विकासन्युज

बुद्ध एयरले बैशाख २ गतेदेखि काठमाण्डौँ-कोलकत्ता उडान गर्ने, पर्यटकले विमान भर्ने रणनीति

काठमाडौँ । बुद्ध एयरले काठमाडौंदेखि कोलकोत्ता सिधा उडान गर्ने भएको छ । कम्पनीले बैशाख २ गतेदेखि परिक्षण उडान सुरु गर्न लागेको हो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोलकोत्ता उडानको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘कोलकोत्ता उडानका लागि सबै तयारी सकिसकेका छौं, यसका लागि सबै पक्षको सहयोग जरुरी छ निर्देशक बस्नेतले भने हामी शुद्ध हवाई व्यवसायी भएको कारण होटल, पर्यटन, सरकार सबैले सहयोग गर्नुपर्छ ।’ बस्नेतको अनुसार कम्पनीले कोलकोत्ता हप्तामा ३ उडान भर्नेछ । ३ उडानमा १८० जना यात्रुको टार्गेट राखेको छ । यसमध्ये १०० जना यात्रु ल्याउन सके कम्पनी सफल हुने निर्देशक बस्नेतले बताए । काठमाडौंदेखि कोलकोत्तासम्म कम्पनीको एटीआर ७२ जहाजले १४० मिनेट उडान भर्नेछ । खर्च कम गर्नका लागि कम्पनीले यस जहाजको प्रयोग गरेको दाबी गरेको छ । अन्तराष्ट्रिय उडानको सरदर ६५ देखि ७० प्रतिशत यात्रुहरु नेपाली कामदारले ओगट्ने गरेको छ । अहिलेको अन्तर्राष्ट्रिय उडान बैदेशिक रोजगारीलाई लक्ष्य गरेर स्थापित भएको छ, तीसँग प्रतिपष्र्धा गर्न गाह्रो छ, किनकी ती संसारमा स्थापित वायुसेवाहरु मध्ये पर्दछ । प्रबन्ध निर्देशक बस्नेतले भने–त्यसकारण हामीले आफ्नो उडानको यात्रु पर्यटकले भर्ने रणनीति लिएका छौं । नयाँ वर्ष २०७६ को बैशाख २ गतेदेखि साताको ३ उडान सोमबार, बुधबार र शुक्रबार काठमाण्डौँ–कोलकत्ता–काठमाडौँ उडान गर्ने बुद्ध होलिडेजका प्रमुख आस्था बस्नेतले बताए । भाडादर भने प्याकेजमै ल्याउने कम्पनीले जनाएको छ । यो उडान सफल भए २०७७ साल भदौबाट दक्षिण एसियाका विभिन्न महानगरहरुमा जेठ बिमानहरुबाट उडान शुरु गर्ने कम्पनीले जनाएको छ । कोलकत्ता हाम्रो परीक्षण उडान हो, यस उडानलाई सफल बनाउन संख्यात्मक र गुणात्मक पर्यटक भित्र्याउन नेपाल सरकार सहित सबै सरोकारवालाहरु होटल, ट्राभल टुर्स, ट्रेकिङ एजेन्सीहरुसँग सहकार्य गर्ने प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ । कम्पनीले कोलकोत्ता उडान शुरु गरेपछि हप्तामा ८०० सय उडान पुग्नेछ ।

तेलको उत्पादनले बजार सन्तुलन बन्नेमा साउदी अरब आशावादी

काठमाडौं । तेलको उत्पादन र बजार सन्तुलनका विषयमा साउदी अरब आशावादी रहेको उर्जा मन्त्री खालिद अल–फालिहले बताएका छन् । तेल उत्पादक मुलुकहरूले तेलको खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको बताएका छन् । तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) र रसिया, इरानलगायतका केही मुलुकले तेलको मूल्यमा करिब ४० प्रतिशतको गिरावट आएको भन्दै गत महिना तेल उत्पादनलाई प्रतिदिन १२ लाख व्यारेल पुर्याउने बताएपछि तेलको आपूर्तिमा आउनसक्ने अनुमान बढिरहेका समय साउदी अरबका उर्जामन्त्रीको उक्त भनाई आएको हो । कच्चा तेलको मूल्यमा गिरावट आई गत महिना प्रतिव्यारेल ५० अमेरिकी डलरसम्म पुगेको थियो । तर जनवरीमा उक्त मूल्यमा प्रतिव्यारेल १० अमेरिकी डलरको वृद्धि भएको छ । तेलको उत्पादनमा जनवरी १ देखि लागू हुनेगरी गरिएको कटौतिसँगै विस्तारै मूल्यमा वृद्धि आएको र प्रतिव्यारेल ६० अमेरिकी डलर पुगेको हो । ओपेकको हर्ताकर्ता मानिने साउदी अरबले पनि जनवरीबाट लागु हुनेगरी तेलमा कटौति गर्ने र विस्तारै आठ लाख व्यारेल तेल उत्पादनमा कटौति गर्ने जनाएको थियो । अर्को महिनादेखि साउदीले थप एक लाख व्यारेल तेलको उत्पादनमा कटौति गर्ने बताएको थियो । फालिहले आफु विश्वस्त रहेको बताउँदै कच्चा तेलको उत्पादनमा प्रतिदिन १२ लाख व्यारेलको कटौति गर्ने निर्णयले मूल्यमा सुधार आएको छ र अझै आउने जानकारी दिएका छन् । सधैँ तेल उत्पादनमा कटौति र यसको बजारमा पुग्ने प्रभावबारे हुने निर्णयले चर्चा लिने गने हुँदा केही हप्तामा बजारको अवस्था सामान्य बन्नेछ उनको भनाई रहेको छ । रासस/एएफपी

वोमी माइक्रोफाइनान्सद्धारा चितवनमा कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानहरुमा श्रृखलाबद्ध तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थाबाट ७ दिनको अवधिमा जम्मा २२८ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ स्थित पदमपुरमा ४१ जना, भरतपुर महानगरपालिका वडा नं. २६ स्थित सिसहीमा ४७ जना रहेका थिए । त्यस्तै राप्ती नगरपालिका वडा नं. २ स्थित पिप्लेमा ४१ जना तथा नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. १४ स्थित दलदलेमा ५८ जना, मध्यबिन्दु नगरपालिका वडा नं. १३ स्थित मैनाघाटमा ४१ जानले तालिम हासिल गरेका छन् । त्यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २८ स्थित जितपुरमा ३० जना सदस्य तथा स्थानिय व्यक्तिलाई कृषि व्यवसाय सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिममा उपस्थित सदस्य तथा स्थानियहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा अतिथिको रुपमा उपस्थित नगरपालिकाका वडा अध्यक्षहरुले मन्तब्य व्यक्त गरेका हुन् । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नवलपुर जिल्लाको देवचुली नगरपालिकाका प्रबक्ता वडा अध्यक्ष दिलबहादुर क्षेत्री, वडा नं. १४ का अध्यक्ष हेमराज दवाडी तथा मध्यबिन्दु नगरपालिका वडा नं. १३ का अध्यक्ष अर्जुन प्रसाद पङ्गेनी रहेका थिए । उक्त तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकासप्रसाद दाहाल तथा वकिलबहादुर गुर्धामीले दिनु भएको थियो ।

विकास सहायता प्रतिवेदन सार्वजनिक, गतबर्ष १ खर्ब ६२ करोड परिचालन, ऋण सहायता बृद्धि

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । आज एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको प्रतिवेदनमा अघिल्लो वर्ष भन्दा गत वर्षको विकास सहायता बृद्धि भएको उल्लेख छ । आर्थिक वर्ष २०७३/०७४ मा करीब १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर सहायता परिचालन भएको भएको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा भने यो बढेर १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबर पुगेको थियो । यस अवधिमा कूल सहायता रकममा ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदान सहायताको अंश ३५.१ प्रतिशत र प्राविधिक सहायताको अंश १४.४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण सहायता बृद्धि भएको छ भने प्राविधिक सहायतामा केही कमी आएको छ । प्राप्त सहयोग मध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणाली मार्फत प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षमा यो ७३ प्रतिशत थियो । अझै २२ प्रतिशत सहायता राष्ट्रिय बजेट प्रणाली बाहिरबाट परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा परिचालित सहायता मध्ये ४५ प्रतिशत अर्थात ७२ करोड ७० लाख अमेरिकी डलर प्रत्यक्ष वा अप्रत्यक्ष लैंगिक सहायतासँग सम्बन्धित रहेको छ । बहुपक्षीय विकास साझेदार मध्ये विश्व बैंक समूहले सबैभन्दा बढी ५३ बढी ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता प्रवाह गरेको छ ।त्यसपछि एसियाली विकास बैंकले २९ करोड १७ लाख, युरोपियन युनियनले ११ करोड ७८ लाख, संयुक्त राष्ट्र संघ समूहले ६ करोड ५६ लाख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको १ करोड ५८ लाख अमेरिकी डलर रहेको छ । परिचालित कूल सहयोग मध्ये बहुपक्षीय विकास साझेदारको योगदान ६४ प्रतिशत र द्विपक्षीय विकास साझेदारको योगदान ३६ प्रतिशत रहेको छ । द्विपक्षीय विकास साझेदार मध्ये सबैभन्दा बढी बेलालय (अमेरिकी डलर १२ करोड, ३९ लाख) र त्यसपछि अमेरिका, जापान, चीन र भारत रहेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा आर्थिक सुधारको क्षेत्रमा सबैभन्दा बढी सहयायोग परिचालन भएको छ । अघिल्लो आर्थिक वर्षमा शिक्षा क्षेत्र पहिलो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत उपलब्ध हुने रकम विगत वर्षहरुमा भन्दा घटेको छ । अघिल्लो आर्थिक वर्षमा अमेरिकी डलर १८ करोड, ६५ लाख ३० हजार परिचालन भएकोमा यो अवधिमा ११ करोडको ३ लाख मात्र परिचालन भएको छ-प्रतिवेदनमा उल्लेख छ । भूकम्प पछिको पुनर्निर्माणको लागि दिने भनी बाचा गरिएको अमेरिकी डलर ४ अर्ब १० करोड ९५ लाख मध्ये गत फागुन भित्रमा ८८ प्रतिशत अर्थात अमेरिकी डलर ३ अर्ब ६२ करोड ९३ लाख बराबरको संझौता भइसकेपनि करीब २३ प्रतिशत मात्र प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

सीईएस २०१९ मा स्काईवर्थ चार अवार्डबाट सम्मानित

काठमाडौं । घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले सीईएस २०१९ मा नयाँ उत्पादन तथा प्रविधिहरुबाट चार वटा अवार्ड प्राप्त गरेको छ । सीईएस २०१९ कार्यक्रमको क्रममा स्काईवर्थलाई २०१८-२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८–२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८-२०१९ शीर्ष १० ग्लोबल टिभी ब्राण्ड अवार्ड प्रदान गरिएको छ । स्काईवर्थले घरेलू उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ । स्काईवर्थले 65S9A/XA9000 का लागि प्रोडक्ट अवार्ड, “द एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवाड” पनि प्राप्त गरेको छ । स्काईवर्थले गुगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ । “ओपन, शेयर, ह्वइन–ह्वइन” को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टिभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको छ ।

गत डिसेम्बरमा चीनको आन्तरिक ऋण एक खर्ब ६० अर्ब अमेरिकी डलर

काठमाडौं । सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋणमा वृद्धि भएको छ । ऋण झण्डै १.०८ ट्रिलियन युआन (एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकले तथ्याङ्क मङ्गलबार सार्वजनिक.गरेको हो । यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो । सन् २०१८ को नोभेम्बरको तुलनामा नयाँ ऋण रकममा सामान्य कमी अर्थात् १.२५ ट्रिलियन यूआनबाट १.०८ ट्रिलियन युआनमा झरेको पिपुल्स बैंक अफ चाइना (पिबिओसी) ले जनाएको छ । एक ट्रिलियन बराबर दश खर्ब हुन्छ । मुद्रा आपुर्ति गर्ने मापदण्ड एम–२, जसले मुद्राप्रवाह र सम्पूर्ण निक्षेपको लेखाजोखा राख्छ, अघिल्लो बर्षको तुलनामा ८.१ प्रतिशत बढेर डिसेम्बरको अन्त्यसम्ममा १८२.६७ ट्रिलियन युआन पुगेको छ । एम–२ को वृद्धि अघिल्लो महिनामा रेकर्ड भएको आठ प्रतिशतभन्दा बढी हो भने एक बर्ष पहिले सोही समयको तुलनामा बराबर हो । मुद्रा आपूर्तिको अर्को मापदण्ड एम–१, जसले नगद प्रवाह र निक्षेपको मागको रेकर्ड राख्छ, एक बर्ष पहिलेकोे तुलनामा गत डिसेम्बरमा १.५ प्रतिशत वृद्धि अर्थात् ५५.१७ ट्रिलियन युआन बढी देखिएको छ । समग्रमा सन् २०१८ को नयाँ यूआनको ऋणमा अघिल्लो बर्षको तुलनामा २.६४ ट्रिलियन युआनले वृद्धि भई १६.१७ ट्रिलियन युआन पुगेको छ । रासस/सिन्ह्वा

डिशहोमको ९ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा ढकाल मनाेनित

काठमाडौं । डिश मिडिया नेटवर्कको ९ औं बार्षिक साधारण सभामा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेमराज ढकाललाई अध्यक्षमा चयन गरेसँगै आगामी आर्थिक बर्षमा आईपीओ जारि गर्ने निर्णय गरेको छ । कम्पनिले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने निर्णय गरेको छ । नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ । स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच. सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा एचडी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ ।  

६ महिनामा एनआइसी एसियाको अपत्यारिलो छलाङ, नाफा १२१ प्रतिशतले वृद्धि

काठमाडौं । एनआइसी एसिया बैंकको नाफा १२१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको ६ महिनामा बैंकले आफ्नो नाफा १२१ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक बर्षको पहिलो ६ महिनामा ५७ करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा १२६ करोड नाफा कमाउन सफल भएको हो । शाखा विस्तार र व्यापाक प्रचार प्रसार मार्फत आक्रामक व्यापार प्रवद्र्धन गरिहेको बैंकले पछिल्लो ३ महिनामा भने ७ अर्ब निक्षेप बढाउन सफल भएको देखिन्छ । असोज मसान्तमा १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा आईपुग्दा १ खर्ब ७५ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ । बैंकको कर्जा लगानी पनि ३ महिनामा १० अर्बले वृद्धि भएको थियो । असोजमा १ खर्ब ३९ अर्ब कर्जा लगानी गरेको बैंकले पुस मसान्तमा १ खर्ब ४९ अर्ब कर्जा लगानी गरेको हो । त्यस्तै, बैंकको ब्याज आम्दानीपनि ४ अर्ब ८१ करोडबाट बढाएर ९ अर्ब ६५ करोड पुर्याएको छ । बैंकले ३ महिनाको अवधीमा ब्याज आम्दानी ४ अर्ब ८४ करोड अर्थात शतप्रतिशतले वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानी ९३ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तमा १ अर्ब ८६ करोड रहेको खुद ब्याज आम्दानी पुसमा मशान्तसम्म ३ अर्ब ६० करोड पुगेको हो । एनआइसी एसिया बैंकको सिडी रेसियो ७८.७१ प्रतिशत रहेको छ । आधार ब्याजदर ९.३३ प्रतिशत रहँदा स्प्रेड दर भने ४.९८ प्रतिशत छ । बैंकको खराब कर्जा ०.३३ प्रतिशत रहेको छ । एनआइसी एसिया बैंकको प्रति सेयर आम्दानी ३४.३१ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १४९.९३ रुपैयाँ र तरलता अनुपात २०.८१ प्रतिशत छ । मूल्य आम्दानी अनुपात ११.२५ र कूल सम्पतिमा प्रतिफल १ रुपैयाँ ४१ पैसा रहेको छ ।