकल्पिक मार्गबाट एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाएको छ । भाद्र १४ गते अर्थात् आइतबार त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक कटान गरेपछि यातायात तथा ढुवानी सेवा प्रभावित भएको हो ।  मुख्य राजमार्ग नै अवरुद्ध भई ढुवानीमा समस्या उत्पन्न भएपछि निगमले ग्यास उद्योगीहरूसँग छलफल गरी आपूर्ति सुचारु गर्ने नयाँ विकल्प तय गरेको हो ।  निगमका अनुसार अब काठमाडौं तथा आसपासका क्षेत्रमा ग्यास बिक्री वितरण गर्ने उद्योगहरूले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायत आफूलाई पायक पर्ने जिल्लाका ग्यास उद्योगहरूसँग समन्वय गर्नेछन् । ती स्थानका उद्योगहरूमा आ-आफ्ना ग्यास बुलेट खाली गराई सिलिन्डर रिफिल गरिनेछ । कृष्णभीरको बाटो पूर्ण रूपमा नखुलेसम्म यसरी रिफिल गरिएका सिलिन्डरहरू ट्रकमार्फत वैकल्पिक बाटो हुँदै काठमाडौं उपत्यकामा ल्याएर बिक्री वितरण गरिने व्यवस्था मिलाइएको छ । यसैगरी, एलपी ग्यासका साथै अन्य पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर र ट्रकहरूलाई समेत स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंसम्म ल्याउने र आपूर्ति व्यवस्थालाई सहज बनाइराख्ने निगमले जनाएको छ ।

अनुमति दिए बाढी प्रभावित क्षेत्रमा स्टारलिंकको निःशुल्क इन्टरनेट प्रस्ताव, के भन्छ सरकार ?

काठमाडौं । रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हालै आएको विनाशकारी बाढीले दूरसञ्चार पूर्वाधारमा पुर्‍याएको क्षतिपछि उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय भू-उपग्रह इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले निःशुल्क सेवा दिने प्रस्ताव गरेको छ ।  कम्पनीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नेपाल सरकार तथा मानवीय सहायता साझेदारहरूसँग सहकार्य गरी उपकरण र इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ ।  सडक, पुल र मोबाइल टावर अवरुद्ध भएको विषम परिस्थितिमा बिजुली र खुला आकाश पाउनेबित्तिकै मिनेटभरमै सञ्चालन गर्न सकिने यो सेवाले उद्धार कार्य र सम्पर्क पुनःस्थापनामा सहयोग पुग्ने स्टारलिंकको दाबी छ ।  यद्यपि, नेपाल सरकारले भने अनुमति दिएपछि मात्रै यो सेवा सुरु गर्न सकिने बताएको छ । नेपाल सरकार तथा सञ्चार मन्त्रालयले भने विपद्का बेला तत्कालका लागि विदेशी दूरसञ्चार कम्पनीको आवश्यकता नरहेको स्पष्ट पारेको छ ।  सञ्चार मन्त्रालयका अधिकारीहरूका अनुसार हालको मुख्य समस्या टावरहरूमा विद्युत् आपूर्ति नहुनु हो, जसका लागि जेनेरेटर र इन्धन ब्याकअपको प्रयोग भइरहेको छ ।  साथै, निजी तथा फाइबर सेवाप्रदायकहरूले ९० प्रतिशतभन्दा बढी क्षेत्रमा सेवा सुचारु गरिसकेका छन् ।शतप्रतिशत वैदेशिक लगानीमा नेपाल प्रवेश गर्न चाहेको स्टारलिंकले विपद्को बहाना बनाएर आउन खोजेको आशङ्का मन्त्रालयको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालको प्रचलित कानुनबमोजिम २० प्रतिशत स्थानीय साझेदार राखेर प्रक्रियागत रूपमा स्टारलिंक आउने बाटो भने सधैं खुला छ । यसैबीच, प्रभावित क्षेत्रमा स्वदेशी दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम र एनसेलले सञ्चार सेवा पुनःस्थापनाको कामलाई तीव्रता दिएका छन् ।  रसुवा, नुवाकोट र धादिङका कुल १२० वटा साइटमध्ये नेपाल टेलिकमका ९४ वटा टावरहरू पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी २६ वटा टावरमा विद्युत् अभाव र इन्धन ढुवानीको कठिनाइका कारण सेवा रोकिएको छ ।  मौसमको प्रतिकूलताका बिच प्राविधिक टोलीहरू खटिएका छन् । उता निजी सेवा प्रदायक एनसेलले पनि अवरुद्ध भएका २७ मध्ये २१ टावरहरू सञ्चालनमा ल्याइसकेको छ ।  दुवै कम्पनीहरूले बाँकी भौतिक क्षति पुगेका तथा फाइबर काटिएका स्थानहरूमा छिट्टै सेवा पूर्ण रूपमा सुचारु गर्ने प्रतिबद्धता जनाएका छन् ।   

नाडा अटो शोको अन्तिम ३ घण्टाको टिकट बिक्रीबाट उठेको रकम बाढीपीडितलाई

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जारी नाडा अटो शोको अन्तिम तीन घण्टाको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढी तथा पहिरोपीडितको राहतमा सहयोग गर्ने घोषणा गरेको छ । नाडाका अनुसार आज साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सबै टिकटको रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगमा खर्च गरिनेछ । देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा अटो शोको अन्तिम समयलाई राहत अभियानसँग जोड्ने निर्णय गरिएको नाडाले जनाएको छ । नाडाका प्रतिनिधिले अटो शोमार्फत सवारीसाधन र प्रविधिको उत्सव मनाइरहँदा देशका विभिन्न भागमा नागरिकहरू प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै अन्तिम तीन घण्टामा संकलन हुने टिकट शुल्क पीडितको सहयोगमा समर्पित गर्ने बताए । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनीमा सहभागी हुँदै राहत अभियानमा योगदान पु‍र्याउन नाडाले सर्वसाधारणलाई अपिल गरेको छ ।  संकलित रकम आधिकारिक राहत कोषमार्फत निष्पक्ष र पारदर्शी ढंगले प्रभावित क्षेत्रका पीडितसम्म पु‍र्याइने नाडाले जनाएको छ ।