नेपाल क्यान्सर अस्पतालकाे तेस्रो ‘क्यान्सर सर्भाइभर मिट’
काठमाडौं। नेपाल क्यान्सर अस्पतालले तेस्रो ‘क्यान्सर सर्भाइभर मिट’ गरेको छ। मंगलबार अस्पतालमा कार्यक्रम गरी स्तन क्यान्सर भएका बिरामीसँग अन्तरक्रिया गएिको हो। कार्यक्रममा स्तन क्यान्सर सर्भाइभर वन्दना शर्माले आफ्नो अनुभव सुनाइन्। ‘रोगले भन्दा बढी डरले गाल्ने रहेछ’, उनले भनिन्’, त्यसैले क्यान्सर राेगीले उपचारसँगै आत्मबल पनि बलियो बनाउनुपर्छ।’ कार्यक्रममा हेल्थ ह्यापिनेस ट्रेनर सिमन न्यौपानेले कारणविनै खुशी हुने अभ्यास गरे शरीरको रोग प्रतिरोधात्मक शक्ति बढ्ने तर्क गरे। ‘जो हाँस्न जान्दैन, त्यो बाँच्न पनि जान्दैन’, उनले भने, ‘जब रोगले च्याप्दै जान्छ तब स्वास्थ्य ठूलो भन्ने थाहा हुन्छ।’ कार्यक्रममा ६० भन्दा बढी क्यान्सर सर्भाइभर रोगी सहभागी भएको अस्पतालले जनाएको छ। सुदीप्त (जीवनको नयाँ बिहानी) नेपाल क्यान्सर सहयोग समूहको इकाइ र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा कार्यक्रम गरिहेको हो। अक्टुबर महिनाभर स्तन क्यान्सरसम्बन्धी विभिन्न कार्यक्रम गरेको अस्पतालले जनाएको छ। अस्पतालले भदौदेखि क्यान्सर सर्भाइभर मिट गर्दै आएको छ।
बीपी कोइरालाका तत्कालीन अध्यक्ष डा. श्रेष्ठ भ्रष्टाचारको मुद्धामा दोषी ठहर
काठमाडौं। विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले आज उनलाई एक वर्ष कैद र रु एक करोड १८ लाख ६६ हजार ७७६ जरिवानाको फैसला गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। डा श्रेष्ठ अस्पतालको अध्यक्ष हुँदा रु एक करोड ६७ लाख ५७ हजार ११३ स्रोत नखुलेको (अवैध) सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ फागुन २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले रु ४८ लाख ९० हजार ३३७ बैध सम्पत्ति कमाएको ठहर गरेको छ । बाँकी रु एक करोड १८ लाख ६६ हजार ७७६ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले यो बराबर डा श्रेष्ठको सम्पति जफत हुने फैसलो गरेको हो । अदालतले डा श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ । डा श्रेष्ठ विशेषज्ञ चिकित्सकका रूपमा सो अस्पतालमा २०५४ सालमा सेवा प्रवेश गरी २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए। रासस
काठमाडौं, भक्तपुर र ललितपुरका १८ नगरको घोषणाः विद्या सुन्दरको नेतृत्वमा संसारकै उत्कृष्ठ शहर
काठमाडौं । काठमाडौं उपत्यका भित्रका १८ वटा नगरपालिकाहरुले संसारकै उत्कृष्ठ शहर निर्माण गर्ने उद्घोष गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको नेतृत्वमा उपत्यका नगरपालिका फोरम गठन गरेर उनीहरुले आफ्नै कार्यकाल भित्र उपत्यकालाई संसारकै उत्कृष्ठ शहर निर्माण गर्ने घोषणा गरेका हुन् । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा सोच, कार्यक्रम र योजना निर्माण संसारकै उत्कृष्ठ शहर बनाउने सामुहिक प्रतिवद्धता उनीहरुले व्यक्त गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए । फोरमको पहिलो बैठकमा फोहोरमैला व्यवस्थापनका विषयमा बढी केन्द्रित भएर छलफल गरेको पनि मेयर शाक्यले जानकारी दिए । बैठकले जारी गरिएको ९ बुँदे घोषणा पत्रमा काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणलाई न्युनीकरण गरी बस्न योग्य, जीवन्त तथा उन्नत सहर बनाउन महानगरपालिका÷नगरपालिकाहरु संयुक्त तथा एकल रुपमा कार्य गर्ने, वातावरण सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयन गरी प्रदुषण घटाउन संस्थागत संरचनाहरु परिचालित गर्ने उल्लेख गरिएको छ । ‘स्वच्छ वातावरणमा नवजीवनका लागि अत्यावश्यक भएकोले काठमाडौं उपत्यकाको हालको प्रदुषणको मात्रालाई क्रमशः न्यूनीकरण गर्दै जानेछौं,’ नौँ बुँदेमा भनिएको छ, ‘स्स्वच्छ तथा स्वस्थ वातावरण मानवको मौलिक हक तथा नैसर्गिक अधिकार भएकोले यसतर्फ काठमाडौं उपत्यका भित्रका स्थानीय सरकारहरु सचेत, संवेदनशील र मानव हित प्रबद्र्धन गर्न कटिबद्ध छौँ ।’ बैठकमा नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दर र एकरुपता कायम गराउने विषय, जग्गा विकास आयोजना सञ्चालन, खरिद ऐनमा एक रुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक र सरकारी बन, नियमावली निर्माण र कार्यान्वयनजस्ता विषयमा पनि गहन छलफल भएको थियो । बैठकमा उठेका विषयहरुमध्ये कतिपय नीतिगत व्यवस्था गर्नु पर्ने र कतिपय कार्यान्वयन गर्नु पर्ने भएकोले विषयलाई कार्यसमितिले बर्गीकरण गरेर आगामी बैठकमा प्रस्तुत गर्ने तयारी गरेको पनि उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ । उपत्यकाको दिगो विकासका लागि साझा धारणा तय गर्ने भन्दै गत भदौ २२ गते उपत्यका नगरपालिकाका प्रमुख र उप–प्रमुखको भेलाले उपत्यका फोरमको गठन गरेको हो । ११ सदस्यीय कार्य समिति रहेको फोरमको उप–संयोजकमा ललितपुर महानगरका उप–प्रमुख गीता सत्याल र सचिवमा मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठ छन् । कार्यसमिति सदस्यमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल र टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल,ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र छन् ।
बोनस सेयरपछि सेन्ट्रल फाइनान्सको मूल्य समायोजन
काठमाडौं । बुधबार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ करोड ६३ लाख रुपैयाँ बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११७.९७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १४४.४९ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बुधबारको बजारमा कम्पनीको सेयर मूल्य घट्ने क्रममा रहेको छ ।
रारामा पर्यटकलाई पूर्वाधारको अभाव
तस्विर- डोमी शेर्पा काठमाडौं। कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल । रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ। समुद्री सतहबाट दुई हजार ९९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाइ करीब पाँच दशमलव १ किमी तथा चौडाइ करीब २ दशमलव ७ किमी रहेको छ । रारा क्षेत्र प्राकृतिक रुपमा आफैँमा सौन्दर्यको खानी भए पनि यहाँ पूर्वाधारको निकै कमी रहेको छ । रारा पुग्ने आन्तिरक तथा बाह्य पर्यटकले पूर्वाधारको कमी रहेको गुनासो गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकलाई खान, बस्न, विद्युत्, टेलिफोन, इन्टरनेटलगायतको समस्या छ । घुम्न आउने याममा पर्यटकले बास बस्नसमेत नपाउँदा रातभर खुला आकाशमुनि आगो तापेर बस्नुपरेको बुटवलबाट रारा घुम्न आएका दीपेश श्रेष्ठ बताउँछन्। कर्णाली प्रदेश सरकारले २०७५ साललाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेको छ । यहाँ त्यस अनुसारको पूर्वाधार निर्माण भने गर्न सकिएको छैन । कर्णाली प्रदेश सरकारले एक वर्षभित्र रारा र आसपासको क्षेत्रमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्याप्त पूर्वाधार तयार नगरी कर्णाली रारा पर्यटन वर्ष घोषणा गरिएको यहाँ पनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले गुनासो गरेका छन् । रारा तालको परिधिभित्र डाँफे र भिलेज गरी दुई होटल सञ्चालनमा छन् । दुई होटलमा जम्मा २८ कोठा रहेको छ । दिनहुँ आउने हजाराँै पर्यटकलाई भने बस्न असहज हुने गरेको छ । सिन्धुपाल्चोकबाट रारा घुम्न आउनुभएका पर्यटक राजु बुढामगर राराको वर्णन गरी साध्य छैन भन्छन् । “पूर्वाधार अभावले राराको सौन्दर्य ओझेलमा परेको छ,” उनले भने। रारा राष्ट्रिय निकुञ्जभित्र तथा तालको वरपर होटल सञ्चालन गर्न नपाउनुपर्ने भए पनि राष्ट्रिय निकुञ्जको क्यान्टिनको रूपमा रहेको डाँफे र भिलेज होटल एकलौटी रूपमा सञ्चालनमा छ । उद्योग वाणिज्य सङ्घ मुगुका सदस्य गङ्गाबहादुर शाही भन्छन्, “पर्यटकलाई मध्यनजगर राख्दै खान बस्नको सुविधाको लागि होटल सञ्चालनको पहल गर्दा सञ्चालन गर्न दिँदैनन् ।” केहीले एकलौटी रुपमा व्यवसाय गर्ने गरे पनि अन्यलाई होटल व्यवसाय गर्न नदिएको उनको आरोप छ । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले अन्य होटल सञ्चालनका लागि स्वीकृति दिइएको छैन । यहाँ दुई होटल निर्वाध रूपमा सञ्चालन भइरहेको शाही बताउनुहुन्छ । यस विषयमा रारा राष्ट्रिय निकुञ्ज मौन रहँदै आएको छ । राराताल घुम्न आउने पर्यटकलाई टेलिफोन र इन्टरनेटको असुविधा छ । नेपाल टेलिकम र एनसेलले काम नगर्ने झापाबाट आएका पर्यटक प्रवीण काफ्ले बताउँछन्। काफ्ले यहाँको पर्यटनलाई व्यवस्थित बनाउन पहिला खाने, बस्ने, नेटवर्क तथा इन्टरनेटजस्ता अतिआवश्यक कुराको सुविधा दिनुपर्ने बताउँछन्। कठिन अनि लामो बाटोको प्रवाह नगरी सडक मार्ग भएर रारा घुम्न निस्कने पर्यटकले रारालाई पूर्ण बनाउन यहाँको पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । रारालाई नेपालको स्वर्ग मानिए पनि कठिन यात्राबाट पुग्ने पर्यटक यहाँ पूर्वाधारको कमीले यात्रा खल्लो हुने गरेको गुनासो गर्दै आएका छन् । वैशाखमा ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा पुग्नुभएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ भित्रै कर्णालीमा आवश्यक पूर्वाधार बनिसक्ने बताएका थिए। सात महीना बित्नैलाग्दा समेत पर्यटकले अतिआवश्यक सुविधा पाउन सकेका छैनन् । रारा घुम्न आउने पर्यटक कोही टेन्टमा त कोही नजिकका गाउँमा बास माग्न बाध्य छन् । टेन्टमा बस्ने पर्यटक चिसोले रातभर कठ्याङ्ग्रीन बाध्य छन् । कतिपयले त बस्नको लागि टेन्ट पनि पाउँदैनन् । रारामा बास नपाउने तथा भोकभोकै बस्नु पर्ने बाध्यता छ । नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल पर्यटन विकास, पर्यटनसँगै भित्रिने प्रदूषण, व्यापारीकरण रोक्नुपर्ने बताउनुहुन्छ । यसका साथसाथै निकुञ्जभित्र पहिलेको तुलनामा वन्यजन्तु लोप हुँदै गएको, तालमा माछाको सङ्ख्या घट्टै भएको र वन्यजन्तुको चरनक्षेत्र मासिदै गएकाले निकुञ्जको अस्तित्व मेटिन सक्ने मल्ल बताउँछन्। यसतर्फ निकुञ्ज र सरकारले ध्यान जानुपर्ने उनको भनाइ छ । छायाँनाथ रारा नगरपालिकाले गत वर्षको नगरसभाबाट ताल क्षेत्रभित्र सञ्चालित होटल बाहिर ल्याउने निर्णय गरेको भएता पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । ताल क्षेत्रभित्रको होटलले राराको सफा तथा कञ्चन सुन्दरतामा ह्रास पुग्ने भएकाले तालभन्दा बाहिर होटल बनाउनुपर्ने तथा ताल क्षेत्रभित्र रहेको सेनाको गुल्मलाई बाहिर सारेर राराको सौन्दर्य जोगाइराख्नुपर्ने नगरवासीको माग छ । अहिलेको बदलिँदो समयसँगै पर्यटकको रूचिलाई ध्यानमा राखी परम्परागत सुविधा, वन्यजन्तु शिकार तथा प्राकृतिक स्थानमा बसेर इन्टरनेटमार्फत स्वतन्त्र रूपमा सेवा दिन सके राराको सौन्दर्यमा सुनमा सुगन्ध पुग्ने देखिन्छ । कालीकोट, जुम्ला, मुगु हुँदै रारासम्म जाने पर्यटकलाई सुविधाको हिसाबमा होमस्टे सञ्चालन गर्ने हो भने यहाँको व्यवसाय फस्टाउने तथा पर्यटकलाई समेत सुविधा पुग्नेछ । विसं २०६९ पुसमा नाग्मा (कालीकोट र जुम्लाको सिमाना)हुँदै मुगु सदरमुकाम गमगढीसम्मको बाटो सञ्चालन भएसँगै रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । काठमाडौँ, बुटवल, नेपालगञ्ज तथा देशका विभिन्न स्थानबाट रारा घुम्न जिप, बस तथा मोटरसाइकल लिएर आउने प्रशस्त छन् । यस क्षेत्रको पहिलो पर्यटकीय गन्तव्य रहेको रारा पुग्न काठमाडौँबाट जिप, बस तथा मोटरसाइकलमा तीन दिन लाग्छ । रारा पुग्न हवाईमार्गको पनि सुविधा छ । नेपालगञ्जबाट जहाजमा मुगुको ताल्चा विमानस्थल झरेपछि करीब दुई घण्टा हिँडेर रारा पुग्न सकिन्छ । रासस
उपत्यकाभित्र दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने
काठमाडौं। काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो । गत साउनदेखि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुँदै आएको ट्रक तथा टिपर आजदेखि कात्तिक मसान्तसम्मलाई दुई घण्टा बढाएर साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्तकुमार पन्तले जानकारी दिनुभयो । बैठकले तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वलाई लक्ष्य गरी सुरक्षालाई थप प्रभावकारी बनाउने, देउसीभैलो कार्यक्रमलाई १० बजेसम्म सञ्चालन गर्न दिने, पटकालगायतका वस्तुलाई पूर्णतया नियन्त्रण गर्ने निर्णयसमेत गरेको छ । रासस
गल्छी–रसुवागढी सडक कालोपत्र शुरु, साढे ९ अर्ब बजेट विनियोजन
काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु¥याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्शन प्रालिका इञ्जिनीयर सुरज गौतमले बताए। पिपलटारका बासिन्दाले सडकमा पर्ने जग्गाको मुआब्जा नदिइ कालोपत्र थालेको भन्दै विरोध गरेका हुन् । लीलानाथ न्यौपानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरी उनीहरुले आन्दोलन थालेका छन् । त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्गको दायाँबायाँ जग्गाको सीमा निर्धारण २०३४ सालमा सडक विस्तारको क्रममा गरिएकाले हालको सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि कानूनी अभाव रहेको आयोजना प्रमुख सुवोध देवकोटा बताउँछन्। ‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमी सडक निर्माणको काम भइरहेको छ । आयोजनाको हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले रु नौ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने सो सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्शन जेभीमार्फत भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्मको १८ किमी सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरी नेपाली सेनाले गत वर्ष चैत ३० गते आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ । स्याफ्रुबँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ। रासस
उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणा कतारमा, नेपालमा लगानी गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्न कतारका व्यवसायीलाई आग्रह गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै कतार पुगेकी महासंघकी अध्यक्ष राणाले सन् २०२० को नेपाल भ्रमण वर्षसंगै नेपालसँगै धेरै पूर्वाधारमा लगानीको अवसर रहेको जानकारी गराएकी थिइन् । सो अवसरमा उनले नेपाली कृषि उपजलाई सहज र सिधा पहुँच दिन माग गरेकी छन् । नेपाली कृषि उपज नेपालबाट सिधै कतारको बजारमा प्रवेश दिन उनले जोड दिएकी थिइन् । नेपालको उत्पादन र निर्माण क्षेत्रमा लाभदायी लगानी हुने र त्यसको उदाहरण अहिले सफल भईरहेका कम्पनीबाट लिन सकिने उनको धारणा थियो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नीतिगत सुधारहरु भईरहेको उनको भनाई थियो।