काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले ठालु बन्न नभई धेरै सेवा गर्न मत दिएको बताएका छन् ।
शुक्रबार (आज) चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने, ‘जनताले हामीलाई ठालु बन्नका लागि होइन, अझ धेरै सेवा गर्नका लागि मत दिएका हुन् ।’
उनले जनताले दिएको शक्तिलाई जिम्मेवारीमा बदल्नुपर्ने बताए ।
सभापति लामिछानेले भने, ‘आज जनताले हामीलाई ठूलो शक्ति दिएका छन् तर शक्तिसँगै ठूलो जिम्मेवारी पनि आउँछ । यदि हामी जनविश्वासका आधारमा प्राप्त शक्ति दम्भमा बदल्न थाल्यौं भने त्यो हाम्रो पतनको सुरुवात हुनेछ ।’
उनले एक चुनाव जित्दैमा विशेष प्राणी नबनिने पनि बताए ।
उनले भने, ‘हामीले कहिल्यै भुल्नु हुँदैन, हामी यही माटोका मान्छे हौँ। एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौं ।’
घमण्ड, पदको दुरूपयोग र राजनीतिक दबाबको संस्कृतिबाट टाढा हुनुपर्ने उनको भनाइ छ ।