काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो टेलिग्राममार्फत सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राई रहेका छन् । उनलाई प्रहरीले कात्तिक १९ गते काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट पक्राउ गरेको हो ।
त्यसैगरी, सामाजिक सञ्जाल एक्स (X) मार्फत महिलाका अश्लील तस्बिर तथा भिडियो आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा अर्का एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डे रहेका छन् । उनलाई प्रहरीले कात्तिक १९ गते काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो ।
साइबर ब्यूरोले पीडित महिलाहरूको उजुरीका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरी दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । विकल्प राईलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन र सुजन पाण्डेलाई चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।
साइबर ब्यूरोले कात्तिक २० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।