नलगाडको सहायक पहुँच मार्गको स्तरोन्नति शुरु, दुई वर्षभित्र गोल्ड्न गुड कन्ट्रक्सनले सम्पन्न गर्ने तयारी
काठमाडौं । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि बनाइएको सडकको स्तरोन्नति कार्य शुरु भएको छ । बिहीबारदेखि जिरो प्वाइन्ट कालिमाटीबाट सडक स्तरोन्नति कार्य शुरु भएको हो । करीब नौ किलोमिटर लम्बाइ रहेको सो सडकको एक वर्षअघि ट्र्याक खोलिएको थियो । स्तरोन्नतिको काम दुई वर्षभित्र गोल्ड्न गुड कन्ट्रक्सन बाह्र करोड रकममा स्तरोन्नति काम सम्पन्न हुने सांसद गणेसप्रसाद सिंहले बताएका छन् । आयोजना निर्माणका लागि सामग्री ढुवानी र स्थानीय आवतजावत लगायतका कामका लागि कालिमाटीदेखि ओरारीसम्मको सडकको स्तरोन्नति हुन लागेको छ । आयोजना निर्माण स्थलमा जाने कालिमाटीदेखि अँधेरी खोलासम्मको करीब ११ किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीले अहिलेसम्म छ किमी पनि निर्माण हुन नसकेको बताएका छन् । सडक निर्माण कार्य ढिला हुँदा यहाँका स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र जुम्ला जाने यात्रुले सास्ती भोग्दै आएका छन् । सडक निर्माण कार्य पूरा भएपछि दैनिक काम, कारवाही सहज हुने नलगाड कालिमाटीका शिक्षक दिनेश ओलीको भनाई रहेको छ । बारेकोट गाउँपालिकामा टेलिफोन टावरका सामग्रीदेखि खाद्यान्न ढुवानीसमेत अवरुद्ध हुँदै आएकामा सडकको स्तरोन्नतिको काम छिटो भएमा सहज हुने ओलीले जानकारी दिएका छन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम जारी रहेको छ । रासस
समृद्ध नेपाल निर्माणमा राष्ट्रिय संकल्प आवश्यक छ- मन्त्री बीना मगर
दोलखा । खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताएकी छिन् । रिनेजम नेपालले दोलखाको चरिकोटमा आयोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प आत्म विश्वास र एकरुपता सबैमा हुनुपर्ने बताएकी हुन् । कार्यक्रममा उनले सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताइन्। दोलखा जिल्लाको पर्यटकीय सम्भावनालाई प्रबर्द्धन गर्न आफ्नो पुर्ण प्रतिबद्धता रहेको जनाउँदै उनले हिमालको काखमा रहेको चरिकोट स्थित फुटबल मैदानको विकास गर्न आफु लागि पर्ने धारणा राखेका छन् । त्यस्तै खानेपानीको सम्बन्धमा उनले दोलखा जिल्लामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउपालिकामा आपुर्ति गर्ने व्यवस्था मिलाउन डिपिआरका लागि बजेट छुट्टाउने बताए । दोलखा जिल्लामा खानेपानीको समस्या समाधान गर्न केही योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंसिर १ गतेबाट सुरुभएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे । फाइनल प्रतियोगितामा प्लान्निङ ब्वाइज युनियन पेप्सिकोला, काठमाडौंले दोलखा क्लबलाई हराएर जित हासिल गरेको छ । युनियनले २ गोल गरेको थियो भने दोलखाले १ गोल गर्न मात्र सफल रह्यो ।
मंसिर भित्रै पेन किलर ल्याउँदै नेपाल औषधी, अरु भन्दा २ रुपैंयाँ सस्तो
काठमाडौं । नेपाल औषधी लिमिटेडले पेन किलर उत्पादन थाल्ने भएको छ । सिटा प्लस नाम दिईएको पेन किलरले दुखाई कम गर्नेछ । यस अघि नेपाल औषधि लिमिटेडले सिटामोल, जीवनजल र ग्लिसिरिन उत्पादन गर्दै आइरहेको थियो । यही महिनादेखि बजारमा उपलब्ध हुने औषधि ज्वरो, दुखाई र सुन्निएको अवस्थामा प्रयोग गर्न सकिन्छ । ‘सिटा प्लस’ उत्पादनका लागि मूल्य निर्धारण बाहेक सबै काम सम्पन्न भइसकेको कम्पनीका महाप्रबन्धक डा. रोमसकुसुम सुवेदीले जानकारी दिए । पहिलो चरणमा ‘सिटा प्लस’ १ लाख ट्याबलेट बजारमा आउने तयारी भैरहेको छ । सरकारी कम्पनीले उत्पादन गर्ने सिटा प्सल निजी कम्पनीको भन्दा प्रति पत्ता २ रुपैंयाँ सस्तो हुने सुवेदीले दावी गरे । हाल निजी कम्पनीहरुले उत्पादन गरेको सोही प्रकृतिको औषधिको मूल्य बजारमा प्रति पत्ता २० रुपैँया छ । औषधी लिमिटेडले उत्पादन उत्पादन गर्दै आएको सिटामोल, जीवनजल र ग्लिसिरिन जस्ता उत्पादनहरु समेत निजी कम्पनीको भन्दा सस्तोमा बजारमा बिक्री भैरहेको छ । तत्कालिन उद्योग मन्त्री नवीन्द्रराज जोशीले औषधि उद्योगबाट पुनर्उत्पादन सुरु गरी सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस समेत ८ प्रकारका औषधीहरु उत्पादन गरेका थिए । २०६० सालतिर ५५० जनासम्म कर्मचारी भएको र १२० प्रकारका औषधी उत्पादन गरेको कम्पनीको पुनर्उत्थानसँगै हाल कम्पनीले औषधि उत्पादनको संख्या बढाउँदै लगेको छ ।
प्लान इन्टरनेशनलका ७६ कर्मचारी बर्खास्त, बालबालिकाको हितमा काम गर्ने संस्थाभित्र कर्मचारी शोषण
काठमाडाैं । प्लान इन्टरनेशनल नेपालमा कार्यरत ७६ जना कर्मचारी बर्खास्त भएका छन् । संस्थामा कार्यरत विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्रविधि संयोजक पदमा कार्यरत कर्मचारी स्काइप बैठकमा डोनर एजेन्सीले बर्खास्तको निर्णय सुनाएको पीडित कर्मचारीले बताएका छन् । पूर्व सूचना बिना २४ अक्टोबर तारिक मध्यान्नको स्काइप बैठकमा एक्कासी गैरकानूनी, अपमानजनक र अन्यायपूर्ण ढंगले वर्खास्तको निर्णय सुनाएको र ३१ डिसेम्बरदेखि लागूू हुने गरी बर्खास्तीको पत्रसमेत दिएको पीडितहरुले बताएका छन् । संस्थामा १० देखि २० वर्षसम्म कार्यरतस्थायी कर्मचारीहरूलाई संस्थाको पुनर्संरचनाको नाममा अन्यायपूर्ण तरिकाले बर्खास्त आफूहरुको आत्मसम्मानमा चोट पार्नुको साथै नेपालको प्रचलित कानूनको ठाडो उल्लंघन भएको प्लान इन्टरनेशनलका कर्मचारीको गुनासो छ । प्लान इन्टरनेशनलले कर्मचारीहरूसँग समझौता गर्दा ‘नियमित र स्थायी कर्मचारी’ भनी भनिएको छ तथा स्वतः अवकाश हुने उमेर ६२ वर्ष तोकिएको बताइएको छ । एकतिर पद नै आवश्यक नभएको भन्ने तर अर्कातिर विद्यमान स्थायी कर्मचारीहरूलाई बर्खास्त गरी सोही पदमा बाहिरबाट व्यक्तिहरूलाई तत्कालै बहाल गरिएको कर्मचारीको दावी छ । यसमा उच्च व्यवस्थापनमा संलग्न स्वेच्छाचारी निर्णयका पक्षपोषक विदेशी मूलका नेपालका लागि डाइरेक्टर र तिनका सीमित नेपाली दलाल कर्मचारीहरूको चलखेल र मिलेमतो भएको उनीहरुको आरोप छ । कर्मचारी बर्खास्त गर्ने सो संस्थाको निर्णय प्रचलित श्रम ऐन २०७४ दफा १४५ विपरीत उनीहरुको निष्कर्ष छ । यस अघिसमेत प्लान इन्टरनेशनल नेपालले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरूलाई संस्थाबाट निष्कासन गरेको र पूर्ण कार्यअवधिको क्षतिपूर्ति नदिएको र त्यसको मुद्दासमेत अहिले सर्वोच्चमा चलिरहेको र पैसा तथा पावरको भरमा यस संस्थाले सरकारी तथा न्यायिक निकायलाई समेत प्रभावित गर्ने गरेको सम्बन्धित कर्मचारीहरू बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने यस संस्थाको उच्च व्यवस्थापनले नेपालमा गरेका धेरै कार्यहरु विवादमा पर्दै आएका छन् । कर्मचारी कटौतीको निर्णयका विरुद्घ पीडित कर्मचारीहरू प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय कार्यालयमा चरणवद्ध, शान्तिपूर्ण तथा अनिश्चितकालीन विरोधका कार्यक्रम संचालन गरिरहेका छन् ।
नेपालले गर्दै अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी, ४० जिल्लाका विद्यार्थी सहभागी
काठमाडौँ । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्थाको रुपमा रहेको छ । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले बताएका छन् । छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । प्रतियोगीका बिचमा वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । गतवर्ष पहिलो पटक भएको र तयारीका लागि कम समय भएकाले त्यो सच्चाएर प्रतियोगितामा सहभागी हुने फाउण्डेसनको लक्ष्य छ । हामीले सकेसम्म राम्रो तयारकिा लागि अहिलेदेखि नै जुटेका छन् । नेपालले गतवर्ष नै ओलम्पियाडको सदस्यता पाएको थियो । रासस
जुम्लाबाट १७ करोडको स्याउ निर्यात, करीब १४ हजार घरधुरी स्याउ खेतीमा
काठमाडौं । जुम्लामा यस वर्ष १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भएकामा दुई हजार ३०० टन स्याउ निर्यात भइसकेको छ । आठ वटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करीब ३०० व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ । व्यापारीले सरदरमा प्रतिकिलो ५० का दरले कृषकबाट स्याउ खरीद गरेका हुन् । उत्पादन भएका स्याउ काठमाडौँ, सुर्खेत, विराटनगर, पोखरालगायत देशका प्रमुख शहरमा निर्यात गरिन्छ । यस वर्ष प्रतिकूल मौसमका कारणले स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले बताएका छन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाको तीन हजार ४५० हेक्टर जमीनमा स्याउ खेती गरिन्छ । गत वर्ष तीन हजार ७०० टन स्याउ निर्यात भएको थियो । जुम्लाका कूल १८ हजार घरधुरीमध्ये करीब १४ हजार घरमा स्याउका बगैँचा रहेको छ । रासस
सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार देवकोटा र बरालले पाउने
काठमाडौं । यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कृष्णज्वाला देवकोटा र अरुण बरालले पाउने भएका छन् । सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिद्धारा पत्रकार देवकोटा र बरालले ५ लाख राशीको उक्त पुरस्कार जनही दुई लाख ५० हजार रुपैयाँ पाउने भएका हुन् । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनौट समितिको बैठकले पुरस्कार वितरण गर्ने भएका छन् । उक्त बैठकले पुरस्कार अग्रज पत्रकारहरुको उपस्थितिमा यही मंसिर २४ गते प्रदान गर्ने निर्णय गरेको छ । लामो समयदेखि पत्रकारितामा संलग्न रहनु भएका पत्रकार देवकोटा छापा पत्रकारितामार्फत नयाँ ढाँचामा समाचार सामग्री सम्प्रेषण गर्दै आएको नयाँ पत्रिका दैनिकका प्रधान सम्पादकको रुपमा रहेका छन् । त्यस्तै, पत्रकार बराल अनलाइन सञ्चारमाध्यमको रुपमा अनलाइन खबर डटकमका सम्पादक हुन् ।
कृषि ज्ञानकेन्द्रमा न काम छ न तलब नै, हाजिर गरेर घर फर्कन कर्मचारी बाध्य
काठमाडौं । प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रका लागि सरकारले कार्यक्रम र बजेटको व्यवस्था नगर्दा त्यहाँ कार्यरत कर्मचारी अन्योलमा रहेको छ । कार्यक्रम र बजेटअख्तियारी नआएकै कारण काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हेर्ने गरी काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना भएको कृषि ज्ञानकेन्द्र यतिबेला सुनसान रहेको छ । कार्यालयको संरचनाअनुसार कार्यालय प्रमुखसहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा करीब दुई हप्तादेखि १३ जना कर्मचारी हाजिर भइसकेको भए पनि कार्यक्रम नहुँदा कार्यालय आउने हाजिर गर्ने र फर्कन बाध्य रहेका छन् । कार्यालय प्रमुख, सात जना अधिकृत, तीन जना प्राविधिक सुब्बा, एक जना लेखापाल, एक जना खरिदार, तीन जना कार्यालय सहयोगी र एक जना चालकको गरी १७ जनाको दरबन्दी रहेको छ । जसमध्ये अहिले तीन जना अधिकृत र एक जना खरिदार गरी चार जनाबाहेक १३ जना कर्मचारी दैनिक कार्यालय आउने र हाजिर गरेर फर्कने गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालयबाट कृषि ज्ञान केन्द्रमा परिवर्तन भएपछि पहिलो कर्मचारीका रुपमा दैनिक कार्यालय सञ्चालन गर्दै आएको लेखापाल अखिल खड्काले बताएका छन् । कार्यक्रम नहुँदा कार्यालय आउने हाजिर गर्ने र फर्किनेबाहेक केही भएको कार्यक्रम र बजेट नहुँदा दैनिक प्रशासनिक खर्च र तलब खानसमेत नपाएको जनाएका छन् । मङ्सिर लाग्दा पनि तलब नआएको हुनाले धेरै समस्या ब्यहोरिरहेको अधिकृत थर्क जिसी बताएका छन् । तलब खान नपाउँदा विशेष गरी बाहिरबाट आउने कर्मचारीलाई धेरै समस्या भइरहेको छ । प्रथम चौमासिकको कार्यक्रम अहिलेसम्म कुनै पनि गर्न पाइरहेको छैन, कार्यक्रम नहुँदा न त काम छ, न त तलब नै, खासगरी प्रशासनिक खर्च र तलब भत्ता नदिँदा कर्मचारी ठूलो मर्कामा परेका छन् । संविधानको सङ्घीय संरचनाअनुसारको नयाँ कार्यालय भएकाले हाललाई कुनै पनि कार्यक्रम छैन । कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले अहिले नियमितरुपमा गर्ने काम साल्ट टे«डिङ कम्पनीमा किसानलाई मलखादको सिफारिश, कृषि सामग्री कम्पनीमा बीउबिजन र बिक्रेताको नवीकरण गर्नुपर्ने र विषादी बिक्रेताको नवीकरण जुन नियमितरुपमा गर्नुपर्ने काममात्रै गर्दै आएका छन् । किसानका बीचमा गर्नुपर्ने कार्यक्रम भने कुनै पनि शुरु नभएको भन्दै कार्यक्रम र बजेट नभएका कारण कृषि ज्ञानकेन्द्रमा काम गर्ने आफूलगायत सबै कर्मचारीले साउनदेखि तलबसमेत खान नपाएको कार्यालय प्रमुख अधिकारीले बताएका छन् । रासस