क्याननका नक्कली सामान बजारमा छ्यापछ्याप्ती, ८ हजार पर्नेलाई जम्मा ७ सय !

<p>काठमाडौँ । क्यानन कम्पनीका नक्कली इलेक्ट्रोनिक सामानहरु बजारमा छ्यापछ्याप्ती भेटिन थालेका छन् । हालै मात्र काठमाडौको न्युरोड र पुतली सडकमा ४ हजारदेखि आठ हजारसम्म पर्ने कार्टेज, टोनर र ब्याट्रीहरु ७ सयदेखि २ हजारसम्म बिक्री गरेको पाइएको थियो । केही समय अघि क्यानन कम्पनीबारे उद्योग बिभागमा उजुरी परेको थियो । उजुरीका आधारमा उद्योग विभाग र जिल्ला [&hellip;]</p>


काठमाडौँ । क्यानन कम्पनीका नक्कली इलेक्ट्रोनिक सामानहरु बजारमा छ्यापछ्याप्ती भेटिन थालेका छन् । हालै मात्र काठमाडौको न्युरोड र पुतली सडकमा ४ हजारदेखि आठ हजारसम्म पर्ने कार्टेज, टोनर र ब्याट्रीहरु ७ सयदेखि २ हजारसम्म बिक्री गरेको पाइएको थियो ।

केही समय अघि क्यानन कम्पनीबारे उद्योग बिभागमा उजुरी परेको थियो । उजुरीका आधारमा उद्योग विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले अनुगमनका क्रममा अधिकारी जनरल स्टोर न्युरोडमा प्याकिङ गर्दागर्दैको अवस्थामा करिब ३५० कार्टेज र ८०० भन्दा बढी खाली बट्टा समेत फेला परेको थियो ।

अनुमगन टोलीले सो स्टोर सिल गरेको थियो । बथवाल ट्रेडर्स, ललित ट्रेडिङ र लिंग ट्रेर्डसबाट समेत ठूलो परिमाणका क्यामरामा प्रयोग हुने ब्याट्री बरामद गरिएको थियो । त्यस्तै, पुतलीसडकका ओमकार ट्रेडिङ र डिजिटल वानमा समेत ठूलो मात्रामा क्याननका नक्कली कार्टेज बरामद गरिएको छ ।

यसरी बरामद गरिएका सामानहरु ट्रेडमार्क दुरुपयोग अन्तर्गतको कार्बाही गर्न उद्योग बिभागमा पठाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बताए । यस्ता नक्कली सामान बेच्ने ब्यापारीहरुलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय तयार छ-उनले भने ।

ट्रेडमार्क दुरुपयोग अन्तर्गत ती पसल र फर्महरुलाई एक लाखसम्म जरिवाना र पीडितलाई क्षतिपूर्ति भराइदिने कानून भएकाले हामी यी सामान सबै जफत गरी कानून बमोजिम कार्बाही गर्ने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

उद्योग बिभागका कानून हेर्ने अधिकारी उपसचिव टंकबहादुर महतले पनि गैह्र कानूनी कार्य गर्नेहरुलाई कानूनी कारवाही गरिने बताए । बजारअनुगमन र अबैध धन्दा गर्नेलाई कारवाही गर्न भएमा नक्कली समानको बिक्रीमा कमी आउने कम्पनीका प्रतिनिधि दीपक न्यौपाने बताउँछन् ।

एकातिर बजारमा नक्कली समानको बिगबिगी छ भने अर्कातिर सरकारी र गैह्र सरकारी कार्यालयमा समेत त्यस्ता नक्कली सामान खरिद गरेर सक्कलीको बिल बनाइने गरेको बुझिएको छ ।

क्यानन एक चर्चित जापानी कम्पनी हो । यसका उत्पादन नेपाली बजारमा समेत लोकप्रियता छ । सरकारी कार्यालयदेखि बैंक तथा अन्य निजी संस्था संघसंस्थामा यसका उत्पादनले ठाउँ लिएका छन् । क्याननका प्रिन्टर, फोटोकपी मेसिन र प्रिन्टिङ सामाग्रीको प्रयोग भइरहेको छ । तर, नक्कलीको बिगबिगीले बजारमा पारेको प्रभावले क्यानन ट्रेडमार्क बद्नाम भएको छ ।

Share News