काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसक्रममा बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापना सुनिश्चित गर्न सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन् ।