आइएमईको ‘दशैंमा २० लाख’ योजनाको पहिलो विजेता घोषित, मल्लले जिते एक लाख रुपैयाँ
काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘दशैंमा २० लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषित गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्रबहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका छन् । उक्त योजना अन्तर्गत सेवाग्राही मल्लले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय पानी पोखरीमा एक कार्यक्रम गरी सो योजनाको विजेता घोषणा गरेको हो । यो योजना आगामी मङ्गसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भएका छन् ।
टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग, बालबालिकालार्इ स्वयंसेवी शिक्षकबाट प्रशिक्षण दिइने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार बैंकका निर्देशक विरेन्द्रकुमार शाहले टिच फर नेपाललाई सो मात्राको चेक हस्तान्तरण गरेका हुन् । बैंकले समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि टिच फर नेपालसँग सहकार्य गरेको हो । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तिरय शिक्षा प्रदान गर्ने कार्यका लागि उक्त सहयोग गरेको हो । यस अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ । बैंकको वित्तीय सहयोगले ग्रामीण जिल्लाका निम्न स्तरको सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको लागि सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाको मनोमानी, क्षमताभन्दा बढी ऋणले वित्तीय संकटको जोखिम
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जा प्रवाहमा उल्टो बाटो समात्दा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो २ महिनाको सार्वजनिक गरेको आर्थिक तथा मौद्रिक स्थितिसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब ४९ करोड ७९ लाख रुपैंया बराबरको कर्जा प्रवाह वृद्धि गरेका छन् । यो दर अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा ३.१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा यो वृद्धिदर १.९ प्रतिशत थियो । निक्षेप संकलनतर्फ भने बैंक तथा वित्तीय संस्थाले खासै प्रगति गर्न सकेका छैनन् । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ३९ अर्ब १४ करोड ६१ हजार रुपैंया निक्षेप वृद्धि गरेका छन् । यो वृद्धिदर १.४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा सो वृद्धिदर २.१ प्रतिशत थियो । अर्थतन्त्रमा मौद्रिक सन्तुलन कायम हुन निक्षेप तथा कर्जाको वृद्धिदर सामान्यतया बराबर हुनुपर्छ । तर निक्षेप वृद्धिमा कमजोर हुनु र अत्यधिक कर्जा प्रवाहतर्फ लाग्नुले बैकिङ क्षेत्रमा मौद्रिक संकट उत्पन्न हुने गरेको छ । केही सरकारी बैंकबाहेक अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहको स्थिति सीमान्त अवस्थामा पुगिसकेको छ । बैंकहरुको प्राथमिक पृुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ८०ः२० को सीमा नजिक पुगिसकेको बैंकरले बताएका छन् । लगानीयोग्य पुँजीको अभाव कायम रहे केही दिनमै कर्जा प्रवाह बन्द हुने संभावना रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालको भनाई छ । ‘निक्षेप बढ्न सकेन, कर्जाको माग अत्यधिक छ । हाम्रो बैंकको पनि सीसीडी रेसियोले सीमा भेट्न लागिसक्यो ।’ दाहालले भने– ‘यस्तै अवस्था आए कर्जा प्रवाह बन्द गर्नुपर्छ ।’ सानिमा बैंकले हालसम्म कर्जा लगानी गरिरहेको र सीसीडी रेसियो ७८ प्रतिशत पुगेको उनले जानकारी दिए । यता राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा यस्तो अवस्था आउनुमा बैंकर दोषी भएको जिकिर गर्छन । विकासन्युजसंग कुरा गर्दै थापाले भने “क्षमता भन्दा बढी लगानी गर्दा समस्या आएको हो । निक्षेप बढाएर कर्जा लगानी गर्न बाटो खुला छ ।” बैंक तथा वित्तीय संस्थाले आर्थिक बर्षको अन्तिम त्रैमासमा कर्जा प्रवाह नगर्ने भएकोले कर्जा मागका फारामहरुको चाङ लाग्दा नयाँ आर्थिक बर्ष सुरु भएपछि बैंकहरुमा कर्जाको माग बढ्ने गरेको बैंकरहरु बताउँछन् । केही बैंकहरुले आफ्ना पुराना ग्राहकसँगको सम्बन्ध जोगाइ राख्नका लागि कम सीसीडी रेसियो भएका बैंकहरुलाई आफ्नो असल कर्जा किनिदिन अनुरोध समेत गर्न थालेका छन् । सामान्यतया १ रुपैंया निक्षेप संकलन हुँदा बैंक तथा वित्तीय संस्थाहरु ८० पैसा कर्जा प्रवाहका लागि योग्य हुन्छन् । तर बैंकहरु निक्षेप संकलनको अवस्था वास्ता नगरी कर्जा प्रवाहमै केन्द्रित हुनाले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । यस्तो समस्या अनन्तकालसम्म लम्बिनसक्ने सम्भावना छ । पछिल्ला ३ वर्षयता पहिलो त्रैमाशपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट बढ्दै गएको छ । केन्द्रीय बैंकले लगानीयोग्य पुँजी बढाउन अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा घटाउदा बजारमा ४८ अर्ब रुपैयाँ तरलता थपिएको छ । यस्तै विदेशबाट डलर र भारुमा ऋण लिन केन्द्रीय बैंकले खुला गरेको छ । आधादर्जन बैंकले विदेशबाट ऋण लिने तयार गरेपनि महंगो हुने अवस्था आएपछि आँट गर्न सकेका छैनन् ।
सुदेश पराजुलीले जन्मदिनमा पठाए शैक्षिक सामग्री र जाडोका कपडा
अनेरास्ववियु सचिव सुदेश पराजुलीले पठाएको शैक्षिक सामग्री ग्रहण गर्दै सौगात सुनार काठमाडौं । अनेरास्ववियुका सचिव सुदेश पराजुलीले आफ्नो जन्मदिनका अवसरमा शैक्षिक सामग्री र जाडोका कपडा बाँडेका छन् । पराजुलीले दाङको तुलसिपुरस्थित महेन्द्र उच्च मावीका सौगात सुनारलाई शैक्षिक सामग्री र जाडोका कपडा पठाएका हुन् । नेपाल सरकारले सुरु गरेको विद्यार्थी भर्ना महाअभियानका क्रममा पराजुलीले सुनारको अविभावकत्व ग्रहण गरेका थिए । उनले आफ्ना पुराना कमजोरी सुधार गर्ने र सकारात्मक सोँचका साथ जीवन र समाजलाई अघि बढाउने प्रण समेत जन्मदिनमा गरेका छन् । पराजुलीले पठाएको शैक्षिक सामाग्री सौगातसम्म पुर्याईदिने जिम्मेवारी भने अनेरास्ववियु दाङका नेताहरु बर्षात भन्डारी, प्रकाश शर्मा ,रबिन ओलि, प्रकाश रावत र युवा संघका नेता हरिकृष्ण ओलिले पुरा गरेका थिए ।
भारतबाट रेमिट्यान्स सेवा संचालनमा, अब जनता रेमिटबाटै पैसा पठाउन सकिने
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै ‘‘जनता रेमिट’’बाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् । एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको संझौताअनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ । एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएईबाट समेत शुरु गरिनेछ ।
कक्षा ११ नतिजा लापरवाहीको छानविन गर्न समिति गठन, तथ्य आउनेमा शंका
काठमाडौं। कक्षा ११ को नतिजामा लापरवाही भएको गुनासो आएको दुई साता पछि बल्ल राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति गठन गरेर अनुसन्धान शुरु गरेको छ । बोर्डका सदस्य युवराज पराजुलीको संयोजकत्वमा गत शुक्रबार गठित ५ सदस्यीय उक्त समितिलाई १५ दिने म्याद दिईएको छ । मुख्यतया विज्ञान संकाय अन्र्तगत केमेष्ट्रि, फिजिक्स र गणितमा विद्यार्थीले प्राप्त गरेको ग्रेड अपत्यारिलो भन्दै पोखरा स्थित बोर्डको शाखा कार्यालय मातहतका १० जिल्लाका विद्यार्थी अभिभावक र शिक्षकहरुले नतिजामा लापरवाही भएको भन्दै प्रदर्शन समेत गरेका थिए । उनीहरुले छानविनको माग गरेका थिए । तर, बोर्ड भित्रैबाट बनेको समितिले गरेको छानविनले तथ्य पत्ता लगाउन नसक्ने भन्दै शंका गरिएको छ । उक्त समितिको सदस्य सचिवको जिम्मेवारी उपनियन्त्रक कृष्ण घिमिरेलाई दिईएको छ । ‘गल्ति गर्ने निकायकै ब्यक्तिहरुबाट हुने छानविनले आफ्नै गल्तिको तथ्य सार्वजनिक गर्ला भनेर पत्याउने आधार देखिदैंन’ पोखरा स्थित एक विद्यालयका प्रधानाध्यापकले भने ‘लापरवाहीको छानविन गर्न समिति बेनेको थाह पायौंं, उक्त समितिले के कस्तो विधि अपनाउँदो रहेछ हामी ध्यानपूर्वक हेरिरहेका छौं ।’ तर, समितिलाई पर्ने ब्यवस्थापकीय कार्यमा सघाउनका लागि मात्रै बोर्डका कर्मचारीलाई जिम्मा दिएको अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दावी गरे । ‘छानविन अघि कापीहरु हेर्नु पर्यो, ती कापी कहाँ छन्, र कहाँ सुरक्षित राख्ने भन्ने कुरा थाह पाउने भनेको कर्मचारीले नै हो’ उनले दावी गरे ‘त्यसैका लागि जिम्मेवारी तोकिएको हो, समितिको छानविनमा कुनै प्रभाव पर्दैन ।’ रिटोटलिङ्का लागि परेका निवेदनकै प्रकृया अनुसार छानविन समितिले अध्ययन गर्ने र आवश्यक परेमा कापी समेत हेरेर तथ्य पत्ता लगाउने पौडेलले बताए । ‘बोर्डमा सूचीकृत रहेका विषय विज्ञहरुनै उक्त छानविन समितिमा रहेका छन्, त्यसैले आवशयक परेमा कापी नै परीक्षण हुन सक्छ’ उनले भने । समितिमा धेरै गुनासो आएका विषयका विज्ञहरुलाई राखिएको जनाए पनि पौडेलले अरु सदस्यको नाम भने सार्वजनिक गर्न चाहेनन् । उक्त समितिका संयोजक पराजुली पोखरा स्थित एक निजी विद्यालयका सञ्चालक हुन् । उनलाई पूर्व शिक्षा मन्त्री धनिराम पौडेलले बोर्ड सदस्य नियुक्त गरेका थिए । संस्थागत रुपमै विभिन्न ठाउँबाट निवेदन परेको आधारमा समितिले छानविन गर्ने काम शुरु गरेको बताउदै पराजुलीले परीक्षाको विश्वसनीयता कायम राख्न र के भएको हो भन्ने यकिन पत्ता लगाउन आफूहरु लागि सकेको प्रतिकृया दिए । विद्यार्थीको कापी नै पुन परीक्षण गर्ने हो वा रिटोटलिङ्कै प्रकृया अनुसार गर्ने हो भन्ने बारेमा अहिले बताउन नमिल्ने पराजुलीले उल्लेख गरे । ‘पोखरा मात्रै हैन, बुटवल, विराटनगर जस्ता देशका धेरै ठाउँबाट संस्थागत रुपमै पनि निवेदन आएको छ, अहिले हामी तिनै निवेदनका आधारमा प्रारम्भिक रुपमा हेर्दै छौं’ उनले भने ‘विद्यार्थीलाई साँच्चै मर्का परेको हो हैन भन्ने कुरा अध्ययन पछि मात्र थाह हुन्छ अहिल्यै सदस्यको नाम, अनुसन्धानको विधि र प्रकृयाका बारेमा भन्न मिल्दैन ।’ गत बैशाख ८ गते देखि शुरु परीक्षा अन्र्तगत कापी परीक्षणको प्रकृया शुरु हुँदै गर्दा असार ८ गते तत्कालिन नियन्त्रक डम्बर बतासलाई हटाएर बोर्डले कृष्ण प्रसाद शर्मालाई नियन्त्रकको जिम्मेवारी दिएको थियो । परीक्षाफल प्रकाशनका आन्तरिक कार्य जारी रहेका बेला नियन्त्रक परिवर्तन गर्दा नतिजामा समस्या हुन सक्ने भन्दै त्यति बेलै बोर्ड भित्र उठेको आवाज वेवास्ता गर्दै शर्मालाई नियन्त्रक बनाईएको थियो । परीक्षाफल चाँडै प्रकाशन गरेर प्रभावकारी कार्य सम्पादन गरेको देखाउने हतारोमा परीक्षणमा लापरवाही भएको शंका पनि गरिएको छ । परीक्षणलाई अनुगमन गर्न गरिने सम्परीक्षणको कार्यमा समेत हतार गर्दा नतिजामा गुनासो आएको अड्कल काटिएको छ । कक्षा ११ को परीक्षाफल गत असोज २० गते सार्वजनिक भएको थियो । श्रोत – एड्युखबर
सानिमा जनरल इन्स्योरेन्स वीरगंजमा, यही वर्ष २० वटा शाखा खोल्ने तयारी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले वीरगंजमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक खेमराज लामिछानेले गरेका हुन् । यस कम्पनीले आर्थिक वर्ष २०७५/०७६ सम्ममा नेपालभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ । देशका सफल उद्योगि व्यवसायीहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको छ । कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पूँजी १ अर्ब रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक बर्ष भित्र ३० करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता १ अर्ब रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।
२० लाख यात्रु उडाउने भैरहवा विमानस्थलमा कालोपत्रे सुरु, भदौमा जहाज सरर
तस्विरहरुः मन्त्री रबिन्द्र अधिकारीको ट्वीटरबाट काठमाडौं । २० लाख यात्रुलाई सेवा दिने क्षमताको भैरहवा विमानस्थलको कालोपत्रे सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको उपस्थितीमा मंगलबार कालोपत्रेको सुरुवात गरिएको हो । मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको उच्च नेतृत्वसहित मन्त्री अधिकारीले कालोपत्रे कामको आरम्भ गरेका थिए । २०७६ भदौमा विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर उडान आरम्भ गर्ने मन्त्री अधिकारीले प्रतिवद्धता समेत व्यक्त गरे । नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजना प्रमुख प्रदिप अधिकारीले मन्त्रीको उपस्थितीमा कालोपत्रे आरम्भ गरिएको र आगामी भदौमा जहाउ उडाउन मन्त्रीले निर्देशन दिएको जानकारी दिए । मन्त्रीको निर्देशन अनुसार नै आगामी भदौभित्र उडान गर्न तयार पारिसक्ने प्रतिवद्धता व्यक्त गरे । ६ अर्ब २२ करोड लागतमा भैरहवा विमानस्थलको पूर्वाधार निर्माण भैरहेको छ । भैरहवा विमानस्थलमा ३ किलोमिटर लामो र ६० मिटर चौँडाईको धावन मार्ग रहनेछ । क्षेत्रिय स्तरको विमानस्थलका रुपमा निर्माण भैरहेको भैरहवा सञ्चालनमा आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्दै आएको भार केहि कम हुने अपेक्षा गरिएको छ । त्यसका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत भैरहवा विमानस्थले राम्रो प्रभाव पार्ने बताईएको छ ।