सुरुङभित्र फसेकाको उद्धारमा जुट्यो ९० जनाको टोली

नुवाकोट । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले तीव्र प्रयास अघि बढाएको छ । 

सुरुङभित्र पुग्न सहज बनाउन नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्ने तयारीसहित प्वाल फराकिलो पार्ने काम अघि बढाएका छन् ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली परिचालित छ ।

टोलीले यसअघि दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २ बाई ३ फिटको प्वाल बनाएको थियो । 

त्यसपछि डोरीको सहायताले उद्धार टोलीका सदस्य सुरुङभित्र तल झरेर फसेका मानिसलाई बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ ।

उद्धारलाई थप सहज र तीव्र बनाउन अहिले ठूला उपकरण परिचालन, प्वाल फराकिलो पार्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारी एकसाथ अघि बढाइएको छ ।
 
कठिन तथा जोखिमपूर्ण भौगोलिक अवस्थाबीच पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली उद्धार प्रयासमा जुटिरहेको छ ।

Share News