जेनजी आन्दोलनमा क्षतिग्रस्त युलेन्सको आम्दानी १३.३३ प्रतिशत घट्यो, कमायो ६७.६० करोड
काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसनले गत आर्थिक वर्ष २०८२/८३ मा ६७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३३ प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा युलेन्सले ७८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका कारण आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । मासिक शिक्षण शुल्क तथा अन्य सहायक शुल्कबाट प्राप्त रकम घट्नुका साथै यातायात सेवाबाट हुने आम्दानीमा आएको कमीका कारण पनि आम्दानी घटेको हो । विद्यार्थीलाई प्रदान गरिएको छात्रवृत्ति तथा शुल्क छुटले पनि संस्थाको आम्दानीमा दबाब परेको जनाएको छ । युलेन्सले आर्थिक वर्ष २०८०/८१ मा ७६ करोड ५० लाख रुपैयाँ, आव २०७९/८० मा ७५ करोड ४० लाख रुपैयाँ र आव २०७८/७९ मा ६३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । युलेन्स एजुकेशन फाउण्डेसन नेपालमा विश्वस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । २०६२ पुसमा स्थापना भएको फाउण्डेसनले शिक्षालाई गैरनाफामूलक क्षेत्रमा विकास गर्दै उच्चस्तरको सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । फाउण्डेसनले युलेन्स स्कुल सञ्चालन गर्दै आएको छ । युलेन्सले बालकक्षादेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । विद्यालयको कक्षा ११ र १२ को कार्यक्रम नेपाल सरकारअन्तर्गतको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त छ भने अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रम स्विट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय स्नातक संस्थासँग आबद्ध छ । करिब दुई दशकदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको युलेन्सको सञ्चालक समितिमा ६ सदस्य छन् । समितिको अध्यक्षमा बेलायतको नर्विचस्थित इस्ट एङ्ग्लिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय बाल कल्याण विषयमा स्नातकोत्तर गरेका सोमप्रसाद पनेरु छन् । पनेरुले नेपालका केन्द्रीय बाल कल्याण बोर्डको सञ्चालक सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । सञ्चालक समितिमा लगानी तथा पूर्वाधार वित्त विज्ञ मनीष थापा, संस्थासँग लामो समयदेखि आबद्ध संस्थापक सञ्चालक सदस्य सजनी अमात्य, अर्थशास्त्री तथा विकास विशेषज्ञ अनिता महत, शैक्षिक तथा संरक्षण क्षेत्रका विज्ञ डा. हेमसागर बराल र नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक प्रद्युम्नकुमार खनाल रहेका छन् । गत आर्थिक वर्षमा युलेन्सको सञ्चालन नाफा तथा ब्याज, कर, ह्रासकट्टीअघिको नाफा अनुपात २१.५० प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३४.५० प्रतिशत थियो । आम्दानी घट्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा पनि शिक्षक तथा सहयोगी कर्मचारीको संख्या यथावत् राखिएकाले खर्च बढ्दा नाफा अनुपातमा दबाब परेको कम्पनीले जनाएको छ । करपछिको नाफा अनुपातसमेत १६.५५ प्रतिशतबाट घटेर २.८२ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, कुल नगद सञ्चिति आम्दानी अघिल्लो वर्षको १९ करोड ५० लाख रुपैयाँबाट घटेर ५ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा आएको कमीका साथै अशान्तिपछि सम्पत्ति पुनःस्थापनाका लागि गरिएको एकपटकको मर्मत तथा सम्भार खर्चले पनि संस्थाको नाफामा दबाब सिर्जना गरेको जनाएको छ । तर, विद्यार्थी भर्नाको सन्तोषजनक अवस्था, समयअनुसार शिक्षण शुल्कमा हुने परिमार्जन तथा सञ्चालन अवस्था सामान्य बन्दै गएकाले आगामी वर्ष आम्दानीमा सुधार हुने अपेक्षा कम्पनीको छ । कम्पनीका अनुसार नेपालमा गुणस्तरीय शैक्षिक सेवाको माग निरन्तर बढ्दैछ । आम्दानी तथा रोजगारी सिर्जनाका दृष्टिले शिक्षा क्षेत्र नेपालका प्रमुख क्षेत्रमध्ये एकका रूपमा विकसित हुँदै गएको छ । बढ्दो आम्दानी, शिक्षाप्रतिको जनचेतनामा वृद्धि, जीवनशैलीमा आएको सुधार तथा शैक्षिक सेवामा सहज पहुँचले आगामी दिनमा शिक्षा क्षेत्रको विस्तारमा थप योगदान पु¥याउने कम्पनीको अपेक्षा छ । यद्यपि, शिक्षा क्षेत्र अत्यधिक प्रतिस्पर्धात्मक रहेकाले विद्यार्थी आकर्षित गर्न शैक्षिक संस्थाबीच उच्च प्रतिस्पर्धा रहेको छ । शिक्षाको गुणस्तर, शिक्षकको योग्यता तथा अनुभव, प्रदान गरिने सेवाको दायरा र आधुनिक शिक्षण पद्धति विद्यार्थी आकर्षित गर्ने महत्वपूर्ण आधार बन्ने जनाएको छ । पछिल्ला वर्षमा निजी शैक्षिक संस्थाको संख्या बढ्दै गएपछि दक्ष तथा अनुभवी शिक्षक र अन्य शैक्षिक जनशक्तिलाई संस्थामा टिकाइराख्नु पनि क्षेत्रका लागि चुनौती बनेको कम्पनीले जनाएको छ । कक्षा १२ सम्मको माध्यमिक शिक्षामा प्रतिस्पर्धा अत्यधिक रहे पनि अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रममा तुलनात्मक रूपमा कम प्रतिस्पर्धा रहेको युलेन्स एजुकेशन फाउण्डेशनले जनाएको छ । नेपालमा हाल यस्ता कार्यक्रम सञ्चालन गर्ने संस्थाको संख्या सीमित रहेकाले प्रतिस्पर्धा कम देखिएको हो । यद्यपि, अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रमले विदेशी शैक्षिक संस्था तथा विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने समकक्षी कार्यक्रमबाट प्रतिस्पर्धा व्यहोर्नुपरेको छ । विशेषगरी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने उच्च तहको सामान्य शैक्षिक प्रमाणपत्र कार्यक्रमलगायत वैकल्पिक शैक्षिक कार्यक्रम यसका प्रतिस्पर्धीका रूपमा रहेका छन् । कम्पनीका अनुसार युलेन्स शैक्षिक संस्थासँग सम्बन्धित नियामकीय जोखिमबाट समेत प्रभावित हुन सक्ने देखिएको छ । युलेन्सअन्तर्गत सञ्चालनमा रहेको विद्यालय सरकारका विभिन्न निकाय तथा संस्थाबाट नियमन हुने भएकाले शिक्षा क्षेत्रमा हुने नीतिगत तथा कानुनी परिवर्तनले संस्थाको सञ्चालन र आम्दानीमा प्रभाव पार्न सक्ने जनाएको छ । प्रतिकूल निगरानीबाट हटाइयो युलेन्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६५ करोड रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये ५१ करोड रुपैयाँ दीर्घकालीन र १३ करोड ९४ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका कारण उत्पन्न अनिश्चितता कम हुँदै गएपछि युलेन्सको बैंकिङ सुविधासम्बन्धी ऋण मूल्याङ्कनलाई नकारात्मक प्रभावसहितको प्रतिकूल निगरानीबाट हटाएको केयरएज रेटिङ्ग्स नेपालले जनाएको छ । आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलको मुख्य परिसरसमेत प्रभावित भएको थियो । विद्यालयका भवन, सवारीसाधन तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेपछि कम्पनीले उल्लेख्य आर्थिक नोक्सानी बेहोर्नुका साथै केही समय सञ्चालनमा अवरोध व्यहोरेको थियो । तर, फाउण्डेसनले छिटो पुनरुत्थान गर्न सक्ने क्षमता देखाउँदै शैक्षिक गतिविधि शीघ्र सञ्चालनमा ल्याएको हो । अशान्तिपछि विद्यालयले तत्काल विद्युतीय माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याएको थियो । त्यसपछि अस्थायी रूपमा भाडामा लिइएका स्थानबाट शैक्षिक गतिविधि सञ्चालन गरिएको थियो । क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनःस्थापना र बीमा दाबीमार्फत नोक्सानीको केही हिस्सा प्राप्त गर्न सफल भएको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गर्यो आजको विदेशी मुद्रा विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरलगायत प्रमुख विदेशी मुद्राको नयाँ विनिमयदर लागू भएको छ । आज एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, एक युरोको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा छ । क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
पृथ्वी राजमार्ग आज १२ घण्टा पूर्ण रूपमा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित परेवाभिर सडकखण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि उक्त खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो । क्षतिग्रस्त सडकको मर्मत गर्न जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार मर्मत अवधिभर एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सडक बन्द हुने भएकाले यात्रु तथा सवारीचालकलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमा माग्दै उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ ।
१० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो असोज १२ गते साधारण सभा
काठमाडौं । सानिमा बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १२ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले हुने १ अर्ब ५५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको गत आर्थिक वर्ष २०८२÷८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरिनेछ। बैंकका अनुसार बहालवाला लेखापरीक्षक एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य छन् । सञ्चालक समितिको प्रस्तावअनुसार असार मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) समानुपातिक रूपमा वितरण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ । सभाले सर्वसाधारण समूह (समूह ‘ख’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय बैंकले गरेको छ । त्यसैले असोज १ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती हुने
काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज (भदौ २० गते) शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सामाखुसी फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । रत्नपार्क वितरण केन्द्रले सामाखुसी फिडरअन्तर्गत प्रिभेन्टिभ मेन्टेनेन्स कार्य गर्न विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ । उक्त अवधिमा लैनचौर डीडीसी हुँदै सोह्रखुट्टे ओरालो, ठमेल, गोल्कुपाखा, सामाखुसी, रेडन पुल, कपुरधारा, दक्षिणकाली मन्दिर, रानीबारी, बागमती ड्राइभिङ, सामाखुसी सरकारी ब्यारेक तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । प्राधिकरणले कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार चाँडै सुचारु गरिने जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउन अपिल गरेको छ । राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँगको समन्वयमा बाढीपछि सिर्जित विपद्बाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्याउन शुक्रबार अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद सुरु हुनुअघिका लागि तय गरिएको नौमहिने योजनालाई उक्त सहयोगले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालस्थित राष्ट्रसङ्घको कार्यालयले जनाएको छ । उच्च हिमाली भेगका बस्तीमा हिउँद सुरु हुनुअघि हुन सक्ने कष्ट तथा सरुवा रोगको जोखिम न्यूनीकरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँग समन्वयमा रहेर काम गरिरहेका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका थुप्रै बस्ती प्रभावित तथा विस्थापित भएका छन् । भौतिक पूर्वाधारमा भएको व्यापक क्षतिका कारण यातायातका मार्ग अवरुद्ध भएका छन् । विद्युत् प्रणालीमा असर परेको छ भने खानेपानी तथा सरसफाइका संरचना बगेका छन् । यसले विकट भेगका बासिन्दालाई आधारभूत आवश्यकताबाट समेत वञ्चित बनाएको छ । राष्ट्रसङ्घका अनुसार जोखिममा रहेका समुदायको सुरक्षा गर्न संयुक्त योजनामार्फत विभिन्न क्षेत्रका अत्यावश्यक मानवीय आवश्यकता सम्बोधन गरिनेछ । स्थानीय बजार सञ्चालनमा रहेका क्षेत्रमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद सहायता उपलब्ध गराइनेछ । हिउँद लाग्नुअघि विस्थापित परिवारलाई जाडोबाट जोगाउन अस्थायी आवास सामग्री वितरण गरिनेछ भने विद्युत् नपुगेका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराएर बत्ती तथा आधारभूत ऊर्जाको व्यवस्था गरिनेछ । योजनाअन्तर्गत क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धीकरण प्रणालीको जडान तथा सरसफाइ सामग्री वितरण गरिनेछ । यसबाट पानीजन्य रोगको फैलावट रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, घुम्ती स्वास्थ्य शिविरमार्फत तत्काल उपचार तथा पोषण सहयोग उपलब्ध गराइनेछ। परिवारबाट छुट्टिएका बालबालिकाको पुनर्मिलनका लागि संरक्षण समूह परिचालन गरिनेछ । यसका साथै आकस्मिक खाद्य सहायता वितरण तथा बाँचेका पशुधनको व्यवस्थापनमार्फत ग्रामीण जीविकोपार्जन जोगाउने काम गरिने राष्ट्रसङ्घले जनाएको छ ।
बाढीपीडितको सम्झनामा ग्वाङ्झाउमा 'फिने' को श्रद्धाञ्जली तथा दीप प्रज्वलन
काठमाडौं । भोटेकोशी नदीमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै तथा शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गर्न चीनको ग्वाङ्झाउमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । चीनको ग्वाङ्झाउस्थित जुजियाङ नयाँ सहरको लिटल पापा रेस्टुरेन्टमा नेपाली युवाहरूको संस्थाको आयोजनामा चीनमा रहेका नेपाली समुदाय, सामाजिक संघ-संस्था नेपाली युवाहरुको संस्था अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) चाइनाले श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत भरत खनाल रहेका थिए । कार्यक्रममा नेपाली महावाणिज्य दूतावास ग्वाङ्झाउका पदाधिकारी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष मुकुन्द ढकाल, नेपाली युवाहरूको संस्थाका अध्यक्ष दिल बहादुर कठायत, महासचिव दुर्गाप्रसाद अम्गाईलगायत नेपाली समुदायका अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली युवाहरूको संस्थाका महासचिव दुर्गा प्रसाद अम्गाईले गरेका थिए । उनले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरे । कार्यक्रमको सुरुवातमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा आयोजक संस्थाका प्रतिनिधिहरूले दीप प्रज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा बोल्दै महावाणिज्यदूत भरत खनाल तथा अन्य वक्ताहरूले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । उनीहरूले विपत्तिको समयमा नेपाली समुदायबीच आपसी एकता, सहयोग र मानवीय भावना अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । नेपाली युवाहरूको संस्थाका अध्यक्ष दिल बहादुर कठायतले दुःखको समयमा नेपाली समुदाय एकजुट भएर पीडित परिवारको साथमा उभिनुपर्ने बताए । उनले सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय सहयोगको महत्वमाथि प्रकाश पारे । त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष मुकुन्द ढकालले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । उनले विपत्तिका समयमा समुदायबीच सहकार्य र सहयोगको भावना अझ बलियो बनाउनुपर्ने बताए । कार्यक्रम सञ्चालन गर्दै महासचिव दुर्गा प्रसाद अम्गाईले दुःखको समयमा एकआपसमा साथ दिनुपर्ने भावनालाई जोड दिँदै भने, ’आजको यो दीप प्रज्वलन केवल श्रद्धाञ्जलीको कार्यक्रम मात्र होइन, यो दुःखमा रहेका परिवारहरूप्रति हाम्रो साथ, सहानुभूति, एकता र मानवताको प्रतीक हो । ’ कार्यक्रममा सहभागी सबैले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र साहस प्राप्त होस् भनी प्रार्थना गरेका थिए । कार्यक्रम आयोजक नेपाली युवाहरूको संस्था रहेको थियो । संस्थाका अध्यक्ष दिल बहादुर कठायत र महासचिव दुर्गा प्रसाद अम्गाईको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कोरला नाका हुँदै नेपाल भित्रिँदै लिपमोटर बी १०, डेलिभरी छिट्टै हुने
काठमाडौं । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी १०को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको छ । सामान्यतया चीनबाट रसुवागढी नाका हुँदै गाडीहरू आयात गरिने भए तापनि, हालै रसुवा क्षेत्रमा आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएको छ । सम्भावित ढिलाइलाई रोक्दै ग्राहकहरूलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन सांग्रिला मोटर्सले लिपमोटर बी १० गाडीहरू मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन सुरु गरेको छ । यससँगै ग्राहकहरूलाई गाडी डेलिभरी गर्ने कार्य छिट्टै सुरु हुनेछ । नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा लिपमोटर द्यज्ञण् ले पाएको उत्साहजनक प्रतिक्रिया तथा अत्यधिक बुकिङलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो । ग्राहकहरूको यही उच्च मागलाई छिटोभन्दा छिटो पूरा गर्न सांग्रिला मोटर्सले कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपासको प्रक्रियालाई तीव्र बनाएको छ, जसले गर्दा देशभरका खरिदकर्ताहरूले सहज र द्रुत रूपमा गाडी प्राप्त गर्न सक्नेछन् । बजेट भाषणपछि लिपमोटर बी १० को मूल्य घटेसँगै यो ईभी पारखीहरूमाझ थप लोकप्रिय बनेको छ । ५४.९९ लाख रुपैयाँ मूल्य तोकिएको बी १० मा १६० किलोवाटको शक्तिशाली रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवर्स क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा ६०० किलोमिटर सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्दछ । आरामदायी र व्यावहारिक प्रयोगका लागि निर्मित यस गाडीमा १८० मिमीको ग्राउण्ड क्लियरेन्स रहेको छ । साथै, १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६०-डिग्री क्यामेरा, हिटर र भेन्टिलेसन सुविधासहितको प्रिमियम लेदरेट सिट, र यस सेगमेन्टमै सनसेडसहितको सबैभन्दा ठूलो प्यानोरामिक सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् ।