विकासन्युज

एनआईसी एशिया बैंकको थप ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले थप ४ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार एकैदिन झापा स्थित गौरीगञ्ज शाखा, झापा स्थित सुरुङ्गा शाखा र बर्दिया स्थित भुरीगाँउ शाखाको र सोमबार(आज) दाङ्गको सिसहनिया शाखाको उद्घाटन गरेको हो । उक्त सिसहनिया शाखाको उद्घाटन राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले संयुक्त रुपमा गरेका छन् । हाल बैंकले २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै अाएकाे छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।

ज्योति विकास बैंकको नयाँ शाखा मोरङ्गको खोर्सानेमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट १७ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १५ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

सेयर बजारमा आगामी बर्षः नयाँ स्टक एक्सचेञ्जदेखि एनआरएनको लगानीसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षको धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आफ्नो इतिहासमा पहिलो पटक सार्वजनिक गरेको धितोपत्र तथा बस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमले पुनः नयाँ स्टक एक्सचेञ्ज कम्पनी स्थापना गर्ने, एनआरएनलाई सेयर बजारमा प्रवेश गराउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका कार्यक्रम अघि सारेको छ । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले एफपीओ र प्रिमिय मूल्यमा आईपीको मूल्य निर्धारणका लागि बुक बिल्डिङ प्रक्रिया आगामी आर्थिक बर्षदेखि आरम्भ गर्ने बताए । त्यस बाहेक स्थानीय तहसम्म पुँजी बजारको विस्तार, एक नेपाली एक डिम्याट खाता अभियान सञ्चालन गर्ने लगायतका कार्यक्रम नीतिमा समेटिएका छन् । स्थानीय तहहरुलाई बण्ड तथा ऋण पत्र जारी गर्ने व्यवस्था मिलाउने, अनलाईन ट्रेडिङ तत्काल कार्यान्वयन, बाँकी ६ वटा प्रदेशमा बोर्डको क्षेत्रिय कार्यालय स्थापना, राजधानीमा पाक्षिक रुपमा सेयर तालिम लगायतका काम आगामी बर्षमा अघि बढाउने बोर्डका अध्यक्ष कार्कीले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अध्यक्ष कार्कीले केहि समयभित्र कमोडिटी एक्सचेञ्ज कम्पनीहरुलाई लाइसेन्स दिने प्रक्रिया टुंगीने जानकारी पनि दिए ।

सिद्धार्थ बैंकले एकैदिन खोल्यो थप ६ वटा नयाँ शाखा, हेराैँ कहाँ कहाँ ?

काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन थप ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार(आज) मात्रै कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा गरी ६ वटा शाखा सञ्चालनमा ल्याएको हो । बैंकले बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गरेको हो । यी शाखाहरु मार्फत सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यसका साथसाथै यी शाखाहरुको सञ्चालनसँगै स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । यी ६ वटा शाखासहित बैंकले ११८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

मजदुरको तलब १३४५० रुपैंयाँः बैंकबाट भुक्तानी, मन्त्रालयमा विवरण बुझाउनुपर्ने

काठमाडौं । उद्योग बाणिज्य महासंघ भित्र व्यापक असन्तुष्टिका बिच साउन १ गतेदेखि मजदुरहरुको न्युनतम पारिश्रमिक १३४५० रुपैंयाँ बनाउने सहमति पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको उपस्थितीमा उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्श र ट्रेड युनियनका प्रतिनिधीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा काँग्रेस निकट ट्रेड युनियन काँग्रेसका प्रतिनिधीले भने हस्ताक्षर गर्न अस्विकार गरेका छन् । हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै श्रम मन्त्री गोकर्ण बिष्टले औपचारिक क्षेत्रका मजदुरहरुको तलब भुक्तानी बैंक खाताबाट गरेर त्यसको विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिए । अनौपचारिक क्षेत्रका दैनिक ज्यालादारी मजदुरहरुको प्रति घण्टा ज्याला ७० रुपैयाँ तोकिएको छ ।

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हिमालयन बैंकले लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ । सो सम्बन्धि सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।

सनराइज बैंकको शाखा अब गुल्मीको धुर्कोटमा, शाखा संख्या ९० पुग्यो

काठमाडौं । सनराइज बैंक लिमिटेडले गुल्मी जिल्लाको धुर्कोटमा नयाँ शाखा विस्तार गरेको छ । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ । हाल बैंकले ९० वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १०० वटा एटीएम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

नेप्सेको सीईओमा रमेश अर्याल नियुक्त, अध्यक्ष न्यौपाने समक्ष शपथ ग्रहण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)काे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश अर्याल नियुक्त भएका छन् । सरकारले अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी दिएकाे हाे । नवनियुक्त सीईओ अर्यालले आज(सोमबार) आफ्नो पद बहाली गरेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ गराएका थिए। शपथ ग्रहणपछि प्रमुख अर्यालले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य एवं धितोपत्र दलाललगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध मुलुकको आवश्यकताअनुसार पूँजी बजारको विकास, लगानीकर्ताको, स्टक एक्सचेञ्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेप्सेका सीईओ चन्द्रसिंह साउद निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्त गरिएका कारण सरकारको निर्णयपछि हटेका हुन् । यही असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सीईओ साउदको नियुक्ति समेत खारेज गरिदिएको हो ।