मजदुर अभाव भएपछि गुणस्तर बढाउँदै गार्मेन्ट उद्याेगी, जर्मनीकाे निर्यात अमेरिकातिर साेझियाे

<p>काठमाडौं । नेपाली श्रम बजारमा श्रमिकको अभाव हुन थालेपछि नेपाली व्यवसायीहरु निर्यातजन्य उत्पादनहरुको संख्या भन्दा गुणस्तर बढाउनतिर लागेका छन् । नेपाली व्यवसायीहरुले उच्च मूल्ययुक्त गुणस्तरीय उत्पादनमा जोड दिएकोले संख्यात्मक रुपमा कम उत्पादनमात्र निर्यात भए पनि कूल निर्यातको दर बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार नेपाली गलैंचा [&hellip;]</p>

काठमाडौं । नेपाली श्रम बजारमा श्रमिकको अभाव हुन थालेपछि नेपाली व्यवसायीहरु निर्यातजन्य उत्पादनहरुको संख्या भन्दा गुणस्तर बढाउनतिर लागेका छन् ।

नेपाली व्यवसायीहरुले उच्च मूल्ययुक्त गुणस्तरीय उत्पादनमा जोड दिएकोले संख्यात्मक रुपमा कम उत्पादनमात्र निर्यात भए पनि कूल निर्यातको दर बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार नेपाली गलैंचा व्यवसायीहरुले ८० नटको गलैंचा बनाउनुभन्दा १०० नटको राम्रो र गुणस्तरीय कार्पेट बनाउन थालेका छन् । र त्यो उत्पादनपनि राम्रा देशहरुमा बिक्री हुन थालेको छ ।

‘पहिले निर्यात हुने गलैंचा मध्ये ८०–९० प्रतिशत जर्मनीमा जान्थ्यो, अहिले ५० प्रतिशत भन्दा बढी अमेरिका जान थालेको छ, त्यसैले तपाईँले क्वान्टिटीमा वृद्धि नदेखिएपनि वास्तविक रुपमा निर्यातको दर बढेको देख्न सक्नुहुन्छ ।’- कार्यकारी निर्देशक राणाले भने ।

नेपालमा २०७२ सालमा भुकम्प गएपछि अमेरिकाले ‘एड अन ट्रेड’ अर्थात् व्यापारमार्फत् सहयोगको नीति लिएर सन् २०२३ सम्मका लागि विभिन्न नेपाली उत्पादनहरुमा शुन्य भन्सार सुविधा उपलब्ध गराएको छ । यसले अमेरिकामा नेपाली गलैंचाको प्रतिस्पर्धात्मक क्षमता बढाएको छ ।

अहिले नेपालले निर्यातजन्य उद्यगमा दिँदै आएको २ प्रतिशतको अनुदान बढाएर ५ प्रतिशत पुर्याएपछि नेपाली निर्यातजन्य उद्योगीहरु थप उत्साहित भएको र यसै कारण निर्यातको आकार बढेको दाबी केन्द्रले गरेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले आयातमा ३३ प्रतिशतको वृद्धि गर्दा निर्यातमा भने १२ प्रतिशतको मात्र वृद्धि हासिल गर्न सफल भएको छ ।

नेपालले पेट्रोल, फलाम र फलामजन्य उत्पादन, सवारीसाधन, विद्युतीय सामाग्री लगायतका वस्तुहरुको ठूलो मात्रामा आयात गर्ने गरेको छ भने यार्न, उनीका गलैंचा, रेडिमेड गलैंचा, फलाम, जुस, चिया लगायतका वस्तुहरु मुख्य रुपमा निर्यात गर्दै आएको छ ।

चालु आर्थिक वर्षको ५ महिनामा नेपालको कूल आयात ६ खर्ब ७ अर्ब हुँदा निर्यात कुल ३७ अर्ब ५ करोडमा सीमित भएको छ । जसअनुसार आयात निर्यात अनुपात १ः१६.२ बराबर हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा यो दर १ः१३.६ थियो ।

Share News