आफ्नै कार्यकर्तालाई व्यङ्ग्य गर्दै रविले भने– सबैलाई मेयर र ठूला पद चाहियो

फाइल तस्बिर ।

काठमाडौं । चितवन पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नै पार्टीका नेता–कार्यकर्ताको पदलोलुप प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन् । 

पार्टीभित्र स्थानीय तहको सबैभन्दा तल्लो तह वडाध्यक्ष बन्नसमेत इच्छुक नदेखिएको भन्दै उनले नेताहरूमा ठूलो पदप्रतिको आकाङ्क्षा बढेको टिप्पणी गरेका हुन् ।

एक कार्यक्रममा बोल्दै लामिछानेले पार्टीका अधिकांश नेता–कार्यकर्ता वडाध्यक्षको उम्मेदवार बन्नुभन्दा एकैपटक मेयर, प्रदेशसभा सदस्य र अन्य उच्च पदमा पुग्न चाहेको बताए ।

वडाध्यक्षको उम्मेदवार नै नपाइने अवस्था आए आफूले सभापतिको पद छाडेर चुनाव लड्नुपर्ने अवस्था आउन सक्ने उनको व्यङ्ग्य थियो ।

‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् है, एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू । अब यो वडामा चुनाव लड्न त  म राजीनामा दिएर आफै वडाध्यक्ष उठ्न आउनुपर्ला जस्तो छ,’ उनले भने ।

लामिछानेले पार्टीभित्र पद र अवसरप्रतिको आकाङ्क्षा बढ्दै गएको संकेत गर्दै सामान्य जिम्मेवारी लिनसमेत अनिच्छा देखिनु संगठनका लागि चुनौती भएको सन्देश दिए । 

दुई जनाबीच एउटा पदका लागि प्रतिस्पर्धा हुँदा पार्टीभित्रै विवाद र द्वन्द्व निम्तिन सक्ने उनको टिप्पणी थियो ।

‘भोलि दुई जना साथीलाई एउटा पद छोड्दिनुपर्यो भन्नुस् त, हानाहान र मारामार हुन्छ,’ उनले भने ।

आफ्नो राजनीतिक त्यागको प्रशंसा गर्ने तर त्यसलाई व्यवहारमा अनुसरण गर्न नचाहने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि जनाए । 

आफूलाई औपचारिक प्रशंसा र झुटो तारिफ आवश्यक नभएको उल्लेख गर्दै उनले पार्टीका सदस्यहरूमा जिम्मेवारी र त्यागको भावना हुनुपर्नेमा जोड दिए ।

Share News