एक अर्ब २३ करोड बजेट पर्यटन क्षेत्रमा विनियोजन, कर्णाली प्रदेशलाई मध्यनजर
काठमाडौं । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताएका छन् । ‘कर्णाली प्रदेशको पर्यटन विकास र योजना कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा पर्यटनमन्त्री बुढाले पर्यटन क्षेत्रमा बजेट कमी नभए पनि जनशक्ति अभावले कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को पाँचौँ स्थापना दिवसको अवसरमा महासङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर सुर्खेतमा उक्त कार्यक्रम संचालन भएको हो । सङ्घ र प्रदेश सरकारले कुल रु एक अर्ब २३ करोड बजेट पर्यटन क्षेत्रमा विनियोजन गरेको बताउँदै मन्त्री बुढाले शुरुको वर्ष र कर्मचारी अभावले नियमित विकासका गतिविधि सञ्चालनमा प्रभाव परेको भनाइ रहेका छन् । कर्णाली सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को शुभारम्भ गरेपश्चात् यहाँ पर्यटकको चहलमा पहलमा वृद्धि आएको हो । भदौदेखि मङ्सिरसम्म रारा हेर्ने पर्यटक २० हजार पुगेका र कर्णालीका १० जिल्लाका प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीयस्थल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको छ । रारा र से–फोक्सुण्डो वरिपरि पदमार्ग निर्माण गर्ने भन्दै जिल्लामा एक/एक पर्यटकीय गन्तव्य निर्धारण गर्नुका साथै शैक्षिक पर्यटनलाई समेत प्राथमिकता दिने जानकारी दिएका छन् । मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले समृद्धि पर्यटनले निर्धारण गर्ने कुरामा जोड दिएका छन् । कर्णालीको जलविद्युत, जडीबुटी, कृषि पर्यटनको पनि त्यतिकै सम्भावना रहेको छ । साथै धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक पर्यटन प्रवद्र्धनमा मन्त्रालय लागि परेको छ । रासस
क्याननका नक्कली सामान बजारमा छ्यापछ्याप्ती, ८ हजार पर्नेलाई जम्मा ७ सय !
काठमाडौँ । क्यानन कम्पनीका नक्कली इलेक्ट्रोनिक सामानहरु बजारमा छ्यापछ्याप्ती भेटिन थालेका छन् । हालै मात्र काठमाडौको न्युरोड र पुतली सडकमा ४ हजारदेखि आठ हजारसम्म पर्ने कार्टेज, टोनर र ब्याट्रीहरु ७ सयदेखि २ हजारसम्म बिक्री गरेको पाइएको थियो । केही समय अघि क्यानन कम्पनीबारे उद्योग बिभागमा उजुरी परेको थियो । उजुरीका आधारमा उद्योग विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले अनुगमनका क्रममा अधिकारी जनरल स्टोर न्युरोडमा प्याकिङ गर्दागर्दैको अवस्थामा करिब ३५० कार्टेज र ८०० भन्दा बढी खाली बट्टा समेत फेला परेको थियो । अनुमगन टोलीले सो स्टोर सिल गरेको थियो । बथवाल ट्रेडर्स, ललित ट्रेडिङ र लिंग ट्रेर्डसबाट समेत ठूलो परिमाणका क्यामरामा प्रयोग हुने ब्याट्री बरामद गरिएको थियो । त्यस्तै, पुतलीसडकका ओमकार ट्रेडिङ र डिजिटल वानमा समेत ठूलो मात्रामा क्याननका नक्कली कार्टेज बरामद गरिएको छ । यसरी बरामद गरिएका सामानहरु ट्रेडमार्क दुरुपयोग अन्तर्गतको कार्बाही गर्न उद्योग बिभागमा पठाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बताए । यस्ता नक्कली सामान बेच्ने ब्यापारीहरुलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय तयार छ-उनले भने । ट्रेडमार्क दुरुपयोग अन्तर्गत ती पसल र फर्महरुलाई एक लाखसम्म जरिवाना र पीडितलाई क्षतिपूर्ति भराइदिने कानून भएकाले हामी यी सामान सबै जफत गरी कानून बमोजिम कार्बाही गर्ने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उद्योग बिभागका कानून हेर्ने अधिकारी उपसचिव टंकबहादुर महतले पनि गैह्र कानूनी कार्य गर्नेहरुलाई कानूनी कारवाही गरिने बताए । बजारअनुगमन र अबैध धन्दा गर्नेलाई कारवाही गर्न भएमा नक्कली समानको बिक्रीमा कमी आउने कम्पनीका प्रतिनिधि दीपक न्यौपाने बताउँछन् । एकातिर बजारमा नक्कली समानको बिगबिगी छ भने अर्कातिर सरकारी र गैह्र सरकारी कार्यालयमा समेत त्यस्ता नक्कली सामान खरिद गरेर सक्कलीको बिल बनाइने गरेको बुझिएको छ । क्यानन एक चर्चित जापानी कम्पनी हो । यसका उत्पादन नेपाली बजारमा समेत लोकप्रियता छ । सरकारी कार्यालयदेखि बैंक तथा अन्य निजी संस्था संघसंस्थामा यसका उत्पादनले ठाउँ लिएका छन् । क्याननका प्रिन्टर, फोटोकपी मेसिन र प्रिन्टिङ सामाग्रीको प्रयोग भइरहेको छ । तर, नक्कलीको बिगबिगीले बजारमा पारेको प्रभावले क्यानन ट्रेडमार्क बद्नाम भएको छ ।
शाइन रेसुङ्गा बैंकद्वारा बनकट्टीमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमा–१४ बनकट्टीका कृषककाबीच बैंकका नायब महा प्रवन्धक लोकराज पनेरु, सामान्य सेवा विभाग प्रमुख लालमणी पन्थीको उपस्थितीमा उक्त कार्यक्रम भएको थियो । क्षेत्रीय स्तरका विकास बैंकहरु मध्ये सर्वोउत्कृष्ट बैंकको रुपमा आफ्नो छवी बनाउन सफल शाइन रेसुङ्गा २०६५ साल फागुनमा स्थापना भएको ख वर्गको विकास बैंक हो । एक अर्ब ६२ करोड चुक्तापुँजी भएको बैंकले १५ अर्ब ७५ करोड निक्षेप संकलन गरी १४ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ । दुई लाख भन्दाबढी निक्षेप कर्ता र आठ हजार भन्दा बढीले ऋण सुविधा लिएको बैंकका दश जिल्लामा ३९ वटा शाखा सञ्जालहरु रहेका छन् भने अधिकांस शाखाहरु वित्तीय पहुँच नपुगेका ग्रामिण क्षेत्रहरुमा रहेका छन् । कार्यक्रममा बोल्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ज्ञान प्रसाद भुर्तेलले बैंकिङ पहुँच नपुगेको क्षेत्रमा शाखा स्थापना गरेर बैंकले किसानहरुका आर्थिक समस्यालाई समाधान गर्ने बताएको छ । त्यसैगरी श्री टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जनार्दन यादवले ग्रामिण क्षेत्रमा आएर बैंकले साविकको टिकुलीगढमा सामाजिक उत्तरदायित्व बहन गर्नुका साथै कर्जाको सम्बन्धमा किसानहरुमा देखिएता अन्योलतालाई चीरफार गर्न मद्दत गरेको बताएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी १० औं वर्षमा प्रवेश
काठमाडौं । खेल क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दैै आएको मदन भण्डारी स्पोर्टस् एकेडेमी १० औं वर्षमा प्रवेश गरेको छ । एकेडेमीले मंगलबार आफ्नो वार्षिक उत्सव मनाएको हो । उत्सव कार्यक्रममा एकेडेमीले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आफ्नो प्रतिवेदन बुझाएको छ । विज्ञहरुको सुझाव सम्मिलित प्रतिवेदनमा खेलकुद विकासको आधार प्रस्तुत गरिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री विश्वकर्माले खेलकुद विकासमा आवश्यक ऐन बनाएर द्रुत गतिमा यो क्षेत्रको विकास गर्ने बताए । एकेडेमीले उल्लेख्य रुपमा काम गर्न नसकेको अध्यक्ष विनोद श्रेष्ठले बताए । उनले अब एकेडेमीले खेलकुद क्षेत्रमा ठूलो फड्को मार्ने बताए । अध्यक्ष श्रेष्ठले भने ‘हामीले सोचेको काम गर्न सकेका छैनौं, तर कामै नभएको पनि होइन खेलकुद क्षेत्र राष्ट्र चिनारीको एक प्रमुख अंग भैसकेको छ, हामीले जहाँ छौं, जति सक्छौं काम सबैले यो क्षेत्र विकासका लागि सहयोग गर्नुपर्छ ।’
मजदुर अभाव भएपछि गुणस्तर बढाउँदै गार्मेन्ट उद्याेगी, जर्मनीकाे निर्यात अमेरिकातिर साेझियाे
काठमाडौं । नेपाली श्रम बजारमा श्रमिकको अभाव हुन थालेपछि नेपाली व्यवसायीहरु निर्यातजन्य उत्पादनहरुको संख्या भन्दा गुणस्तर बढाउनतिर लागेका छन् । नेपाली व्यवसायीहरुले उच्च मूल्ययुक्त गुणस्तरीय उत्पादनमा जोड दिएकोले संख्यात्मक रुपमा कम उत्पादनमात्र निर्यात भए पनि कूल निर्यातको दर बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार नेपाली गलैंचा व्यवसायीहरुले ८० नटको गलैंचा बनाउनुभन्दा १०० नटको राम्रो र गुणस्तरीय कार्पेट बनाउन थालेका छन् । र त्यो उत्पादनपनि राम्रा देशहरुमा बिक्री हुन थालेको छ । ‘पहिले निर्यात हुने गलैंचा मध्ये ८०–९० प्रतिशत जर्मनीमा जान्थ्यो, अहिले ५० प्रतिशत भन्दा बढी अमेरिका जान थालेको छ, त्यसैले तपाईँले क्वान्टिटीमा वृद्धि नदेखिएपनि वास्तविक रुपमा निर्यातको दर बढेको देख्न सक्नुहुन्छ ।’- कार्यकारी निर्देशक राणाले भने । नेपालमा २०७२ सालमा भुकम्प गएपछि अमेरिकाले ‘एड अन ट्रेड’ अर्थात् व्यापारमार्फत् सहयोगको नीति लिएर सन् २०२३ सम्मका लागि विभिन्न नेपाली उत्पादनहरुमा शुन्य भन्सार सुविधा उपलब्ध गराएको छ । यसले अमेरिकामा नेपाली गलैंचाको प्रतिस्पर्धात्मक क्षमता बढाएको छ । अहिले नेपालले निर्यातजन्य उद्यगमा दिँदै आएको २ प्रतिशतको अनुदान बढाएर ५ प्रतिशत पुर्याएपछि नेपाली निर्यातजन्य उद्योगीहरु थप उत्साहित भएको र यसै कारण निर्यातको आकार बढेको दाबी केन्द्रले गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले आयातमा ३३ प्रतिशतको वृद्धि गर्दा निर्यातमा भने १२ प्रतिशतको मात्र वृद्धि हासिल गर्न सफल भएको छ । नेपालले पेट्रोल, फलाम र फलामजन्य उत्पादन, सवारीसाधन, विद्युतीय सामाग्री लगायतका वस्तुहरुको ठूलो मात्रामा आयात गर्ने गरेको छ भने यार्न, उनीका गलैंचा, रेडिमेड गलैंचा, फलाम, जुस, चिया लगायतका वस्तुहरु मुख्य रुपमा निर्यात गर्दै आएको छ । चालु आर्थिक वर्षको ५ महिनामा नेपालको कूल आयात ६ खर्ब ७ अर्ब हुँदा निर्यात कुल ३७ अर्ब ५ करोडमा सीमित भएको छ । जसअनुसार आयात निर्यात अनुपात १ः१६.२ बराबर हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा यो दर १ः१३.६ थियो ।
मेगा बैंकमा विशेष सुबिधा, कस्टमर केयर अफिसरले गर्छन् स्वागत र समन्वय
काठमाडौँ । मेगा बैंकले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ । मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीले बताएका छन् । बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले उक्त सुविधा सुरु गरेको सिइओ खुञ्जेलीको भनाइ छ । ‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरुलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्ने भएको छ ।
मुक्तिनाथ विकास बैंकद्धारा नेपाल क्यान्सर सर्पोट ग्रुपलाई सहयोग प्रदान
काठमाडौं । मुक्तिनाथ विकास बैंकद्धारा नेपाल क्यान्सर सर्पोट ग्रुपलाई सहयोग प्रदान गरेको छ । बैंकले तेह्रौं वार्षिक उत्सवको अवसरमा गैर नाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई रु ५० हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो । उक्त चेक नेपाल क्यान्सर सर्पोट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठलाई प्रदान गरेका थिए । नेपाल क्यान्सर सर्पोट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ ।
सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सवीच बीमा सेवा सम्झौता
काठमाडौं । सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सका नायब प्रमुख कायर्कारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिएका थिए ।