विकासन्युज

भारतीय ठूला नोटमाथिको प्रतिबन्ध नेपाली अर्थतन्त्रका हितमा, साना नाेट पनि राेक्न सुझाव

काठमाडौं । २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथीको प्रतिबन्ध नेपाली अर्थतन्त्रको हित रहेकाे विज्ञ र व्यवसायीले बताएका छन् ।  मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पूर्व प्रशासक, अर्थविद र उद्यमीहरुले सरकारको निर्णयले नेपाली अर्थतन्त्र र राष्ट्रिय हित प्रवद्र्धन गर्ने टिप्पणी गरेका छन् । ‘नेपाली मुद्राको हितका लागि भारुमाथीको प्रतिबन्ध राम्रो छ । सीमा क्षेत्रमा भारतीय नोट धेरै चल्छ । भारुको अधिक प्रयोग रोक्न र नेपाली नोटको उपयोग र विश्वसनियता बढाउन पनि सरकारी निर्णय ठिक छ’, पूर्व अर्थ सचिव शान्तराज सुवेदीले विकासन्युजसँग भने । अर्थविद केशब आचार्यले पनि भारतीय मुद्रा माथिको प्रतिबन्धले राष्ट्रिय हित प्रवद्र्धन गरेको टिप्पणी गरे । आचार्यले  नेपालमा भारतीय नोटमाथि पूर्ण प्रतिबन्ध नै लगाउनुपर्ने धारणा समेत राखे । ‘हाम्रो देशमा हाम्रो मात्रै मुद्रा मात्रै चलाउनु पर्छ । भारु, चिनियाँ वा डलर चल्न दिनु हुन्न । पञ्चायत कालमा भारु चलाउँदा २ हजार जरिवाना र २ वर्ष कैदको व्यवस्था थियो । पछि छाडा छोडियो, अहिले चोक चोक र गल्ली गल्लीमा भारु भेटिन्छ । नेपालमा विदेशी मुद्रामा पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । भारुले नेपाली मुद्रालाई कमजोर बनाउँछ, ७३ सालदेखि आफ्नै मुद्रा छ, भारु चलाउनु आवश्यक छैन’, आचार्यले भने । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उद्यमी भरतराज आचार्यले पनि भारु २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा रोक लगाउने निर्णय नेपाली अर्थतन्त्रका हितमा रहेको बताए । भारुमा पुरै प्रतिबन्द लगाऔं- केशब आचार्य, अर्थविद नेपालको आफ्नै मुद्रा छ, भारतीय मुद्रा हाम्रो होइन । नेपालभित्र भारतीय मुद्राको खुल्ला कारोबार गर्ने कुरा ठिक होइन् । अर्काेतिर तस्करी गर्ने काम ठुला मुद्रामा हुन्छ, त्यसलाई रोक्न पनि ठूला मुद्राहरुको प्रयोगलाई रोक्नु आवश्यक छ । नेपालको अर्थतन्त्रमा आफ्नै पकड कायम गर्न र मुद्रास्फीती नियन्त्रणमा गर्न पनि भारु कारोबार रोक्नु आवश्यक छ । म त भन्छु नेपालमा भारु माथी पुर्ण प्रतिबन्ध लगाउनुपर्छ । सय रुपैंयाँको कारोबार पनि रोक्नु पर्छ । नेपालमा हाम्रो मुद्रा मात्रै चलाउनु पर्छ । भारु, चिनियाँ वा डलर चल्न दिनु हुन्न । पञ्चायत कालमा भारु चलाउँदा २ हजार जरिवाना र २ बर्ष कैदको व्यवस्था थियो । पछि छाडा छोडियो, अहिले चोक चोक र गल्ली गल्लीमा भारु भेटिन्छ । नेपालमा विदेशी मुद्रामा पुर्ण प्रतिबन्ध लगाउनुपर्छ । भारुले नेपाली मुद्रालाई कमजोर बनाउँछ । नेपालले आफ्नै मुद्रा छाप्न थालेको ७३ बर्ष भैसक्यो । अब भारु चलाउनु आवश्यक छैन । देशको अर्थतन्त्र जोगाउने हो भने भारतीय मुद्रा माथी पुर्ण प्रतिबन्ध लगाउनुपर्छ । नेपाली अर्थतन्त्र आफ्नै नियन्त्रणमा ल्याउन सघाउँछ – शान्तराज सुवेदी, पूर्व सचिव दुई देशबिच सहमति गरेर एक अर्काे देशका नागरिकले अर्काे देशको मुद्रा २५ हजार रुपैंयाँसम्म चलाउन पाइने व्यवस्था थियो । ५ सय र एक हजार दरका भारुमाथी प्रतिबन्ध लगाएपछि नेपालमा रहेका सो दरका नोट सटही समस्या बनिरहेको छ । सय भन्दा माथीका भारतीय नोटमा नक्कलीको समस्या आईरहेको छ र भारतले त्यसमा नेपाललाई जोड्ने प्रयास गरिरहेको छ । त्यसकारण २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाउने सरकारको निर्णय ठिक छ । तर पुरै प्रतिबन्ध लगाउने समय चाँही अहिले भैसकेको ेछैन् । खुल्ला सिमा, व्यापार, सांस्कृतिक सम्बन्धका कारण पुरै प्रतिबन्ध लगाउन हतार गर्नु हुन्न । नाका नाकामा भारत जान चाहनेहरुलाई सटही सुबिधा दिन सक्नुपर्छ । त्यस्तो गर्न नसक्दासम्म पुरै प्रतिबन्ध लगाउन गाह्रो छ । सय रुपैंयाँका नोट चलाउन दिँदा अहिलेलाई खासै समस्या नहोला । तर नेपाली मुद्रा र अर्थतन्त्रको हितका लागि ठुला दरका भारतीय नोटमाथीको प्रतिबन्ध राम्रो निर्णय हो । उद्योगी व्यवसायीलाई केहि असर गर्दैन – भरतराज आचार्य, उद्योगी नेपालमा एक सय रुपैंयाँ दरका भारतीय नोट पहिलेदेखि नै चलनमा थियो । २ सय, ५ सय र २ हजार दरका नोट चलनमा रोक लगाउँदा नक्कली नोट र सुरक्षाको कुरा जोडिएको हुन सक्छ । यी दरका भारु नोटमाथिको प्रतिबन्धले नेपालमा खासै ठूलो असर गर्दैन । यसले नेपालको उद्यमशिलता र अर्थतन्त्र, कारोबारमा ठूलो प्रभाव पार्दैन। भारतले ५ सय र हजार दरका नोट नसाट्दाको कारण पनि नेपाल सरकारले यस्तो निर्णय गरेको हुन सक्छ । नेपाल र भारत धार्मिक र सांस्कृतिक रुपले पनि जोडिएका मुलुक हुन् । नागरिक नागरिकको सम्बन्ध पनि छ । नेपाल आउने भारतीय पर्यटकका लागि सटही सुबिधामा केहि जटिलता आउन सक्छ की भन्ने हो तर अहिले त डिजिटल भुक्तानी प्रणाली आईसकेको छ । त्यसकारण ठूला दरका भारतीय नोट माथीको प्रतिबन्धले नेपालको अर्थतन्त्र र उद्यमशिलता प्रवद्र्धनमा कुनै असर गर्दैन। बरु यो त देशको अर्थतन्त्रकै पक्षमा छ ।

टिभिएस जुपिटर क्लासिकको अटम ब्राउन अब नेपाली बजारमा

काठमाडौं । जगदम्बा मोटर्स, नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरकले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा अाएको छ । १ लाख अन्ठानब्बे हजार नौं सय मूल्य रहेको टिभिएसको जुपिटर क्लासिक अटम ब्राउनको नेपाल भरि नै खरिद गर्न सकिने भएको छ । पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक अटम ब्राउन सडकमा गुडाउँदा चलाउन निकै सजिलो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । ‘टिभिएस जुपिटर क्लासिक अटम ब्राउन’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ । उक्त टिभिएस जुपिटर क्लासिक आज नेपाली युवाहरु माझ लोकप्रिय साधनको रुपमा स्थापित भएकाे छ ।

ईन्जिनियर्स एशोसियनकाे चुनाव आज, १३० पदका लागि २७५ जना प्रतिस्पर्धा गर्दै

ललितपुर । नेपाल ईन्जिनियर्स एशोसियनको ३२ औं कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि आज निर्वाचन हुँदैछ । केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६। १६ पदका लागि चुनाव हुन लागेको हो । एशोसिएसनको कार्यकारिणी समितिको पदावधि २ बर्षको हुने प्रावधान छ । निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ । लोकतान्त्रिक समूहको तर्फबाट केन्द्रीय कार्यकारिणी समितिमा ई. प्रा. हिरेन्द्रमान शाक्य अध्यक्षमा उठनुभएको छ । यो समूहबाट उपाध्यक्षमा ई.डा. चन्द्रिकाप्रसाद भट्ट,महासचिवमा ई.अभिमन्यूलाल सिंह,उपमहासचिवमा ई.अशोककुमार शाह,कोषाध्यक्षमा ई.आ. अपिल के.सी र सहकोषाध्यक्षमा ई.जानुका थापा चुनावी मैदानमा छन् । त्यस्तै १२ जना सदस्यहरुमा ई.सागर श्रेष्ठ,ई.सुजन भट्ट,ई.प्रकाश बुढा, ई. अनिल मानन्धर,ई.सूर्यबहादुर पाण्डे,ई.राजेन्द्र दुलाल,ई.एभरेष्ट के.सी.,ई. ज्योतिमणि भट्टराई,ई.भेषराम पोखरेल,ई.उमेशप्रसाद चौधरी,ई.सुदर्शन भण्डारी र ई.दिनेश अर्याल उम्मेदवार बनेकाे छन् । प्रगतिशील ईन्जिनियर समूहको तर्फबाट एशोसिएसनको निर्वाचनमा प्रा.डा. त्रिरत्न बज्राचार्य अध्यक्षमा, उपाध्यक्षमा ,उपाध्यक्षमा ई.आषिश घिमिरे,महासचिवमा ई.छविलाल पोखरेल, उपमहासचिवमा ई.कपिल आचार्य,कोषाध्यक्षमा ई.रामइकवाल यादव,सहकोषाध्यक्षमा आ.चाँदमाला श्रेष्ठ उम्मेदवार बनेकाे छन् । सदस्यहरुमा ई.प्रताप सापकोटा,ई.छविलाल अधिकारी,ई.शिव चापागाई,ई.दीलिपकुमार विश्वकर्मा,ई.टेकबहादुर कटुवाल,ई.दीपेन्द्र जम्कट्टेल,ई.ज्ञानेन्द्रप्रसाद कलौनी,ई.गजेन्द्रकुमार झा,ई.चक्र चूडामणि भट्ट,ई.रोशन भट्टराई,ई.सुगन्ध सुवेदी र ई.अनिल नेपाल उम्मेदवार छन् । दुवै समूहले व्यवसायिक हकहितका बारेमा घोषणा पत्र पनि जारी गरेका छन् । लोकतान्त्रिक समूहले जारी गरेको घोषणापत्रमा गुणस्तरीय इन्जिनियरिड. शिक्षा, ईन्जिनियरहरुको सेवा,सुविधा तथा क्षमताको अभिबृद्धि,इन्जिनियरहरुको सम्मानजनक रोजगारी,इन्जिनियरिड. सम्बद्ध निजी क्षेत्रको विकास र इन्जिनियरको हकहितसहित विविध विषयहरु उठाइएका छन् । दुवै समूहले प्रदेशस्तरमा पनि प्यानलमै उम्मेदवारहरु उठाएका छन् । प्रादेशिक कार्यकारिणी समितिले प्रदेशस्तरको इन्जिनियरिड. शिक्षा, पेशागत संगठन र पेशागत हकहितका विषयलाई मुद्दा बनाएका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसनको संघीय संरचना अनुरुप संशोधित विधान अन्तरगत रहेर भैरहेको चुनावलाई स्वच्छ,निश्पक्ष र दवाव र प्रभावबाट मुक्त राख्न निर्वाचन समितिले मतदानस्थलमा मोवाईल लैजान र फोटो खिच्न निषेध गरेको छ । एशोसिएसनबाट वितरण गरिएको परिचयपत्र नक्कली बनाउन सक्ने जोखिमलाई ध्यानमा राखेर त्यसका अतिरिक्त आफ्नो परिचय खुल्ने नेपाल सरकारले दिएका परिचयपत्रहरु जस्तै नागरिकताको प्रमाणपत्र, लाईसेन्स, कर्मचारी परिचय पत्र पनि साथमा ल्याउन निर्वाचन समितिले अनुरोध गरेको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औं कार्यकारिणी समिति तथा प्रादेशिक कार्यकारिणी समितिको लागि आज हुने मतदान कार्यक्रमको समय बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको छ ।

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद पुस १७ गतेदेखि, क-कसले पाउँछन् हकप्रद भर्न ?

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैंया बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । हाल करिब ५४ करोड चुक्ता पुँजी भएको इन्स्योरेन्सको उक्त हकप्रद जारी गरेपछि चुक्ता पुँजी करिब ९७ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई कम्तीमा १ अर्ब चुक्ता पुँजी पुर्याउन भनेकोमा अपुग बाँकी करिब ३ करोड बराबरको पुँजी बोनस शेयर दिएर पुर्याउनेछ । उक्त हकप्रद शेयरका लागि मंसिर ६ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले आफ्नो खाता रहेको बैंकबाट सीआश्वा मार्फत् आवेदन गर्न पाउनेछन् । शेयर निष्कासन अवधि माघ २१ सम्म रहने इन्स्योरेन्सले जनाएको छ ।

ब्रोकर लाइसेन्स लिने र मर्जरमा जाने विकल्पसहित माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

काठमाडौं । १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको माछापुच्छ्रे बैंकले आफ्नौ २० औं साधारणसभा बोलाएको छ । बैंकको बुधबार बसेको ३८५ औं सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्डमा पुस २० गते बिहान ११ बजे बस्नेगरी साधारणसभा बोलाएको हो । बैंकले साधारणसभामा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र अघिल्लो आवको वित्तीय विवरण र प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित गर्ने साधारण प्रस्ताव माछापुच्छ्रे बैंकले साधारणसभामा पेश गर्ने भएको छ । साधारणसभाले संस्थपक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको निर्वाचन समेत गर्ने भएको छ । त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा गाभिने तथा विदेशी साझेदार भित्र्याउने सम्बन्धमा निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत साधारणसभामा पेश गरिने भएको छ । बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरी बीमा व्यवसाय, भेञ्चर क्यापिटल, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ लगायतका कार्यहरु गर्ने एजेन्डा समेत साधारणसभामा पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ६ गतेदेखि शेयरधनी किताब खाता बन्द गर्दैछ । पुस ५ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले तोकिएको १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । सञ्चालकको उम्मेदवारका लागि भने कम्तीमा १०० कित्ता संस्थापक शेयर आफ्नो नाममा रहेको हुनुपर्नेछ ।

फर्कियो चिनियाँ रेल वेको टोली, यस्ता भए सहमति

काठमाडौं । पाँच दिने नेपाल भ्रमण सकेर चिनियाँ रेल वे प्रशासनको टोली फर्किएको छ । आइतबार नेपाल भ्रमणमा आएको टोलीले केरुङ–काठमाडौं रेल मार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको थियो । टोलीले केरुङ–काठमाडौं रेलमार्ग र काठमाडौं–पोखरा रेल मार्गको स्थलगत अध्ययन गरेको थियो । आइतबार नेपाल आएर बिहिबार चीन फर्किएको टोलीमा चीनको राष्ट्रिय रेल वे प्रशासनका उप प्रशासक आन लु सङ नेतृत्वमा १५ सदस्यिय प्रतिनिधी मण्डल सहभागी थियो । यस्ता भए सम्झौता १) रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार नेपाल–चीन रेल वे सहयोग सम्बन्धमा तेश्रो बैठक सम्पन्न भयो । पहिलो बैठकमा नेपालमा, दोश्रो चीन चीनमा बसेको थियो । तेश्रो बैठक पुनः नेपालमा भयो भने चौथो बैठकका लागि नेपाली टोली आगामी ३ महिनाभित्र चीन जाने तय भएको छ । २) केरुंङ–काठमाडौं रेलमार्गको पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन आधिकारीक रुपमा नेपालले प्राप्त गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव सचिव मधुसुदन अधिकारीले उक्त प्रतिवेदन ग्रहण गरेका थिए । टोलीमा अर्थ, परराष्ट्र, गृह, वन र कानुन मन्त्रालयका प्रतिनिधी पनि सहभागी थिए । ३) नेपालमा रेल वे जनशक्ति विकासका लागि आगामी दिनहरुमा चिनियाँ पक्षले सहयोग गर्ने प्रतिवद्धता व्यक्त भयो । ४) चौथो बैठकका लागि ३ महिनाभित्र चीन जाने नेपाली टोलीले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको मोडालिटी प्रस्ताव गर्नेछ । सो मोडालिटीमा सहमति भएको अवस्थामा विस्तृत सम्भावव्यता अध्ययन आरम्भ हुनेछ ।

नेपाल इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको लागि ६५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख १४ हजार ६५१ कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिएर ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ रहेको छ । ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंकले पूर्व प्रहरीलाई सरल कर्जा दिने, पेन्सन पट्टा धितो राख्नुपर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पूर्व प्रहरीहरूलाई सरल कर्जा दिने भएको छ । बिहीबार नेपाल पूर्व प्रहरी संगठनको साधारणसभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंकबीच सो सम्बन्धि दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्तराज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकले पेन्सन पट्टा धितो राखेका पूर्व प्रहरीहरुलाई कर्जा दिने बताएकाे छ । पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कोईरालाले यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकास हुने बताएका छन् । साथै, कार्यक्रममा प्रतिनिधि सभा सदस्य नवराज सिलवालले यस्ता कार्यक्रमबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने बताएका छन् । यसअघि नै नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छ्रे बैंकले बिर्तामोड, काठमाडौं, चितवन तथा दाङ्गमा सरल कर्जा सम्बन्धि बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरिसकेको छ । साथै, बैंकले आगामी दिनमा देशका अन्य क्षेत्र तथा जिल्लाहरुमा उक्त कार्यक्रम संचालन गर्ने प्रतिबद्घता जनाएको छ ।