२०१८ मा शेयर बजार: लगानीकर्ताले १५ प्रतिशत गुमाए तर बजार परिपक्क बन्दैछ

<p>काठमाडौं । सन् २०१८ मा नेपाली शेयर बजारले औसतमा १५ प्रतिशतको क्षति व्यहोरेको छ । अघिल्लो वर्षको सुरुमा १३९०.५८ को विन्दुबाट कारोबार सुरु भएको शेयर बजारमा तीव्र उतरचढावका बीच अन्तिम दिन ११८७.२८ अंकमा रोकिएको छ । यो सुरुको दिनको आधारमा करिब १४.६१ प्रतिशत कम हो । उक्त अवधिमा बजार पुँजीकरण १६ खर्ब १७ अर्ब ४१ [&hellip;]</p>

नेपाल स्टक एक्सचेञ्जकाे तथ्याङ्कमा विकासन्यूज इन्फाेग्राफिक्सद्वारा निर्मित ग्राफ


काठमाडौं । सन् २०१८ मा नेपाली शेयर बजारले औसतमा १५ प्रतिशतको क्षति व्यहोरेको छ । अघिल्लो वर्षको सुरुमा १३९०.५८ को विन्दुबाट कारोबार सुरु भएको शेयर बजारमा तीव्र उतरचढावका बीच अन्तिम दिन ११८७.२८ अंकमा रोकिएको छ ।

यो सुरुको दिनको आधारमा करिब १४.६१ प्रतिशत कम हो । उक्त अवधिमा बजार पुँजीकरण १६ खर्ब १७ अर्ब ४१ करोडबाट घटेर १४ खर्ब २२ अर्ब ७ करोडमा झरेको छ । यो गिरावट १२.०८ प्रतिशत बराबर हो ।

बजारमा नयाँ आईपीओ, हकप्रद तथा बोनस सेयरहरु निरन्तर रुपमा थपिँदै जाँदा समेत यो वर्ष समग्र बजार पूँजीकरणमा यति ठूलो गिरावट देखिएको हो ।

२०१७ मा नेप्से परिसूचकको यस्तो गिरावट ३.६७ प्रतिशत मात्र थियो भने २०१६ मा यो परिचूचक करिब २५.३६ प्रतिशतले बढेको थियो ।

सन् २०१८ मा बजार परिसूचक अधिकतम १४५६.०७ सम्म पुगेको थियो भने न्यूनतम ११२०.८४ अंकसम्ममा झरेको थियो । कूल २३९ दिनको कारोबारमा १०१ दिन बजार सकारात्मक भएर बन्द भएको थियो भने १३८ दिन नकारात्मक थियो ।

२०१७ कूल ३ प्रतिशत गिरावट आएकामा कूल २३८ दिन बजारमा कारोबार हुँदा १३५ दिन बजार नकारात्मक र १०३ दिन सकारात्मक भएर बन्द भएको थियो ।

त्यस्तै, २०१६ मा बजारले २५ प्रतिशतको वृद्धि हासिल गर्दा बजार २३७ दिनमध्ये १३५ दिन सकारात्मक र १०२ दिन नकारात्मक भएर बन्द भएको थियो ।

बजार परिपक्कतातर्फ
तीन वर्षको तुलना गर्दा नेपाली शेयर बजारले स्थिरताको संकेत दिएको छ । सन् २०१६ मा करिब २५ प्रतिशत बजार उकालो लागेपनि बजार निरन्तर उकालो लागेको थियो । यसरी बजार निरन्तर उकालो वा ओरालो लाग्नुलाई अपरिपक्क अवस्था मानिन्छ ।

२०१६ मा नेप्से परिसूचकको स्ट्यान्डर्ड डेभिएसन २०७.५२ अंक थियो । यो दर २०१८ मा १०४.८३ अंक थियो भने सन् २०१८ मा यो ८४.४३ अंकमा सीमित भएको छ ।

तथ्याङ्क शास्त्रको नियमानुसार स्तरीय भिन्नतामा हुने कमीलाई बजारको परिपक्कतासँग तुलना गर्न सकिन्छ ।

यसकारण शेयर बजार विगत ३ वर्षको तुलनामा परिपक्व हुँदै गएको मान्न सकिन्छ । यस्तोे परिपक्वताले बजारमा लगानीकर्ताहरुको अनिश्चितता एवम् जोखिम घटाउँछ भने अनपेक्षित नोक्सान र नाफा हुने अवस्थाबाट समेत विमुख गराउँछ ।

Share News