६ हजारले नायव सुब्बा कुमारबहादुर राजभण्डारीको जागिर चट्
काठमाडौं । ६ हजार घुसलिने नायब सुब्बा कुमार राजभण्डारी अख्तियार फन्दामा परेका छन् । मालपोत कार्यालय, ललितपुरमा उनलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । आयोगले राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यलाई पक्राउ गरेको हो । उनीहरुले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिएको आयोगले दाबी गरेको छ । उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
कञ्चन डेभलपमेन्ट बैंकबाटै जनरल इन्स्योरेन्सको पोलिसी किन्न सकिने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी कञ्चन डेभलपमेन्ट बैंकबाट किन्न सकिने भएको छ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच आइतबार ‘बैङ्कासुरेन्स’ सम्झौता भएको भएसँगै त्यस्तो सुविधा प्राप्त हुने भएको हो । आइतबारका दिन आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
किसानलाई सहुलियतपूर्ण कर्जा लिन सिकाउँदै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक
काठमाडौं । किसानले सहुलियतपूर्ण कर्जा कसरी लिन सक्छन् भनेर शिकाउन शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेड गाउँ पसेकाे छ । बैंकले सहुलियतपूर्ण कर्जाबारे जानकारी दिन किसानसँग अन्तरक्रिया थालेकाे छ । बैंकले छत्रकोट गाउँपालिकाका प्रमुख मधुकृष्ण पन्थको प्रमुख आतिथ्यतामा खज्र्याङ्गमा अन्तरक्रिया कार्यक्रम गरी वडा नम्बर ५ र ६ गुल्मीका कृषकहरुसँग सहुलियतपूर्ण कर्जाको सुविधा र त्यस्तो कर्जा लिन अपनाउनु पर्ने विधि बारे अन्तरक्रिया गरेको हो । आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिग पहुंच तथा सचेतनाका लागि कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियतयतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी प्रदान गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । छत्रकोट गाउपालिका अध्यक्ष मधुकृष्ण पन्तले बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण कर्जा लिई गाउँका सबै कृषकहरु आगामी दिनमा स्वरोजगारतर्फ उन्मुख हुनपर्ने र सर्वसाधारण जनतालाई कृषि उद्यमतर्फ आर्कषित गर्न वित्तीय सचेतना सम्वन्धी कार्यक्रम तथा ग्रामीण क्षेत्रमा शाखा विस्तारबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा बैंकको प्रशंसा गरेका छन् ।
आजदेखि ठूला भारतीय नोट नेपालमा अवैध, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय २००, ५०० र २००० दरका नोटहरु नेपालमा अवैध हुने ठहर गरेको छ । बैंकले एकीकृत इ.प्रा. परिपत्र १/२०७४ को बुँदा १.१ अन्तर्गत १.११.६ को खण्ड क संशोधन गरी त्यस्तो व्यवस्था गर्दै यस्ताे निर्देशन दिएकाे जनाएको हो । सरकारले यसअघि नै सो दरका भारतीय नोटलार्इ नेपालमा चलनचल्ती हुन नदिने बताइसके पनि मौद्रिक नियमनको अधिकार पाएको नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र उक्त निर्णयले आधिकारिकता पाउने भएकाे हो । भारतले उक्त दरका नोटहरु नेपालमा चलाउन नदिने भएपछि नेपाल सरकारले यसअघि नै आफ्ना नागरिकहरुलाई सो जानकारी गराएको थियो । सरकार र राष्ट्र बैंकले भारतीय पक्षलाई नोट चलाउन दिने व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले नमानेपछि राष्ट्र बैंकले त्यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनसँगै नेपालमा भारतीय रुपैंया आजदेखि अवैध हुने भएको छ ।
४ अर्बको आईपीओ अनुमति पर्खाइमा, ३ अर्बको बिक्री हुँदै
काठमाडौं । नेपाली शेयर बजारमा तत्काल ७ अर्ब भन्दा बढीको आईपीओ निष्कासन हुने भएको छ । साधारणसभाबाट आईपीओ प्रस्ताव पास गरि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका र धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अन्तिम स्वीकृति पाएका समेत गरी उक्त परिमाणमा साधारण शेयर आउन लागेको हो । नेपाल धितोपत्र बोर्डमा २१ कम्पनीका ४ अर्ब भन्दा बढीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका उक्त कम्पनीमध्ये १५ ओटा हाइड्रोपावर कम्पनी, ५ ओटा लघुवित्त र एउटा मर्चेन्ट बैंकरको एउटा कम्पनी छन् । त्यसमध्ये ३ अर्ब ९५ करोड ९८ लाख रुपैंया बराबरको हाइड्रपावरको शेयर छ भने १८ करोड १६ लाख बराबरको माइक्रोफाइनान्सको शेयर छ । पहिलोपटक आइपीओ जारी गर्न लागेको सीआईबीएल क्यापिटलको ३ करोड बराबरको आईपीओ पनि सेबोनको पाइपलाइनमै छ । त्यस्तै बोर्डबाट आईपीओका लागि अन्तिम स्वीकृति प्राप्त गरी निष्काशनको चरणमा समेत ३ अर्ब बराबरका शेयर रहेका छन् । शिवम् पावरको १ अर्ब २५ करोड ४९ लाख बराबरका १ करोड २५ लाख ४९ हजार कित्ता शेयर बिक्री हुँदै गर्दा ग्रीनलाइफ हाइड्रोपावर र आशा लघुवित्त आईपीओका लागि आह्वानपत्र प्रकाशन गर्ने तयारीमा जुटेका छन् । शिवम् र ग्रीनलाइफको शेयर भने स्थानीयवासीका लागि निष्कासन गरिएको हो भने आशा लघुवित्तको आईपीओ सर्वसाधारणको लागि बिक्री हुन लागेको हो । रुरु र स्पर्श अघि बढे रुरु हाइड्रोपावर र स्पर्श लघुवित्तको आइपीओ निष्काशन प्रक्रिया एक चरण अघि बढेको छ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा प्रारम्भिक रिभ्युको चरणमा रहेका ती कम्पनीहरुलाई धितोपत्र बोर्डले स्वीकृत गरी बाँकी कागजात पेश गर्न सम्बन्धित कम्पनीलाई पत्र पठाएको छ । बोर्डले मागेका कागजात कम्पनीले उपलब्ध गराउनेबित्तिकै थप प्रक्रिया अघि बढ्नेछ । बजारमा नयाँ नयाँ क्षेत्रहरु थपिँदै दोस्रो बजामा शेयर कारोबारका लागि नयाँ नयाँ क्षेत्र थपिने क्रममा छन् । चालु आर्थिक वर्षमा शिवम् सिमेन्टले सिमेन्ट क्षेत्रमै पहिलोपटक आईपीओ निष्कासन अनुमति पाउँदा अन्य क्षेत्रहरु पनि दोस्रो बजारमा आउन आकर्षित देखिएका छन् । हालै मात्र आईएमई ग्रुपको प्रमुख शेयर स्वामित्व भएको टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोम र केवलकार सेवा प्रदायक कम्पनी चन्द्रागिरि हिल्सले पनि आईपीओ जारी गर्ने तयारीमा अघि बढेका छन् । चन्द्रागिरिले १५ करोडको आईपीओ निष्काशन प्रस्ताव साधारणसभाबाट पारित गरी बोर्डमा आईपीओ निष्कासनको अनुमतिका लागि निवेदन दिने प्रक्रियामा छ भने डिसहोमले आफ्नो प्राइभेट कम्पनी संरचनालाई पब्लिकमा रुपान्तरण गरी आगामी वर्षसम्ममा १० प्रतिशत आईपीओ बिक्री गर्ने लक्ष्य लिएको छ । उक्त आईपीओहरु नेप्सेमा सूचिकृत भएसँगै वित्तीय क्षेत्र केन्द्रित शेयर बजारमा नयाँ आयाम थपिने निश्चित भएको छ ।
हिसानको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ । हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ । सार्वजनिक गरेको सूचना अनुसार आगामी फागुन २२ गतेदेखि चैत ३ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ। त्यस्तै चैत २० गतेदेखि चैत २९ सम्म कक्षा ११ को परीक्षा हुनेछ। बिस्तृत समयतालिका तल दिइएको छ ।
नेपाल चीन उद्योग वाणिज्य संघको नेतृत्वमा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट इन नेपाल’अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको नेतृत्वमा चीन काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड(सीसीपीआईटी हेडक्वाटरी)का उपाध्यक्ष झाङ्ग सेनफेङ्गको नेतृत्वमा नेपाल भ्रमणमा आएका ३० सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलसंग नेपाल चीन उद्योग वाणिज्य संघले राजधानीमा ट्रेड एण्ड इन्भेस्टमेन्ट इन नेपाल विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना सम्पन्न भएको छ । सीसीपीआईटी तथा नेपाल चीन उद्योग वाणिज्य संघवीच संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरण, व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान साथै आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गरी सन् २००९ मा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रममा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई संस्थाबीच घनिष्ट सम्बन्ध रहेको चर्चा गर्नु हुँदै यस प्रतिनिधि मण्डलले दुई देशबीच विद्यमान सम्भावनाहरु पहिचान तथा लगानीका लागि अझ नजिक ल्याएको कुरा बताएका छन् । संघले हालसम्म सीसीपीआईटी अन्तरगर्तका ३० वटा सीसीपीआईटी सब काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सीसीपीआईटीका उपाध्यक्ष झाङ्ग सेनफेङ्गले हाल प्रतिनिधि मण्डलमा रेल्वे, प्रविधी, टेलि कम्युनीकेसन, कन्स्ट्रक्सन, कषि, इन्जीनिएरिङ आदि क्षेत्रका लगानीकर्ताहरु संलग्न रहेको जानकारी दिएका थिए । कतिपय व्यापारीहरुले नेपालमा लगानी गरिसकेको र कतिपय लगानीका लागि नेपाल आएको कुरा बताए । कार्यक्रममा संघका पर्यटन समितिका संयोजक विक्रम पाण्डेले नेपालमा पर्यटन संभावना तथा विकासका बारे जानकारी दिएका छन् । साथै हवाइ क्षेत्र, रेल्वे, कृषि आदि क्षेत्रको सम्भावनाबारे समेत नेपाली व्यापारीहरुले प्रतिनिधि मण्डललाई जानकारी गराइयो । कार्यक्रममा विभिन्न नेपाली उद्योगी, व्यापारीहरुको समेत उपस्थिति रहेको थियो ।