काठमाडौं । रकम नदिए ज्यान मार्ने धम्की दिँदै अश्लील शब्द प्रयोग गरी रकम असुल गर्न खोज्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
निर्माण वा ठेक्काको काम गरेबापत हप्ता भन्दै पटक/पटक फोन र म्यासेजमार्फत धम्क्याउने तथा गालीगलौज गरी रकम माग गरेको भन्दै प्रहरी वृत्त थानकोटमा जाहेरी परेको थियो ।
सोही जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास गर्ने क्रममा प्रहरीले असोज २ गते काठमाडौं महानगरपालिका-१४ कलंकीबाट उदयपुरको चौदण्डीगढी गाउँपालिका-५ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय भुपाल जंग खड्कालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका खड्कामाथि अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा मुद्दा चलाउन काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटले थप अनुसन्धान अगाडि बढाएको छ ।