काठमाडौं । नेपाली कांग्रेसले रसुवा, धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्था बुझ्ने तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
सभापति गगनकुमार थापाको उपस्थितिमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए । बैठकमा गत भदौ १० गते गएको आकस्मिक बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनर्स्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले प्रभावित परिवारलाई लक्षित गरी ‘न्यानो कपडा अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, विपद्बाट प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा परेको असरलाई सम्बोधन गर्न मानसिक स्वास्थ्य परामर्श अभियान पनि सञ्चालन गरिने भएको छ ।
तीनवटै जिल्लाका प्रभावित बस्तीको स्थलगत अवस्था बुझेपछि पुनर्स्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने थप पहलकदमी निर्धारण गरिने कांग्रेसले जनाएको छ ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पुनर्स्थापना सुनिश्चित गर्न तथा पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसको भनाइ छ । साथै, प्रभावित नागरिकलाई राहत, सहयोग र सहजीकरणका लागि पार्टीका तर्फबाट आवश्यक पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
पार्टीका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जारी गरेको प्रेस विज्ञप्तिमा बैठकका निर्णय सार्वजनिक गरिएको हो ।