काठमाडौँ । बुद्ध एयरले काठमाडौंदेखि कोलकोत्ता सिधा उडान गर्ने भएको छ । कम्पनीले बैशाख २ गतेदेखि परिक्षण उडान सुरु गर्न लागेको हो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोलकोत्ता उडानको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘कोलकोत्ता उडानका लागि सबै तयारी सकिसकेका छौं, यसका लागि सबै पक्षको सहयोग जरुरी छ निर्देशक बस्नेतले भने हामी शुद्ध हवाई व्यवसायी भएको कारण होटल, पर्यटन, सरकार सबैले सहयोग गर्नुपर्छ ।’
बस्नेतको अनुसार कम्पनीले कोलकोत्ता हप्तामा ३ उडान भर्नेछ । ३ उडानमा १८० जना यात्रुको टार्गेट राखेको छ । यसमध्ये १०० जना यात्रु ल्याउन सके कम्पनी सफल हुने निर्देशक बस्नेतले बताए ।
काठमाडौंदेखि कोलकोत्तासम्म कम्पनीको एटीआर ७२ जहाजले १४० मिनेट उडान भर्नेछ । खर्च कम गर्नका लागि कम्पनीले यस जहाजको प्रयोग गरेको दाबी गरेको छ ।
अन्तराष्ट्रिय उडानको सरदर ६५ देखि ७० प्रतिशत यात्रुहरु नेपाली कामदारले ओगट्ने गरेको छ । अहिलेको अन्तर्राष्ट्रिय उडान बैदेशिक रोजगारीलाई लक्ष्य गरेर स्थापित भएको छ, तीसँग प्रतिपष्र्धा गर्न गाह्रो छ, किनकी ती संसारमा स्थापित वायुसेवाहरु मध्ये पर्दछ । प्रबन्ध निर्देशक बस्नेतले भने–त्यसकारण हामीले आफ्नो उडानको यात्रु पर्यटकले भर्ने रणनीति लिएका छौं ।
नयाँ वर्ष २०७६ को बैशाख २ गतेदेखि साताको ३ उडान सोमबार, बुधबार र शुक्रबार काठमाण्डौँ–कोलकत्ता–काठमाडौँ उडान गर्ने बुद्ध होलिडेजका प्रमुख आस्था बस्नेतले बताए । भाडादर भने प्याकेजमै ल्याउने कम्पनीले जनाएको छ । यो उडान सफल भए २०७७ साल भदौबाट दक्षिण एसियाका विभिन्न महानगरहरुमा जेठ बिमानहरुबाट उडान शुरु गर्ने कम्पनीले जनाएको छ ।
कोलकत्ता हाम्रो परीक्षण उडान हो, यस उडानलाई सफल बनाउन संख्यात्मक र गुणात्मक पर्यटक भित्र्याउन नेपाल सरकार सहित सबै सरोकारवालाहरु होटल, ट्राभल टुर्स, ट्रेकिङ एजेन्सीहरुसँग सहकार्य गर्ने प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ ।
कम्पनीले कोलकोत्ता उडान शुरु गरेपछि हप्तामा ८०० सय उडान पुग्नेछ ।