प्रभु बैंकद्वारा बाढीपीडितको राहतका लागि २ करोड ११ लाख सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो । भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल र सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति थियो । भदौ १० गते बिहान रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको अचानकको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार र राहतमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ । प्रभु बैंकले बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन नागरिकको शीघ्र खोजी तथा घाइतेको उद्धार र उपचारको कामना गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा मञ्जुश्री फाइनान्सको ३० लाख सहयोग
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । २०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारण प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पु‍र्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाइनान्सले जनाएको छ । विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले राहत तथा उद्धार अभियानमा केही हदसम्म योगदान पुग्ने विश्वास मञ्जुश्री फाइनान्सले व्यक्त गरेको छ ।
घरजग्गामा बैंकको २.१४ खर्ब लगानी, ९ बैंकको घट्यो
काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा घरजग्गा क्षेत्रमा २ खर्ब १४ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ०.९२ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा घरजग्गा क्षेत्रमा सबैभन्दा धेरै कर्जा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले प्रवाह गरेको छ । बैंकले असार मसान्तसम्म २२ अर्ब ३७ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा ७.७४ प्रतिशत अर्थात् करिब १ अर्ब ८७ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा बैंकको घरजग्गा क्षेत्रमा २४ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी थियो । घरजग्गा कर्जा विस्तार गर्ने बैंकमध्ये सानिमा बैंक अगाडि देखिएको छ । बैंकको घरजग्गा क्षेत्रमा कर्जा लगानी २८ प्रतिशतले बढेर ७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले यस क्षेत्रमा ६ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । त्यस्तै, कृषि विकास बैंकको घरजग्गा कर्जा २७.५५ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । नेपाल बैंकको २१.६५ प्रतिशतले बढेर १६ अर्ब २६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २० प्रतिशतले बढेर ५ अर्ब २० करोड रुपैयाँ, एनएमबी बैंकको १८.२८ प्रतिशतले बढेर ६ अर्ब २३ करोड रुपैयाँ र नेपाल एसबीआई बैंकको १७.२३ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकको घरजग्गा कर्जा ८.३१ प्रतिशतले बढेर १७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । हिमालयन बैंकको ७.५९ प्रतिशतले बढेर ११ अर्ब ५० करोड रुपैयाँ, एभरेष्ट बैंकको ६.१५ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड रुपैयाँ, प्राइम बैंकको ३.९७ प्रतिशतले बढेर २१ अर्ब ४८ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको ३.३५ प्रतिशतले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । तर, समीक्षा अवधिमा विभिन्न ९ बैंकको घरजग्गा क्षेत्रमा कर्जा लगानी घटेको छ । प्रभु बैंकको कर्जा १.५० प्रतिशतले घटेर १६ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । लक्ष्मी सनराइज बैंकको २.३० प्रतिशतले घटेर १५ अर्ब ५६ करोड रुपैयाँ तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.११ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ सीमित भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको घरजग्गा कर्जा ९.११ प्रतिशतले घटेर १२ अर्ब ७२ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ९.१२ प्रतिशतले घटेर १९ अर्ब ३१ करोड रुपैयाँ, कुमारी बैंकको ११.५६ प्रतिशतले घटेर ६ अर्ब ५२ करोड रुपैयाँ र सिटिजन्स बैंकको १२.५३ प्रतिशतले घटेर ३ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकको घरजग्गा कर्जा १४.०९ प्रतिशतले घटेर ८ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ ।
पिताम्बर भण्डारी बने नेपाल बैंकका नयाँ अध्यक्ष
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भण्डारीले भदौ १६ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बैंकले अध्यक्ष नियुक्ति र शपथ ग्रहणबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।
छिमेक लघुवित्तकी सञ्चालक सुशीला श्रेष्ठको कार्यकाल सकियो
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकी स्वतन्त्र सञ्चालक सुशीला श्रेष्ठको पदावधि समाप्त भएको छ । लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै श्रेष्ठको कार्यकाल भदौ १६ गतेदेखि समाप्त भएको जानकारी गराएको हो । कम्पनी सचिव दिलीपकुमार श्रेष्ठका अनुसार स्वतन्त्र सञ्चालकको पदावधि सकिएको जानकारी सम्बन्धित नियामक निकायलाई औपचारिक रूपमा दिइएको छ ।
ग्लोबल आइएमई बैंकका सेयरधनीले १० प्रतिशत लाभांश पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औं बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार सेयरधनीले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर (करसहित) पाउनेछन् । बैंकले यो लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी २०औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने जनाएको छ। लाभांश सम्बन्धी निर्णयबारे बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।
प्रधानमन्त्री उद्धार कोषमा देव ग्रुप, युनाइटेड मेवा र युनाइटेड मोदीको ५० लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि देव ग्रुप, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेका छन् । देव ग्रुपका अध्यक्ष नरेन्द्र बल्लभ पन्त र प्रबन्ध निर्देशक अजय बल्लभ पन्तले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । युनाइटेड मोदी हाइड्रोपावरका अध्यक्ष नवीन सिलवालले बाढीपीडित नागरिकलाई राहत उपलब्ध गराउन र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको बताए । यस्तै, युनाइटेड मेवा खोला हाइड्रोपावरका अध्यक्ष आशिष थापाले विपद्को कठिन समयमा मानवीय सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । देव ग्रुपले आगामी दिनमा पनि विपद् प्रभावित नागरिक र समुदायको हितमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ । नदीले सडकको तल्लो भागबाट तिब्र रूपमा कटान गरेसँगै बुधबार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन शुरु भएको हो । नदीको बहाव बढेर सडकको जगमै क्षति पुर्याउन थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ । गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले यस क्षेत्रमा निरन्तर कटान गरिरहेको थियो । आज बिहानदेखि सडकको केही भाग धस्सिएपछि सो क्षेत्र भएर गुड्ने सवारी साधन र यात्रुहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ । सडक भासिने क्रम शुरु भएसँगै उक्त खण्डमा यातायात सञ्चालन गर्दा उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ । प्राविधिक रूपमा सडकको आधारभूत संरचनामै असर परेकाले थप क्षति हुन नदिन र सम्भावित दुर्घटना टार्न शतर्कता अपनाउन आवश्यक रहेको छ ।