विकासन्युज

रसुवा बाढी : मृतकको संख्या १ हजार ११४ पुग्यो, करिब ४ हजार अझै बेपत्ता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला परेको बताएको छ ।  प्राधिकरणको बुधवार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोजन्य विपदमा परी हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको हो ।  प्राधिकरणका अनुसार बाढी र पहिरो परी निधन भएकाहरू  चितवनमा सबैभन्दा बढी ३ सय ४८ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिममा १ सय ९०, नुवाकोटमा १ सय ५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।  यस विपदमा हालसम्म २९२ जना घाइते भएका छन् । जसमध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी छ ।  घाइतेहरूको उपचारका लागि नेपाली सेनाले २ हजार ९ सय १५ र सशस्त्र प्रहरी बलले १ हजार १ सय ५५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।  विपद्का कारण करिब ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, पर्यटक तथा स्थानीय बासिन्दा र जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू रहेका छन् । प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ ।  उद्धार कार्यका लागि २१,३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका ९ हजार १ सय ९९, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।  नेपाली सेनाले ६ सय २२ पटक हवाई उडान गरी ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरेको छ । यस्तै, ३ हजार ४ सय ५३ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा राखिएको छ ।  सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि राहत रकम निकासा गरेको छ । रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । यसका साथै प्रभावित १५ वटा पालिकाका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ । राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ । दुर्गम क्षेत्रहरूमा ७७ पटक हेलिकप्टर उडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ । प्रभावित क्षेत्रमा अत्यावश्यक इन्धनको मौज्दात सुरक्षित राखिएको छ । हाल ४९ हजार लिटर डिजेल, १९ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ ।  सञ्चार क्षेत्रमा परेको असरलाई मत्थर पार्दै नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा ल्याइएको छ । यस्तै, एनसेलका ७८ क्षतिग्रस्त टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन् । बाँकी टावरहरूको मर्मत कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।–न्युज एजेन्सी नेपाल

राधाकृष्ण मन्दिर निर्माणमा ६ लाख ८० हजार भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिर निर्माणमा अनियमितता गरेको आरोपमा ५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार मन्दिर निर्माणका क्रममा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएर नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार पारिएको थियो । सोही आधारमा ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ । उक्त निर्माणका लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो । रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणका लागि पर्यटन विकास कार्यालय, गौर र उपभोक्ता समितिबीच सम्झौता भएको थियो । अख्तियारले पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेलविरुद्ध ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ । त्यस्तै, उक्त योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध पनि सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजायसरह सजाय माग गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा फिल्डमा नभएको काम भएको देखाई गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेका थिए । त्यसका आधारमा झुट्टा बिल तथा भरपाई बनाएर बढी भुक्तानी लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।  बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ ।  बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ ।  ‘केही विद्यालयले भने उच्च सतर्कता अपनाएसँगै ठूलो दुर्घटना हुनबाट जोगिएको छ,’ उनले भने, ‘अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ । केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउन योजना बनाउनेछौं ।’ त्रिशूली नदीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको विदुर नगरभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् । शिक्षा शाखाको तथ्याङ्कअनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको सम्पूर्ण संरचनामा क्षति पुगेकाले उक्त स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था छ । त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलको तीनवटा ब्लक र छात्रावास भवन पूर्ण क्षति भएर एकवटा ब्लकमात्र बाँकी छ । चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बसोबास गर्ने छात्राबास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत मावि र पायोनियर इङ्लिस बोर्डिङको घेराबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाइ छ । रामचन्द्र आविको एक र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा बस बाढीले बगाएको छ ।   त्यस्तै, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ भने बेलकोटगढीमा एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।  बेलकोटगढी–७ स्थित शिलादेवी मावि बाढीबाट प्रत्यक्ष र वडा नं ५ को महादेव मावि प्रभावित बनेको छ ।

कागेश्वरी मनोहराका इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की घुस रकमसहित पक्राउ परेकी छन् । उनीसँगै घुस रकम लिन मध्यस्थता गर्ने आस्मा कार्की पनि पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले स्ट्रक्चर एनालाइसीसको काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले दुवै जनालाई ६४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनीहरूलाई भदौ १५ गते कागेश्वरी मनोहरा नगरपालिका–थली, डाँछीस्थित कार्यालयबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेकामध्ये इन्जिनियर कार्कीले घुस रकमका लागि सेवाग्राहीसँग पटक–पटक बार्गेनिङ गरी दुःख दिएको अख्तियारको दाबी छ । उनीहरूमाथि घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। विशेष अदालतको आदेशबाट भदौ १६ गते म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

एचआईडीसीएलको सञ्चालकमा पर्वत कार्की नियुक्त

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को सञ्चालक समितिमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत महेश रिमालको स्थानमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक कार्कीलाई सञ्चालकमा मनोनयन गरिएको हो । नागरिक लगानी कोषले भदौ १५ गते पठाएको पत्रअनुसार कार्कीलाई एचआईडीसीएलको सञ्चालकमा मनोनयन गरिएको कम्पनीले जनाएको छ । कार्कीले भदौ १६ गते कम्पनीका सञ्चालक समितिका अध्यक्षसमक्ष सञ्चालक पदको शपथ लिएका छन् । कम्पनीले सञ्चालकमा भएको परिवर्तनबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराएको छ ।

मुक्तिनाथ विकास बैंकले ढुवानी व्यवसायीलाई गाडी किन्न सहुलियत कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई गाडी खरिद तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महासंघमा आबद्ध सदस्यले ढुवानी व्यवसायका लागि आवश्यक पर्ने जुनसुकै ब्रान्डका गाडी खरिद गर्न बैंकबाट कर्जा लिन सक्नेछन् । व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा सुविधासमेत बैंकले उपलब्ध गराउनेछ । बैंकले आफ्ना १७६ वटै शाखामार्फत आकर्षक सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । यसबाट ढुवानी व्यवसायीलाई गाडी खरिद गर्न र व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ । बैंकले हाल अटो कर्जा, कृषि कर्जा र एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने विशेष अफर ल्याएको जनाएको छ । सम्झौता भदौ १७ गते भएको हो ।

प्रभु बैंकद्वारा बाढीपीडितको राहतका लागि २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो । भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल र सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति थियो । भदौ १० गते बिहान रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको अचानकको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार र राहतमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ । प्रभु बैंकले बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन नागरिकको शीघ्र खोजी तथा घाइतेको उद्धार र उपचारको कामना गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा मञ्जुश्री फाइनान्सको ३० लाख सहयोग

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।  २०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारण प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पु‍र्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाइनान्सले जनाएको छ । विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले राहत तथा उद्धार अभियानमा केही हदसम्म योगदान पुग्ने विश्वास मञ्जुश्री फाइनान्सले व्यक्त गरेको छ ।