विकासन्युज

इन्टरनेटको स्पिड बढाउँदै भायनेट, ल्यायो नयाँ योजनासहित आकर्षक प्याकेजहरु

काठमाडौं । नेपालकै पहिलो एफटीटीएच(फाइबर–टु–द–होम)इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो अन्लिमिटेड इन्टरनेटको स्पिडमा वृद्धि गरिरहेको छ । कम्पनीले इन्टरनेटको स्पिडमा वृद्धि गर्दै ग्राहकहरुको लागि ‘गो फर स्पिड, गो फर भायनेट’ नामक योजना बजारमा ल्याएको छ । स्पिड वृद्धि गर्ने क्रममा भायनेटले २० एमबिपिएसलाई बढाएर ३० एमबिपिएस बनाएको छ भने ३० एमबिपिएस लाई बढाएर ४० एमबिपिएस बनाएको छ । त्यसैगरी, भायनेटले सर्वाधिक ६० एमबिपिएस स्पिड पनि ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ । वार्षिक ग्राहकहरुले ३० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १२०० रुपैयाँ, ४० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १४०० रुपैयाँ र ६० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १७२० रुपैयाँ तिर्नु पर्नेछ । यसका साथै, ग्राहकहरुले ५५ एचडी र १३५ वटा एसडी च्यानलहरु रहेको नेट टिभी समेत निःशुल्क पाउन सक्नेछन् । यो योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने छ ।

अनसन बस्न डा. केसी ईलाममा

काठमाडौं। सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि डा गोविन्द केसीले भोलीबाट अनसन सुरु गर्ने भएका छन्। यो पटक डा केसी इलाममा अनसन बस्ने भएका छन्। अनसनको तयारीका लागि डा केसी इलाम पुगिसकेको डा केसीका सहयोगी जानकारी दिए। उनका अनुसार डा केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन्। डा केसीको यो १६ औं अनसन हो। डा केसीले राखेका मागहरुः १. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्। क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्। ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस्। ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस्। २. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्। ३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।

होण्डाको ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप सम्पन्न  

काठमाडौं । नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप आयोजना गरेको छ । नेपाल अटोमोबाईल स्पोर्टस् एसोसियसन ( नासा)को साझेदारीमा होण्डाले आयोजना गरेको ‘होण्डा नेपाल ड्रिम कप’लाई नेपाल मोटरसाइकल फेडरेशनले प्रमाणित गरेको थियो । रेसिङ्गका लागि उत्साहित होण्डा राईडरहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त च्याम्पियनशिपमा ३० जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । पुष १३ र १४ गते ग्वार्को अवस्थित होण्डाको सेफ्टी राईडिङ्ग सेन्टरमा सम्पन्न उक्त च्याम्पियनशिप सिविआर २५० आर र १४९ ( १६५ सिसि गरि २ भागमा विभाजन गरिएको थियो । उक्त च्याम्पियनशिपमा सिविआर २५० आर अन्तर्गत पहिलो हुने विजेताले नगद रु.५० हजार, दास्रोले रु ३० हजार, तेस्रोले रु २० हजार प्राप्त गरेका थिए । त्यस्तै १४९ ( १६५ सिसि अन्तर्गत पहिलो हुनेले नगद रु २५ हजार, दास्रोले रु १५ हजार र तेस्रोले रु १० हजार प्राप्त गरेका थिए ।

वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै, ‘बर्डस थ्री’ भूउपग्रह निर्माण गर्न सरकार दियो २ करोड

गोदावरी । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउँछन् । सरकारले सहुलियत मूल्यमा तीन भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको उनले जानकारी दिए । वैशाखदेखि प्रक्षेपण हुने उक्त भूउपग्रहबाट देशका विभिन्न स्थानको तस्वीर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिनेछ । जापानमा भूउपग्रह निर्माण भई अमेरिकाबाट प्रक्षेपण गरिने जनाइएको छ । सङ्काय प्रमुख ढकालले भने, “२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भूउपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।” प्रक्षेपणपछि नेपालको आफ्नै भूउपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ । उक्त भूउपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भूउपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ । रासस

पाँच महिनामा यी सात भन्सारबाट निर्यात शून्य

काठमाडौँ । मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट निर्यात शून्य रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कअनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर तथा अन्य दुई भन्सारबाट निर्यात शून्य रहेको छ । ती भन्सारबाट आयातको मात्रा समेत असाध्यै नगन्य मात्रामा भएको पाइएको छ । यस्तै कञ्चनपुर, गौर, सिराहा भन्सारबाट पनि नगन्य मात्रामा मात्रै आयात र निर्यात भएको पाइएको छ । चालू आवको पछिल्लो पाँच महिनाको विवरणअनुसार वीरगञ्ज भन्सारबाट ३४ दशमलव २७ प्रतिशत बराबरको आयात भएको छ । सो भन्सारबाट दुई खर्ब सात अर्ब ९९ करोड ७५ लाख ३१ हजार बराबरको माल वस्तु आयात हुँदा छ अर्ब ७३ करोड ५७ लाख बराबरको मात्रै निर्यात भएको छ । प्रतिशतका आधारमा वीरगञ्ज भन्सारबाट १७ दशमलव ९६ प्रतिशत बराबरको माल वस्तु मात्रै निर्यात भएको छ । पछिल्लो दिनमा भैरहवा भन्सारबाट आयात हुने मालवस्तुको मात्रा समेत बढ्दै गएको पाइएको छ । चालू आवको पाँच महीनामा सो भन्सारबाट एक खर्ब एक अर्ब ९० करोड १९ लाख १९ हजार बराबरको सामान आयात भएको छ । प्रतिशतका आधारमा १६ दशमलव ७९ प्रतिशत सामान सोही भन्सारबाट आयात भएको छ तर सोही भन्सारबाट रु एक अर्ब ३६ करोढ ६१ लाख ३३ हजार बराबरको अर्थात तीन दशमलव ६४ प्रतिशत मात्रै निर्यात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ दशमलव ५९ प्रतिशत मालवस्तु आयात भएको छ । त्यो भनेको ७६ अर्ब ४३ करोड ४७ लाख २० हजार बराबरको माल वस्तु आयात भएको छ । सो भन्सारबाट १० अर्ब ८५ करोड ८६ लाख ६९ हजार बराबरको निर्यात भएको छ । निर्यात गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रस्थानमा रहेको छ । प्रतिशतका आधारमा २८ दशमलव ९५ प्रतिशत सामान उक्त भन्सारबाट निर्यात भएको छ । चौथो स्थानमा विराटनगर भन्सार रहेको छ । सो भन्सारबाट ७२ अर्ब २३ करोड ३२ लाख ७१ हजार अर्थात् ११ दशमलव ९० प्रतिशत बराबरको माल वस्तु आयात हुँदा १० अर्ब ६० करोड ३४ लाख १७ हजार अर्थात् २८ दशमलव २७ प्रतिशत निर्यात भएको छ । वीरगञ्ज सुख्खा भन्सारबाट ६१ अर्ब ८५ लाख ४६ हजार ५० हजार अर्थात् १० दशमलव १९ प्रतिशतको आयात हुँदा  एक अर्ब ८१ करोड ३६ लाख ७७ हजार अर्थात् चार दशमलव ८४ प्रतिशतको निर्यात भएको छ । नेपालगञ्ज भन्सारबाट २३ अर्ब ३० करोडको आयात हुँदा रु ८९ करोड ४५ लाख ९१ हजारको निर्यात भएको छ । रसुवा भन्सारबाट १७ अर्ब ३४ करोड ८१ लाख ५९ हजार बराबरको आयात भएको छ । सोही नाकाबाट  ५३ करोड १६ लाख २८ हजारको मात्रै निर्यात भएको छ । मेची भन्सारबाट १६ अर्ब एक करोड ३५ लाख ६३ हजारको आयात हुँदा चार अर्ब १७ करोड छ लाख ६२ हजारको निर्यात भएको छ । कञ्चनपुर भन्सारबाट चालू आवको पाँच महीनामा १० अर्ब ५० करोड ५४ लाख ५३ हजारको आयात हुँदा १३ करोड ४७ लाख ७६ हजार बराबरको निर्यात भएको छ । कैलाली भन्सारले पाँच महीनामा आठ अर्ब २९ करोड ४५ लाख ५५ हजारको आयात गरेको छ भने निर्यात २८ करोड ५६ लाख ४९ हजारको मात्रै निर्यात गरेको छ । जलेश्वर भन्सारबाट चार अर्ब ३७ करोड १० लाख ९७ हजार बराबरको आयात हुँदा निर्यात भने शून्य रहेको छ । भन्सार विभागका अनुसार हाल देशभर ३१ भन्सार सञ्चालनमा छन् ।

कर्मचारी समायोजन अध्यादेश पालना नगर्ने कर्मचारीलाई कारवाही गर्दै सरकार

काठमाडौँ। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार समायोजन नभई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए। उनका अनुसार आन्दोलन गर्ने कर्मचारीलाई ‘निजामति सेवा ऐन–२०४९’ अनुसार आचरण र अनुशासन पालना नगरेको भन्दै कारवाही गर्ने भएको हो । कर्मचारी समायोजन गर्न ल्याइएको अध्यादेश अनुसार समायोजनमा नगएर दैनिकजसो सिंहदरबारभित्र कर्मचारीले सरकार विरुद्ध आन्दोलन गर्न थालेपछि मन्त्रालयले कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । प्रवक्ता अधिकारीले निजामति कर्मचारी ऐनअनुसार अचारण र अनुशासन पालना नगर्ने कर्मचारीलाई कारवाही गरिने बताएका छन्। उहाँका अनुसार ऐनको परिच्छेद ७ बमोजिम आचरण र अनुशासन वेवास्ता गदै निजामति कर्मचारीले सामाजिक सञ्जाल, पत्रपत्रिका तथा लेखरचनामा सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सचिव दिनेशकुमार थपलियालगायत मन्त्रालयको आँच आउने गरी अवाञ्छित, अनुचित, गैरजिम्मेवारी, अनुशासनहिन र पेशागत मर्यादा विपरीत सामाजिक सञ्जालमा स्टाट्स, तस्बिर, विचार राख्ने अस्वभाविक क्रियाकलपाप्रति ध्यानाकर्षण जनाउँदै त्यस्ता कर्मचारीलाई पहिचान गरी कारवाही गरिने छ । ऐनमा उल्लेखित आचरण र अनुशासन बेवास्ता गरी आफू निजामती कर्मचारीको भूमिकामा समेत नरहेको जस्तो गरी मन्त्री, सचिव लगायतलाई पद, वर्ण, जात, समुदाय र सम्प्रदायसमेतलाई जोडेर सामाजिक सञ्जालमा गैरजिम्मेवारपूर्ण, अनुशासन र आचरण विपरीत अभिव्यक्ति राख्ने राष्ट्रसेवक कर्मचारीको अभिलेख समेत राखिएको बताइएको छ । उनले समायोजनप्रति भ्रामक, अवाच्छित र दुराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामति सेवा ऐन–२०४९, सोको नियमावलि–२०५०, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ र सोको नियमावलि–२०६५ र विद्युतीय कारोवार ऐन–२०६३ अनुसार कारवाही गरिने बताए । प्रवक्ता अधिकारीले अध्यादेश–२०७५ अनुसार कर्मचारीलाई समायोजन प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन्। सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गरेर तीनै तहमा बुधबारदेखि सङ्घमा रहेका कर्मचारीको समायोनजका लागि अनलाइन आवेदन माग गरेको छ । सरकारका पूर्व मुख्य सचिव विमल कोइरालाले समायोजनका नाममा आन्दोलन गर्नु ठिक नभएको बताए। उनले कर्मचारीले आफ्नो अनुशासन, मर्यादामा रहनुपर्ने बताए। ‘‘सरकारले कर्मचारीको सेवा सुविधा सुनिश्चित गरेर खटाएको ठाउँमा कर्मचारी जानुपर्दछ’’, उनले भने, ‘‘अहिले कर्मचारी आन्दोलन गर्नुभन्दा पनि खटाएको ठाउँमा जानुपर्दछ ।’’ समायोजन अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिँदैछ । सरकारले पुस मसान्तभित्र समायोजन सक्ने जनाएको छ । कर्मचारी समायोजन सङ्घीयता कार्यन्वयनको महत्वपूर्ण कडिको रुपमा लिइएको छ। रासस

आइएमई ट्राभलद्वारा चन्द्रागिरिसम्म सटल बस सेवा

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँवर्ष २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधा सम्पन्न बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताएका छन् । चन्द्रागिरि हिल्सको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरि हिल्स बेस स्टेसनसम्मको दुरी तय गरिएकाे छ । उक्त बस साँझ ४ बजे चन्द्रागिरि हिल्सको बस स्टेसनबाट छुट्ने छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सीईओमा रमेशकुमार भट्टराई

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्सले पुस १७ गतेदेखि लागू हुने गरी भट्टाईलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ भट्टाराईले आगामी ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ । साथै, भट्टराईले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् ।