काठमाण्डौ । पानीको बहुउपयोग हुनुपर्नेमा जोड दिँदै कमला नदीको व्यवस्थापन र बाँडफाँडमा प्रभावित १२ स्थानीय तहबीच सहमति भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयको लागि अष्ट्रेलियन सरकारको द कमन वेल्थ साइटिफिक एण्ड इडष्ट्रिज रिचर्ज अर्गनाइजेशन (सीएसआईआरओ) को सहयोगमा जलस्रोत विकास संस्था र पीइआईले धनुषा, सिरहा, उदयपुर र सिन्धुली जिल्लाका १२ प्रभावित क्षेत्रका स्थानीय सरकारका जनप्रतिनीधिहरुसँगको छलफलले पानी समस्या बनेको भन्दै त्यसको संरक्षण र व्यवस्थापनका लागि उनीहरुले साझा लक्ष्य निर्धारण गरेका छन् ।
कमला नदी बेसिन विकास रणनीति तयार गर्ने उद्देश्यले सिन्धुली, उदयपुर, सिरहा र धनुषाका कमला वेसिनबाट प्रभावित स्थानीय तह र समुदायको प्रत्यक्ष सहभागितामा २०७४ सालको कार्तिक अन्तिम सातादेखि आयोग सचिवालयका लागि स्थानीय तह र समुदायको सहभागितामा अध्ययन अघि बढेको छ । सरकारले सबै नदीहरुको नदी वेसिन योजना निर्माण गर्न लागेकोमा नमूना नदी वेसिन योजनाको रुपमा सुरु गरिएको रणनीति निर्माणको काम २०७६ को जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जनकपुरमा प्रभावित सबै स्थानीय तहको सहभागितामा छलफल गरी चार वटा मुख्य लक्ष्य तय गरेकोमा सरोकारवालाहरुको सहभागितामा काठमाण्डौमा भएको कार्यशालाले सबैलाई समेट्ने गरी तीनवटा बनाएको थियो भने सोमबारदेखि बिहीबारसम्म भएको छलफलको क्रममा तीन मुख्य लक्ष्य प्रस्ताव गरेकोमा त्यसलाई स्वीकार गर्दै पानीको उपयोग बहुक्षेत्रमा हुने गरी रणनीति निर्माण गर्न सुझाव दिएको छ । धनुषाको सबैला नगरपालिका, गणेशनाथ चारनाथ नपा, कमला नपा, सहीद नगर नपा र जनक नन्दिनी गाउँपालिका, सिरहाको सिरहा, मिर्चैया, करजना र कल्याणपुर नपा, उदयपुरको कटारी नपा तथा सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृतसहितको बैठकले पानीको व्यवसथापन र बाडफाडबारे सहमति गरेको जलस्रोत विकास संस्थाका संयोजक तेजेन्द्र जीसीले जानकारी दिए ।
उनीहरुले बर्षामा बाढीको विनाश र हिउँदमा पानी अभावको ठूलो समस्या रहेको बताउँदै समाधानका लागि उचित व्यवस्थापनका लागि नीति, नियम, रणनीति, योजना र कार्यक्रम बनाउन समेत सुझाव दिएका थिए । खानेपानी, सिञ्चाई, जलविद्युत, कृषि, पर्यटन, उद्योग, व्यवसाय लगायतका बहुक्षेत्रमा पानीको उपयोग हुने गरी आवश्यक योजना बनाउनका लाग समेत सुझाव दिएका थिए ।