बाढीपीडितलाई ग्यास उद्योग संघले १ हजार २५० सिलिन्डर दिने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट उक्त सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो धनजनको क्षति भएको भन्दै संघले दुःख व्यक्त गरेको छ । 

संघले विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

त्यस्तै, संघले घाइतेहरूको शीघ्र उपचार तथा बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ ।

विपद्का कारण प्रभावित नागरिकको दैनिक जीवन कठिन बनेको अवस्थामा तत्काल आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न निकाय मानवीय सेवामा जुटिरहेका छन् । 

यही परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रबाट राहत सहयोग गर्ने उद्देश्यले ग्यास सिलिन्डर उपलब्ध गराउन लागेको संघले जनाएको छ ।
null

Share News