विकासन्युज

बजार ७ अंकले घट्दा अपर तामाकोशीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । बुधबारको सेयर बजार ७.५७ अंकले ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार भने ०.६३ प्रतिशतले घटेर ११८७ अंकमा झरेको छ । सो दिनको परिसूचकमा तीब्र उतारचढाव देखिएको छ । परिसूचकमा उतारचढाव देखिएतापनि सेयर कारोबारमा भने केही सुधार देखिएको छ । दिनभरको कारोबारमा कुल १६९ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तीब्र उतारचढाव देखिएको बजारमा पनि अपर तामाकोशी हाइड्रो पावरको सेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य २५ रुपैयाँले बढेर प्रतिकित्ता २८३ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ रहेको थियो । आइतबारदेखि नेप्सेमा कारोबार शुरु गरेको यस कम्पनीको सेयर उच्च मूल्यमा बिक्री भइरहेको छ । उक्त दिनदेखि बुधबारसम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढीरहेको छ । प्रतिकित्ता ७४.८९ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सो दिन मै उच्चतम मूल्य प्रतिकित्ता २२४ रुपैयाँमा किनबेच भएको थियो । बुधबारको दिनसम्म कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १८३ रुपैयाँ नाफा कमाइ सकेका छन् । बजारमा हाइड्रोपावर, उत्पादनमूलक र ट्रेडिङ समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । हाइड्रोपावर, उत्पादनमूलक र ट्रेडिङ समूह क्रमशः २२, २ र १ अंकले उकालो लागेका छन् ।

नेपाल चेम्बर र भारतको ट्रेड प्रोमोसनबीच समझदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच नयाँ दिल्लीमा दुई-पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाको तर्फबाट काउन्सिलका उप-महानिर्देशक कपिल गुप्ताले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा नेपाल र भारतबीचको ब्यापारलाई दुई-देशको हितमा हुने गरी प्रबद्र्धन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, ब्यापार, बाणिज्य तथा लगानीसंग सम्बन्धित सूचनाको आदान-प्रदानका बिषय समेटिएका छन् । ’ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन दुई-पक्षीय व्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदान, अन्तराष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका कुराहरु पनि उक्त समझदारी पत्रमा समेटिएको छ । चारवटा प्रमुख बुँदा रहेको सो समझदारी पत्रको पहिलो धारा सहकार्यलाई प्रबर्दन गर्ने कुरा उल्लेख छ । त्यसैगरी, दोस्रो बुँदा सूचनाको आदान–प्रदान, तेस्रो ’ट्रेड मिसन’ र चौथो बुँला ब्यापार प्रबर्दनका लागि आयोजना गरिने क्रियाकलापहरुसंग सम्बन्धित रहेको छ । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय ब्यापार र बहु–पक्षीय सम्बन्धलाई बिस्तार गर्ने उद्येश्य अनुरुप हालसम्म बिभिन्न देशका ६६ वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसंगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको चेम्बरका निर्देशक हरिप्रकाश चन्दले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

लगानी सम्मेलनबारे दातासँग परामर्श बैठक, लगानी भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो । सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय साझेदारले कानूनी, शासकीय र प्रक्रियागत सुझाव दिएका थिए । काठमाडौँस्थित अधिकांश कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुख, बहुपक्षीय एवं द्विपक्षीय विकासका साझेदार, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सहभागी उक्त बैठकमा उनीहरूले नेपालमा लगानी भित्र्याउन र सम्मेलनलाई सफल तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्री खतिवडाले बताए । सम्मेलनमा नेपालको कृषि, ऊर्जा, भौतिक पूर्वाधारअन्तर्गत रेल, सडक र हवाई सेवा सञ्चालन तथा विस्तार, उद्योग र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने विषयमा विस्तृत छलफल हुनेछ । लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह आयोजनामा हुने उक्त सम्मेलन मुलुकलाई समृद्ध बनाउन आवश्यक बाह्य लगानी भित्र्याउन सफल हुने विश्वास गरिएको छ । यसअघि २०७३ सालमा गरिएको लगानी सम्मेलन फलदायी भएको निष्कर्ष निकाल्दै सरकारले थप लगानी प्रवद्र्धन गर्न पुनःअन्तराष्ट्रियस्तरको लगानी सम्मेलन गर्न लागेको हो ।

घलेम्दी हाइड्रोको आइपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?

काठमाडौँ । घलेम्दी हाइड्रो पावर कम्पनीको साधारण शेयर मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीले बिक्री गरेका साधारण शेयरमा आवेदन गर्नेमध्ये ८० प्रतिशतले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने करीब २० प्रतिशतले २० कित्ता शेयर प्राप्त गरेका छन् । सो कम्पनीको साधारण शेयरमा ५४ हजार ७१८ आवेदन परेका थिए । बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार २६ आवेदन रद्द भएका छन् । कूल १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले यही पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । रु ५५ करोड जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ । घलेम्दी जलविद्युत् आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको छ । उक्त आयोजनाबाट आगामी फागुनदेखि विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।

भरतपुर महानगरमा जग्गा खण्डीकरण गर्न नदिइने, कार्ययोजना बनाएर मात्रै कित्ताकाट !

चितवन । स्मार्ट सिटी बनाउन लागिएको भरतपुर महानगरपालिकाभित्र जग्गा खण्डीकरण गर्न नदिइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गा कित्ताकाटको जिम्मेवारी स्थानीय तहलाई दिएपछि भरतपुर महानगरपालिकाले व्यवस्थित शहर निर्माणका लागि जथाभावी रूपमा कित्ताकाट गर्न रोक लगाएको हो । महानगर प्रमुख रेनु दाहालले विज्ञसँग परामर्श गरी कार्ययोजना बनाएर मात्र कित्ताकाट फुकुवा गरिने बताइन् । विज्ञ र सरोकारवालासँग छलफल गरी यही माघ ७ गते बस्ने कार्यापालिका बैठकले थप निर्णय लिने उनले बताइन् । उनले भनिन्, “हिजोको जस्तो घोल खेतलाई पनि माटो उकासेर घडेरीका रूपमा बिक्री गर्न दिँदैनौँ ।” स्मार्ट सिटी बनाउनका लागि भरतपुर महानगरमा तथ्याङ्क सङ्कलन भइरहेको छ । कृषियोग्य जग्गा प्लटिङ हुँदा समस्या देखिएको छ । देशकै मध्यभागमा रहेकाले चितवनमा बसोबास गर्न धेरैलदे रुचि देखाउने गरेका छन् । यहाँको धानखेती गर्ने घोलखेतसमेत पुरेर प्लटिङ् गरिएको थियो । धेरैको आकर्षण भएकाले एक दशकयता जिल्लामा घडेरीको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठ जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गरिनुपर्ने बताउँछन् । भूउपयोग नीतिमा ढिलाइ भएका कारण खेतीयोग्य जमीन खण्डीकरण भएको उनले बताए । जग्गाको कारोवार बढ्दा बाहिरी जिल्ला घर भएका व्यक्तिले खरिद गरेका जग्गा बाँझै बसेको छ । उत्पादनमा कमी आएको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय हुँदादेखि नै जिल्लामा खेतीयोग्य जमीन ४६ हजार हेक्टर भनिए पनि खण्डीकरणका कारण के कति कमी भयो भन्ने एकिन छैन । जग्गा व्यवसायी दिनेशकुमार चुके स्थानीय तहले जग्गाको वर्गीकरण गरी कित्ताकाट फुकुवा गर्नुपर्ने बताउँछन् । खेतीयोग्य जमीन र आवासीय जमीन छुट्याएर कित्ताकाट गर्नुपर्ने उनको भनाइ छ । विसं २०७३ फागुन २ गते सर्वोच्च अदालतले भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानूनको तर्जुमा भइरहेकाले कृषियोग्य जग्गा विनास हुनबाट रोक्न निर्देशन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार २०७४ साल साउन २६ गतेदेखि कित्ताकाट रोकिएको हो ।

औषधि परामर्श परिषद्ले प्रतिवेदन प्रस्तुत गर्दै, कच्चा पदार्थ मात्र आयात गर्न सुझाव

काठमाडौँ। औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ औं बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत पुस २२ गते परिषद्को बैठक सम्पन्न भएको थियो। बुधबार अपराह्न बस्ने परिषद्को बैठकमा स्वास्थ्यमन्त्री यादवसमक्ष कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दैछ । कार्यदलमा मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव योगेन्द्र पाण्डे रहेका छन् । निजी क्षेत्रबाट नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहाल, नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ र नेपाल औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्य कार्यदलमा रहेका छन्। कार्यदलले स्वदेशी औषधिको उत्पादनलाई प्रोत्साहन र विकास, औषधिको मूल्य निर्धारण कार्यविधि २०७५, स्वदेशी एवं विदेशी औषधि परीक्षण प्रयोगशालालाई मान्यता विषयका क्षेत्र समेटी आफ्नो सुझाव प्रतिवेदन तयार पारेको छ । सुझाव प्रतिवेदनमा के छ त ? सुझाव प्रतिवेदनमा सरकारले औषधिको मूल्य निर्धारण गर्दा औषधिको मूल्य निर्धारण कार्यविधि २०७५ अनुसार बजार मूल्यमा आधारित विधि अवलम्बन गर्नुपर्ने, औषधिको मूल्य समायोजन गर्दा लागत लाभका आधारित विधि र प्रक्रियालाई आधारमा लिई औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण गर्ने रहेका छन् । स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन दिन न्यून ब्याजदरमा ऋण, कच्चा पदार्थ, निर्माण सामग्रीमा भन्सारमा सहुलियत, अनुसन्धान र विकासमा प्रोत्साहन, औषधिको कच्चा पदार्थ मात्र आयात गर्न सुझावमा राखिएको छ । साथै औषधिको नियमनलाई प्रभावकारी बनाउन जनशक्ति तथा प्रयोगशाला क्षमता अभिवृद्धि गर्न पनि सुझाव दिइएको छ । नेपाल औषधि उत्पादक सङ्घले स्वदेशी औषधि उद्योगका उत्पादनले नै आत्मनिर्भरताको अवस्थामा रहेका औषधिको आयात ९कच्चा पदार्थ० तत्काल रोक लगाउन गर्दै आएको छ । नेपालमा उत्पादन हुने औषधि औषधि ऐन २०३५, विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार हुने तथा औषधिको मूल्य नेपाल सरकारले निर्धारण गरेअनुसार भएको जनाएको छ । पछिल्लो अध्ययनका अनुसार ८० प्रकारका औषधिमा नेपाल आत्मनिर्भर भइसकेको छ । हाल स्वदेशभित्र ५३ वटा औषधि उद्योगले ३०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छन् । अर्कोतर्फ ३० वटा नयाँ औषधि उद्योग उत्पादनको प्रक्रियामा रहेका छन् । यस क्षेत्रमा रु ३० अर्बभन्दा माथिको लगानी रहेको जनाइएको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगन थापाले स्वदेशी औषधि उद्योगबाट पर्याप्त उत्पादन हुनेखालका औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्दै कार्यान्वयनमा उतार्नु भए पनि हाल सो निर्णय मन्त्रालयले उल्टाइदिएको बताइन्छ । रासस

नेपाल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने नियुक्त भएका छन् । इन्स्योरेन्सको हालै सम्पन्न संचालक समितिको बैठकले न्यौपानेलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

इन्जिनियरिंगका तीन विद्यार्थीले विकास गरे चिचिला एप्स, साना विद्यार्थीका लागि बहुउपयोगी

काठमाडौं । भक्तपुरका विद्यार्थीले बुधबार ‘चिचिला’ मोवाइल एप्लिकेशन (एप्स) को लन्च (शुभारम्भ) गरेका छन् । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायणका विद्यार्थीले बालबालिकाहरुको प्रयोगका लागि उपयोगी चिचिला मोवाइल एप्लिकेशनको शुरुवात गरेका छन् । रोवोर्ट हस्तान्तरण तथा मोवाइल एप्लिकेशन कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा श्रेष्ठले एप्लिकेशन लन्च गरेका हुन् । कलेजमा कम्प्युटर विभाग अन्तर्गत स्नातक तहमा कम्प्युटर इन्जिनियरिंग अध्ययनरत तीन जना विद्यार्थीले एप्लिकेशनको विकास गरेका हुन् । व्याचुलर इन कम्प्युटर इन्जिनियरिंगमा अध्ययनरत केशव घिमिरे, पोषण शर्मा र दुर्गाबहादुर कुँंवरले एप्लिकेशन तयार पारेका हुन् । उक्त कार्यक्रममा एप्लिकेशन तयार गर्ने विद्यार्थीले यो एप्लिकेशन ससाना विद्यार्थीका लागि बहुउपयोगी हुने जानकारी दिएका थिए । बालबालिकाहरुलाई उनीहरुकै उमेरमा ज्ञान दिन सकिए पछि त्यो समाजकै लागि उपयोगी हुने विश्वास उनीहरुको छ । एप्लिकेशनले बालबालिकाहरुलाई नेपाली सिक्न पनि सहयोग पुराउने भएको छ । स्टोरबाट डाउनलोड गरी मोवाइलबाट बालबालिकाहरुले यो एप्लिकेशन चलाउन सकिने जनाइएको छ । बालबालिकाका लागि दिएको शिक्षा भोलिको देशकै लागि सम्पती हुने चर्चा गर्दै जापानमा सुनामी आउँंदा एक जना साना बालकले चारपाँंच सय मानिसलाई जोगाएको स्मरण गर्दै उनले बालबालिकाको शिक्षामा जोड दिए ।