छैठौं नेपाली टोपी दिवसको अवसरमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन
काठमाडौं । ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैठौं नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरेका छन् । कार्यक्रममा उपस्थिती हुनुभएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना गर्नु सबैको दायित्व भएको बताए । सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएका छ । विश्वमा हरेक मुलुकको आ–आफ्ना मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोज्नु पर्ने बताएका छन्र । त्यसका लागि ५ बर्षदेखि विभिन्न अभियानहरु संचालन गर्दै आईरहेको जागरुक युवा अभियान नेपालले अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाएकाे छ । विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गरेको छ ।
नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त
इस्लामावाद । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उहाँको भनाई छ । एयरलाईन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतीपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए । रासस/एएफपी
अपि पावर कम्पनीको खुद मुनाफा ८३ प्रतिशतले वृद्धि
काठमाडौं । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासको बित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस त्रैमासमा रु.३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षकोे तुलनामा ८३ प्रतिशतले वृद्धि भएको देखिएको छ । विद्युत विक्रीबाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो । अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.०८ रहेको छ ।
सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सरकारीभन्दा निजी क्षेत्रप्रति आकर्षित
काठमाडौं। त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले सरकारी सेवाभन्दा निजी क्षेत्रप्रति आकर्षण देखाएका छन् । त्रिविको ४४ औँ दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अङ्क ल्याएर विभिन्न पदक र पुरस्कार पाएकाले निजी क्षेत्रप्रति आकर्षण देखाएका हुन् । उनीहरुले सरकारी सेवा सीमित हुने भन्दै निजी क्षेत्रमा नै आफ्नो भविष्य देखेका छन् । समारोहमा ‘लोकराज ज्ञवाली स्वर्ण पदक’ प्राप्त गर्नु भएका प्रभा त्रिपाठीले सरकारी सेवाभन्दा निजी क्षेत्रमा सेवा गर्ने बताउनुभयो । नेपाल ल क्याम्पस काठमाडौँबाट कानूनमा स्नातक तह (बीएएलएलबी)मा सर्वोत्कृष्ट अङ्क ल्याउनु भएका त्रिपाठीले सरकारी सेवामा कामप्रति उत्प्ररेणा नजगाउने भएकाले निजी क्षेत्र आफ्नो रोजाई भएको बताए। उहाँले अहिले आफै साथीहरुसँग मिलेर ‘चिन्तन ल एसोसियट फर्म’ सञ्चालन गरेर वकालत गरिरहनु भएको छ । ‘‘सरकारी जागिरमा सेवा गर्ने भावनामात्र हुन्छ, अहिले म सरकारी जागिरमा गए भने मैले रचनात्मक कार्य गर्न सक्दैन’’, उनले भने ‘‘त्यसैले अहिलेको उमेर केही नयाँ गर्ने समय भएकाले आफ्नै फर्म सञ्चालन गरेको हुँ ।’’ त्रिपाठीले बीएएलएलबीमा ७५ दशमलव ८३ प्रतिशत अङ्क ल्याएका छन्। । समारोहमा ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’ पाउनु भएका स्कुल अफ म्यानेजमेण्ट कीर्तिपुरकी अल्काश्री श्रेष्ठले पनि निजी क्षेत्र नै आफ्नो पहिलो प्राथमिकता भएको बताए। अहिले नबिल बैंकमा कार्यरत रहनु भएका श्रेष्ठले सरकारी सेवामा भन्दा निजी क्षेत्रमा अवसर बढी हुने गरेकाले आफ्नो रोजाई निजी क्षेत्र भएको धारणा व्यक्त गरे। ‘‘म आफै पनि धेरै काम गर्न सक्छु, निजी क्षेत्रमा जति पनि काम गर्न सकिन्छ, तर सरकारी सेवामा निश्चित काम तोकिएको हुन्छ’’,उनले भने, ‘‘त्यसैले सीमित कामभन्दा धेरै काम गर्नका लागि निजी क्षेत्र रोजेको हुँ ।’’ श्रेष्ठले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर (एमबीए)मा ३ दशमलव ९४ सीजीपीए अङ्क ल्याएका छन्। यसैगरी ‘भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पुरस्कार’ प्राप्त गर्नु भएका शङ्करदेव क्याम्पसका राजेश पनेरुले पनि सरकारी स्थायी जागिरभन्दा निजी क्षेत्रको जागिर मनपर्ने बताए । निजी क्षेत्रमा आफ्नो ज्ञानको अनुभवअनुसार काम गर्न पाइने भएकाले आफूले निजी क्षेत्र रोजेको उनको भनाई । अहिले उहाँ उद्यमीसँग मिलेर विभिन्न अनुसन्धानात्मक कार्य गरिरहेका छन्। पनेरुले व्यवस्थापन सङ्काय, व्यापार प्रशासन (बीबीए) स्नातक तहमा ३ दशमलव ९५ सीजीपीए अङ्क ल्याएका छन्। यस्तै समारोहमा ‘ललित चन्द पदक’ र ‘वडाकाजी मरिचमान सिंह पदक’ पाउनु भएका निर्देश सिलवाल पनि सरकारी सेवाभन्दा समाज परिवर्तन पेशा रोजेको बताए। साझा विवेकशील नेपाल पार्टीका विदेश विभाग सदस्यसमेत रहनु भएका उहाँले सानैदेखि नै सरकारी सेवाप्रति रुचि नभएकाले समाज परिवर्तनका लागि राजनीतिक गर्न थालेको बताए। सिलवालले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ३ दशमलव ८६ सीजीपीए अङ्क ल्याएका छन्। यस्तै ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्ण’ र ‘रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार’ पाउनु भएका दुर्गा अग्रवालले सरकारी सेवामा रुचि भएको बताए। सरकारी सेवामा पछिका लागि राम्रो भएकाले रुचि भएको धारणा व्यक्त गरे। दमक बहुमुखी क्याम्पस, झापाबाट स्नातकोत्तर तहमा एमबीएसमा ७५ प्रतिशत अङ्क ल्याउनु भएका उहाँले बैंकिङ क्षेत्र रोजाई भएको बताए। समारोहमा विभिन्न सङ्कायमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक’, ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’, ‘चान्सलर पदक’, ‘त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक’लगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको थियो । समारोहमा विभिन्न सङ्कायमा विद्यावारीधि गर्ने ६७ जनालाई विद्यावारीधिको उपाधि प्रदान गरिएको थियो । रासस
चन्द्रागिरि हिल्सले गर्याे १५ करोडको आईपीओ प्रस्ताव, ३० गते साधारणसभा
काठमाडौं । केवलकार सेवा सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड रुपैंया बराबरका १५ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गर्लै साधारणसभा बोलाएको छ । चन्द्रागिरिको साधारणसभा यही पुस ३० गते बस्नेछ । साधारणसभाको लागि गत मंसिर १९ गतेको सञ्चालक समितिले नै निर्णय गरेको भए पनि करिब १ महिनापछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो । उक्त साधारणसभा उक्त दिन थानकोटस्थित चन्द्रागिरि हिल्सको कार्यालयमै बस्ने जनाइएको छ । सञ्चालक समितिको उक्त प्रस्ताव साधारणसभाले पारित गरे कम्पनीले आईपीओ निष्कासनकालागि धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिनेछ त्यसपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
नयाँ बर्षमा प्रधानमन्त्रीको घोषणाः सन् २०१९ मा नेपाल समृद्धिको उचाईमा पुग्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने दावी गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका हुन । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन, “ निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । ” प्रधानमन्त्रीओलीले सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष भएको बताए । प्रधानमन्त्री ओलीले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष पनि भनेका छन । “ जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन, “सङ्क्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौंँ । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो । ”
२०१८ मा शेयर बजार: लगानीकर्ताले १५ प्रतिशत गुमाए तर बजार परिपक्क बन्दैछ
नेपाल स्टक एक्सचेञ्जकाे तथ्याङ्कमा विकासन्यूज इन्फाेग्राफिक्सद्वारा निर्मित ग्राफ काठमाडौं । सन् २०१८ मा नेपाली शेयर बजारले औसतमा १५ प्रतिशतको क्षति व्यहोरेको छ । अघिल्लो वर्षको सुरुमा १३९०.५८ को विन्दुबाट कारोबार सुरु भएको शेयर बजारमा तीव्र उतरचढावका बीच अन्तिम दिन ११८७.२८ अंकमा रोकिएको छ । यो सुरुको दिनको आधारमा करिब १४.६१ प्रतिशत कम हो । उक्त अवधिमा बजार पुँजीकरण १६ खर्ब १७ अर्ब ४१ करोडबाट घटेर १४ खर्ब २२ अर्ब ७ करोडमा झरेको छ । यो गिरावट १२.०८ प्रतिशत बराबर हो । बजारमा नयाँ आईपीओ, हकप्रद तथा बोनस सेयरहरु निरन्तर रुपमा थपिँदै जाँदा समेत यो वर्ष समग्र बजार पूँजीकरणमा यति ठूलो गिरावट देखिएको हो । २०१७ मा नेप्से परिसूचकको यस्तो गिरावट ३.६७ प्रतिशत मात्र थियो भने २०१६ मा यो परिचूचक करिब २५.३६ प्रतिशतले बढेको थियो । सन् २०१८ मा बजार परिसूचक अधिकतम १४५६.०७ सम्म पुगेको थियो भने न्यूनतम ११२०.८४ अंकसम्ममा झरेको थियो । कूल २३९ दिनको कारोबारमा १०१ दिन बजार सकारात्मक भएर बन्द भएको थियो भने १३८ दिन नकारात्मक थियो । २०१७ कूल ३ प्रतिशत गिरावट आएकामा कूल २३८ दिन बजारमा कारोबार हुँदा १३५ दिन बजार नकारात्मक र १०३ दिन सकारात्मक भएर बन्द भएको थियो । त्यस्तै, २०१६ मा बजारले २५ प्रतिशतको वृद्धि हासिल गर्दा बजार २३७ दिनमध्ये १३५ दिन सकारात्मक र १०२ दिन नकारात्मक भएर बन्द भएको थियो । बजार परिपक्कतातर्फ तीन वर्षको तुलना गर्दा नेपाली शेयर बजारले स्थिरताको संकेत दिएको छ । सन् २०१६ मा करिब २५ प्रतिशत बजार उकालो लागेपनि बजार निरन्तर उकालो लागेको थियो । यसरी बजार निरन्तर उकालो वा ओरालो लाग्नुलाई अपरिपक्क अवस्था मानिन्छ । २०१६ मा नेप्से परिसूचकको स्ट्यान्डर्ड डेभिएसन २०७.५२ अंक थियो । यो दर २०१८ मा १०४.८३ अंक थियो भने सन् २०१८ मा यो ८४.४३ अंकमा सीमित भएको छ । तथ्याङ्क शास्त्रको नियमानुसार स्तरीय भिन्नतामा हुने कमीलाई बजारको परिपक्कतासँग तुलना गर्न सकिन्छ । यसकारण शेयर बजार विगत ३ वर्षको तुलनामा परिपक्व हुँदै गएको मान्न सकिन्छ । यस्तोे परिपक्वताले बजारमा लगानीकर्ताहरुको अनिश्चितता एवम् जोखिम घटाउँछ भने अनपेक्षित नोक्सान र नाफा हुने अवस्थाबाट समेत विमुख गराउँछ ।
माघदेखि बाटोमा छाप्ने पानी सोस्ने ब्लक बन्दै, एक करोडकाे लगानी
काठमाडौं । दुई हप्ता पछाडिबाट नेपालमै पहिलोपटक मानिस हिडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ । यसको लागि गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले चीनबाट मेशिन झिकाई जडान गर्ने काम गरिरहेको छ । गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर राजन दुवालले चिनियाँं इन्जिनियरहरुलाई नेपाल भित्राई मेशिन जडान गर्ने काम भइरहेको जनाए । ‘एक हप्ताभित्र मेशिन जडानको काम सकिन्छ, सीईओ दुवालले थपे, ‘अर्के एक हप्ता परीक्षण उत्पादन गर्छाै र अर्काे हप्ताबाट बजारमा पठाउने गरी उत्पादन गर्नेछौ । यस हिसावले माघको पहिलो हप्ताबाट नै सामान उत्पादन हुन्छ ।’ काराखाना भक्तपुरको चाँंगुनारायण रोडमा छ । कारखानाले यसका लागि थप एक करोड लगानी गरेको जनाएको छ । हाल नेपालमा प्रयोग भइरहेको भन्दा भिन्न प्रकारको व्लक उत्पादन हुने कम्पनीले जनाएको छ । हाल पेटी तथा खुला कम्पाण्डहरुमा प्रयोग भइराखेका व्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर उत्पादन गर्न लागिएको यो व्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्ने जनाइएको छ । उत्पादन हुन लागेको यो व्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइने जनाइएको छ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ । काठमाडौंका सडकहरुमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँंदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिदै गएको छ । काठमाडौं उपत्यकामा वढदो सहरीकरणसँंगै त्यहाँं प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिंगको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने व्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँंछन् । नेपालमा पानी सोस्ने व्लक उत्पादन हुन लागेको यो पहिलो कम्पनी भएको जनाइएको छ । कम्पनीले भनेको छ, ‘चीनको विभिन्न सहरहरुमा घुमेर यसको प्रयोग भएका ठाउँंहरुको अध्ययन पश्चात त्यहाँंका विशेषज्ञहरुसँंग छलफल गरी नेपालको माटो सुहाउदो यो प्रविधि नेपालमा भित्राउन लागेका हौ ।’ व्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरलाई मध्यनजर गरी पानी सोस्नसक्ने गरी उत्पादन गरिने जनाइएको छ । यसको माथि मानिस हिड्न तथा हलुका सवारीसाधन गुडाउँंदा पनि फुटनेलगायतका समस्या नहुने जनाइएको छ । व्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्ट्रेन्ड (बलियोपन) हुने कम्पनीले जनाएको छ । आफनो कम्पनीमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट इकाईले यसको गुणस्तरलाई कायम राख्न भविष्यमा भरसक प्रयत्न गर्दै जाने पनि कम्पनीले जनाएको छ । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम्पनीले उत्पादन गर्न लागेको यो व्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त उर्जा प्रयोग नहुने जनाइएको छ । व्लक स्वदेशमै उपलव्ध वालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइने जनाइएको छ । यसको उत्पादन आवश्यकता अनुसार फरकफरक आकार र रंगहरुमा पाइने जनाइएको छ । व्लक आवश्यकता अनुसार ६० एमएमदेखि एक सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ । यसको प्रयोग सामान्य डकर्मीले पनि गर्न सकिने जनाइएको छ । यो छाप्न विशेष प्राविधिक चाहिँंदैन ।