३ कम्पनीको लाभांश घोषणा, प्रिमियममा आईपीओदेखि हकप्रद जारी गर्ने

काठमाडौं । तीनवटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा होटेल सारथी लिमिटेड, सेन्चुरी इनर्जी लिमिटेड र डिभाइन हेल्थ केयर लिमिटेड रहेका छन् ।

होटेल सारथीले गत वर्षसम्मको जगेडा कोषबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ४ गते दिउँसो १२ बजे होटेल सारथीको सभा हलमा दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने तथा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै, कम्पनीले जारी पुँजीको ३० प्रतिशत साधारण सेयर प्रिमियममा जारी गर्ने प्रस्तावसमेत सभामा पेस गर्नेछ ।

त्यस्तै, सेन्चुरी इनर्जी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १० गते बिहान साढे ८ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा साधारण सभा बोलाएको छ ।

सभाले कम्पनीको स्वामित्वमा रहेको मोटरसाइकल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन र कम्पनीको साधारण सेयर जारी गर्ने सम्बन्धी प्रस्तावसमेत सभामा पेस हुनेछ ।

यस्तै, डिभाइन हेल्थ केयर लिमिटेडले चुक्ता पुँजीको १.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०६५ प्रतिशत नगद लाभांश गरी कुल १.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ६ गते बिहान ११ बजे उद्योग परिसर, भरतपुर-१६, चितवनमा दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गरी अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, नियमावली संशोधन गरी हाल कायम ११ सदस्यीय सञ्चालक समितिको संख्या घटाएर ७ जना कायम गर्ने प्रस्ताव छ । प्रस्तावित संरचनाअनुसार संस्थापक समूहबाट ५ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र व्यवसायिक विशेषज्ञ स्वतन्त्र सञ्चालक १ जना रहनेछन् ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत गरेको छ । हकप्रद सेयर निष्काशनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

यसैगरी, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने सम्बन्धमा प्रथम वार्षिक साधारण सभाबाट भएको निर्णयलाई निरन्तरता दिने तथा आईपीओबाट प्राप्त पुँजी उपयोग गर्ने सम्बन्धी प्रस्तावसमेत साधारण सभाले पारित गर्नेछ ।

Share News