शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ – शिक्षामन्त्री पोखरेल
काठमाडौं । २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्ने बताएका छन्र । विश्वविद्यालय अनुदान आयोगको शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताएका छन् । परम्परागत शिक्षा र परीक्षामुखी शिक्षा काम नलाग्ने बताउँदै मन्त्री पोखरेलले नेपालको शिक्षा विकाससँग जोड्ने बताएका छन् । परीक्षामुखी शैक्षिक पद्धतिले समस्या समाधान हुँदैन, शिक्षालाई उत्पादनसँग जोडेर लैजाने बताएका छन् । मन्त्री पोखरेलले आगामी एक वर्षभित्र विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याएर राष्ट्रियरुपमा देशलाई पूर्ण साक्षर घोषणा गर्ने तयारीमा जुटेको बताएका छन् । साथै सबै शिक्षण संस्थालाई हरित अभियानमा जोड्ने बताउँदै मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा रहेको अराजकता र बेथितिलाई अब सुधार गरेर लैजाँदै विश्वविद्यालयलाई राष्ट्रिय वा प्रदेश के हो त्यो वर्गीकरण गर्दै राष्ट्रिय र प्रदेशअन्तर्गत लैजाने तयारी भएको छ । सङ्घीय शिक्षा नीति निर्माण प्रक्रियामा सरकार अगाडि बढेको बताउँदै पहिलो मस्यौदा तयार भएको छ । अब सातवटै प्रदेशबाट सुझाव लिएर दोस्रो मस्यौदा तयार गरी निचोडमा पुग्ने छ । कार्यक्रममा अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उच्च शिक्षाको अवस्था भयावह रहेको चित्रण गर्दै शिक्षामा आएको चुनौतीबारे छलफल गर्दै अगाडि बढ्ने बताएका छन् । रासस
‘सिआईआई कन्म्याक प्रदर्शनीले निर्माण व्यवसायीदेखि सिङ्गो मुलुकलाई फाइदा हुने’
काठमाडौं । देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीे ‘सिआईआई कन्म्याक प्रदर्शनी २०१८’ भक्तपुरमा शुरु भएको छ । भक्तपुरको सल्लाघारी मैदानमा शुरु भएको उक्त प्रदर्शनीको उद्घाटन भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले गरेका हुन् । यातायातमन्त्री महासेठले देशको विकासका लागि पुर्वाधार विकास पहिलो प्राथमिकता भएको र यसकालागि नविनतम् निर्माण प्रविधिको आवश्यकता पर्ने बताएका छन् । देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीेको रुपमा रहेको सो प्रदर्शनीबाट नेपालका निर्माण व्यवसायीमात्र नभई सिङगो मुलुकले नै फाइदा लिनसक्ने उनले बताए । मन्त्री महासेठले अबको करिव चार बर्षमा मुलुकको पुर्वाधार विकासमा कायापलट ल्याउने बताएका छन् । समृद्ध ‘नेपाल–खुशी नेपाली’ भन्ने नारालाई साकार पार्न सरकार यो अभियानमा लागेको उनले बताएका हुन् । यसअघि नीति निर्माण गर्ने र तीन तहका सरकारको लागि आवश्यक ब्यवस्थापन गर्ने काममा सरकार अल्मलिएको भन्दै उनले अव अरु काम सकीएकोले विकास निर्माणको काम गर्ने बेला आएको बताए । नेपालमा भौतिक पुर्वाधारको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनले यसमा आधुनिक निर्माण प्रविधिको भूमिका महत्वपूर्ण हुने धारणा राखे । करिब चार वर्षको अवधिमा ६ हजार देखि ८ हजार किलोमिटर पक्की सडक बनाउने योजना सुनाउँदै उनले यसका लागि आधुनिक प्रविधिको आवश्यकता समेत औंल्याए । नेपालका लागि भारतीय राजदुत मन्जिभ् सिंह पुरीले समृद्ध नेपालको परिकल्पना पुरा गर्न पुर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो औंल्याउँदै त्यसका लागि आधुनिक निर्माण प्रविधिको स्थान महत्वपूर्ण हुने धारणा राखे । समृद्ध नेपाल निर्माणका लागि तीव्र विकास आवश्यक पर्ने उल्लेख गर्दै उनले यसकालागि लगानी र प्रविधिको खाँचो पर्ने र यो प्रदर्शनीले त्यसमा सहयोग पुर्याउने बताए । त्यसअघि पुर्वमन्त्री एवं सांसद महेश बस्नेतले नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीहलको अभाव खड्किएको भन्दै त्यस्तो हल निर्माणकालगि भक्तपुर क्षेत्रमा २ सय रोपनी जग्गा उपलब्घ गराउन आँफू तयार रहेको बताए । नयाँ नेपाल निर्माणकालागि सम्वद्ध सवैपक्ष एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले त्यसका लागि आवश्यक प्रविधि, एवं साधन र स्रोतको कमी हुन नहुने धारणा राखे । त्यसअघि कन्म्याक नेपाल २०१८ का अध्यक्ष अरविन्द के गर्गले नेपाल भारतवीच प्रगाढ आर्थिक एवं साँस्कृतिक सम्वन्ध रहेको उल्लेख गर्दै नेपालको उन्नति र प्रगतिमा भारतीय व्यवसायको साथ र सहयोग निरन्तर हुने प्रतिवद्धता जनाए । समृद्ध नेपालको निर्माणका लागि यहाँ पुर्वाधार विकासकालागि सडक, पुल, विद्यूत जस्ता क्षेत्रमा बिशेष ध्यान दिन जरुरीरहेको धारणा उनले राखे । सिआईआई ट्रेड फेयर काउन्सिलका अध्यक्ष विपिन सोन्धीले कुनैपनि मुलुकको निर्माण क्षेत्रको विकासमा सरकारी सहयोग महत्वपुर्ण हुने बताए । नेपाल प्रत्येक दुई बर्षमा यस्तो प्रदर्शनीको आयोजना गर्ने योजना सुनाउँदै उनले यसले नेपालमा नयाँ प्रविधि ल्याउन सहयोग पुग्ने धारणा राखे । त्यसक्रममा सिआईआईका डेपुटी डिरेक्टर जनरल विरेन्द्र गुप्ता र नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंगले नेपालको निर्माण व्यवसायका विभिन्न आयामहरुको बारेमा प्रकाश पारेका थिए । भारतीय उद्योग संघ (सीआईआई) को अयोजनामा नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईओ कन्म्याक २०१८ को आयोजना भएको हो । सल्लाघारी ओपन ग्राउण्ड, भक्तपुरमा मंसिर ६ देखि शुरु भएको प्रदर्शनी मंसिर ८ गतेसम्म आयोजित हुनेछ । तीन दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरुले १५ हजार वर्गफिट क्षेत्रफलमा प्रदर्शनीको आयोजना गरेका छन् ।
नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो, अर्थतन्त्रमा सुधार हुने- चन्द्रप्रसाद ढकाल
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रम सम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् । श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा एओटीएसद्धारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ढकालले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षा सम्बन्धी कानुनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदको अध्यक्षका रुपमा उक्त सम्मेलनलाई सम्बोधन गर्दै ढकालले देशमा उद्योग धन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानुनले नयाँ वातावरण सिर्जना गर्ने बताएका छन् । साथै, श्रमसँग जोडिएका विविध समस्या हल गर्न सहयोग पुग्ने नेपालको आर्थिक क्षेत्रले अपेक्षा गरेको उनले बताए । यी नयाँ कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुगेको ढकालले बताए । नेपाल सरकार, रोजगारदाता, श्रमिकहरु आवद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघबीचको छलफल र परामर्शपछि यी कानुन आएका र नयाँ व्यवस्था बमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरु पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिंगो अर्थतन्त्रकै क्षेत्रमा यी कानुनले सकारात्मक प्रभाव पार्ने उनले बताए । श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानुनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए । योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ । उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई पनि आग्रह गरेका छन् । श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानुन निर्माण भएका र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मक वातावरण बनेको उनले बताए । सो सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अर्घाखाँची सिमेन्टले क्षमता बढाएर दैनिक ६० हजार बाेरा पुर्याउँदैछ: अभिनय जैसवाल
र्इ. अभिनय जैसवाल, याेजना बिक्री प्रमुख, अर्घाखाँची सिमेन्ट प्रा. लि. अर्घाखाँची सिमेन्ट प्रा.लि. नेपालकै ठूलाे ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी मध्येमा पर्दछ । डेनिस प्रविधि, क्रिस्चियन पिफरको प्रयोग गरी रुपन्देहीकाे भैरहवामा रहेको मिल मार्फत उच्चस्तरीय सिमेन्टको उत्पादन गर्दै आएको छ । यसले रोटरी क्लिन टेक्नोलोजीका माध्यमबाट आफ्नै क्लिङकर पनि उत्पादन गर्दै आएको छ । अर्घाखाँची सिमेन्टले प्रविधि र स्रोतहरुको चयनमा निकै ध्यान पुर्याएको छ । अर्घाखाँची सिमेन्टले सबैभन्दा उत्कृष्ट सिमेन्ट उत्पादन गर्दै अाएकाे छ । हामी वातावरणमैत्री कार्यहरुका मार्फत् निर्माण व्यापारमा आफुलाई अग्रणी स्थानमा पुर्याउन चाहान्छौं । यस कम्पनीले नयाँ प्लास्टिकद्वारा लेमिनेशन गरिएको बोराको प्रयोग गर्दै आएको छ, जसले गर्दा सिमेन्ट लामो समयसम्म बिग्रिदैन । हामी कम्पनीको कार्यक्षेत्रभन्दा अघि बढ्दै समाजको हरेक क्षेत्रलाई संलग्न गराउन चाहान्छौं । जसबाट हाम्रा प्रक्रियाहरु सुरक्षित र अन्तर्राष्ट्रिय गुणस्तरकाे भएको सुनिचित् होस् । हाम्रो दैनिक क्षमता भनेको दैनिक २४ हजार बोरा रहेको छ । क्लिङ्कर प्रविधि अपडेट गरेपछि हाम्रो क्षमता दैनिक ६० हजार बाेरा पुग्ने छ । यसका लागि ३ महिना समय लाग्नेछ । नेपालमा ५० भन्दा बढी सिमेन्ट कम्पनीहरु छन् । यसमा दुई किसिमका सिमेन्ट कम्पनी छन् । एउटा आफ्नै क्लिङ्कर उत्पादन गरी सिमेन्ट बनाउने र अर्को क्लिङ्कर आयात गरी सिमेन्ट बनाउने कम्पनीहरु छन् । ५० भन्दा बढी कम्पनीहरु मध्ये आफ्नै क्लिङ्कर उत्पादन गर्ने कम्पनीहरु १६ वटा जति मात्रै रहेका छन् । सिमेन्टको प्लान्टमा इ.पी.सी. ‘इलेक्ट्रोस्ट्याटिक प्रेसिपिटेटर’ र डेनिस प्रविधि जस्ता वातावरणमैत्री उपायहरुको प्रयोग गरिएको छ । साथै, फ्याक्ट्री एरियामा पूर्ण हरियाली गरिएको छ । सिमेन्टमा न्युनतम ५३ एमपीए को शक्ति र सहनशीलता चाहिने पुर्वाधारहरु निर्माण गर्न सकिन्छ । कन्ट्रोल रुमसँग जोडिएका अनलाइन एनलाइजर र अटोमेटिक वे फिडरबाट सबैभन्दा उत्कृष्ट कच्चा पदार्थको मिश्रण प्राप्त गर्न सकिन्छ । लगातार बगिरहने सिलोका माध्यमबाट भट्टीमा एकैनाशको कच्चा पदार्थ जाने गर्दछ । यसकारणले सिमेन्टको हरेक कण एकैनाशको हुने गर्दछ । सबै निरीक्षण कम्प्युटरबाटै हेर्ने भएकाले यसले क्लिङ्करको गुणस्तर उच्च राख्दछ भने भट्टीमा कच्चा पदार्थको समय पनि व्यवस्थित राख्दछ । पाँच कारणबाट जाने प्रि हिटर साइक्लोन सिस्टमका साथ प्रिक्याल्सिनरले निर्माण प्रक्रियालाई अझै व्यवस्थित बनाउँछ । आधुनिक फ्यास डेनिस प्रविधिमा उच्च क्षमताको विभाजक भएकाले यसले सिमेन्टको झनै सुक्ष्म कणहरु उत्पादन गर्दछ । यसले गर्दा सिमेन्टको मिसावट राम्रो हुन जान्छ र कङ्क्रिटको घनत्व पनि बढ्छ । सिमेन्ट उत्पादनको क्रममा थोरै मात्र पानी प्रयोग गरिएको हुने भएकाले यसबाट बनाइएको कङक्रिट रसाउने सम्भावना निकै कम हुन्छ । यसले गर्दा सिमेन्टको घनत्व बढी हुनुको साथै टिकाउ पनि हुन्छ । हामीले नेपाल गुणस्तर चिन्ह लिएका छौं । हाम्रो सिमेन्ट नेपालका ठूला ठूला आयोजनाहरुमा प्रयोग भैसकेका छन् । सेनजेन हाइड्रोपावर रसुवा, नारायण मुग्लिन सडकखण्ड, लोवर मोदी, मेलम्ची खानेपानी लगायत आयोजनाहरुमा यसको प्रयोग भैसकेको छ । समग्रमा हाम्रो उत्पादन प्रयोग गर्ने सेवाग्राहीहरु सन्तुष्ट छन् । यसबाट अझ अत्याधुनिक उत्पादन बजारमा ल्याउन सहयोग पुग्नेछ । नेपालमा अहिले पुर्वाधार विकासमा ठूला आयोजनाहरु सञ्चालन भैरहका छन् । धेरै पानी पर्ने समयमा सिमेन्टको माग कम हुन्छ भने कम पानी पर्ने समयमा माग बढी हुन्छ । यो समयमा हाम्रो उत्पादनले माग धान्न सक्दैन । अहिले सिमेन्ट र डन्डी उत्पादनमा ठूला लगानीहरु भित्रिरहेका छन् । यसले केही वर्षमै बजार माग पुरा गर्नेछ । पहिले नेपालमा सेवाग्राहिरु क्वालिटीमा सचेत रहेका थिएनन् । तर अहिले चेतनाको स्तर बढीसकेको छ । हाम्रो उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्छ । तर नेपालकै भाग धान्न नसकेको अवस्थामा हाम्रो ध्यान नेपालमै रहेको छ । हाम्रो देशैभरी डिलर रहेका छन् । अझै केही स्थानमा थप्ने तयारी गरिरहेका छौं । धेरै सिमेन्ट बेच्ने डिलरहरुलाई विभिन्न सुविधाहरु प्रदान गरिरहेका छौं । सेवाग्राहीलाई म के भन्न चाहन्छु भने सिमेन्टको प्रयोग गर्दा कम्पनी प्रोफाइल र कस्ता योजनाहरुमा प्रयोग भैरहका छन् भनेर बुझ्नुपर्छ । (कुराकानीमा अाधारित)
ताप्लेजुङकाे मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण , मेवा डेभलपर्स प्राइभेटले कार्य शुरू गर्दै
काठमाडौं । मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने उक्त खोलाबाट आगामी पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने आयोजकले जनाएकाे छ । नौ अर्बको लागत अनुमान गरिएको आयोजना मेवा डेभलपर्स प्राइभेट लिमिटेडले निर्माण कार्य थालनी गरेको छ । करीब निर्माणका लागि उक्त कम्पनीले दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन गर्दै आएको छ । हाल आयोजनाका लागि सडक विस्तार भइरहेको छ भने जग्गा खरिद र पिपीएको कार्य सकिएको कम्पनिका इञ्जिनीयर भानु पोख्रेलले बताएका छन्। अबको एक वर्षभित्रै आयोजनाको निर्माण कार्य शुरु गरिनेछ । कम्पनीले मङ्सिर ५ गते आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग अन्तक्र्रिया गरेको जनाएको छ । यस्तै फुङ्फुङगे झरना छेउमा इनटेक र लिवाङको नावामा पावर हाउस राख्ने कम्पनीको लक्ष्य रहेको आयोजनाका अध्यक्ष तथा सांसद वसन्तकुमार नेम्वाङको भनाई रहेको छ । तीन महीनाभित्र परियोजनाको आइइ प्रतिवेदन आउने इञ्जिनीयर पोख्रेलले जानकारी दिए । फुङ्फुङगे झरना छेउमा ८७ मिटर लम्बाइ र २० मिटर चौडाइको बाँध बाँध्ने, छ किलोमिटर सुरुङ निर्माण गरिने कम्पनीको भनाइ छ । आयोजनाका विभिन्न संरचनामा पुग्न हेडबक्सबाट पावर हाउससम्म करीब आठ किलोमिटर सडक र ढुङ्गेसाँघु सवस्टेशनसम्मको १३२ केभीको करीब १३ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गरिने जनाएका छन् । रासस
कमला नदीको पानी बाँडफाँडको विषयमा १२ स्थानीय तहबीच सहमति
काठमाण्डौ । पानीको बहुउपयोग हुनुपर्नेमा जोड दिँदै कमला नदीको व्यवस्थापन र बाँडफाँडमा प्रभावित १२ स्थानीय तहबीच सहमति भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयको लागि अष्ट्रेलियन सरकारको द कमन वेल्थ साइटिफिक एण्ड इडष्ट्रिज रिचर्ज अर्गनाइजेशन (सीएसआईआरओ) को सहयोगमा जलस्रोत विकास संस्था र पीइआईले धनुषा, सिरहा, उदयपुर र सिन्धुली जिल्लाका १२ प्रभावित क्षेत्रका स्थानीय सरकारका जनप्रतिनीधिहरुसँगको छलफलले पानी समस्या बनेको भन्दै त्यसको संरक्षण र व्यवस्थापनका लागि उनीहरुले साझा लक्ष्य निर्धारण गरेका छन् । कमला नदी बेसिन विकास रणनीति तयार गर्ने उद्देश्यले सिन्धुली, उदयपुर, सिरहा र धनुषाका कमला वेसिनबाट प्रभावित स्थानीय तह र समुदायको प्रत्यक्ष सहभागितामा २०७४ सालको कार्तिक अन्तिम सातादेखि आयोग सचिवालयका लागि स्थानीय तह र समुदायको सहभागितामा अध्ययन अघि बढेको छ । सरकारले सबै नदीहरुको नदी वेसिन योजना निर्माण गर्न लागेकोमा नमूना नदी वेसिन योजनाको रुपमा सुरु गरिएको रणनीति निर्माणको काम २०७६ को जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जनकपुरमा प्रभावित सबै स्थानीय तहको सहभागितामा छलफल गरी चार वटा मुख्य लक्ष्य तय गरेकोमा सरोकारवालाहरुको सहभागितामा काठमाण्डौमा भएको कार्यशालाले सबैलाई समेट्ने गरी तीनवटा बनाएको थियो भने सोमबारदेखि बिहीबारसम्म भएको छलफलको क्रममा तीन मुख्य लक्ष्य प्रस्ताव गरेकोमा त्यसलाई स्वीकार गर्दै पानीको उपयोग बहुक्षेत्रमा हुने गरी रणनीति निर्माण गर्न सुझाव दिएको छ । धनुषाको सबैला नगरपालिका, गणेशनाथ चारनाथ नपा, कमला नपा, सहीद नगर नपा र जनक नन्दिनी गाउँपालिका, सिरहाको सिरहा, मिर्चैया, करजना र कल्याणपुर नपा, उदयपुरको कटारी नपा तथा सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृतसहितको बैठकले पानीको व्यवसथापन र बाडफाडबारे सहमति गरेको जलस्रोत विकास संस्थाका संयोजक तेजेन्द्र जीसीले जानकारी दिए । उनीहरुले बर्षामा बाढीको विनाश र हिउँदमा पानी अभावको ठूलो समस्या रहेको बताउँदै समाधानका लागि उचित व्यवस्थापनका लागि नीति, नियम, रणनीति, योजना र कार्यक्रम बनाउन समेत सुझाव दिएका थिए । खानेपानी, सिञ्चाई, जलविद्युत, कृषि, पर्यटन, उद्योग, व्यवसाय लगायतका बहुक्षेत्रमा पानीको उपयोग हुने गरी आवश्यक योजना बनाउनका लाग समेत सुझाव दिएका थिए ।
पाँचौ सेञ्चुरी सुपर सिक्स मंसिर १० गतेदेखि शुरू, २४ कर्पोरेट हाउस सहभागी
काठमाडौं । पाँचौं सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स मंसिर १० गतेदेखि काठमाडाैंमा शुरू हुने भएको छ । ६ दिन हुने उक्त प्रतियोगिताको सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । बैंकले बिहीवार एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको थियो । प्रतियोगितामा २४ कर्पाेरेट हाउस सहभागी हुनेछन्। उक्त टिमलाई ८ समुहमा विभाजन गरी उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गर्नेछ । यसैबीच, प्रतियोगिताको ट्रफि, जर्सि र टाइसिट पनि सार्वजनिक गरेको थियो । उक्त सम्मेलनमा आयोजक एसएस इभेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईका साथै बजार प्रमुख अधिकृत रन्जन खड्काको उपस्थिती रहेको थियो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बयोधा अस्पतालमा विशेष छुट
काठमाडौं । अब ग्लोबल आइएमई बैंकका ग्राहकले बयोधा अस्पतालमा विशेष छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा ७ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात बल्खुको बयोधा अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कम्पनीका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सो मात्राको छुट पाउने छन् । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।