काठमाडौं । हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन, यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ ।
वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यसको नेतृत्व कार्यालयबाट मात्र नभई प्रहरी अधिकारीहरू स्वयं सडकमा उत्रिएर गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफैँ सडकमा पुगेर सवारी आवागमन व्यवस्थापनमा खटिएका छन् ।
सवारीको लामो लाइन, साँघुरा सडक र वैकल्पिक मार्गमा बढेको चापबीच प्रहरीले सवारीलाई निर्धारित रुटअनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ ।
प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ । हेटौंडाबाट काठमाडौं जाने त्यस्ता सवारीले भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौं आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ ।
ठूला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ । त्रिभुवन राजपथमा रहेको कमजोर बेलीब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।
सडकको असहजताले यात्राको समय पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले बीच–बीचमा प्रहरी परिचालन गरेर यात्रालाई सहज बनाउने काम भइरहेको बताए ।
पालुङ क्षेत्रमा रोकिएका करिब १५० सवारीसाधनलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौं ल्याउने कार्य भइरहेको छ । मंगलबार काठमाडौंबाट छुटेका ती सवारीसाधन सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए ।
उनका अनुसार पालुङमा रोकिएका ती सवारीसाधनलाई गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौंबाट अर्को समूहका सवारीसाधनलाई सो मार्गमा प्रवेश अनुमति दिइनेछ ।
त्यसैगरी, १४ सिट क्षमतासम्मका हलुका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन् । हलुका सवारीसाधनका हकमा असोज १६ गतेदेखि लागू हुने गरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ ।
हाल सडकमा पर्याप्त ट्राफिक जनशक्ति परिचालन गरी ठाउँ–ठाउँमा सवारीसाधनलाई ‘होल्ड’ गर्दै समूह बनाएर गन्तव्यतर्फ पठाउने अर्थात् ‘कन्भे’ गर्ने काम भइरहेको विष्टले बताए ।
सडकको भौगोलिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै कतिपय स्थानमा सवारीसाधनलाई केही समय रोकेर पठाउने गरिएको छ । त्यसका कारण बीच–बीचमा केही अवरोध देखिए पनि व्यवस्थापन कार्यलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ ।
विष्टले भने, ‘बीच–बीच बाटोमा हामीले ट्राफिकहरूलाई राखेर व्यवस्थापन गरिरहेका छौँ । अहिले पालुङमा झन्डै १५० वटा गाडी होल्ड भएर बसेका छन् । हिजो काठमाडौंबाट छुटेका गाडी निर्णय हुनुअघि नै त्यहाँ पुगेकाले रोकिएका हुन् । अहिले ती गाडीलाई स्कर्टिङ गरेर ल्याउने कार्य भइरहेको छ ।’
उनका अनुसार पालुङबाट ती सवारीसाधन ल्याइसकेपछि मात्रै अर्को समूहलाई उक्त मार्गबाट पठाउने व्यवस्था मिलाइएको छ । यसका लागि उपलब्ध जनशक्तिलाई अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन भइरहेको छ ।
‘१४ सिटसम्मका हलुका सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटोबाट जानेछन् । हलुका सवारी आजदेखि २४ घण्टा चल्ने व्यवस्था गरिएको छ । हेभी तथा मालवाहक सवारीलाई भने पालुङ हुँदै पृथ्वी राजमार्गतर्फ पठाउने व्यवस्था गरिएको छ,’ उनले भने ।
बाढीअघि सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौंडा–काठमाडौं यात्रा अहिले सवारीको चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ ।
यात्रुवाहक सवारीसँगै अत्यावश्यक सेवाका सवारीलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउनु प्रहरीका लागि अर्को चुनौती बनेको छ । ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्रहरीले विशेष व्यवस्थापनसहित प्राथमिकतामा राखेर काठमाडौंसम्म पुर्याउने व्यवस्था मिलाइरहेको छ ।
विपद्का कारण सडकको अवस्था जटिल बन्दा प्रहरी नेतृत्व केवल निर्देशनमा सीमित छैन । समस्या भएको ठाउँमै पुगेर सवारी व्यवस्थापनमा खटिएको मकवानपुर प्रहरीले जनाएको छ ।