विकासन्युज

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपाध्यक्ष खेम बहादुर पाठकले ११ बुँदे घोषणापत्र वाचन गरेर सुनाएका हुन् । कार्यक्रममा महासंघको पूर्व अध्यक्षद्वय केशव प्रसाद बडाल र मिनराज कडेलको समेत उपस्थिति रहेको थियो । साथै, संघीय सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतम र राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा। बिमला पौडेलको आतिथ्य रहेको थियो । सम्मेलनमा स्वदेश तथा विदेशका महिला सहकारी अभियानकर्मी, सरकारी निकाय, विभिन्न संघरसंस्थाका प्रतिनिधि, विकास साझेदार, महिला उद्यमी र अनुसन्धानकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरुले घोषणापत्रमार्फत सहकारी क्षेत्रमा लैंगिक उत्तरदायी नीति निर्माण गर्ने, महिला सशक्तीकरण गर्ने र लैंगिक समानता कायम गर्दै दिगो विकास हासिल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । घोषणापत्रमा सहकारीका उच्च व्यवस्थापकीय तह र समितिहरुमा महिलाको निर्णायक भूमिका सुनिश्चित गर्न नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै दिगो कृषि र खाद्य सुरक्षाका लागि महिला किसानहरुको भूमि, प्राकृतिक स्रोत र उत्पादनका साधनमा कानुनी तथा व्यावहारिक स्वामित्व स्थापित गर्न पैरवी गर्ने निर्णय सम्मेलनले गरेको छ । महिला उद्यमीहरुको दक्षता बढाउन स्थानीय तहसम्म डिजिटल कारोबार र उन्नत वित्तीय साक्षरताका कार्यक्रम लैजाने तथा युवा सहभागिता बढाउन विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ । यसैगरी, सहकारीद्वारा उत्पादित सामग्रीको गुणस्तर वृद्धि, ब्रान्डिङ र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजार श्रृङ्खलामा सिधा पहुँच पुर्याउन सरकारी–सहकारी–निजी साझेदारी मोडललाई प्रवद्र्धन गरिने उल्लेख छ । राज्यका तीनै तहका सरकार र सहकारी संस्थाहरुका योजनालाई लैंगिक उत्तरदायी बनाउँदै महिला लक्षित कार्यक्रममा विशेष बजेट ल्याउन वकालत गर्ने सहभागीहरुले वचनवद्धता गरेका छन् । त्यसैगरी जलवायु परिवर्तनको मारमा परेका महिला किसानको उत्थानशीलताका लागि पर्यावरणमैत्री र प्राङ्गारिक खेती प्रणालीलाई प्रोत्साहन गरिने प्रतिबद्धता पत्रमा समेटिएको छ । महिलाहरुको परम्परागत सीपलाई आधुनिक व्यवसायमा रुपान्तरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंग समन्वय गरेर विशिष्टीकृत तालिम दिने र उनीहरुको सामाजिक सुरक्षा, प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यको अधिकार रक्षाका लागि एकीकृत रुपमा अघि बढ्ने घोषणा गरिएको छ । संयुक्त राष्ट्र संघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला किसान वर्ष घोषणा गरेको सन्दर्भमा यो सम्मेलनले विश्वभरका महिला किसान र सहकारीकर्मीहरूबीच प्रविधि र ज्ञान हस्तान्तरणका लागि सहकार्य सबल बनाउने संकल्प गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र विकास साझेदारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाइएको छ । घोषणापत्रमार्फत हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरू प्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ । समस्याग्रस्त सहकारीहरुबाट सर्वसाधारण सदस्यहरूको बचत सुरक्षित रुपमा फिर्ता पाउनुपर्ने र ऋण असुलीका लागि सरोकारवालाहरुले तदारुकता देखाउनुपर्ने जोडदार माग गरिएको छ । यसैगरी अन्त्यमा महिला उद्यमीका उत्पादनहरुको प्रशोधन, बजारीकरण र उपभोगमा प्राथमिकता दिँदै तीनै तहका सरकार समक्ष न्यून कर र अनुदान उपलब्ध गराउन विशेष पहल गर्ने निर्णयका साथ सम्मेलन समापन भएको छ । महासंघले सहकारी क्षेत्रमा संलग्न महिला किसानहरुको योगदान र प्रभावलाई उजागर गर्ने मूल उद्देश्यले असार ६ र ७ गते ‘नेतृत्वमा नारी स् समृद्धिमा सहकारी’ भन्ने नारासहित सम्मेलन आयोजना गरेको हो ।  

सानिमा रिलायन्स इन्स्योरेन्सलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १८औं कर्पोरेट बिजनेस अवार्ड २०२६ मा कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को अवार्ड प्राप्त गरेको छ ।  कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ को भव्य समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पु‍र्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो विशेष सम्मान प्राप्त गर्न सफल भएको हो । विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका उत्कृष्ट व्यक्तित्व र संस्थाहरू सहभागी सो समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड र ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो । तीव्र प्रतिस्पर्धा र प्रतिष्ठित संस्थाहरूमाझ सानिमा रिलायन्स लाइफले आफ्नो व्यावसायिक श्रेष्ठता प्रमाणित गर्दै यो अवार्ड आफ्नो पोल्टामा पारेको हो ।  कम्पनीले पछिल्लो समय डिजिटल सेवा विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी र २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको सानिमा रिलायन्स लाइफले देशभर रहेका १६८ शाखामार्फत ग्राहकहरूलाई आधुनिक र सुलभ बीमा सेवा प्रदान गर्दै आएको छ ।  कम्पनीको यस सफलतामा १७ हजार भन्दा बढी आबद्ध अभिकर्ताहरूको ठुलो योगदान रहेको छ । यस प्रतिष्ठित अवार्डले कम्पनीलाई आगामी दिनहरूमा आफ्ना ग्राहक, लगानीकर्ता र सरोकारवालाहरूप्रति अझ बढी जिम्मेवार बन्दै थप परिष्कृत, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्न ठुलो ऊर्जा र प्रेरणा मिलेको कम्पनीले जनाएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्च र कुमारी बैंकको पर्यावरणमैत्री पाइला

काठमाडौं । वातावरणीय दिगोपना र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि लमजुङको राईनास नगरपालिकामा सफलतापूर्वक वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।  लुम्बिनी विश्व शान्ति मञ्चको प्रमुख अभियान १० लाख रुख रोपण तथा संरक्षण अभियान अन्तर्गत राईनास नगरपालिकाको हर्राबोट र कटहरबारीमा वृक्षारोपण गरिएको हो।  यस अभियानलाई कुमारी बैंक लिमिटेडले संस्थागत सहयोग गरेको छ । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, वातावरणीय संरक्षणवादी र बैंकिङ क्षेत्रका व्यक्तित्वहरूले रैथाने प्रजातिका बिरुवाहरू रोपेर पारिस्थितिक प्रणालीको पुन:स्थापनाका लागि ऐक्यबद्धता जनाएका छन् । वृक्षारोपण कार्यक्रममा राईनास नगरपालिकाका उपमेयर पुष्पराज खनालको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा अभियानको प्रशंसा गर्दै उपमेयर खनालले स्थानीय जैविक विविधता र सामुदायिक स्वास्थ्यलाई प्रत्यक्ष फाइदा पुर्‍याउने यस्ता हरित साझेदारीका लागि नगरपालिकाको पूर्ण र निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको नेतृत्व लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक एवं ‘१० लाख रुख रोपण तथा संरक्षण अभियान का प्रणेता बसु गौतमले गरेका थिए ।  यस्तै, कुमारी बैंक लिमिटेडका तर्फबाट बेसीशहर शाखाका शाखा प्रबन्धक  रघुनाथ लौडारी र थांतीपोखरी शाखाका शाखा प्रबन्धक विनय अधिकारी लगायतका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।  कुमारी बैंकको यो सहकार्यले बैंकको वातावरणीय, सामाजिक र सुशासन सम्बन्धी मूल्यमान्यताहरू प्रतिको संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रष्ट पारेको छ । सन् २०१९ मा सुरुवात भएदेखि नै लुम्बिनी विश्व शान्ति मञ्चले देशव्यापी रूपमा ठूलो स्तरमा वनिकरण अभियान सञ्चालन गर्दै आएको छ ।  लमजुङमा सम्पन्न यस कार्यक्रमसँगै मञ्चले नेपालभर हालसम्म जम्मा २,३१,८०० रुखहरू सफलतापूर्वक रोपिसकेको छ ।  

धुर्कोट गाउँपालिकाले गर्‍यो उत्पादनमा आधारित उत्कृष्ट कृषकलाई सम्मान

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले उत्पादनमा आधारित भएर मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय उत्पादन गर्दै स्थानीय आर्थिक विकासमा योगदान पु‍¥याएका किसानलाई गाउँपालिकाले नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईका अनुसार खाद्यान्न बाली धान तर्फ वडा नं ६ रजस्थलका किसान विनोदकुमार श्रेष्ठ र कोदो उत्पादनतर्फ सोही वडाका डालबहादुर पछाईलाई पुरस्कृत गरिएको हो । त्यस्तै गहुँ उत्पादनतर्फ वडा नं ६ का उमेश घिमिरे र मकै उत्पादनतर्फ वडा नं ७ वाग्लाका तीर्थराज पन्थीलाई सम्मान गरिएको पालीका उपाध्यक्ष सिता गिरीले जानकारी दिइन् । पशुपालनतर्फ खसीबोका उत्पादनमा वडा नं २ पिपलधाराका कृष्णप्रसाद खनाल र अण्डा उत्पादनमा वडा नं ६ रजस्थलका कृष्ण केसीलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी १० वटाभन्दा बढी दुहुना गाई–भैँसी पालन गरी पशुपालन क्षेत्रमा योगदान पु¥उने रजस्थलका मेघनाथ अर्याल र वस्तुका रविन्द्र घिमिरेलाई विशेष सम्मान प्रदान गरिएको गिरीले जानकारी दिइन् । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रोत्साहन गर्दै किसानको मेहनत र योगदानको कदर गर्न वार्षिक रूपमा उत्कृष्ट कृषकलाई सम्मान गर्ने गरिएको बताए । उनले यस्तो कार्यक्रमले किसानलाई थप उत्साहित बनाउँदै कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।  उपाध्यक्ष गिरीले यस्ता पुरस्कार र सम्मानले किसानहरुमा उत्साह भर्ने अपेक्षा पालिकाले गरेको वताइन् । उनले पालीका भित्रका तमाम् किसान साथिहरुमा उत्साह श्रृजना गर्न पालीकाले यस्ता कार्यक्रम निरन्तर गरीरहने जानकारी दिइन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष पोख्रेल, उपाध्यक्ष गिरी, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, प्राविधिक कर्मचारी तथा स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो ।

निजामती अस्पतालमा छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

काठमाडौ ।  नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए ।  'सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ,' उनले भने, 'बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।' अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।   

महिला नेतृत्व र आर्थिक सशक्तीकरणमा सहकारीलाई केन्द्रमा राख्नुपर्नेमा जोड

काठमाडौं । सहकारी र कृषि क्षेत्रमा महिलाको नेतृत्व, आर्थिक सशक्तीकरण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तथ्याङ्कमा आधारित नीति, स्रोतमा पहुँच र क्षमता विकास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग सहकार्य गरेर आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’को दोस्रो दिन प्रस्तुतिकरण गर्दै अन्तर्राष्ट्रिय सहकारी महासंघ–एसिया तथा प्रशान्त (आईसीए–एपी) की नित्या शुक्लाले सहकारी आन्दोलनमा महिलाहरूको वास्तविक अवस्था बुझ्न र उनीहरूलाई नेतृत्व तहसम्म पुर्याउन तथ्याङ्क तथा प्रमाणमा आधारित कार्य अपरिहार्य रहेको बताएकी हुन् । उनका अनुसार आईसीए–एपी अन्तर्गतको महिला समिति सन १९९८ मा दक्षिण कोरियामा स्थापना भएको हो । यसले आर्थिक सशक्तीकरण, सामाजिक सशक्तीकरण, ज्ञान तथा तालिम र ऐक्यबद्धता गरी चार प्रमुख क्षेत्रमा केन्द्रित भएर काम गर्दै आएको छ । शुक्लाका अनुसार सरकारीमा ४३ प्रतिशत महिला सहभागिता भएपनी असमानता भने कायम नै छ । महिलाहरू सहकारीमा केवल सहभागी मात्र नभई उत्पादक, उद्यमी, नवप्रवर्तक र हेरचाहकर्ताको रूपमा रहेका छन ।   उनले भनिन,  ‘एशिया–प्रशान्त क्षेत्रको कृषि श्रम शक्तिमा महिलाहरूको हिस्सा झण्डै ४० प्रतिशत  छ, तर जग्गाको स्वामित्व भने केवल १० देखि २० प्रतिशत महिलाहरूसँग मात्र छ, यो एउटा ठूलो अन्तर हो किनभने जग्गाको स्वामित्व नहुँदा महिलाहरूलाई बैंकबाट ऋण लिन र औपचारिक निर्णय प्रक्रियामा शक्ति प्राप्त गर्न निकै कठिन हुन्छ  ।’ सहकारीको सदस्यतामा महिलाहरूको संख्या उच्च भए तापनि बोर्ड प्रतिनिधि, वरिष्ठ व्यवस्थापन र सिइओजस्ता उच्च पदहरूमा उनीहरूको उपस्थिति निकै कम रहेको उनले बताईन । कार्यशाला, क्षमता अभिवृद्धि कार्यक्रम तथा विभिन्न प्लेटफर्ममार्फत महिला सहकारीकर्मीहरूलाई सहयोग र्पुयाउँदै आएको उल्लेख गर्दै उनले महिला नेतृत्व विकासलाई संस्थाको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको बताइन । नेपाल भ्रमण आफ्नो पहिलो भएको उल्लेख गर्दै शुक्लाले नेपाली महिला सहकारीकर्मीहरूको उत्साह, सक्रियता र परिवर्तनप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको बताइन । त्यस्तै, खाद्य तथा कृषि संघठन (एफएओ) नेपालकी विशेषज्ञ भवानी थपलियाले महिलाको आर्थिक सशक्तीकरणले मात्र घर र समाजको निर्णय प्रक्रियामा उनीहरूको पहुँच र प्रभाव बढाउने बताईन । गाउँघरका महिलाहरूले आम्दानी गर्न थालेपछि मात्र परिवारले उनीहरूको विचारलाई महत्त्व दिन थालेको अनुभव आफूले प्रत्यक्ष रूपमा सुनेको उनले उल्लेख गरिन । उनका अनुसार नेपालका करिब ७० प्रतिशत महिलाहरू कृषि क्षेत्रमा संलग्न भए पनि स्रोत, साधन, प्रविधि र सम्पत्तिमाथिको पहुँच अझै सीमित छ । समान कामका लागि समान ज्याला नपाउनु, सम्पत्तिमा स्वामित्वको कमी तथा डिजिटल सीपको अभाव महिलाका प्रमुख चुनौतीका रूपमा रहेका छन । ‘घरायसी काम, खेतीपाती र बालबच्चाको हेरचाहका कारण महिलाहरूसँग फुर्सदको समय कम हुने भएकाले सूचना र प्रविधिमा पहुँच विस्तार गर्न विशेष प्रयास आवश्यक छ,’ थपलियाले भनिन । वक्ताहरुले संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै कृषि र सहकारी क्षेत्रमा महिलाले र्पुयाएको योगदानलाई थप मान्यता दिनुपर्नेमा जोड दिए । यस घोषणाले महिलाको भूमिकालाई पहिचान गर्ने, उनीहरूमा लगानी बढाउने तथा नीतिगत सुधारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । एफएओले महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै थपलियाले अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समेत कृषि प्रणालीमा समावेश गर्न विभिन्न परियोजनाहरू अघि बढाइएको बताइन । अन्तर्राष्ट्रिय सम्मेलनको छलफलमा सहभागीहरूले महिला सशक्तीकरण, कृषिमा प्रविधि, र नीतिगत सुधारका विषयमा महत्वपूर्ण कुराहरू उठाएका  छन । छलफलमा कैलालीकी माया शाहले महिलाद्वारा संचालित सहकारीहरूको आयकरमा शून्य प्रतिशत कर लगाउनुपर्ने प्रस्ताव राखिन ।  जसले महिला सशक्तीकरणमा प्रत्यक्ष टेवा पुग्ने उनको विश्वास छयो मागलाई सम्मेलनको घोषणापत्रमा समावेश गर्न डा। पौडेलले आग्रह गरिन ।  त्यस्तै कर्णालीकी सुनिता भामले सहकारी र विशेष गरी कृषि सहकारीमा युवा महिलाहरूको न्यून सहभागिता प्रति प्रश्न उठाईन । उनले  कृषिमा प्रविधिको प्रयोग र मेसिनरी चलाउने तालिमको अभावका कारण महिलाहरू पुरुषको भर पर्नुपर्ने अवस्था रहेको उल्लेखखगरिन । सम्मेलनमा सहभागी हरुले महिला सहकारीहरूलाई प्रोत्साहन गर्न कर छुट, प्रविधिमा पहुँच र युवा पुस्ताको आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन । पूर्व मन्त्री डा. बिमला राई पौडेलले महिला सशक्तीकरण र कृषि विकासमा महिलाको अवस्थाबारे चर्चा गर्दै एसियाली क्षेत्रमा सहकारी आन्दोलनले आर्थिक उपार्जनमा दिएको टेवाको प्रशंसा गरेकी छन । नेपालको नीतिहरू राम्रो भए तापनि कार्यान्वयनमा समस्या रहेको कुरा उनले कार्यक्रममा औंल्याइन । महिला कृषकहरुले उत्पादन गरेका सामग्रीहरुलाई सरकारले ठोस कदम चाल्नुपर्ने बताईन । युवाहरुको लागि युथ ‘इन्क्युबेसन ल्याब’ सुरु गरिएको र विभिन्न तालिमहरु प्रदान गरेको उल्लेख गरिन ।   युवाहरुको नयाँ सोचलाई प्रोसाहन गर्न १०० कार्यक्रम गर्न प्रोसाहन गरेको छ । साथै महिलाहरुलाई उत्पादन र सहकारीमा प्रभावकारी रुपमा जोड्न प्रविधिको पहुँच बढाउनुपर्नेमा जोड दिएकी छन् ।

रास्वपा महाधिवेशन : ३३ देशबाट आए १६३ जना प्रतिनिधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा जारी विज्ञप्ति अनुसार महाधिवेशनमा देश तथा विदेशबाट व्यापक प्रतिनिधिहरूको सहभागिता रहने सुनिश्चित भएको छ, जसमा ३३ वटा देशबाट मात्रै १६३ जना प्रतिनिधिहरू छानिएर आएका छन् ।  रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा कुनै नाम छुटेको, विवरण सच्याउनु पर्ने वा दावी विरोध गर्नुपर्ने भएमा चितवनको औद्योगिक प्रदर्शनी स्थलमा अवस्थित महाधिवेशन सचिवालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारीका सम्बन्धमा कडा नीति अवलम्बन गरेको छ । यसअघि पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशनको कुनै पनि पदमा उम्मेदवार भई पराजित भएका पार्टी सदस्यहरू राष्ट्रिय महाधिवेशन अन्तर्गत कुनै पनि पदमा उम्मेदवार बन्न पाउने छैनन् । यस विपरीत उम्मेदवारी दिएमा सो स्वतः रद्द हुने उल्लेख गरिएकाे छ । 

४ संस्थापक महाधिवेशन प्रतिनिधि बन्नै छुटे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा जारी गरेको पहिलो ऐतिहासिक महाधिवेशनमा चार संस्थापक नेताहरू भने महाधिवेशन प्रतिनिधिसमेत बन्न पाएनन् ।  २०७९ असार ७ मा विधिवत दर्ता भई छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको यस दलको महाधिवेशनमा संस्थापक तहका केही प्रमुख अनुहारहरूको अनुपस्थितिले भने पार्टीभित्रको प्रारम्भिक यात्रामाथि पुनः बहस सिर्जना गरेको छ । महाधिवेशनबाट पार्टीका सबै संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने तयारी भए पनि स्थापनाकालदेखि नै चर्चित रहेका चारजना संस्थापक नेताहरू भने यस पटकको प्रक्रियामा सहभागी हुन सकेका छैनन् ।  पार्टी गठनदेखि संगठन विस्तार र वैचारिक दस्तावेज निर्माणसम्म सक्रिय भूमिका खेलेका यी नेताहरू अहिले रास्वपाको औपचारिक संरचनाभन्दा बाहिर रहेका छन् । पार्टी छाडेका प्रमुख संस्थापक सदस्यहरूमा पूर्वप्रवक्ता तथा पछि महामन्त्री बनेका मुकुल ढकाल, सहमहामन्त्री एवं पूर्व सांसद सुमना श्रेष्ठ, संस्थापक तहका अर्का नेता सन्तोष परियार र ढाकाकुमार श्रेष्ठ रहेका छन् । पार्टीको प्रारम्भिक संरचना निर्माणदेखि नीति तथा संगठन विस्तारसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ढकाल एक समय अध्यक्ष रवि लामिछानेपछिको दोस्रो वरीयतामासमेत रहेका थिए ।  तर, अनुशासन उल्लंघन गरेको आरोपमा पार्टी नेतृत्वले कारबाही गरेपछि उनी रास्वपाबाट अलग भएका हुन् । त्यसैगरी, श्रेष्ठ पार्टीको सहमहामन्त्री तथा समानुपातिक सांसदको जिम्मेवारीमा रहेकी थिइन् । उनी पार्टीको निर्णय प्रक्रिया, कार्यशैली र आन्तरिक व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै केही समयअघि नै पार्टीबाट अलग भएकी हुन्। अलग भएपछि उनी हालसम्म कुनै पनि राजनीतिक दलमा सक्रिय रूपमा आबद्ध भएकी छैनन् । जसले उनको आगामी राजनीतिक यात्राबारे समेत चासो बढाएको छ । अर्का संस्थापक सदस्य सन्तोष परियार भने रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरिसकेका छन् । उनी पनि प्रारम्भिक चरणमा पार्टी निर्माण, संगठन विस्तार र जनसम्पर्क अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने नेताका रूपमा परिचित थिए । त्यस्तै, पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पनि यस महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिने छैनन् । ०७९ को संसदमा समानुपातिक तर्फबाट सांसद बनेका ढाका स्वास्थ्यमन्त्री बन्न २ करोड मागेको आरोपमा पार्टीबाट निकालिएका थिए । उनी पनि पार्टीका संस्थापक सदस्य हुन् ।