विकासन्युज

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री बालेनले भने- चाँडै सुरक्षित बसोबासको व्यवस्था गर्छौं

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि चाँडै नै सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावित बालबालिकालाई ‘हाम्रा प्यारा नानी–बाबुहरू’ भनेर सम्बोधन गर्दै उनले सरकार उनीहरूको सुरक्षित भविष्यका लागि निरन्तर खटिरहेको बताएका हुन् ।  प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बसिरहेका बालबालिकाको बसाइ सहज नरहेको स्वीकार गर्दै प्रधानमन्त्री शाहले उनीहरूलाई पुनः आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिने वाचा गरेका छन् ।  बालबालिकालाई भोलिका उज्याला झुल्काको संज्ञा दिँदै उनले विपत्तिको यस घडीमा सरकारको उद्धार र राहत प्रयासमा सबैको साथ मिल्ने विश्वास व्यक्त गरे ।  यस्तो छ प्रधानमन्त्री बालेनको स्टाटस्: हाम्रा प्यारा नानी-बाबुहरू, आज श्रीकृष्ण जन्माष्टमी। स-साना नानी-बाबुहरू राधा-कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानी-बाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्। तर, यसपालिको यो उत्सवमा रसुवा-भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी-बाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ। अचानक के-के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबु-नानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।  साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्ने-कुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला। प्यारा नानी-बाबुहरू, बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।  हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ- यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ। यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ। विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ। हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानी-बाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानी-बाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।  पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः १. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला। २. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा ग¥यौँ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?  ३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्। यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ। प्यारा नानी-बाबुहरू, केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमा-बाबु, दाजु-भाइ,  दिदी-बहिनीहरूको उद्धार भइसकेको छ।  यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।  यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।  विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ। श्रीकृष्णले पनि भन्नुभएको छ- संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं। आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ। धेरै माया...

लाङटाङ हाइड्रोको सुरुङमा दुई जनाको शव फेला

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा जारी खोज तथा उद्धारका क्रममा लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव फेला परेको छ । नेपाली सेना र गैरसैनिक टोलीको संयुक्त प्रयासमा टनेलभित्र प्रवेश गरी शव निकालिएको हो । सेनाका ७ र गैरसैनिक ६ वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रहरूबाट ५८ जनाको उद्धार गरिसकिएको छ । यस्तै, त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले जीवितै उद्धार गरी उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनी पठाएको छ । सोही स्थानबाट थप एक शव समेत बरामद भएको छ । अन्य आयोजनाहरूमा पनि उद्धार कार्यलाई उत्तिकै तीव्रता दिइएको छ । त्रिशूली-३बी आयोजनाको कार्यालय र निवास क्षेत्रमा १५ फिट गहिरो खाडल खनेर खोजी जारी राखिएको छ भने ३ए सँग सम्पर्क जोड्न ७०० मिटर बाटो खुलाइएको छ ।  चिलिमे हाइड्रोमा जेनेरेटर र मड पम्पको सहायताले लेदो फाल्दै टोली १०० मिटर भित्रसम्म पुगेको छ भने माथिल्लो त्रिशुली १ को हाकुस्थित टनेलमा र्‍याफ्ट, बोट र पम्पको प्रयोग गरी पानी फाल्ने र खोजी गर्ने काम भइरहेको छ । उद्धारका साथै यातायात र स्वास्थ्य सेवा सहज बनाउन विशेष टोली परिचालन गरिएको छ । देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज जडान गरी पुल निर्माण गर्न सेनाको इन्जिनियरिङ्ग टोली खटिएको छ ।  प्रभावित क्षेत्रका जङ्गल, डाँडा र बस्तीहरूमा सुरक्षा प्रत्याभूति दिलाउन डाक्टरसहितको टोलीले पैदल गस्ती गर्दै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म सेनाका ९ हजार ३ सय भन्दा बढी जनशक्ति उद्धार, शव व्यवस्थापन, सडक सफाइ र आपत्कालीन उपचारमा प्रत्यक्ष रूपमा खटिएका छन् । 

रसुवा बाढी अपडेटः मृतकको संख्या १,२९४ पुग्यो, ५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा त्यसबाट सिर्जित विपद्को पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ ।  २०८३ भदौ १९ गते साँझ ६ः३० बजेसम्मको अद्यावधिक विवरणअनुसार, बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १,२९४ पुगेको छ ।  प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ ।  अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन् ।  विपद्मा परेकाहरूको खोज र उद्धारका लागि सरकारले २१,४२१ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ९,२८७, नेपाल प्रहरीका ७,९३१ र सशस्त्र प्रहरी बलका ४,२०३ जना सहभागी छन् ।  हालसम्म कुल १३,०९५ जनाको जीवितै उद्धार गरिएको छ । शुक्रवार मात्रै त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ । प्राधिकरणको विवरणअनुसार अझै ५,०५३ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा रसुवाका २,१३० जना, नुवाकोटका २,३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन् ।  नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याएका छन् ।  बाढीबाट घाइते भएका ५,६६३ जनाको उपचार गरिएको छ । जसमध्ये ३,२६६ जनाको नेपाली सेना, २,०८३ जनाको सशस्त्र प्रहरी र ३१४ जनाको विभिन्न अस्पतालहरूमा उपचार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जनाले आश्रय लिइरहेका छन् ।  राहत सामग्री ढुवानीका लागि काठमाडौंबाट ७७ ट्रक र ३८ बोलेरो परिचालन गरिएको छ भने दुर्गम क्षेत्रमा ९ वटा हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ ।  सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ पटक हवाई उडानमार्फत राहत सामग्री पुर्‍याएको छ । सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । साथै, अति प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रारम्भिक विवरणअनुसार ७,५७० वटा निजी घरमा क्षति पुगेको छ । सरकारी संरचनातर्फ ४८ वटा भवन (३५ पूर्ण र १३ आंशिक क्षति), १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।  यातायात पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाढीबाट कुल ३२,९६३ जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘शिघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो ।  प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक प्रतिवेदन मात्र भएको र विस्तृत क्षति आकलन आउन बाँकी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।  बाढीका कारण सरकारी तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । प्रतिवेदनअनुसार ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको छ ।  त्यसैगरी, शिक्षा क्षेत्रतर्फ १८ वटा विद्यालयमा क्षति पुगेको छ, जसमा ११ वटा पूर्ण र ७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य क्षेत्रका ७ वटा संस्थाहरूमा क्षति पुगेको छ, जसमा ४ वटा पूर्ण र ३ वटा आंशिक छन् । भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यस्तै, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रवक्ता महतले जानकारी दिए ।  कृषि क्षेत्रमा १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा बाढीले क्षति पुर्‍याएको अनुमान गरिएको छ । यसबाट ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ । प्रभावित पाँचवटै जिल्लामा पशु तथा कुखुरा पालन व्यवसायमा समेत ठूलो असर परेको छ ।   ऊर्जा र वित्तीय क्षेत्रमा पनि बाढीको गम्भीर प्रभाव देखिएको छ । बाढीका कारण ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ । यसअन्तर्गत १३ वटा जलविद्युत आयोजना, एउटा सोलार प्लान्ट र दुईवटा प्रशारण लाइनमा क्षति पुगेको छ ।  यस्तै, प्रभावित क्षेत्रका १७ वटा बैंकका शाखाहरूमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बर्जर पेन्ट्स नेपालको ५० लाख सहयोग

काठमाडौं । विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्दै बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।  विपद्का कारण प्रभावित समुदायलाई आवश्यक राहत तथा पुनःस्थापनामा केही योगदान पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । २५ वर्षदेखि नेपाली बजारमा विश्वास र गुणस्तरको पर्यायका रूपमा स्थापित बर्जर पेन्ट्स नेपालले कठिन परिस्थितिबाट देशलाई छिट्टै उठाउन सबै पक्षको साझा प्रयास र सहयोग आवश्यक रहेको जनाएको छ । कम्पनीले समृद्ध नेपाल निर्माणको यात्रामा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्रिशूली-१ को सुरुङभित्र एक जनाको शव भेटियो

काठमाडौं । माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङमा एकजनाको शव भेटिएको छ । शुक्रबार माथिल्लो त्रिशूली-१ आयोजनामा एकजनाको शव भेटिएको नेपाली सेनाले जानकारी दिएको हो ।  सेनाका उच्च अधिकारीले सुरुमा उक्त क्षेत्रमा ३०० जना मानिस रहेको भनिए पनि अहिले १५१ जना मात्र सम्पर्कमा रहेका बताए । बाँकी मानिसहरू सुरक्षित स्थानमा भागेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।  यस्तै, टनेलको बीच भागमा अक्सिजनको आपूर्ति बन्द नभएकाले त्यहाँ थुनिएकाहरू जीवितै हुन सक्ने झिनो आशा अझै बाँकी रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिए ।  त्रिशूली ३-ए र लाङटाङ आयोजना त्रिशूली ३-ए मा ४२ जना मानिसहरू रहेको आशंका गरिए पनि हालसम्म दुईजना जीवित र एकजनाको शव गरी जम्मा तीनजना मात्र फेला परेका छन ।  त्यस्तै, लाङटाङमा सुरुङभित्र दुईजनाको मृत्यु भएको पुष्टि भइसकेको छ । लाङटाङको  पावर हाउस पुरिएकाले त्यसलाई उत्खनन गर्नुपर्ने अवस्था छ । वरिष्ठ उपाध्यक्ष लामाले हाल भारततर्फ करिब ६०० मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशतर्फको निर्यात पनि सुचारु रहेको जानकारी दिए ।  यद्यपि, यस वर्ष १२ देखि १६ सय मेगावाटसम्म विद्युत निर्यात गरेर करिब ५० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा आयोजनाहरूमा भएको क्षतिका कारण उक्त लक्ष्य पुरा नहुने देखिएको छ । आयोजनाहरूमा क्षति पुगे पनि र हिउँदमा केही थप विद्युत आयात गर्नुपर्ने स्थिति आए पनि तत्काल लोडसेडिङ भइहाल्ने र सर्वसाधारण डराउनुपर्ने अवस्था नरहेको लामाले स्पष्ट पारे ।

रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका मधेस प्रदेशका ३१ जना नागरिक परिवारको सम्पर्कमा आएका छन् ।  मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका उनीहरू सुरक्षित रहेको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर अझै १६७ जना सम्पर्कविहीन रहेका छन् ।  यसैबीच, बाढीमा फसेका सप्तरीका सञ्जयकुमार साहलाई त्रिशूली ए सुरुङबाट जीवितै उद्धार गरिएको छ ।  प्रहरीका अनुसार सम्पर्कमा आउनेहरूमा पर्साको वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् ।  यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएका छन् ।  सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सुरक्षित फेला परेका छन् ।महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई. विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टीका युवराज पाण्डे, औरहीका सचिनकुमार यादव, गौशालाका आदित्यनारायण यादव र बर्दिवासका विकास भारती सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यसैगरी, धनुषाको सबैलाका लक्ष्मण मेहता, हंसपुरका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार, जनकपुरधामका रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव पनि सम्पर्कमा आएका छन् ।  सिरहाको गोलबजारका टार्जन बलम्पाकी, लहानका उमेश यादव र कञ्चनरुपका अजय मरिक समेत परिवारको सम्पर्कमा आएको विवरण प्राप्त भएको छ । प्रवक्ता ढकालकाअनुसार हालसम्म सप्तरीका ४७, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन् ।  मधेस प्रदेशका विभिन्न जिल्लाबाट ठुलो संख्यामा नागरिकहरू हराइरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको अवस्था पत्ता लगाउन र विवरण संकलन गर्न विशेष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । –न्युज एजेन्सी नेपाल

इटालीमा मेलोनीको नयाँ कीर्तिमान, मोदीले दिए बधाई

काठमाडौं । जर्जिया मेलोनी दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बनेकी छन् । यो उपलब्धिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेलोनीलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मेलोनीलाई बधाई दिँदै उनको उपलब्धिले इटालीका जनताले उनको नेतृत्वप्रति गरेको विश्वास र भरोसा प्रतिबिम्बित गर्ने बताएका छन् । मोदीले लेखेका छन्, ‘मेरी मित्र तथा प्रधानमन्त्री जर्जिया मेलोनीलाई दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बन्नुभएकोमा बधाई ।’ उनले भारत र इटालीबीचको विशेष रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन मेलोनीको मित्रता र सहकार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । ‘दुवै देशका जनताको अझ राम्रो र समृद्ध भविष्यका लागि आगामी दिनमा पनि उहाँसँग मिलेर काम गर्न म उत्सुक छु,’ मोदीले भनेका छन् । साथै उनले मेलोनीको आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । यसअघि मेलोनीले पनि सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो नेतृत्वमा रहेको सरकार इटाली गणतन्त्रको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकार बनेको बताएकी थिइन् । उनले यस उपलब्धिलाई आफूले गहिरो कृतज्ञता र जिम्मेवारीको भावनाका साथ स्वीकार गरेको बताएकी छन् । मेलोनीका अनुसार स्थिरता देखावटी रूपमा प्रस्तुत गरिने कुनै रेकर्ड नभई देशलाई योजना बनाउन, निर्णय लिन, प्रतिबद्धता पूरा गर्न र सम्मान हासिल गर्न सक्षम बनाउने अवस्था हो । उनले लेखेकी छन्, ‘स्थिरता कुनै प्रदर्शन गर्नुपर्ने रेकर्ड होइन, बरु देशलाई योजना बनाउन, निर्णय लिन, वाचा पूरा गर्न र सम्मान पाउन सक्षम बनाउने अवस्था हो ।’