विकासन्युज

जथाभावी लगानी गर्ने ४ मर्चेन्ट बैंकरलाई जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम पालना नगर्ने विभिन्न ४ मर्चेन्ट बैंकरलाई जरिवाना गरेको छ । बोर्डले सिबिआइएल क्यापिटल, एनआईसी एशिया क्याापिटल, लक्ष्मी क्यापिटल मार्केट र एनएमबि क्यापिटललाई धितोपत्र सम्वन्धी ऐनको दफा १०१ को उपदफा (७) बमोजिम, कानुनी व्यवस्था उल्लंघनमा पहिलो पटक जरिवाना गरेको हो । क्यापिटलले संचालन गरेका कोष योजनाहरुको लगानीको क्षेत्र अनुसारको सीमाभन्दा बढी हुने गरी लगानी गरेकाले जरिवाना गरिएको बोर्डले बताएको छ । बोर्डका अनुसार योजना व्यवस्थापकहरुको व्यवस्था बमोजिम योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नु पर्ने सीमा तोकिएको छ । बोर्डका अनुसार काठमाडौंको नक्सालमा रहेको एनएमबि क्यापिटल, बानेश्वरमा रहेको लक्ष्मी क्यापिटल मार्केट र डिल्लीबजारमा रहेको सिबिआईएल क्यापिटल प्रत्येकलाई ३५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यस्तै, बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

मुक्तिनाथ विकास बैंकद्धारा कुमारीटोल सुधार समितिलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई सहयोग गरेको छ । कुमारी मन्दिर परिसरमा सिसिटिभी जडानका लागि ७५ हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो । उक्त चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीलाई प्रदान गरेको छ । हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित रहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बैतडीको पाटनमा बीमाजागरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बैतडीको पाटनमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पाटन नगरपालिकाका उपमेयर सरस्वती कोलि लगायत स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रममा महा प्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रष्ट पारेका थिए ।

१५ कम्पनीका भिसा कार्डबाट सामान किन्नुस्, १५ प्रतिशत पैसा फिर्ता पाउनुस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले नयाँ वर्ष २०१९ को शुुभारम्भसँगै ‘भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९’ योजना ल्याएको छ । बैंकले भिसा कार्ड संजालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा नयाँ वर्षको अवसरमा लोयल्टी प्रोग्राम अन्तर्गत ‘सनडे फनडे’ र ‘वाउ ओईनस्डे’ गरी दुुई भिन्न प्रकारको योजना सार्वजनिक गरेकाे हो । ‘सनडे फनडे’ अन्तर्गत यी १५ वटा बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आईतबार भिसा कार्ड मार्फत सामान किन्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ता पाउने छन् । जसका लागि ग्राहकहरुले देशभरका पोस (पोइन्ट अफ सेल टर्मिनल) हरुमा सामान तथा सुविधा खरिद गरी भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेपछि मात्रै आफ्नो खातामा सो मात्राको नगद फिर्ता पाउने छन् । त्यस्तै, ‘वाउ ओईनस्डे’ योजना अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले भाटभटेनी सुुपरमार्केटका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम ७५० रुपैयाँसम्म गिफ्ट भौचर पाउने छन् । भिसा कार्ड संजालसँग हाल सेन्चुरी बैंक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक र युुनाईटेड फाईनान्स आवद्ध रहेका छन् । यो योजनाबाट यी १५ वटै कम्पनीका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् । यस किसिमको योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुुने र सुुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकहरु आकर्षित हुुने बैंकहरुले विश्वास गरेका छन् । यो योजना जनावरी देखि अप्रिल २०१९ सम्म लागू हुुने बैंकले जनाएको छ ।

सुजुकी वर्गम्यान १२५ स्कुटरकाे लन्च सुजुकी शोरुम भरतपुरमा

काठमाडौं । भरतपुर, चितवनको लागि सुजुकी टु व्हिलर्सको आधिकारीक बिक्रेता सेभ ईन्टरनेशनलले सुजुकी बर्गम्यान १२५ बिक्रीको सुरुवात गरेको छ । २ लाख २९ हजारमा बजार मुल्य रहेको उक्त स्कुटरको ५ वर्ष ईन्जिन वारेन्टी रहेको छ । सुजुकीले भरतपुर तथा आसपासका क्षेत्रमा बिक्री, बिक्री पछिको सेवा र पार्टसहरु प्रभावकारी रुपमा प्रदान गरिरहेको सेभ ईन्टरनेशनलका संचालकले बताएका छन् । मिस्टर नेपाल २०१८ का राष्ट्रिय विजेता विकल्पराज श्रेष्ठ र सुजुकी नेपालको तर्फबाट मार्केटिड्ड मेनेजर नवराज कोइराला तथा अन्य अतिथिहरुको रोहवरमा सुजुकी बर्गम्यान १२५को लंचिड्ड तथा विक्री सुरुवात भरतपुरमा गरिएको हो । जापानीज कम्पनी सुजुकी वर्गम्यान १२५ मा १४ ईन्चको ट्युबलेस ठूला टायर दिईएका छ साथै ७ हजार ५ सय आरपिएम,  ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसि.को ईन्जिन रहेको छ ।

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह सक्रिय, होशियार तपाईँ पनि ठगिनु होला है !

काठमाडौँ । सामाजिक सञ्जालमा तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपाईँ त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाईँ ठगिन पनि सक्नुहुन्छ । सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक विदेशीसहित नेपाली नागरिकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा सूचना वा जानकारी पठाई ठगी गर्ने गिरोह सक्रिय रहेको पत्ता लगाएको हो । महानगरीय अपराध महाशाखाले फेसबुक, हवाट्एप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक भुम्लुटार घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने कुसुम कायस्थ र आइभरी कोष्टका ओवोतार अलकाग्नीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ परेका श्रीमान् श्रीमती हुन् । उनीहरुले सामाजिक सञ्जालका अतिरिक्त भारतीय मोबाइल नम्बरबाट फोन गरी तपाईको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट १४ लाख ३४ हजार ९७२ बराबरको ठगी गरेको पाइएको छ । प्रहरीका अनुसार उनीहरुले ठगी गरेको पैसा काठमाडौँका विभिन्न रेष्टुरेन्टमा खर्च गर्ने गरेका थिए । उनीहरु श्रीमान् श्रीमतीका रुपमा काठमाडौँ पेप्सीकोलामा फ्ल्याट भाडामा लिई बस्ने गरेका थिए । महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरुले नेपालका विभिन्न बैंकको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले आठ जनालाई त्यस्तै प्रलोभन देखाई ठगी गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई आइतबार पेप्सीकोलाबाट पक्राउ गरेको र ठगी मुद्दामा अनुसन्धान गरिरहेको जानकारी आज दिएको छ । सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउनसमेत महाशाखाले आग्रह गरेको छ ।

नगरपालिकाले चलायो नगर बस, अरु यातायातभन्दा २५ प्रतिशत सस्तो

डोटी । शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले शुभारम्भ गरे । नगरपालिकाले खरिद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ । नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल ५६ लाख ६० हजारको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावली अनुसार ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरिद गरिएको छ । यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । रासस

कामना सेवा विकास बैंकको ६२ औं शाखा कलंकीमा

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको कलंकीमा नयाँ शाखा विस्तार गरेको छ । ६२औं शाखा स्थापना गरि कारोबार सुरुवात गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको सुरुवात गरेका हुन् । काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ ।