बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका लगायत बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार बाढीपीडित क्यान्सर बिरामीका लागि १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यसअन्तर्गत बेड चार्ज, ल्याब परीक्षण शुल्क र अक्सिजन शुल्क निःशुल्क हुने तथा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत उपलब्ध गराइने अस्पतालले जनाएको छ । त्यस्तै, विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारबाट प्रदान गरिने विभिन्न प्रकारका क्यान्सर उपचारसम्बन्धी सुविधासमेत लिन सक्ने अस्पतालले जनाएको छ । विपन्न स्वास्थ्य बीमा तथा प्रदेश सरकारले प्रदान गर्ने सुविधामार्फत उपचार लिन सकिने भएकाले अस्पतालको सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दार्चुलामा पहिरोले थुनियो चौलानी नदी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टारमा गएको ठूलो पहिरोका कारण चौलानी (चमेलिया) नदी आंशिक रूपमा थुनिएको छ । शुक्रबार दिउँसो खसेको पहिरोले नदीको बहाव रोक्दा अचानक बाढी आउन सक्ने उच्च जोखिम सिर्जना भएको छ । पहिरो खसेलगत्तै नदीको केही भाग थुनिपनि हाल पानी बग्न सुरु गरिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन् । घटनास्थलमा अझै पनि पहिरो खसिरहेकाले नदी पूर्ण रूपमा थुनिने खतरा कायमै रहेको प्रशासनले जनाएको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गरी नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ । प्रशासनले नदी वा खोला किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक पालना गर्न अनुरोध गरेको छ । साथै, कुनै पनि आपत्कालीन अवस्था उत्पन्न भएमा तत्काल उद्धार तथा राहतका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरी बलसँग समन्वय गर्न अपिल गरिएको छ । ‘पहिरो गएको स्थानबाट करिब सय मिटरको दुरीमा रहेका १२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तत्काललाई जोखिम छैन् । सतर्क रहनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने । पहिरो गएको स्थानमा जिल्ला प्रशासन कार्यालयबाट टाढा रहेकाले थप अवस्था बुझ्न प्रहरी पठाइएको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधिले दिएको सूचना अनुसार थप पहिरो नथपिए त्यस्तो ठूलो जोखिम नरहेको प्रमुख पौडेलले जानकारी दिए ।
चौलानी नदी पहिरोले थुनिएपछि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी थुनिन गई अचानक बाढी आउन सक्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रशासन कार्यालयका अनुसार अपिहिमाल गाउँपालिका–१ क्षेत्रमा पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ । नदी थुनिँदा एक्कासि पानीको मात्रा बढेर बाढी आउन सक्ने सम्भावना रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको हो । प्रशासनले नदी तथा खोलाको किनारमा नजान, सम्भावित जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा स्थानीय तह र सुरक्षा निकायले दिएको सूचनालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेको छ । आपत्कालीन अवस्था आएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी उद्धार तथा राहतका लागि आवश्यक व्यवस्था मिलाइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचनामा विपद्को जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ ।
कविरकी श्रीमतीले भनिन्– फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुसीको सीमा छैन
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ए को सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको शुक्रबार १० दिनपछि जीवितै उद्धार भयो । नेपाली सेनासहित विज्ञ र प्राविधिकहरूको टोलीले महर्जनको शुक्रबार बिहान सकुशल उद्धार गरी काठमाडौं ल्याएको हो । उनको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचार भइरहेको छ । श्रीमान्लाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताइन् । उनले श्रीमान्ले सुरुमा आफूलाई चिन्न नसकेको भए पनि अहिले अवस्था ठीकै रहेको बताइन् । खुट्टामा थोरै चोट लागेको र शरीरसमेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा राखिएको उनले बताइन् । उनले भनिन्, ‘अहिले ठीकै छ, अलिअलि बोल्नुभएको छ । आउने बेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन सुरुमा त । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरीर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ । परिवारमा सबै खुसी हुनुभएको छ । नेपाली सेनाले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यवाद ।’ उनी मेकानिकल सुपरभाइजर हुन् ।
पहिरोले कान्ति लोकपथ जोखिममा, सडक खुलाउन मेसिन परिचालन
काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्यधिक बढेको छ । अत्यधिक सवारी चाप र निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण यो राजमार्ग सञ्चालनमा चुनौती थपिएको हो । हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन् । विशेषगरी हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंबाट खाली फर्किएका सवारी साधनहरू कान्ति लोकपथ प्रयोग गरी हेटौँडा जाने व्यवस्था मिलाइएको छ । काठमाडौंको एकान्तकुना, टीकाभैरव, ठिङ्गन हुँदै हेटौँडा जोड्ने यो सडक खण्डमा सवारी चाप बढेपछि व्यवस्थापनमा कठिनाइ भएको हो । कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर उपेन्द्र महराका अनुसार सडकलाई सुचारु राख्न विभिन्न खण्डमा जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ । टीकाभैरवदेखि तीनपानेसम्म तीनवटा ह्विल एक्स्काभेटर र एउटा ब्याकहो लोडर परिचालन गरिएको छ । त्यस्तै, तीनपानेदेखि टार्कुचे खण्डमा पनि निर्माण व्यवसायीमार्फत उपकरणहरू परिचालन गरी सडक खुलाउने काम भइरहेको छ । टार्कुचेदेखि वाग्मती खोला (बगुवा) सम्मको जोखिमपूर्ण खण्डमा तीनवटा एक्स्काभेटर र दुईवटा लोडर तैनाथ राखिएका छन् । मकवानपुर खण्डतर्फ ठिङ्गनदेखि हेटौँडासम्मको सडक तुलनात्मक रूपमा सुरक्षित र कालोपत्रे भइसकेकाले त्यहाँ आवागमन केही सहज छ । यद्यपि, लेबडाँडा र सिमाद खोलाआसपासमा वर्षा हुँदा सामान्य अवरोध हुने गरेको इन्जिनियर महराले जानकारी दिए । सडक विभाग, जिल्ला प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली अहोरात्र खटिएर सडक सुचारु राख्ने प्रयास गरिरहेको उनको भनाइ छ । सडकको विर्खेधारा खण्डमा पहिरो पन्छाउने काम गरिरहेका सब–कन्ट्र्याक्टर धनबहादुर लिम्बूका अनुसार वैशाखदेखि नै निरन्तरको पहिरोले काममा बाधा पुर्याइरहेको छ । हाल दुईवटा स्काभेटर र छवटा टिपर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सडक अवरुद्ध हुन नदिन १०–१० मिनेट सवारी रोक्दै पहिरो पन्छाउने कार्य जारी राखिएको छ । यद्यपि, पहिरोको माटो फाल्ने उचित स्थान (डम्पिङ साइट) को अभाव र स्थानीय वन समिति तथा खानेपानी उपभोक्ताहरूको अवरोधका कारण काममा ढिलाइ भइरहेको लिम्बूले बताए । निर्माण व्यवसायी राजकुमार बुढाथोकीका अनुसार बाढी र पहिरोको जोखिमका कारण निर्माणाधीन यस सडकमा हाल निर्माणका कामहरू ठप्प भएका छन् । झन्डै १५० जना मजदुरहरू काम छोडेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बगुवादेखि टीकाभैरवसम्मका छपेली, टार्कुचे र विर्खेधाराजस्ता ठूला पहिरोहरूले सडकलाई अझै जोखिमपूर्ण बनाएका छन् । अहिलेको विपद्को समयमा कान्ति लोकपथलाई ‘सर्भिसेबल’ (चलायमान) बनाउनु नै मुख्य प्राथमिकता रहेको प्राविधिकहरूको भनाइ छ । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यस सडकमा चाप नघट्ने र त्यसपछि मात्र रोकिएका निर्माण कार्यहरू पुनः अगाडि बढाउन सकिने देखिन्छ ।
राहदानी विभागले २२ र २३ गते पनि सेवा दिने
काठमाडौं । राहदानी विभागले विदाको दिन पनि सेवा दिने भएको छ । विभागले भदौ २२ र २३ गते पनि नियमित रूपमा सेवा सञ्चालन गर्ने विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै आगामी २२ र २३ गते सेवाग्राहीलाई प्रदान गरिने सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन रहने बताएको छ । विभागले उक्त दिनहरूमा राहदानीसम्बन्धी सेवा लिन चाहने सेवाग्राहीलाई नियमित सेवा सञ्चालन रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरी सेवा लिन अनुरोध गरेको छ।
बालबालिकालाई राहत दिइरहेको फोटो सामाजिक सञ्जालमा नराख्नूः नेपाल प्रहरी
काठमाडौं । बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरणहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ । सञ्चारमाध्यममा बालबालिकाको तस्विर सार्वजनिक भइरहेको विषयमा नेपाल प्रहरीले आपत्ति जनाएको छ । प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकासम्बन्धी सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पर्न सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीले पीडित वा प्रभावित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार तथा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्न अनुरोध गरेको छ। आवश्यक अवस्थामा उनीहरूको पहिचान लुकाउनुपर्नेमा पनि जोड दिइएको छ। त्यस्तै, बालबालिकाको असहाय वा रोइरहेको अवस्था देखाएर सामग्री भाइरल गर्ने, सहानुभूति वा आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न प्रहरीले आग्रह गरेको छ। मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक–पटक अन्तर्वार्ता लिने, घटना सम्झन बाध्य पार्ने वा उनीहरूको पीडाको पुनः प्रदर्शन हुने किसिमका सामग्री तयार नगर्न पनि आग्रह गरिएको छ। नेपाल प्रहरीले बालबालिकाको पहिचान खुल्ने तस्बिर, भिडियो वा डिजिटल सामग्रीलाई अनुमति र संवेदनशीलताबिना पुनःप्रसारण, सम्पादन, मीम वा अन्य स्वरूपमा प्रयोग नगर्न आग्रह गरेको छ। विपद्का बेला फोटो वा भिडियो खिच्नुभन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणलाई प्राथमिकता दिनुपर्ने प्रहरीको भनाइ छ। सामाजिक सञ्जालमा प्राप्त सामग्रीको सत्यता र संवेदनशीलता नबुझी शेयर, रिपोस्ट वा फर्वार्ड नगर्न तथा बालबालिकाको हितविपरीत देखिने सामग्रीको थप प्रसार नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका महर्जनलाई माइल्ड हाइपोथर्मिया
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुईजनामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया देखिएको छ । अर्का उद्धार गरिएका व्यक्ति सञ्जय शाह भने जोखिममुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण सुरुङभित्र फसेका उनिहरुको १० दिनपछि उद्धार गरिएको हो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई हेलिकोप्टरमार्फत आर्मी अस्पताल छाउनीमा ल्याइएकोे हो । लामो समयसम्म चिसो पानी र वातावरणको सम्पर्कमा रहँदा शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । के हो हाइपोथर्मिया ? हाइपोथर्मिया एउटा जोखिमपूर्ण समस्या हो । हाइपोथर्मिया हुँदा शरीरको तापक्रम घट्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलव ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्यो भने हाइपोथर्मिया हुने सम्भावना हुन्छ । जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर यो समस्या देखा पर्छ । यो समस्याले गर्दा मुटुले काम गर्न छोड्छ र मानिसको मृत्यु पनि हुनसक्छ। हाइपोथर्मियाले जनावरको समेत मृत्यु हुने गर्छ । यसका लक्षण तापक्रम अनुसार फरक–फरक हुन सक्छन् । मन्द खालको हाइपोथर्मियामा जिउ काम्ने तथा दिमाग सुस्त भएर अलमल पर्ने हुन्छ । मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ ।