आजको मौसम: यी प्रदेशमा धेरै भारी वर्षा हुने
काठमाडौं । देशभर साधारणदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । हाल कोशी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भागका थोरै स्थान, बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना छ । भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री बालेनले भने- ५ अर्ब २४ करोडभन्दा बढी राहत कोषमा जम्मा भएको छ
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि सरकारले रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ती सञ्चालित केन्द्रहरूबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत सामग्री प्राप्त गरेको बताएका हुन् । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिँदै अहिलेसम्म हवाई र स्थलमार्ग भई कुल ९ हजार ४३५ जना मानिसलाई सुरक्षित स्थानमा पुर्याइसकेको छ । अत्यन्त जोखिमपूर्ण बनेको प्रभावित विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार साँझसम्म थप २७९ जनाको सफल उद्धार गरिएको छ । विशेष गरी रसुवाको माथिल्लो त्रिशूली-१ आसपासको क्षेत्रबाट पछिल्लो दुई दिनभित्र मात्रै २५० जनालाई सकुशल उद्धार गरिएको छ। सो क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी चिनियाँ र कोरियन विशेषज्ञ टोलीले समेत उद्धार प्रयासलाई निरन्तरता दिइरहेका छन् । चिनियाँ प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गरी ३ किलोमिटरसम्म गहन खोजतलास गरिसकेको भए तापनि अहिलेसम्म त्यहाँ मानिसहरू फेला पर्न नसकेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । यसैबिच, बाढीका कारण ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ । फेला परेका ती सबै शवहरूको व्यवस्थापन हालै स्वीकृत ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम गरिएको छ । प्रधानमन्त्री शाहका अनुसार विपद् व्यवस्थापन र राहत कार्यका लागि प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भइसकेको छ । उनले सरकारको यो प्रयासमा साथ दिने विभिन्न मित्रराष्ट्र तथा दातृ निकायहरूबाट उपलब्ध भएका सहयोगका विवरणहरू समेत सार्वजनिक गर्दै धन्यवाद व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्री बालेनको स्ट्याटस जस्ताको त्यस्तै: आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, विगत ५ दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पु¥याएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ। प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतिपूर्ण भएपनि हामी दृढताका साथ नागरिकको जीवन रक्षाका लागि अघि बढिरहेका छौं। आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन। आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ। हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौं। नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौं। यस विपद्को घडीमा प्रभावित क्षेत्रमा भइरहेका खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यहरूको हालसम्मको संक्षिप्त विवरणः १) खोजी तथा उद्धार बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीडित मानिसहरुको उद्धारलाई तीव्र पारेको थियो। प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म ९,४३५ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएका छौं। राहत तथा उद्धार कार्यका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २०,६१८ जना सुरक्षाकर्मी खटिनुभएको छ। उद्धारमा अन्य स्वयम्सेवक साथीहरु व्यापक रुपमा निरन्तर लागिरहनुभएको छ। प्रभावित क्षेत्रका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ, साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ। तर, अहिलेसम्म मानिस फेला पार्न सकेको छैन। नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको छ। उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ‘ब्लास्टिङ’ अघि बढाइएको छ। घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपाल, र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ। टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसैले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ। नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी छ। आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ। यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ। रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ। भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी गरी पम्प र एस्काभेटर लगेर थप काम सुरु भएको छ। रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम समेत सुरु भइसकेको छ। २) उपचार तथा मनोपरामर्श बाढीका कारण त्यहाँ रहनुभएका धेरै मानिसहरू घाइते हुनुभएको थियो। उहाँहरूलाई हामीले जतिसक्दो चाँडो उद्धार गरी उपचार गर्ने कोसिस गर्यौं र त्यो क्रम जारी छ। प्रभावित क्षेत्रबाट २६७ घाइते मानिसहरूलाई उद्धार गरी स्थानीयसँगै काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार गरिरहेका छौं। केहीबेरअघिसम्म अस्पतालबाट १५६ जना डिस्चार्ज भइसक्नुभएको छ भने अन्य घाइते मानिसहरूको स्वास्थ्य अवस्थामा सुधार आउँदैछ। प्रभावित क्षेत्रहरूमा उपचार, मनोपरामर्शका लागि काठमाडौंबाट विभिन्न चिकित्सकसहितको टोली खटिनुभएको छ। प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूको सेवा सुचारु गर्ने क्रम जारी छ। ३) आर्थिक सहयोग नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ। संकलित रकम कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्नेबारे हामीले छलफल गरिरहेका छौं। ४) राहत संकलन, वितरण तथा नागरिक व्यवस्थापन नेपालले व्यहोरिरहेको यो विपद्मा देशभित्रै सहयोग गर्ने क्रम जारी छ। छिमेकी मुलुक भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको छ। नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्याइसकेको छ। काठमाडौंको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौं र सामाखुसीको नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याइएको छ। मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याइएको छ। रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएका छन्। यी केन्द्रबाट आइतबार मात्रै ३,४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्। राहत वितरणलाई थप प्रभावकारी बनाउन त्यहाँ भण्डारण गरिएको राहत सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा समेत प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको छ। ५) अन्तर्राष्ट्रिय सहयोग हामीलाई यो विपद्मा आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाहरू पनि बढ्दैछन्। एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ। साथै, भारत सरकारबाट हालसम्म चार चरणमा कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किसिमको सहायता आउँदैछ। चीनबाट ३० वटा बेलीब्रिज सहयोग अनुरोध गरिएको छ। भारतले आइतबार २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ। साथै, भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। स्विट्जरल्यान्डबाट १ मिलियन स्विस फ्र्याङ्क (संयुक्त राष्ट्र संघबाट खर्च हुने गरी) प्राप्त भएको छ। ६) सञ्चार सम्पर्क प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको छ। आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ। नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। ७) वैकल्पिक सडक सञ्चालन बाढीले मुख्य सडकहरूमा क्षति पुर्याएको थियो। हामीले वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास गरिरहेका छौं। तर, गएराति भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो जाँदा वैकल्पिक सडकहरूमा असर परिरहेको छ। साथै, कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको छ। तर, हाम्रा संयन्त्रहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन कोसिस गरिरहेका छन्। ८) शव व्यवस्थापन बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुनबमोजिम प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु भइसकेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको छ। हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं। नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछ। धन्यवाद।
सकियो १८औं नाडा अटो शो, बीवाईडी, यामाहा र माछापुच्छ्रे बैंक बने उत्कृष्ट स्टल
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औं स्वर्णजयन्तीको अवसरमा आयोजित १८औं संस्करणको शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा र नेपाली अटोमोबाइल बजारमा देखिएको नयाँ सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरेको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, वित्तीय सेवा तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिएको थियो । नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तिय संस्थाहरु तथाा बीमा सेवा प्रदायकको सहभागिता रहेको थियो । शोको मुख्य आकर्षण नयाँ मोडलका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन बने । विभिन्न ब्रान्डले नेपालमा पहिलोपटक नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरे । विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहेको प्रदर्शनीमा नयाँ पुस्ताका ईभी, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले समेत उपभोक्ताको ध्यान ताने । बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायतका ब्रान्डका नयाँ मोडल शोका आकर्षण बनेका थिए । अटो शोमा सवारीसाधन बिक्रीसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा प्रतिस्पर्धा देखियो । बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न सस्तो ब्याजदर, सेवा शुल्क तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटलगायतका विभिन्न अफर सार्वजनिक गरेका थिए । केही बैंकले विद्युतीय सवारीसाधनका लागि विशेष कर्जा सुविधा र कम ब्याजदरका योजना अघि सारेका थिए ।यस वर्षको अटो शो बाढीपहिरोको पीडाका बीच आयोजना गरिएको थियो । शो सञ्चालन भइरहेकै समयमा भोटेकोशी, त्रिशूलीलगायतका नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो । यस्तो अवस्थामा पनि अटो शो निरन्तरता पाउनु उद्योगी-व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम र सर्वसाधारणको सहयोग तथा विश्वासको परिणाम भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवको भन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैं एउटै ठाउँमा रोकिन नसक्ने बताए । ‘विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ । तर, हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन,’अध्यक्ष उप्रेतीले भने, ‘यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौं । कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुत बनाएको छ ।’ उनले अटो शो केवल सवारीसाधन बिक्री गर्ने थलो मात्र नभई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने र उद्योगका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण माध्यम भएको बताए । नाडाले यस वर्षको शोमा ‘उद्योगदेखि रोजगारसम्म भन्ने अवधारणालाई समेत प्राथमिकता दिएको थियो । नाडा अटो शो २०२६ मा उत्कृष्ट स्टलको उपाधि विभिन्न पाँच विधामा प्रदान गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साईमैक्स इन्क प्रांलिको बीवाईडीले उत्कृष्ट स्टलको उपाधि पाएको छ । त्यस्तै, दुईपांग्रे सवारीसाधनतर्फ एमएडव्लु राइड्स प्रा.लिको यामाहा, कमर्सियल चारपांग्रेतर्फ एनइभि नेपालले विक्री गर्दै आएको दिगोले उत्कृष्ट स्टलको उपाधि पाएको छ । त्यसैगरी अटो कम्पोनेन्टतर्फ सिप्रदि अटोपार्टस् प्रालिले राखेको मिशेलिन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो ।
यी हुन् आइतबार दिनभर ऊर्जा मन्त्रालयले गरेका काम
काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात र विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाहरूमा उद्धार, अन्तरनिकाय समन्वय तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार (भदौ १४ गते) विशेष प्रेस विज्ञप्ति जारी गर्दै बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी र उद्धार कार्यलाई नेपाल सरकारले सर्वोच्च प्राथमिकतामा राखेर राज्यका सम्पूर्ण उपलब्ध जनशक्ति, स्रोतसाधन र प्रविधिको परिचालन गरिरहेको जनाएको छ । प्रतिकूल मौसम, उच्च जोखिमयुक्त भौगोलिक बनावट तथा जटिल प्राविधिक चुनौतीका बाबजुद पनि उद्धार टोलीहरू निरन्तर खटिरहेका छन् । यसैक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग प्रत्यक्ष भेटघाट गरी उद्धार कार्यको हालसम्मको प्रगति, देखिएका चुनौती र सरकारको तर्फबाट भइरहेका प्रयासबारे विस्तृत जानकारी गराएका थिए । संकटको यो घडीमा उद्धारको यथार्थ अवस्था सम्बन्धित परिवारसम्म नियमित, विश्वसनीय र समयमै पुर्याउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै मन्त्रीले परिवारजनको पीडाप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको र नागरिकको जीवनरक्षाका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे । यता माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीका परिवारजनले पनि अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा समयमै उद्धार कार्य प्रारम्भ गरी निरन्तरता दिएको भन्दै मन्त्री तथा उद्धारमा संलग्न सम्पूर्ण सुरक्षा र प्राविधिक निकायहरूप्रति आभार व्यक्त गरेका छन् । स्थलगत उद्धार कार्यतर्फ, माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासहित आयोजना प्रमुख, परामर्शदाता कम्पनीका प्रतिनिधि, साइट इन्जिनियर तथा प्राविधिक टोली परिचालित भई घटनास्थलको विस्तृत निरीक्षण, जोखिम मूल्याङ्कन र सुरक्षित उद्धार कार्यलाई अगाडि बढाएका छन् । उद्धारमा संलग्न सबै निकायहरूबीच आवश्यक समन्वय र कार्यविभाजनलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको छ । अर्कोतर्फ माथिल्लो त्रिशूली–३ ए आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य थप तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिक, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सुरुङ प्रवेशमा अवरोध बनेका संरचना हटाउने, टनेल पोर्टल सफा गर्ने र सुरुङको माथिल्लो भाग (क्राउन) सुरक्षित रूपमा खोल्ने कार्य सम्पन्न गरिसकेका छन् । हाल सुरुङभित्र जमेको पानी हटाउने कार्य भइरहेको छ भने अक्सिजन, मेडिकल सामग्री, सञ्चार उपकरण र क्यामरासहित उद्धारकर्मीहरूलाई सुरुङभित्र पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । टोलीले पोर्टलबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित वर्किङ स्पेससम्म पुगेर त्यहाँको वास्तविक अवस्था, फसेका व्यक्तिको स्थान र सुरक्षाको मूल्याङ्कन गर्ने योजना बनाएको छ । उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोलीको सहयोगसमेत जुटाइएको छ । चिनियाँ टोलीले अपर त्रिशूली–१ आयोजनाको टनेलभित्र खोजी कार्य सम्पन्न गरिसकेको छ भने उद्धार सहायताका लागि आइपुगेको भारतीय टोली त्रिशूली पुगी हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गरी थप उद्धार योजना बनाउन खटिएको छ । यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा माननीय मन्त्रीज्यूले उद्धार कार्यसँगै प्रभावकारी सूचना प्रवाह, अन्तरनिकाय समन्वय र पीडित परिवारसँगको नियमित सम्पर्कलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । राहत तथा उद्धार सामग्रीको व्यवस्थापनका लागि स्पष्ट कार्यढाँचा निर्माण गरी वास्तविक आवश्यकता र उपलब्ध स्रोतसाधनबीच प्रभावकारी समन्वय कायम गर्न मन्त्रीज्यूले मातहतका निकायलाई कडा निर्देशन दिए । खोजी तथा उद्धारसँगै मन्त्रालयले बाढीबाट प्रभावित विद्युत् प्रणाली, प्रसारण तथा वितरण संरचना र अन्य ऊर्जा पूर्वाधारको शीघ्र पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरण तथा सुरक्षा निकायहरूसँग समन्वय गरी तीव्र गतिमा काम गरिरहेको छ । रसुवामा बाढीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न नुवाकोटबाट रसुवामा विद्युत् जोड्ने गरी खोलापारिबाट तार तान्ने कार्य निरन्तर जारी छ । चुनौतीपूर्ण परिस्थितिमा पनि प्रभावित क्षेत्रमा शीघ्र विद्युत् आपूर्ति सुचारु गर्न प्राविधिक टोलीहरू निरन्तर खटिएका छन् । मन्त्रालयले उद्धार कार्य पूर्ण रूपमा सम्पन्न नहुँदासम्म र प्रभावित क्षेत्रको अवस्था सामान्य नबन्दासम्म आवश्यक समन्वय, सहजीकरण तथा अनुगमनलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।
विपद्मा निजी क्षेत्रका विद्युत उत्पादकको उदार सहयोग, इप्पानको राहत कोषमा ८ करोड १९ लाख जुट्यो
काठमाडौं । विपद्को घडीमा निजी क्षेत्रका विद्युत उत्पादकहरूले उदारतापूर्वक सहयोग गरेपछि प्रधानमन्त्री दैवी प्रकोप कोषका लागि इप्पान (स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल) ले हालसम्म ८ करोड १९ लाख रुपैयाँ सहायता संकलन गरेको छ । इप्पानले यसअघि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । तर, विपद्का बेला निजी क्षेत्रका विद्युत उत्पादकहरूबाट थप उत्साहजनक सहयोग प्राप्त भएपछि सहायता रकम बढेर ८ करोड १९ लाख रुपैयाँ पुगेको हो । इप्पान अध्यक्ष मोहन कुमार डाँगीका अनुसार सहयोग अभियानलाई थप तीव्रता दिँदै सोमबारसम्म सहायता रकम १० करोड रुपैयाँभन्दा बढी पुर्याउने लक्ष्यसहित पहल भइरहेको छ । विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संकलित उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत सोमबार आयोजित विशेष कार्यक्रममा चेक तथा भौचर हस्तान्तरण गरिनेछ । विपद्को समयमा निजी क्षेत्रले देखाएको सामाजिक उत्तरदायित्व र ऐक्यबद्धताको यो पहलले प्रभावित नागरिकलाई राहत पुर्याउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले भने- यो दुःखमा नेपाल एक्लै छैन
काठमाडौं । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ । साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैं साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन् । प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाए । “बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले थपे, “यो दुःखमा नेपाल एक्लै छैन । चीन नेपाल र नेपाली जनताको साथमा छ ।” साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताए । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ । रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उहाँले अर्थमन्त्रीलाई अवगत गराए । त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए ।
बाढीबाट मृत्यु हुनेको संख्या ७८१ पुग्यो, साढे दुई हजारभन्दा बढी अझै सम्पर्कबिहीन
काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्म विभिन्न आठ जिल्लाबाट ७८१ जनाको शव तथा मानव अंग फेला पारिएको हो । बाढीबाट सबैभन्दा बढी क्षति चितवन र नवलपरासी पूर्वमा भएको छ, जहाँ क्रमशः २७२ र १९९ जनाको शव फेला परेको छ । यसैगरी नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव तथा मानव अंग भेटिएको प्राधिकरणले जनाएको छ । बाढीपछि हालसम्म दुई हजार ५०२ जना मानिस सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ठूलो संख्या विभिन्न क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको रहेको छ । जसमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल, १५ भन्सार कार्यालयका कर्मचारी र चार जना अध्यागमन कार्यालयका कर्मचारी छन् । त्यसैगरी विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, ५९२ विदेशी नागरिक, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन र क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि बेपत्ता छन् । जिल्लागत आधारमा रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना सर्वसाधारण अझै सम्पर्कमा आएका छैनन् । विपत्तिको यस घडीमा प्रभावित क्षेत्रहरूबाट हालसम्म ९ हजार ४३५ जनाको सकुशल उद्धार गरिएको छ, जसमध्ये जलविद्युत् आयोजनाका जोखिमपूर्ण सुरुङबाट मात्रै २७९ जनालाई निकालिएको छ । उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत २५४ विदेशी र तीन हजार ६७ नेपाली गरी कुल तीन हजार ३२१ जनाको हवाई उद्धार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन कुल २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसअन्तर्गत आठ हजार ५२१ नेपाली सेना, सात हजार ८९४ नेपाल प्रहरी र चार हजार २०३ सशस्त्र प्रहरी बलका जवानहरू रातदिन खटिएका छन् ।
प्रधानमन्त्री राहत कोषमा चिनियाँ सरकारको ३० करोड सहयोग
काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरे । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गरे । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । नेपालको विपत्तिमा चीन सधैं साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आजमात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए । साथै थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ । रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए । त्यस्तै, जलविद्युत कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप केही दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रुत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए । नेपाल सरकारको तर्फबाट चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन व्यक्त गरे । विपत्तिकै कारण दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको भन्दै उनले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख व्यक्त गरे । विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले बेहोर्नु पर्ने कारणको सुरुवात भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो जरुरी रहेको बताए ।