तीन दिन लगातार वर्षा हुने
काठमाडौं । आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ । असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, असार २७ र २८ गते पनि मुलुकभर मौसम बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । मनसुनी वर्षा अझै मुलुकभर प्रभावकारी हुन नसकेको र यस वर्षाले तत्काल ठूला नदीमा बाढीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट हुँदै
काठमाडौं । नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट हुने भएको छ । इन्फरमेशन सेक्युरीटी रेस्पोन्स टिम(एनपीसर्ट)ले साउन ११ गते देखि १२ गतेसम्म नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट गर्न लागेको हो । समिटमा भारत, चीन, अमेरिका र अष्ट्रेलियाका साइबर सेक्युरीटी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । संसारभर द्रुतगतिमा विस्तार भैरहेको डिजिटलाईजेशन र त्यसले ल्याएको साइबर सेक्युरीटीको चुनौतीबारे समिटमा विस्तृत अन्तरक्रिया हुनेछ । इन्फरमेशन सेक्युरीटीमा आउने चुनौतीको सामना गर्ने उपाय खोज्न समिटिले महत्वपुर्ण भूमिका निर्वाह गर्ने एनपीसर्टका अध्यक्ष चिरञ्जीवी नेपालले बताए । समिटमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नाष्ट), नेपाल बैंकर संघ, कम्प्युटर एसोसियसन अफ नेपाल, इन्टरनेट सोसाईटी नेपाल च्याप्टर लगायतको सहभागीता रहनेछ । नेपाल हुने साइबर आक्रमणको जोखिमलाई घटाउने समिटिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
इलेप खोलाको विद्युत् खरिद गर्ने सम्झौता, वार्षिक १४ करोड ४८ लाख युनिट उत्पादन हुने
काठमाडौं । उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाम (१६ मंसिर-१५ जेठसम्म) र वर्षायाम (१६ जेठ-१५ मंसिरसम्म)मा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ । आयोजनाले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउने छ । आयोजनाबाट वार्षिक रुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ । एक वर्षभित्रमा वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उनले आयोजनाको निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । सम्झौता अनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति सन् २०२४ डिसेम्बर तोकेको छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ रहेको छ । हाल आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाको भनाइ छ । उत्पादित विद्युत् ३२ किलोमिटर लामो प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हव सवस्टेसनमा जोडिने कम्पनीले जनाएको छ । रासस
जनता बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले लाइफ इन्स्युरेन्ससँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच उपचार सेवामा छुट दिन सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिलको दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिन्डिकेट फर्काउन मन्त्री रघुविरकाे अन्तिम प्रयास, व्यवसायीको खाता खोल्न राष्ट्र बैंकलाई पत्र
काठमाडौं । भौतिक यातायात तथा पुर्वाधार मन्त्री रघुविर महासेठ यातायात क्षेत्रको सिन्डिकेट फर्काउन अन्तिम प्रयासमा जुटेका छन् । सिन्डिकेटधारी २४५ वटा व्यवसायीको बैंक खाता खुलाउन महासेठले अन्तिम तयारी गरेका हुन् । व्यवसायीहरुको बैंक खाता खुलाउन अर्थमन्त्रालयले पत्रचार गरेको बैंकका प्रवक्ता गोविन्द नागेलाले बताए । ‘अहिलेसम्म ३ व्यवसायीको खाता खुल्ला गरिदिन पत्राचार आएको छ, हामीले कुनै कारण माग्ने होइन सरकारको आदेश पालना गर्ने हो नागेलाले विकासन्युजसँग भने ।’ खाता खुला गर्न यातायात र गृह मन्त्रालयको सामूहिक पहलमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्र काटेको हो । एक कानून अधिकृतका अनुसार सरकारले व्यवसायीको खाता खुल्ला गर्ने आधार व्यवसायीहरु पूर्ण रुपले कानूनी आधारमा चलेको हुनुपर्ने बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने- ‘बैंकमा रहको सबै रकम नियम संगत हुनुपर्छ, यदि गैर कानूनी रकम भएमा सो रकम व्यवसायीलाई फिर्ता दिन मिल्दैन ।’ सिन्डिकेटको अन्त्य गर्न कडा कदम चालेका विभागका पूर्व महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानेर मन्त्री महासेठले विभागमा प्रेम सिंहलाई जिम्मेवारी दिएका छन् । विभागले निर्माण गरेको निर्देशिका तथा कार्यविधिलाई लागू नगरी मन्त्रालयले ६ सदस्यीय कार्यदलको निर्माण गरेको छ । केशवकुमार शर्माको नेतृत्वमा रहेको कार्यदलले हालसम्म ६ वटा बैठक सम्पन्न गरेको छ । ६ वटा बैठकबाट अहिलेसम्म कुनैपनि कुरा निश्कर्षमा पुर्याउन नसकिएको संयोजक शर्माले बताए । उनले भने-‘कार्यदल प्रमुखले केहि बोल्नै चाहेनन् भनेर लेख्दिनुस्, हामीले ६ वटा बैठक सम्पन्न गरेका छौं, कुनै कुरा निचोडमा पुगेको छैन, त्यसमाथी मलाई मिडियासँग कुरा गर्नु मन पर्दैन ।’ यस्तो छ कार्यदलले ३० दिनभित्र गर्ने कामहरुः कार्यदलले ३० दिनमा काम सक्नेगरी ९ बुँदे कार्ययोजना बनाएको छ । त्यसको ८ नम्बर बुँदामा यातायात व्यवसायीलाई कम्पनीमा जादाँ दिनुपर्ने सेवा सुविधाको सम्बन्ध र बुँदा ९ मा कार्यदलले चाहेको कुनै विषयमा निर्णय लिन सक्नेछ भनी उल्लेख गरिएको छ । विभागले जारी गरेको निर्देशिका अनुसार यातायात व्यवसायीहरु कम्पनीको रुपमा दर्ता भई रुट परमिट लिनु पर्नेछ । तर व्यवसायीको नविकरण मिति सकिन केहि मात्र बाँकी रहँदा कुनै पनि व्यवसायी कम्पनीमा दर्ता नभएको विभागका निर्देशक तुलसी अर्यालले बताए । ‘सबै व्यवसायीलाई कम्पनीको रुपमा दर्ता गरि प्रतिस्पर्धाको आधारमा रुट वितरण गर्ने हाम्रो तयारी हो, यसको लागि रुट अध्ययन भैरहेको अर्यालले भने अब मन्त्रालयमा गठन गरिएको कार्यदलको प्रतिवेदन आधारमा मात्र अघि बढ्नु पर्नेछ ।’ बैशाख २१ गते यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि गृहमन्त्री राम बहादुर थापा, तत्कालिन यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई र यातायात मन्त्री रघुविर महासेठको संयुक्त बैठकले व्यवसायीहरुको बैंक खाता बन्द गर्ने निर्णय गरेको थियो । यातायात अधिकार कर्मीहरुले यातायात व्यवसायीको समिति पुन नविकरण गरेर सिन्डिकेट फर्काउन यातायात मन्त्रालय लागि परेको बताएका छन् । यो पनि हेर्नुहोस् सिन्डिकेटधारीको साढे २ अर्बमा मन्त्री रघुवीर महासेठको नजर, रोक्का बैंक खाता खोल्ने तयारी
एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा सम्झना शर्मा
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा सम्झना शर्मा नियुक्त भएकी छिन् । नवनियुक्त शर्माले गत असार १९ गते नै सपथ ग्रहण गरी उक्त पदको कार्यभार सम्हालि सकेकी छिन् । सञ्चालक शर्माले कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकमा उक्त पदको सपथ ग्रहण गरेकी हुन् । त्यस्तै, गत जेठ ८ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गरेको थियो ।
न्यूनतम पारिश्रमिक निर्धारणमा व्यवसायीले बाजी मारे, सरकारी हस्तक्षेप टर्यो, श्रमिक पनि खुशी
काठमाडौं । श्रमिकको न्यूनतम तलव १३४५० रुपैयाँ निर्धारण कसरी भयो ? रोजगार परिषद्का सभापति तथा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्–‘यसमा धेरै मिहेनत गर्नुपर्यो । कतिपय व्यवसायी साथीहरुबाट न्यूनतम पारिश्रमिक बढी भयो भन्ने गुनासो पनि आएको छ । यसको पृष्ठभूमि धेरै पेचिलो थियो ।’ ढकालका अनुसार ट्रेड यूनियनको तर्फबाट २० हजार माग भएको थियो । रोजगारदाताको तर्फबाट १२ हजार ५०० भन्दा बढी जान सकिदैन भन्ने थियो । सरकारले मध्यमार्गी बाटो समायो र न्यूनतम पारिश्रमिक १६ हजार रुपैयाँ बनाउने प्रस्ताव ल्यायो । ‘हामी १२ हजार ५०० भन्दा माथि जाने सकिदैन भन्नेमा अडिक रह्यौं । ट्रेड यूनियनहरु १६ हजार ५०० को अडान लिए । अन्तिममा सरकारले १६ हजार तोक्ने तयारी गर्यो’ ढकालले भने–‘रोजगारदातालाई आप्ठ्यारो पर्ने अवस्था आयो । श्रमिक र रोजगारदाताबीच फेरि सम्बन्ध विग्रने हो कि, व्यवसायिक बातावरण बिग्रने हो कि भन्ने चिन्ता सबैमा देखियो ।’ त्यसपछि उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका राजेशकाजी श्रेष्ठ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष सिर्जना राणा, साना तथा घरेलु उद्योग संघको तर्फबाट मोहन कटुवालको नेतृत्वमा दिनभर व्यवसायीहरुबीच ग्रुप छलफल भए । ‘वृहत छलफल र समझदारी पछि हामी एउटा सहमतिमा पुगेको हौ’ ढकालले भने–‘यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’ कस्तो असर पर्ला ? तलब वृद्धि सकारात्मक भए पनि यसले स्वदेशी उद्योगीहरुको प्रतिष्पर्धी क्षमतामा भने ह्रास आउन सक्ने महासंघ निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘तलब वृद्धिलाई उत्पादकत्वसँग जोड्नु पर्छ तर हामीले त्यसो गर्न सकिरहेका छैनौं, मजदुरहरुको तलब बढ्नु पर्छ तर त्यसले निर्यातमा प्रतिष्पर्धा गर्न कठिन हुने तथा आयातित समानसँग प्रतिष्पर्धामा पनि पछि परिने अवस्था आउनु हुन्न’ मुरारकाले भने । मजदुरहरुको न्यूनतम पारिश्रमिक वृद्धिसँगै उत्पादकत्व पनि बढ्नु पर्ने नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ बताउँछन् । ‘दुब्ला पातला उद्योगीलाई निचोरेर मात्रै हुन्न । उद्योगीलाई निचोर्न लायक बनाउनुपर्छ । अनि तलब वृद्धि हुन्छ नै’ श्रेष्ठ भन्छन् । न्यूनतम पारिश्रमिक घाेषणा गर्दै श्रम मन्त्री गाेकर्ण बिष्ट र महासंघ अध्यक्ष भवानी राणा उद्योगीहरुको चिन्ता उत्पादन लागत बढेर प्रतिष्पर्धी क्षमतामा ह्रास आउनेतर्फ केन्द्रित भएको देखिन्छ । तर त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. शिवराज अधिकारीले भने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिलाई उत्पादन लागतमा जोड्न नहुने दावी गरे । ‘श्रमिकको तलब बढेपछि उत्पादन लागत बढ्छ, बजार मूल्य बढ्न भन्ने तर्क गलत हो, ज्याला दर कम गरेर उद्योगी फस्टाउँने होइनन्, तलब बढाउँदा उत्पादकत्व पनि सँगै वृद्धि हुन्छ’–सहप्राध्यापक अधिकारीले विकासन्युजसँग भने । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक पौडेलले पनि श्रमिकको न्यूनतम पारिश्रमिक अतिरिक्त सुबिधा नभएर पसिनाको मूल्य भएको बताए ।