विकासन्युज

नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा सिराहामा, प्रदेश न.२ का अर्थमन्त्रीले गरे उद्घाटन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सिराहा जिल्लाको भगवानपुर बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन प्रदेश न.२ को अर्थमन्त्री बिजयकुमार यादव, नेशनल माइक्रोफाइनान्सका संचालक समितिको अध्यक्ष केशवप्रसाद आर्चाय, पुर्व मन्त्री राजलाल यादव, भगवानपुर गाउँपालिकाको अध्यक्ष बेचनप्रसाद यादव र संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामबहादुर यादवले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा भगवानपुर गाउँपालिकाको उपाध्यक्ष सितादेवी यादवसहित करिब एक हजार जनाको सहभागीता रहेको थियो । संस्थाको सीईओ यादवले लघुवित संस्थाको आवश्यकता प्रभावकारीताको साथै संस्थाको सुरुवातदेखि हालसम्मको प्रगतिको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा विस्तृत रुपमा जानकारी गराएका छन् । साथै, उनले शाखा कार्यालयको उत्तरोतर प्रगतिको कामना गरेका छन् । कार्यक्रमको संचालन विभागीय प्रमुख विजयकुमार घिमिरेले संचालन गरेका थिए । संस्थाले चालु आर्थिक वर्षको २०७५ असोज मसान्तसम्ममा ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा २ अर्ब ६३ करोड रुपैयाँ र बचत ८४ करोड रुपैयाँभन्दा बढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ । साथै, ग्राहकहरुमा उद्यमशिलता विकास गर्नका लागी आवश्यकता पहिचान गरि सीप विकाश तालिम तथा कार्यक्रमतर्फ मुख्य ध्यान दिने सीईओ यादवले बताए ।

२ छुट्टाछुट्टै स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाण्डौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवाको विस्तार भएको छ । २७ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १, मानेदोभानमा र २८ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. १८, धरमपुरमा शुरू गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं. १० का वडा सदस्य श्री छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले २७ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए भने २८ औँ शाखारहित बैंकिङ्ग सेवा रामग्राम नगरपालिकाका मेयर नगेन्द्रकुमार गुप्ता र बैंकका प्रदेश नं.५ को प्रमुख राजेन्द्र घिमिरेले उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २८ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जानकारी दिएको छ ।

तथ्याङ्क भन्छ- निक्षेपको ब्याजदर घट्दैमा शेयर बजार बढ्दैन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजले बजार परिसूचक प्रत्यक्ष रुपमा असर नगर्ने तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा निक्षेपमा दिइने ब्याजदरले नेप्से परिसूचकलाई एकदमै न्यून प्रभाव पार्ने देखाएको हो । नेपाल राष्ट्र बैंकको २०६९ सालको असार मसान्तदेखि २०७५ असार मसान्तसम्मको वाणिज्य बैंकहरुको भारित औसत ब्याजदरसम्बन्धी वास्तविक तथ्याङ्कमा आधारित उक्त अध्ययनले निक्षेपमा हुने ब्याजदर परिवर्तन र यसले शेयर बजारमा पार्ने प्रभाव नकारात्मक हुने देखाए पनि त्यसको प्रभाव अत्यन्तै न्यून रहेको देखाएको हो । यी दुई चरहरुबीचको सहसम्बन्ध –०.०९ रहेको जनाइएको छ । यसले ब्याजदरमा हुने १ प्रतिशतको सकारात्मक परिवर्तनले शेयर बजारमा ०.०९ प्रतिशत गिरावट ल्याउँछ । तर कर्जाको ब्याजदरसँग भने शेयर बजारको ऋणात्मक र उच्च सहसम्बन्ध हुने देखाइएको छ । यो दर –०.५४ प्रतिशत रहेको देखाइएको छ । यसको अर्थ ब्याजदरमा हुने १ प्रतिशतको परिवर्तनले शेयर बजारमा ०.५४ प्रतिशत गिरावट ल्याउँछ । निक्षेप तथा कर्जाकाे ब्याजदर सम्बन्ध भने उक्त अवधिमा ०‍.८४ प्रतिशत हुने देखाइएकाे छ । याे भनेकाे ‘पर्फेक्ट काेरिलेटेड’ सँग नजिक हाे । यसप्रकार निक्षेपकाे ब्याजदरले शेयर बजारलाई प्रत्यक्ष रुपमा असर नगरे पनि कर्जाकाे ब्याजमार्फत् भने असर गर्ने देखिएकाे छ ।

सन् नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा जागरण तथा दाबी रकम भुक्तानी

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा धनगढी कार्यक्रमबीच बीमा जागरण तथा मृत्यु दाबी रकम भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा बीमित स्व. दिनेश कुवँरको श्रीमती लक्ष्मी कार्कीलाई रु १० लाख २६ चेक मार्फत प्रदान गरेका छन् । बीमित स्व. दिनेश कुवँरले ४० हजार ०१८ बीमा शुल्क भुक्तानी गरि ५ लाख १३ हजार बीमाङ्गको जीवन बीमा गरेको २३ दिनमै दुर्घटनामा परि मृत्यु भएको हो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधि र धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैशीको उपस्थिति रहेको थियो ।

तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ- चन्द्रप्रसाद ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको निजी क्षेत्र तीनै तह(स्थानीय, प्रादेशिक र केन्द्रिय)का सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले सो कुरा बताएका हुन् । ढकालले देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर्दै निजी क्षेत्रको सहभागिताले देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्ने विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रम नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई प्रदेश नम्बर ३ का मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधिहरू एवम् विभिन्न उद्योगी व्यवसायीहरूले सम्बोधन गरेका थिए ।

मधुसुदन उपाध्यायको नेतृत्वमा सोट्टो-नेपाल, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं। सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल (सोट्टो-नेपाल) को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक साधारण सभाले मधुसुदन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे । कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्धित्तीय उपाध्यक्षमा मानबहादुर शाही, महासचिवमा भुवनबहादुर पाण्डे, सचिवमा दिनेश अर्याल, कोषाध्यक्षमा देवराज खनाल र सह-कोषाध्यक्षमा भुवनदेवी महर्जन चयन भएका छन् । यस्तै सदस्यहरुमा इन्दिरादेवी गौतम, सविन खड्का, कमलबहादुर मगर, गंगाप्रसाद गिरी(सागर), आनन्दकुमार क्षेत्री(विश्वास), रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन् । साधारणसभामा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्प कँडेलले अहिले योजना आयोगले दीर्घकालिन योजना तय गर्ने प्रक्रियामा अगाडि बढेको जानकारी दिएका छन् । साे अवसरमा पर्यटन क्षेत्रका आवश्यक सुझाव प्रस्तुत गर्न पर्यटन क्षेत्रका विज्ञ एवं व्यवसायीलाई आग्रह गरे । त्यस्तै, कार्यक्रममा नवनिर्वाचितहरुलाई बधाई दिँदै लामो समयदेखि पर्यटन क्षेत्रका व्यक्तित्वलाई उत्प्रेरणा दिँदै आएका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले गफमा भन्दापनि काममा जोड दिन सबै पर्यटन क्षेत्रका व्यक्तित्वलाई आग्रह गरे । सो अवसरमा उनले पर्यटनका योजनाहरु निबन्ध लेखेजस्तो भन्दा पनि ठोसरुपमा कार्यान्वयन हुनेतर्फ केन्द्रित बनाउनुपर्नेमा योजना आयोगको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा पर्यटन क्षेत्रमा अन्य संघ-संस्थाका अध्यक्ष तथा पदाधिकारीले पर्यटन क्षेत्रको विकासबारे आ-आफ्नो धारणा राखेका थिए ।

नेपाल चलचित्र विकास कम्पनीको वार्षिक साधारणसभा पुस ३० गते

काठमाडौं । नेपाल चलचित्र विकास कम्पनीले आफ्नो २५औँ वार्षिक साधारणसभा पुस ३० गते डाकेको छ । उक्त प्रयोजनको लागि कम्पनीले गत पुस १० गतेदेखि ३० गतेसम्म बुक क्लोजको घोषणा गरेको छ ।

नेप्से १० अंकले झर्दा ४५ करोडको सेयर कारोबार, सबैभन्दा बढी नेपाल लाइफकाे

काठमाडौं । आइतबारको नेप्से परिसूचक १०.६२ अंकले घटेर १२०४ अंकमा झरेको छ । कारोबार शुरु भएको केही समयदेखि नै ओरालो लागेको बजार करिब २ बजे बढेर १२१३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा परिसूचक पुनः ओरालो लागेर बजार बन्द हुँदा १२०४ अंकमा अडिएको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट देखिएको छ । बिहीबार अर्बौँ बढीको सेयर किनबेच भएको बजारमा आइतबार जम्मा ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन सोही दिनको तुलनामा ६७ करोड रुपैयाँ घटी हो । आइतबार कुल १६८ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन विभिन्न ११ समूह करोबारमा आएका छन् । सोमध्ये ३ समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ५२ अंकले घटेको छ । निर्जीवन बीमा, होटल र उत्पादनमूलक समूह क्रमशः २९, २० र २ अंकले बढेका छन् । दोहोरो अंकले घटेको बजारमा पनि सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले एकैदिन ९.४३ प्रतिशत कमाएका छन् । उता काबेली विकास बैंकका लगानीकर्ताले ९.४४ प्रतिशत गुमाएका छन् ।