युनिग्लोब एमयुएनमा कूटनीति, संसददेखि मानवअधिकारसम्मको बहस

काठमाडौं । युनिग्लोब इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (एमयुएन) २०२६ को छैटौं संस्करण सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका साथै भारत र बंगलादेशका ५ सय ५० भन्दा बढी विद्यार्थी प्रतिनिधि सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई १५ वटा विभिन्न समूहमा विभाजन गरी कूटनीति, बहस, सहकार्य तथा विश्वव्यापी रूपमा देखिएका समसामयिक विषयमा छलफल गराइएको थियो । कक्षा ९ देखि स्नातक तहसम्मका विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए ।

null

विद्यालयका अनुसार पढाइसँगै विद्यार्थीलाई देशमा भइरहेका राजनीतिक गतिविधि, विभिन्न मुलुकबीचको कूटनीतिक सम्बन्ध, विश्वव्यापी रूपमा बढिरहेको लागुऔषध दुव्र्यसन, महिलामाथि हुने हिंसा, जलवायु परिवर्तन, मानवअधिकारलगायतका विषयमा जानकारी गराउने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना हुँदै आएको छ ।

प्रत्येक समूहमा करिब २० देखि २२ जना विद्यार्थी सहभागी भएर सम्बन्धित विषयमा छलफल गरेका थिए । विद्यालयमा यसअघि नै यस्ता विषयबारे अध्ययन गरे पनि फरक–फरक विद्यालय तथा विदेशी विद्यार्थीहरूसँग एउटै समूहमा बसेर छलफल गर्न पाउँदा थप ज्ञान र अनुभव हासिल भएको सहभागी विद्यार्थीहरूले बताएका छन् ।

null

मानवअधिकार र शरणार्थीको अधिकारमाथि बहस

कार्यक्रमका विभिन्न समितिमा विश्वभर भइरहेका मानवअधिकार उल्लंघनका घटना तथा शरणार्थीको अधिकारका विषयमा समेत छलफल भएको थियो । अधिकार उल्लंघनमा परेका व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूले आ-आफ्ना धारणा राखेका थिए ।

एक सहभागीका अनुसार विद्यालयमा मानवअधिकारका विषय पढ्दै आए पनि विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूसँग प्रत्यक्ष छलफल गर्दा विषयलाई फरक दृष्टिकोणबाट बुझ्ने अवसर मिलेको थियो ।

संसद्को असाधारण शक्ति र ‘हेट स्पिच’बारे छलफल

अर्को समितिमा संसद्को अधिवेशनका क्रममा राज्यले प्रयोग गर्ने असाधारण शक्ति तथा अनलाइन माध्यम र सामाजिक सञ्जालमा बढिरहेको ‘हेट स्पिच’ र गालीगलौज नियन्त्रणका उपायबारे छलफल भएको थियो ।

छलफलका क्रममा सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा कसैबारे धारणा व्यक्त गर्नुअघि तथ्य र प्रमाणको पुष्टि गर्नुपर्ने निष्कर्षमा पुगेको सहभागीहरूले बताएका छन् ।

null

संविधान संशोधन र कानुनजस्ता संवेदनशील विषयमा तथ्य नबुझी अनावश्यक धारणा बनाउनु वा प्रस्तुत गर्नु उचित नहुने विषयमा पनि गहन छलफल भएको उनीहरूको भनाइ छ ।

एक सहभागीले भने, ‘यस समितिमा बसेर मैले आफूले बोल्ने कुरा तथ्यमा आधारित छ कि छैन र कानुनको दायराभित्र छ कि छैन भन्ने बुझेर मात्रै धारणा बनाउनुपर्छ भन्ने कुरा राम्रोसँग सिकें ।’

लागुऔषध उत्पादनदेखि अन्तर्राष्ट्रिय ओसारपसारसम्म

अर्को समितिमा लागुऔषधको प्रयोग र त्यसका कारण बढिरहेको अपराधबारे छलफल गरिएको थियो । 

अफगानिस्तानमा उत्पादन हुने लागुऔषध तथा त्यसको विभिन्न मुलुकमा हुने ओसारपसार रोक्ने उपायबारे विद्यार्थीहरूले बहस गरेका थिए ।

लागुऔषधको प्रयोगका कारण विश्वभर बढिरहेको अपराध, हत्या तथा हिंसा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा गर्नुपर्ने सहकार्य र रणनीतिबारे पनि छलफल भएको सहभागीहरूले बताएका छन् ।

null

विद्यार्थीको आत्मविश्वास र आलोचनात्मक सोच विकास गर्ने उद्देश्य

युनिग्लोबका अनुसार कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, आलोचनात्मक सोच र विश्व घटनाक्रमलाई विश्लेषण गर्ने क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न समितिको अभ्यास गर्दै विश्वमा भइरहेका राजनीतिक, सामाजिक तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे अध्ययन, विश्लेषण र बहस गरेका थिए ।

विद्यालयले यस्ता गतिविधिबाट विद्यार्थीमा आफूले प्रस्तुत गर्ने विचारलाई तथ्य र प्रमाणका आधारमा परीक्षण गर्ने, प्रश्न गर्ने तथा आलोचनात्मक रूपमा सोच्ने क्षमताको विकास हुने विश्वास लिएको जनाएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कक्षाकोठामा मात्र पढेरभन्दा फरक विद्यालय र देशका विद्यार्थीहरूसँग प्रत्यक्ष छलफल गर्दा विषयवस्तुलाई अझ गहिराइमा बुझ्न सहयोग पुगेको बताएका छन् ।

null

युनिग्लोब इन्टरनेशनल एमयुएनलाई विद्यार्थीलाई कूटनीति, नेतृत्व, सार्वजनिक वक्तृत्व, सहकार्य र विश्वव्यापी मुद्दाको अध्ययन तथा विश्लेषणमा अभ्यास गराउने शैक्षिक मञ्चका रूपमा आयोजना गर्दै आएको आयोजकको भनाइ छ ।

nullnullnull

Share News