बंगलादेशको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई बहुमत
काठमाडौँ । बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग प्रचण्ड बहुमतका साथ विजयी भएको छ । आइतबार भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहोर्याएको छ । अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित दर्ता गर्न सफल भयो । योसंगै प्रधानमन्त्री हसिनाले अर्को कार्यकाल सुरक्षित गर्न सफल भएकी छन् । तर, मुख्य विपक्षी दल बांग्लादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।
मेगा बैंक सहित चार कम्पनीको सेयर मुल्य घट्यो, आज किन्नेले बोनस नपाउने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीको सेयर मुल्य घटेको छ । सोमबार मात्रै मेगा बैंक, हिमालयन बैंक, पूर्णिमा विकास बैंक र माहुली सामुदायिक वित्तीय संस्थाको मूल्य घटेको हो । सो मध्ये मेगा बैंकको सेयर सोमबार प्रतिकित्ता १७५ रुपैयाँमा झरेको छ । जसको आइतबार प्रतिकित्ता १८२ रुपैयाँमा कारोबार बन्द भएको थियो । बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता १८० रुपैयाँ तोकेको छ । बैंकको समायोजन मूल्यभन्दा ७ रुपैयाँ घटेर शुरुको कारोबार भएको छ । त्यस्तै, हिमालयन बैंकको पनि सोमबार सेयर मूल्य झरेर प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार छ । जुन अघिल्लो दिनको तुलनामा ३७ रुपैयाँले घटेको छ । आइतबार यस बैंकको सेयर प्रतिकित्ता ५१४ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको थियो । सोमबार बैंकको सेयर मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६७४ रुपैयाँ रहेको थियो । त्यसैगरी, पूर्णिमा विकास बैंकको पनि सोमबार मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको यस विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । सोमबारको बजारमा यस संस्थाको सेयर मूल्य स्थिर रहेको छ । आइतबार प्रतिकित्ता १६७ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि २० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पश्चात यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १२८३ रुपैयाँ रहेको छ । समायोजन पछि खुलेको पहिलो कारोबार यस संस्थाको सेयर मूल्य घटेको छ । आईतबार प्रतिकित्ता १२८३ रुपैयाँ कारोबार बन्द भएको यस लघुवित्तको सेयर मूल्य सोमबार प्रतिकित्ता १२३४ रुपैयाँसम्म झरेको छ । साथै, सोमबारबाट यी चारवटै कम्पनीले गत वर्षको नाफाबाट बोनस वितरणका लागि आजबाट बुक क्लोज गरेका छन् । आज सेयर किन्नले गत वर्षको नाफाबाट कम्पनीहरुले दिन लागेको बोनस सेयर पाउने छैनन् ।
राष्ट्र बैंकद्वारा ३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री खुल्ला
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपैयाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार जारी गरेको हो । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने ऋण उठाउन ट्रेजरी बिल जारी गर्छ । अल्पकालीन आन्तरिक ऋण उठाउन प्रयोग गरिने यस्तो खालको ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिने गरी चार किसिमका हुन्छ । आज खुला गरिने ट्रेजरी बिलको जारी मिति मंगलबारलाई राखिएको छ । सरकारले चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
७४१ बिगाहा क्षेत्रफलमा चितवनकाे शक्तिखोर हरियाली औद्योगिक क्षेत्र बन्दै
काठमाडौं । चितवन जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । देशकै ठूलो औद्योगिक क्षेत्र बनाउन लागिएको उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) को काम सकिएर अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम चलिरहेको छ । शान्ति सम्झौतापछि माओवादी लडाकू राखिएको सो क्षेत्रमा वृक्षरोपण गरिने छ । उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीले नेपालकै नमूना औद्योगिक क्षेत्र बन्ने बताउँदै सो क्षेत्र हरियाली औद्योगिक क्षेत्र हुने जनाएका छन्। उद्योगले लिने जमीनमध्ये २५ प्रतिशत क्षेत्र हरियाली हुनुपर्ने अनिवार्य गरिँदै छ । सो क्षेत्रमा रहेका कतिपय रुख रहनेछन् भने उद्योगको बीचबीचमा धेरै रुख रहेका ठाउँलाई सुरक्षित गरिँदै छ । बाटोको दुबैतर्फ वृक्षरोपण गरिने बताउँदै दुवाडीले जति रुख छन् औद्योगिक क्षेत्र बनेपछि त्यो भन्दा धेरै रुख हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बाहिरबाट मानिसले आएर हेर्न योग्य हुनेगरी हरियाली औद्योगिक क्षेत्र बनाउन सरकारी र निजी क्षेत्र तयार रहेको र ईआइएको काम सकिएर औद्योगिक क्षेत्रको निर्माणको काम शुरु हुन अझै छ महीना लाग्ने भएको छ । औद्योगिक क्षेत्रमा बिजुली, पानी, सडक, ढलसँगै आवास, डिपार्टमेन्टल स्टोर, बैंक, होटल लगायतका सुविधा समेत हुनेछन् । शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिका–३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७४१ बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले एक प्रदेश, एक औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणा अनुरुप प्रदेश नं ३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने चितवन उद्योग सङ्घले निर्माणको अगुवाइ गरिरहेको छ । शक्तिखोर औद्योगिक क्षेत्र पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्दछ । नयाँ उद्योग सञ्चालन गर्न चाहनेलाई पनि ठाउँको अभाव रहेको हुँदा पछिल्ला वर्षमा जग्गाको मूल्य आकासिएपछि उद्योग सञ्चालन गर्न चाहेकाले औद्योगिक क्षेत्रको पर्खाइमा रहेका छन् । सो क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहनेले फाराम भरेर उद्योग सङ्घमा बुझाएकाे छ । रासस
नयाँ बर्षदेखि उपत्यकामा गुड्छन् ३ सय विद्युतीय बस, सांसद भन्छन्- वाइड बडी बस चलाऊ !
काठमाडौँ । आगामी बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने भएका छन् । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रबिधि समितिको बैठकमा सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो कुरा जानकारी गराएका हुन् । २०७६ साल बैशाख १ बाट उपत्यकामा ३०० विद्युतीय बस चल्छन्, मन्त्री महासेठले भने–देशभरी नै विद्युतीय बस चलाउने सरकारको योजना छ, त्यसको शुरुवात काठमाण्डौ उपत्यकाबाट हुँदैछ । समिति बैठकमा मन्त्री महासेठले सडक दुर्घटना अध्ययन गर्न सहसचिव सरोज प्रधानको नेतृत्वमा समिति बनाएको र एक महिनापछि प्रतिवेदन आउने बताए । समिति सभापति कल्याणी खड्काको अध्यक्षतामा बसेको बैठकमा विद्युतीय सवारी साधनको सञ्चालन, चार्जिङ स्टेशनको व्यवस्था के कसरी मिलाउने र सवारी दुर्घटना न्यूनिकरणका लागि के गर्ने भन्ने विषयमा मन्त्री महासेठको ध्यानाकर्षण गराइएको थियो । बैठकमा सांसद केदार सञ्जेलले जहाज मात्र होइन बसपनि वाइड बडी ल्याउनु पर्ने धारणा राखेको थिए ।बैठकमा सभापति खड्काले मृत्यु मार्गहरु कहिले राजमाार्ग बन्छन् भनी प्रश्न गरिन् । माननीय मन्त्रीज्यू, ट्रिपरले किचर नागरिकले ज्यान गुमाउनु पर्ने दिनको अन्त्य कहिले हुन्छ ? हाम्रा सडकहरुले मृत्यु मार्गको उपमा पाइरहेका छन्, बिहान घरबाट निस्किएको मानिस साँझ सकुशल घर फर्कन्छ कि फर्कदैन भन्ने आशंकामा परिवारले बाँच्नु परिरहेको छ । शहरमा ट्रिपर, माइक्रो र मोटरसाइकलको आतंक छ, ग्रामीण भेगमा अप्ठेरो सडक र अधिक यात्रुको चाप छ, यसले यात्राका लागि निस्किएका आफन्त साँझ घर नफर्किएसम्म कोही ढुक्क भएर बस्न सक्ने अवस्था छैन । यस्तो दिन अहिले अन्त्य हुन्छ ? सांसदहरुले धारणा राखेका थिए । सांसद आशाकुमारी विकले भनिन्–बुटवलबाट काठमाण्डौ आउन ५ सयले पुग्छ, कलंकीबाट बानेश्वर आउन ६ सय लाग्छ किन ? यता, हालैको मन्त्री परिषद् बैठकले पनि शक्तिशाली यातायात प्राधिकरण बनाउने निर्णय गर्दै सोही प्राधिकरण मार्फत नै ३०० सय वटा इलेक्ट्रिक बस सञ्चालन गर्ने निर्णय गरेको थियो । पछिल्लो अपडेट :
दाङ जिल्लाको पर्यटन प्रवद्र्धनका लागि ९० करोडको गुरुयोजना, के के बन्छन् संरचना ?
काठमाडौं । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै ९० करोडको गुरुयोजनाको तयारी भएको छ । भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताएका छन्र । ७० करोडको गुरुयोजना बनाएकोमा पहिलेको गुरुयोजनाको केही छुटेको र त्यसलाई समेटेर अब बृहत् गुरुयोजना बनाउने तयारीमा रहेको बताएका छन्र । गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्टा निर्माण, सुनकोटसम्म पुग्नाका लागि चार हजार ९६३ सिँढी निर्माण गर्ने छन् । सिँढी निर्माण गर्दा एक जना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउने छ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यको भनाइ रहेको छ । प्रदेश नं ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।
भ्रमण वर्ष २०२० काे तयारी : एयरपाेर्ट २२ घण्टा चलाउने, हाेटलमा ६ हजार बेड थप्ने
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए । बोर्डले छिमेकी मुलुक चीन र भारत लक्षित प्रभावकारी रुपमा चलाएको प्रवद्र्धनात्मक कार्यक्रमले पर्यटकको सङ्ख्या वृद्धि भएको हो । घुमफिरजस्ता प्रवद्र्धन अभियानले आन्तरिक पर्यटक पनि उल्लेख्य रुपमा बढेका छन् । नेपालीमा विभिन्न गन्तव्यमा घुम्न निस्कने र खर्च गर्ने बानी बढेको छ । सरकारले नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनका लागि सय गन्तव्य घोषणा गरी कार्यक्रम अघि बढाएको छ । सन् २०२० काे अभियान सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक गतिविधि बढाउन विभिन्न समिति बनाएर काम अघि बढाएको छ । होटल एशोसिएशन अफ नेपालका अनुसार अहिले होटलको ‘वेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म करिब छ हजार बेड सङ्ख्या थपिनेछ । अहिलेकै अवस्थामा २५ लाख पर्यटक थान्न सकिने व्यवसायीले बताउँदै आएका छन् । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करीब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । उक्त ऐनको मस्यौदा तयार भई पारित हुने प्रक्रियामा छ । अन्तर्राष्ट्रिय विमानस्थल पुनः कालोपत्र गरिँदै मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमै पहिलोपटक धावनमार्ग पुनः कालोपत्र ‘रनवे रिह्याब’ को प्रक्रिया अघि बढेको छ । पहिला १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल अहिले दैनिक २२ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलको स्वरुप बदलिएको छ । बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यले विमानस्थलमा मुलुकको कला, संस्कृति र पहिचान झल्कने वस्तुको सजावट गरिनुका साथै नयाँ कार्पेट बिछ्याएर सरसफाइले चिटिक्क पारिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल अघिको अव्यवस्थित पाकिङ स्थानान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनका आधार मुलुकमा भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । संस्कृति, पर्यटन मन्त्रालयको अगुवाइमा प्यासिफिक एसिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टरले आयोजना गरेको मार्टमा २६ देशबाट ५९ कम्पनी सहभागी थिए । यस्तै गत भदौ १४ र १५ गते काठमाडौँमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिम्सटेक) सम्मेलनमा सम्बन्धित राष्ट्रप्रमुख पाहुनाको आगमनले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्यो । अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिलाउन सम्मेलन उपयोगी बन्यो । मङ्सिर १५ र १६ गते काठमाडौँमा भएको एशिया प्रशान्त सम्मेलनमा विभिन्न मुलुकका पर्यटक थपिएका छन् । यो सम्मेलनले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको छ । कम्बोडियाका प्रधानमन्त्री, म्यानमारकी नेत्री लगायतले नेपाल भ्रमण गरेका थिए । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्ने सम्झौता भयो । जुन पर्यटन क्षेत्रका लागि उपलब्धि मूलक मानिएको छ । यही पुस १२ गते पर्यटनको लागि महत्वपूर्ण मानिएको पुरातात्विक महत्वको राष्ट्रिय गौरव ‘धरहरा’ को प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्यको यो सम्पदा विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा चल्यो । जुन सन् २०१९ को जुलाइभित्र सञ्चालनमा आइसक्नेछ । बहुप्रतिक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । वर्षभरि पर्यटनका परी घटनाका सकारात्मक र नकारात्मक दुवै पक्ष रहे । फेक रेस्क्युको समाचारले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुल्यो । पर्यटन मन्त्रालयले छानबिन समिति बनाएर आवश्यक कारवाही प्रक्रिया अघि बढायो । रासस
युजरनेम लिएर शेयर काराेबार गर्ने ‘नगन्य’, किन देखिएन अनलाइन काराेबारमा आकर्षण ?
काठमाडौं । कार्तिक २० गते औपचारिक रुपमा सुरु भई मंसिर २३ गतेदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड वितरण सुरु गरिए पनि युजरनेम र पासवर्ड वितरण सुरु भएको करिब १ महिना हुन लाग्दा पनि बजारमा त्यसप्रतिको आकर्षण न्यून देखिएको छ । यसबीचमा करिब ५५० लगानीकर्ताले मात्र युजरनेम र पासवर्ड लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त अवधिमा युजरनेम र पासवर्ड प्राप्त गरेका ९२ जनाले मात्र उक्त एकाउन्टको प्रयोग गरी अनलाइन कारोबार गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । हालसम्म सक्रिय प्रयोगकर्ताको रुपमा कारोबार गरेका युजरले पनि प्रयोगका लागि मात्र सानो रकमको कारोबार गर्ने गरेको ब्रोकरहरु बताउँछन् । हामीले त सबै समस्या सिस्टमको सबै समस्या समाधान नभई युजरनेम र पासवर्ड उपलब्ध नगराऔं भनेका थियौं, तर लगानीकर्ताको दबाबमा छिटो दिइयो, साइटमा देखिएको समस्या कम भए पनि अनलाइन प्रयोग गर्दा आउने समस्याहरु अझै पनि आइरहेकै छ, यस्तो अवस्थामा कसले कारोबार गर्छ ? एक ब्रोकरले टिप्पणी गरे । कारोबारमा पुरानै शैलीमा अभ्यस्त हुनु नयाँ सिस्टमप्रतिको भरोसामा कमी र अनलनइन कारोबार प्रणालीमा उत्पन्न हुनसक्ने झण्झटलाई अनलाइन कारोबारमा आकर्षित नहुनुको प्रमुख कारणको रुपमा लिइएको छ । कारोबारका क्रममा अस्तो समस्या छ भन्नेमा अहिले जोकोही पनि अनभिज्ञ छन् । लगानीकर्ता नेताहरुले समेत हालसम्म अनलाइन कारोबारप्रति चासो नदेखाएको अवस्थामा त्यस्तो समस्या बुझ्ने, समाधान गर्ने र समस्या नभए आम लगानीकर्तालाई विश्वस्त गराउने गरी प्रचार गर्न चुक्दा समेत अनलाइन कारोबारमा आकर्षण कम देखिएको छ ।