काठमाडौंमा १६५ शव ल्याइयो, शव व्यवस्थापनमा ७५ प्रहरी परिचालन
काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाएकाको १६५ वटा शव काठमाडौंमा ल्याइएको छ । नुवाकोटबाट १५९ र धादिङबाट ६ वटा शव ल्याइएको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै नुवाकोटबाट शव आउने गरेको छ । अस्पतालमा आएका शवलाई प्रहरीले व्यवस्थापन गरिरहेका छन् । शवको डिएनए परीक्षणका लागि अस्पतालबाट नमुना संकलन गरिएको सिंहले जानकारी दिए । यहाँबाट शवको डिएनए परीक्षण गर्न प्रहरी अस्पताल लाने गरेको उनले बताए । शव व्यवस्थापनका लागि ७५ जना प्रहरी परिचालन गरिएको उनले बताए । '१० जना प्राविधिक प्रहरीले शव व्यवस्थापन गरिरहेका छन् र ५ जनाले शवको मुचुल्का गरिरहेका छन्,' उनले भने । बाँकी प्रहरी अस्पताल परिसरभित्र परिचालन छन् । गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खमा ठूलो धनजनको क्षति गरेको छ ।
भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख राहत
काठमाडौं । भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ तथा सञ्चालक र कर्मचारीहरूको तर्फबाट २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । उक्त सहयोग रकमको चेक कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । कम्पनीले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी तथा मानवीय प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ । विनाशकारी बाढीबाट रसुवालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूले राहत तथा पुनःस्थापनाका लागि सरकारको कोषमा आर्थिक सहयोग गर्दै आएका छन् ।
रसुवा बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ११ हजार ९९३ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीपछि उद्धार गरिएका व्यक्तिमध्ये ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको बताए । उनका अनुसार उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये हालसम्म १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रधानमन्त्री शाहले भने, ‘११ हजार ९९३ जनाको उद्धार गरेका छौं । तर पनि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना भएका घाइतेमध्ये केही बेरअघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ ।’ उनले भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको जानकारी दिए । बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढी जानकारी दिँदै उनले सुरुङ उद्धार जारी रहेको बताएका छन् । ‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ,’ प्रधानमन्त्री शाहले भने । केही जलविद्युत् आयोजना सञ्चालन गर्न ठूलो खर्च लाग्ने देखिएको उनले बताए । अहिले शोक मनाउने समय होइन, खोज तथा उद्धार जारी छ : प्रधानमन्त्री शाह
अहिले शोक मनाउने समय होइन, खोज तथा उद्धार जारी छ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार प्रतिनिधि सभाको बैठकमा विपदबारे जानकारी दिँदै अहिले शोक मनाउन समय नभएको बताए। उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । ‘मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताए । ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए । प्रधानमन्त्री शाहले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए ।
नुवाकोटबाट ल्याइएका ८१ शव गोकर्णेश्वरमा व्यवस्थापन, १३ जनाको पहिचान
काठमाडौं । नुवाकोटबाट त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ। हालसम्म गोकर्णेश्वरमा ८१ वटा शव व्यवस्थापन गरिएको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार १३ जनाको शव पहिचान भएको छ । पहिचान भएकामध्ये तीन जना महिला र १० जना पुरुष रहेका छन् । अस्पतालमा शवको दुर्गन्ध फैलिएकाले छिटो–छिटो शव व्यवस्थापन गर्न लगिएको उनले बताए। दैनिक ३० वटा शव त्रिवि शिक्षण अस्पतालमा आउने गरेको उनको भनाइ छ । ‘यहाँ ल्याइने शव नुवाकोटबाट आइरहेको छ,’ उनले भने, ‘हामीलाई नुवाकोटबाट ल्याइएको भनिन्छ। प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गर्ने गरिरहेका छौँ ।’ शवको डीएनए परीक्षण गरेर व्यवस्थापन गर्ने गरिएको सिंहले बताए । ‘शवका आफन्तहरूको पनि प्रहरी अस्पतालमा डीएनए परीक्षण गरेर नमुना संकलन गरिएको छ,’ उनले भने । गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखामा ठूलो धनजनको क्षति गरेको छ ।
विपदमा बीमाको साथ : करोडौंको सहयोगदेखि प्रभावित क्षेत्रमा राहतसम्म
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ । विपदबाट प्रभावितको उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायदेखि सरकारी निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रले सहयोगको हात बढाइरहेका छन् । विपद्को यो कठिन घडीमा नेपालका बीमा कम्पनीहरू पनि एकजुट भएर अघि बढेका छन् । यो परिस्थितिमा कम्पनीहरूले केवल दाबी भुक्तानीको व्यावसायिक दायित्वमा मात्र सीमित नरही प्रभावितको उद्धार तथा राहतका लागि सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेका छन् । कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुका साथै प्रत्यक्ष मानवीय सेवामा समेत सक्रियता देखाएका छन् । कम्पनीका कर्मचारी तथा स्थानीय शाखामार्फत प्रभावित क्षेत्रमै पुगेर उनीहरू प्रत्यक्ष राहत वितरणमा जुटेका छन् । नेपाल लाइफको २ करोड ५१ लाख सहयोग नेपाल लाइफ इन्स्योरेन्सले बाढी प्रभावित परिवारको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सेवाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा उक्त रकमले थप योगदान पुग्ने कम्पनीले जनाएको छ । सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै कम्पनीले विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । सिटिजन्स लाइफको १ करोड ५१ लाख सहयोग सिटिजन लाइफ इन्स्योरेन्सले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । विपद्को यस घडीमा कर्पोरेट सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै सहयोग गरिएको कम्पनीको भनाइ छ । उक्त सहयोगले पीडित परिवारको राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ । नेशनल लाइफको डेढ करोड सहयोग नेशनल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड ५१ लाख रूपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग उपलब्ध गराएको जनाएको छ । नेशनल लाइफले पनि यो सहयोगले पीडित परिवारको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । एशियन लाइफको १ करोड सहयोग बाढीका कारण प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि एशियन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री विपद राहत कोषमा या रकम सहयोग गरेको हो । सूर्यज्योति लाइफको १ करोड सहयोग सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बाढीपीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भन्दै सो रकम सहयोग गर्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको हो । कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा आर्थिक तथा विविध प्रकारको सहयोग गर्दै आइरहेको छ । विपद्को यस कठिन घडीमा सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीको भनाइ छ । आईएमई लाइफको १ करोड सहयोग त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीले पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकमको सहयोग गर्ने घोषणा गरेको हो । कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग हस्तान्तरण गर्दै आइरहेको छ जनाएको छ । हालको विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने यो आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनःस्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । सानिमा रिलायन्सको ७२ लाख सहयोग सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बाढीबाट प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले ७२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ५१ लाख सञ्चालक समिति र कर्मचारीबाट २१ लाख गरी जम्मा ७२ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । सन नेपाल ६० लाख सहयोग सन नेपाल लाइफ इन्स्योरेन्सले बाढीबाट प्रभावितहरूलाई उद्धार राहत र पुनःस्थापनामा सहयोग पुर्याउन ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनःस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिइएको छ । प्रभु महालक्ष्मीको ५१ लाख सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफले एकाउन्न लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। विपदबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो । रिलायबल नेपालको ५१ लाख सहयोग रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बाढीबाट प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको हो । मेट लाइफको ३० लाख रुपैयाँ सहयोग मेटलाइफ नेपालले बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख योगदान गरेको छ । सामूहिक प्रयासबाट प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउँदै राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ । नेपाल इन्स्योरेन्सको ५० लाख सहयोग नेपाल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अकल्पनीय बाढीका कारण भएको जनधनको अपुरणीय क्षतिमा राहत स्वरूप कम्पनीले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सहयोग गरेको जनाएको छ । नेपाल रिको एक करोड सहयोग पुनर्बीमा कम्पनी नेपाल रिले एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बाढीका कारण प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सो रकम सहयोग गरेको कम्पनीले जनाएको छ । राहत वितरण तथा सामाजिक कार्यमा पनि जुट्दै आर्थिक सहयोगसँगै कम्पनीका कर्मचारी तथा स्थानीय शाखाहरूले प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष राहत वितरण गरिरहेका छन् । हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीहरूले बाढीबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । कम्पनीका कर्मचारीहरूले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । त्यस्तै, विपद्का बेला अस्पतालहरूमा हुने रगतको अभावलाई मध्यनजर गर्दै हिमालयन लाइफ कर्मचारी संगठनको पहलमा विशेष रक्तदान कार्यक्रम समेत गरेका छन् । त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मन्थली शाखाले प्रभावित क्षेत्रमा सरसफाइ र महामारी फैलिन नदिन ४० थान डस्टबिन वितरण गरी वातावरणीय स्वास्थ्यमा सहयोग पुर्याएको छ । कम्पनीको नवौं स्थापना दिवसको अवसर पारेर मन्थली शाखाले मन्थलीमा बजार सरसफाइ गरी डस्टबिन वितरण गरेको छ ।
राष्ट्र बैंकको स्वीकृतिबिनै लघुवित्तले कार्यालय स्थानान्तरण गर्न सक्ने
काठमाडौं । रसुवा लगायतका बाढी तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रमा सञ्चालित लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालय नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सेवा सुचारु गर्ने प्रयोजनका लागि लघुवित्त वित्तीय संस्थालाई यस्तो सुविधा दिएको हो । राष्ट्र बैंकका अनुसार २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त संस्थाका शाखा तथा कार्यालयलाई संस्थाले आफ्नै निर्णयमा स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन् । यसका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन । तर, शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ । प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा लघुवित्त वित्तीय संस्थाको सेवा अवरुद्ध हुन नदिन तथा सेवाग्राहीलाई वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्रिय सहकारी बैंकले बाढीपीडित सहकारीका लागि २० लाख दिने
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघसंस्थाको सेवा पुनः सञ्चालन र पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढीपहिरोबाट सहकारी संस्थाका कार्यालय, अभिलेख, प्रविधि तथा भौतिक संरचनामा क्षति पुगेको बैंकले जनाएको छ । क्षतिग्रस्त सहकारी संस्थालाई सेवा सञ्चालनमा सहयोग गर्न उक्त रकम छुट्याइएको हो । रकम सम्बन्धित जिल्ला सहकारी संघसँगको समन्वयमा बैंकले तोकेको मापदण्डअनुसार वितरण गरिनेछ । यसैगरी, बाढीपहिरोबाट नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । केही कर्मचारीका आफन्तसमेत सम्पर्कविहीन रहेको बैंकले जनाएको छ । प्रभावित कर्मचारीलाई सहयोग गर्न बैंकका कर्मचारीले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन् । संकलित रकमबाट प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत दिइएको छ । बैंकका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यले पनि एक दिनको बैठक भत्ता सहयोग गर्ने भएका छन् । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । बैंकले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैंकले प्रभावित सहकारी संस्थाको सेवा निरन्तरता, पुनःस्थापना र संस्थागत सुधारका लागि आवश्यक वित्तीय, प्राविधिक तथा अन्य सहयोग जारी राख्ने जनाएको छ ।