काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टारमा गएको ठूलो पहिरोका कारण चौलानी (चमेलिया) नदी आंशिक रूपमा थुनिएको छ । शुक्रबार दिउँसो खसेको पहिरोले नदीको बहाव रोक्दा अचानक बाढी आउन सक्ने उच्च जोखिम सिर्जना भएको छ ।
पहिरो खसेलगत्तै नदीको केही भाग थुनिपनि हाल पानी बग्न सुरु गरिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन् ।
घटनास्थलमा अझै पनि पहिरो खसिरहेकाले नदी पूर्ण रूपमा थुनिने खतरा कायमै रहेको प्रशासनले जनाएको छ ।
सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गरी नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।
प्रशासनले नदी वा खोला किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक पालना गर्न अनुरोध गरेको छ ।
साथै, कुनै पनि आपत्कालीन अवस्था उत्पन्न भएमा तत्काल उद्धार तथा राहतका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरी बलसँग समन्वय गर्न अपिल गरिएको छ ।
‘पहिरो गएको स्थानबाट करिब सय मिटरको दुरीमा रहेका १२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तत्काललाई जोखिम छैन् । सतर्क रहनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।
पहिरो गएको स्थानमा जिल्ला प्रशासन कार्यालयबाट टाढा रहेकाले थप अवस्था बुझ्न प्रहरी पठाइएको उनको भनाइ छ ।
स्थानीय जनप्रतिनिधिले दिएको सूचना अनुसार थप पहिरो नथपिए त्यस्तो ठूलो जोखिम नरहेको प्रमुख पौडेलले जानकारी दिए ।
