काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै ‘‘जनता रेमिट’’बाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।
एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको संझौताअनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।
रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ । एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएईबाट समेत शुरु गरिनेछ ।