विकासन्युज

राष्ट्रिय सहकारी बैंकले बाढीपीडित सहकारीका लागि २० लाख दिने

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघसंस्थाको सेवा पुनः सञ्चालन र पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढीपहिरोबाट सहकारी संस्थाका कार्यालय, अभिलेख, प्रविधि तथा भौतिक संरचनामा क्षति पुगेको बैंकले जनाएको छ । क्षतिग्रस्त सहकारी संस्थालाई सेवा सञ्चालनमा सहयोग गर्न उक्त रकम छुट्याइएको हो । रकम सम्बन्धित जिल्ला सहकारी संघसँगको समन्वयमा बैंकले तोकेको मापदण्डअनुसार वितरण गरिनेछ । यसैगरी, बाढीपहिरोबाट नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । केही कर्मचारीका आफन्तसमेत सम्पर्कविहीन रहेको बैंकले जनाएको छ । प्रभावित कर्मचारीलाई सहयोग गर्न बैंकका कर्मचारीले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन् । संकलित रकमबाट प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत दिइएको छ । बैंकका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यले पनि एक दिनको बैठक भत्ता सहयोग गर्ने भएका छन् । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । बैंकले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैंकले प्रभावित सहकारी संस्थाको सेवा निरन्तरता, पुनःस्थापना र संस्थागत सुधारका लागि आवश्यक वित्तीय, प्राविधिक तथा अन्य सहयोग जारी राख्ने जनाएको छ ।

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी

काठमाडौं । हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन, यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ । वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यसको नेतृत्व कार्यालयबाट मात्र नभई प्रहरी अधिकारीहरू स्वयं सडकमा उत्रिएर गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफैँ सडकमा पुगेर सवारी आवागमन व्यवस्थापनमा खटिएका छन् । सवारीको लामो लाइन, साँघुरा सडक र वैकल्पिक मार्गमा बढेको चापबीच प्रहरीले सवारीलाई निर्धारित रुटअनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ । प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ । हेटौंडाबाट काठमाडौं जाने त्यस्ता सवारीले भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौं आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ । ठूला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ । त्रिभुवन राजपथमा रहेको कमजोर बेलीब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । सडकको असहजताले यात्राको समय पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले बीच–बीचमा प्रहरी परिचालन गरेर यात्रालाई सहज बनाउने काम भइरहेको बताए । पालुङ क्षेत्रमा रोकिएका करिब १५० सवारीसाधनलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौं ल्याउने कार्य भइरहेको छ । मंगलबार काठमाडौंबाट छुटेका ती सवारीसाधन सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए । उनका अनुसार पालुङमा रोकिएका ती सवारीसाधनलाई गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौंबाट अर्को समूहका सवारीसाधनलाई सो मार्गमा प्रवेश अनुमति दिइनेछ । त्यसैगरी, १४ सिट क्षमतासम्मका हलुका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन् । हलुका सवारीसाधनका हकमा असोज १६ गतेदेखि लागू हुने गरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ । हाल सडकमा पर्याप्त ट्राफिक जनशक्ति परिचालन गरी ठाउँ–ठाउँमा सवारीसाधनलाई ‘होल्ड’ गर्दै समूह बनाएर गन्तव्यतर्फ पठाउने अर्थात् ‘कन्भे’ गर्ने काम भइरहेको विष्टले बताए । सडकको भौगोलिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै कतिपय स्थानमा सवारीसाधनलाई केही समय रोकेर पठाउने गरिएको छ । त्यसका कारण बीच–बीचमा केही अवरोध देखिए पनि व्यवस्थापन कार्यलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ । विष्टले भने, ‘बीच–बीच बाटोमा हामीले ट्राफिकहरूलाई राखेर व्यवस्थापन गरिरहेका छौँ । अहिले पालुङमा झन्डै १५० वटा गाडी होल्ड भएर बसेका छन् । हिजो काठमाडौंबाट छुटेका गाडी निर्णय हुनुअघि नै त्यहाँ पुगेकाले रोकिएका हुन् । अहिले ती गाडीलाई स्कर्टिङ गरेर ल्याउने कार्य भइरहेको छ ।’ उनका अनुसार पालुङबाट ती सवारीसाधन ल्याइसकेपछि मात्रै अर्को समूहलाई उक्त मार्गबाट पठाउने व्यवस्था मिलाइएको छ । यसका लागि उपलब्ध जनशक्तिलाई अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन भइरहेको छ । ‘१४ सिटसम्मका हलुका सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटोबाट जानेछन् । हलुका सवारी आजदेखि २४ घण्टा चल्ने व्यवस्था गरिएको छ । हेभी तथा मालवाहक सवारीलाई भने पालुङ हुँदै पृथ्वी राजमार्गतर्फ पठाउने व्यवस्था गरिएको छ,’ उनले भने । बाढीअघि सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौंडा–काठमाडौं यात्रा अहिले सवारीको चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ । यात्रुवाहक सवारीसँगै अत्यावश्यक सेवाका सवारीलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउनु प्रहरीका लागि अर्को चुनौती बनेको छ । ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्रहरीले विशेष व्यवस्थापनसहित प्राथमिकतामा राखेर काठमाडौंसम्म पुर्‍याउने व्यवस्था मिलाइरहेको छ । विपद्का कारण सडकको अवस्था जटिल बन्दा प्रहरी नेतृत्व केवल निर्देशनमा सीमित छैन । समस्या भएको ठाउँमै पुगेर सवारी व्यवस्थापनमा खटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

बाढीमा कागजात गुमाएका ग्राहकले केवाईसी भिडाएर बैंकिङ कारोबार गर्न पाउने

काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै संस्थामा रहेको ग्राहकको जानकारी (केवाईसी) विवरणसँग भिडाएर ग्राहकको पहिचान पुष्टि भएपछि वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको हो । राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित ग्राहकको बैंकिङ सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणका आधारमा ग्राहक यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्नु,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । यस्तै, विपद्बाट प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार स्थगित, असोज १ गते घोषणा हुने

काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीबाट देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको पहिलो दिन र १६ गते हुँदै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम यसपटक स्थगित गरिएको हो । स्थगित गरिएको भदौ १६ गतेको कार्यक्रमसहित भदौ महिनाभरिका विजेताको घोषणा आगामी असोज १ गते गर्ने निर्णय गरिएको विभागले जनाएको छ । विभागले विपद्का कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको स्पष्ट पारेको छ।

डेपुटी गभर्नर रावलको सम्पत्ति: २५ तोला सुन, हजारौं कित्ता सेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । रावलले सार्वजनिक गरेको विवरणअनुसार उनी र परिवारका सदस्यका नाममा विभिन्न स्थानमा घरजग्गा, नगद, सुनका गहना र सेयर लगानी रहेको देखिएको छ । रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी-२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर रहेको छ । उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको विवरणमा उल्लेख छ । घर खरिदका लागि बैंक ऋण, स्वआर्जन तथा पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको रावलले बताएका छन् । त्यस्तै, रावलकी आमाको नाममा कैलालीको टीकापुरमा १ कठ्ठा तथा अछामको बान्नीगढी जयगढमा १ रोपनी जग्गामा बनेका घर छन् । यी घरलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ । जग्गातर्फ आमाको नाममा टीकापुरमा २ बिघा १ कठ्ठा र बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको छ । धनगढीमा परिवारका सदस्यका नाममा ३३८.६३ वर्गमिटरका दुई कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ । रावलको आफ्नै नाममा कैलालीमा १ कठ्ठा जग्गा छ भने श्रीमतीको नाममा करिब ६ लाख रुपैयाँ लागतको जग्गा रहेको छ । बैंक मौज्दाततर्फ रावलको नाममा विभिन्न वाणिज्य बैंकमा ११ लाख ४९ हजार २१४ रुपैयाँ रहेको छ । त्यस्तै, बैंक खातामा १४ हजार २३ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ । रावलले नेपाली रुपैयाँ तथा डलरको बचत पारिश्रमिक, वैदेशिक तालिम तथा भ्रमणबाट प्राप्त रकमबाट भएको बताएका छन् । श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ मौज्दात रहेको छ । उक्त रकम घरभाडाबाट प्राप्त भएको जनाइएको छ । रावलको नाममा ४० हजार रुपैयाँ नगद रहेको छ । रावलको परिवारसँग २५ तोला सुन र २ किलो चाँदी रहेको छ । यीमध्ये केही पैतृक र केही स्वआर्जनबाट प्राप्त भएको विवरणमा उल्लेख छ । परिवारसँग १ लाख रुपैयाँ मूल्यको हिराको औँठीसमेत रहेको छ । सेयर लगानीतर्फ रावलको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर छन् । उनकी श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत कम्पनीका २ हजार ३७९ कित्ता र डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर रहेको छ । त्यस्तै, छोराछोरीको नाममा समेत बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीका साधारण सेयर रहेको विवरणमा उल्लेख छ । रावलका छोराको नाममा २०८२ सालमा खरिद गरिएको होन्डा स्कुटर रहेको छ । यसको खरिद मूल्य १ लाख ९५ हजार ४ सय रुपैयाँ रहेको छ । सम्पत्ति विवरणमा रावलले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने उल्लेख गरेका छन् । यस्तै, रावल तथा परिवारका सदस्यका नाममा एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानमा बीमा रहेको तथा अवकाश कोषसम्बन्धी रकमसमेत रहेको विवरणमा उल्लेख छ ।

डा. श्रवण मिश्रविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्रसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि अख्तियारले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मधेस प्रदेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने क्रममा खरिद प्रक्रियामा अनियमितता भएको थियो । ठेक्का नम्बर PPHL2/G/NCB/05/2078-79 मा कानुनविपरीत खरिद कार्य गरेको आरोपमा डा. मिश्रसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा अख्तियारले ५ करोड १ लाख ९० हजार ८० रुपैयाँ बिगो कायम गरी सजायको माग गरेको थियो । साथै डा. मिश्रलाई थप सजायसमेत हुनुपर्ने माग अख्तियारको थियो । तर विशेष अदालत काठमाडौंले २०८२ फागुन १३ गतेको फैसलाबाट प्रतिवादीलाई आंशिक सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ १६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

सुनको मूल्य एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । सुनको मूल्य एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ थियो । बुधबार सुनको मूल्य ३ लाख रुपैयाँभन्दा तल झरेको हो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

३ कम्पनीको लाभांश घोषणा, प्रिमियममा आईपीओदेखि हकप्रद जारी गर्ने

काठमाडौं । तीनवटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा होटेल सारथी लिमिटेड, सेन्चुरी इनर्जी लिमिटेड र डिभाइन हेल्थ केयर लिमिटेड रहेका छन् । होटेल सारथीले गत वर्षसम्मको जगेडा कोषबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ४ गते दिउँसो १२ बजे होटेल सारथीको सभा हलमा दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने तथा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै, कम्पनीले जारी पुँजीको ३० प्रतिशत साधारण सेयर प्रिमियममा जारी गर्ने प्रस्तावसमेत सभामा पेस गर्नेछ । त्यस्तै, सेन्चुरी इनर्जी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १० गते बिहान साढे ८ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा साधारण सभा बोलाएको छ । सभाले कम्पनीको स्वामित्वमा रहेको मोटरसाइकल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन र कम्पनीको साधारण सेयर जारी गर्ने सम्बन्धी प्रस्तावसमेत सभामा पेस हुनेछ । यस्तै, डिभाइन हेल्थ केयर लिमिटेडले चुक्ता पुँजीको १.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०६५ प्रतिशत नगद लाभांश गरी कुल १.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ६ गते बिहान ११ बजे उद्योग परिसर, भरतपुर-१६, चितवनमा दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गरी अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, नियमावली संशोधन गरी हाल कायम ११ सदस्यीय सञ्चालक समितिको संख्या घटाएर ७ जना कायम गर्ने प्रस्ताव छ । प्रस्तावित संरचनाअनुसार संस्थापक समूहबाट ५ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र व्यवसायिक विशेषज्ञ स्वतन्त्र सञ्चालक १ जना रहनेछन् । कम्पनीले बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत गरेको छ । हकप्रद सेयर निष्काशनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । यसैगरी, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने सम्बन्धमा प्रथम वार्षिक साधारण सभाबाट भएको निर्णयलाई निरन्तरता दिने तथा आईपीओबाट प्राप्त पुँजी उपयोग गर्ने सम्बन्धी प्रस्तावसमेत साधारण सभाले पारित गर्नेछ ।