विदेशबाट नेपाल पैसा पठाउँदा अब सिटी एक्सप्रेसको सेवा शुल्क नलाग्ने
काठमाडौं । तिब्बतबाट आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पु‍र्याउन सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ । विपद्को कठिन अवस्थामा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज, छिटो र पूर्ण रकम पठाउन सकून् भन्ने उद्देश्यले कम्पनीले बाढी आएको दिनदेखि नै यो विशेष सुविधा लागू गरेको हो । कम्पनीका अनुसार यूएई, साउदी अरब, कतार, कुवेत र ओमान लगायतका खाडी मुलुकबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क लाग्ने छैन । त्यस्तै, जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट पठाइने रकममा पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ । युरोपतर्फ बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्सबाट नेपाल पैसा पठाउँदा समेत सेवा शुल्क मिनाहा गरिएको कम्पनीले जनाएको छ । न्युजिल्यान्डबाट पठाइने रेमिट्यान्समा पनि यो सुविधा लागू हुनेछ । सिटी एक्सप्रेस तथा यसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत यो सुविधा उपलब्ध गराइएको हो । यसबाट विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई थप सहज रूपमा आर्थिक सहयोग पठाउन सक्ने कम्पनीको विश्वास छ । सिटी एक्सप्रेसले विपद्को यस कठिन समयमा विदेशमा रहेका नेपालीलाई उक्त सुविधाको अधिकतम उपयोग गर्दै आफ्ना परिवार र प्रभावित समुदायलाई सहयोग गर्न आग्रह गरेको छ । सिटी एक्सप्रेसले २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा सहज, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
विपद् प्रभावितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
काठमाडौं । बाढी प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। नेपाल लाइफले उक्त रकमको चेक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । कम्पनीका अनुसार सहयोग रकमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनस्र्थापना कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ । नेपाल लाइफले विपद्को कठिन समयमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता निरन्तर कायम राख्दै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रहसमेत गरेको छ ।
आफन्तको अनुमतिबिनै शव व्यवस्थापन गरेको भन्दै कांग्रेसको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछिको विपद् व्यवस्थापनका सन्दर्भमा चासो व्यक्त गरेको छ । पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको विषयप्रति गम्भीर आपत्ति जनाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा बोल्दै नेता आङदेम्बेले शव व्यवस्थापनको संवेदनशीलतालाई ध्यान नदिइएको गुनासो आएको बताए । नेता आङदेम्बेले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको उल्लेख गरे । यस विषयमा आफूले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए । स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूसँगको समन्वय तथा सुझावका आधारमा नेता आङदेम्बेले प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाए । नेता आङ्देम्बेले भने, ‘शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिएको विषय पनि गम्भीर रूपमा उठेको छ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा फैलिएको दुर्गन्ध पनि हाम्रो लागि ठूलो चुनौती बनेको छ । मैले हिजो प्रधानमन्त्रीसँगको भेटपछि स्थानीय तहका नेता तथा सम्पर्कमा रहेका साथीहरूको सुझावका आधारमा ९ बुँदामा ध्यानाकर्षण गराएको छु । ती ९ बुँदा संक्षिप्त रूपमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’ विपद्पछिको राहत, पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि पार्टीले सरकारको ध्यान खिचेको उनको भनाइ छ ।
निजी चिस्यान केन्द्रमा पनि शव राख्न सकिने
काठमाडौं । नेपाल सरकारले विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिहरूको शव भण्डारण तथा व्यवस्थापनलाई व्यवस्थित र सहज बनाउन ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गरेको छ । नयाँ संशोधित नियमावलीअनुसार विपद्मा परी ज्यान गुमाउने व्यक्तिहरूको शव प्राथमिकताका साथ सङ्घीय, प्रादेशिक वा स्थानीय तहका सरकारी अस्पताल, सामुदायिक अस्पतालका शव भण्डारण कक्ष वा सरकारी तथा सामुदायिक रूपमा सञ्चालित शवगृहमा राखिनेछ । तर, विपद्को संकटपूर्ण स्थितिमा सरकारी वा सामुदायिक अस्पतालका शवगृहले मात्र नपुग्ने अवस्था आएमा जिल्ला विपद् व्यवस्थापन समितिले विकल्पका रूपमा निजी अस्पतालका शवगृह, सरकारी वा निजी क्षेत्रबाट सञ्चालित चिस्यान केन्द्र (कोल्ड स्टोर) तथा अस्थायी शव भण्डार कक्षको व्यवस्था गरी शव भण्डारण गर्न सक्ने कानुनी बाटो खुलेको छ । नियमावलीमा भएको व्यवस्था अनुसार यसरी शव भण्डारण गर्दा लाग्ने आवश्यक सम्पूर्ण खर्च जिल्ला विपद् व्यवस्थापन कोषबाट भुक्तानी गरिनेछ । यसैगरी, नियमावलीमा निजी क्षेत्रबाट सञ्चालित चिस्यान केन्द्रहरूमा शव भण्डारण गर्दा वा ती चिस्यान केन्द्र प्रयोग गरेबापत रकम भुक्तानी गर्दा नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गरिदिनुपर्ने दायित्व तोकिएको छ । विपद्का समयमा हुन सक्ने ठूलो मानवीय क्षति र शव व्यवस्थापनमा आउन सक्ने जटिलतालाई सम्बोधन गर्न यो नयाँ प्रबन्ध मिलाइएको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनआईएमबीको ४ करोड १ लाख सहयोग
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै उक्त सहयोग गरेको जनाएको छ । बैंकका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकसँग साथमा रहँदै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पु‍र्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराइएको हो । एनआईएमबीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा जारी
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । अब भने राहत तथा उद्धार कार्यलाई सहज बनाउन उक्त सुविधा थप समयसम्म निरन्तरता दिइने भएको हो । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा उपयोग गर्न आग्रह गरेको छ । विपद्का कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अधिकांश क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सुचारु गर्ने काम भइरहेको छ । विपद्को कठिन अवस्थामा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्त तथा उद्धार र राहतमा खटिएका निकायसँग सञ्चार सम्पर्क कायम गर्न महत्वपूर्ण सहयोग पुग्ने नेपाल टेलिकमको विश्वास छ ।
ग्राहकको निक्षेप र सुनचाँदी बाढीले बगाएपछि बैंकर चिन्तित, धमाधम भेटिँदै भल्ट
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको बैंकको अर्को सेफ (भल्ट) धादिङमा फेला परेको छ । मलेखु खोलाको किनारमा बाढीले थुपारेको अवस्थामा भल्ट भेटिएपछि सुरक्षाकर्मी र उद्धारकर्ताले त्यसलाई निकालेर जिल्ला प्रशासन कार्यालयमा सुरक्षित राखेका छन् । बाढीको बहावसँगै बैंकका संरचना, नगद तथा अन्य महत्वपूर्ण सामग्री नदीमा बगेका थिए । त्यही क्रममा बगेको भल्ट धादिङको मलेखु खोलाको पारी किनारमा फेला परेको हो । भल्ट भेटिएपछि त्यसलाई सुरक्षित रूपमा निकालेर प्रशासनको जिम्मामा राखिएको प्रहरीले जनाएको छ । यसअघि पनि रसुवाबाट बाढीले बगाएर ल्याएको एउटा बैंकको भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो । उक्त भल्ट स्थानीय केही व्यक्तिले फुटाएर त्यसमा रहेको रकम आपसमा बाँडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म ९२ लाख बढी रुपैयाँ बरामद भएको सुरक्षा निकायले जनाएको छ । भल्टबाट निकालिएको भनिएको रकम अझै सबै फेला परिसकेको छैन । घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा उनीहरूसँग रहेको रकम खोजी गर्ने काम जारी छ । बाढीले बैंकका संरचना नै बगायो गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीले रसुवा र नुवाकोट क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पु¥याएको थियो । बाढीले ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंकका शाखा कार्यालय बगाएको बताइएको छ । बैंकका कार्यालय नै नदीमा मिसिएपछि त्यहाँ रहेको नगदसँगै ग्राहक तथा ऋणीहरूले धितोका रूपमा राखेका सुनचाँदीलगायतका सामग्री पनि बाढीको बहावमा परेका थिए । भल्टजस्ता अन्य सामान समेत नदीले बगाएपछि ती सामग्री कहाँ पुगे भन्ने यकिन गर्न सुरक्षा निकायलाई चुनौती छ । बाढीमा परी ७ वटा वाणिज्य बैंकका २७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाइएको छ । बैंकिङ संरचनामा भएको क्षतिको वास्तविक अवस्था र बाढीले बगाएका नगद तथा अन्य सम्पत्तिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ । पहिलो भल्ट भेटिएपछि रकम बाँडेको आरोप धादिङको गल्छी क्षेत्रमा यसअघि फेला परेको भल्ट स्थानीयले फुटाएर रकम बाँडेको विषय सार्वजनिक भएपछि घटनाले थप गम्भीर रूप लिएको थियो । धादिङ क्षेत्र नम्बर १ की रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत उक्त घटनाबारे प्रश्न उठाउँदै अनुसन्धान र खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएकी थिइन् । सांसद तामाङले गल्छीका एक वडाध्यक्षको नेतृत्वमा करिब ३५ जनाले भल्ट फुटाएर त्यसमा रहेको करिब १ करोड ८० लाख रुपैयाँ बाँडेको दाबी गरेकी थिइन् । उनको दाबीपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो । त्यसपछि सुरक्षा निकायले बाढीले बगाएका बैंकका भल्ट तथा अन्य सामग्रीको खोजीलाई तीव्र बनाएको हो । सोही क्रममा मलेखु खोलाको किनारमा अर्को भल्ट फेला परेको हो । बाढीले बगाएका भल्टको खोजी जारी बैंकका कार्यालय तथा भल्ट नदीमा बगेपछि त्यसमा रहेको नगद र धितोको सुरक्षालाई लिएर बैंकिङ क्षेत्रसमेत चिन्तित बनेको छ । प्राकृतिक विपत्तिका कारण बैंकको भौतिक संरचना नष्ट भए पनि त्यसमा रहेको रकम तथा ग्राहकको धितोको हिसाब–किताब सुरक्षित राख्नु सम्बन्धित निकायका लागि अर्को चुनौती बनेको छ । प्रहरीले फेला परेका भल्ट तथा त्यसमा हुन सक्ने सामग्रीलाई कानुनी प्रक्रियाअनुसार सुरक्षित राखेर अनुसन्धान अघि बढाइरहेको जनाएको छ । यसअघि फेला परेको भल्टबाट रकम निकालेर लैजाने घटनामा पक्राउ परेकामाथि अनुसन्धान भइरहेकै बेला अर्को भल्ट भेटिएपछि बाढीले बगाएका बैंकिङ सम्पत्तिको खोजी थप महत्वपूर्ण बनेको छ । प्रहरीका अनुसार भल्ट फुटाएर रकम लिएको आरोपमा पक्राउ परेकाबाहेक घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको समेत खोजी भइरहेको छ । साथै, बाढीले बगाएका बैंकका अन्य भल्ट तथा नगदसम्बन्धी विवरणसमेत खोजी गर्ने कार्य जारी छ ।
एकैदिन सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले घट्यो
काठमाडाैं । नेपाली बजारमा आइतबार (आज) सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो । आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।