प्राधिकरणले मौसम प्रतिकूल बने पनि विद्युत सेवा रोकिन नदिने, कर्मचारी अलर्ट अवस्थामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सम्भावित भारी वर्षा र प्रतिकूल मौसमप्रति सतर्क रहन अपिलमौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई अपिल गरेको छ । 

सामुन्द्रिक क्षेत्रमा विकास भइरहेको न्यून चापीय प्रणालीका कारण वर्षा, बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबानको जोखिम रहेकाले विशेष गरी असोज ९ देखि ११ गतेसम्म सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिकूल मौसमका कारण विद्युतीय संरचनाहरूमा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मत सम्भार गरी सेवा सञ्चालन गर्न प्राधिकरणका सम्बन्धित कार्यालयका कर्मचारीहरूलाई तयारी अवस्थामा राखिएको छ । 

साथै, आकस्मिक अवस्थामा बाहेक आवतजावत नगर्न, विद्युतीय उपकरणहरूको सावधानीपूर्वक प्रयोग गर्न र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

विद्युत सेवा अवरुद्ध भएमा वा संरचनामा क्षति पुगेमा नजिकैको वितरण केन्द्र, हेल्पलाइन नम्बर ११५० वा नो–लाइट नम्बरमा सम्पर्क गरी तुरुन्त जानकारी गराउनसमेत उपभोक्तावर्गमा आग्रह गरिएको छ । 

Share News